20140215

मलाई लाग्दैन सत्तामा पुगेपछि सुशील कोईराला गिरिजाप्रसाद कोईरालाजस्तै भ्रष्ट हुनेछन् , राजनीतिक बेइमानीका बादशाह बन्नेछन् !

 - मधुसूदन पौडेल

हाम्रा प्रधानमन्त्री सुशील कोईराला इमान्दार छन् । भ्रष्ट छैनन् र, सदाचारी छन् । वास्तवमा नेपाली जनताले जस्तो ब्यक्तिले देशको नेतृत्व गरोस् भन्ने चाहाना राख्दै आएका थिए, ठयाक्कै त्यस्तै ब्यक्ति प्रधानमन्त्रीको कुर्सिमा बसेका छन् । जीवनको उत्तरार्धसम्म पनि सुशील दा’ले मानिसले प्रश्न उठाउन सक्ने गरि आफ्नो कोटमा सानो दाग लाग्न दिएनन् । प्रश्न उठेको छ, के उनको शासनकाल पनि जीवनजस्तै वेदागी सावित हुनेछ ?
एमाले, एमाओवादी वा अन्य राजनीतिक दलहरुको राजनीतिक दाउपेच आफ्नै ठाउँमा छ, तर आम नेपाली नागरिक चुपचाप सुशील दा’को शासन हेरिरहेका छन्, के यी ‘युवा नेता’ ले साँच्चिकै शुसासन दिन सक्षम हुनेछन् ? उनको सरल जीवनशैली सत्ताबाट बाहिरै बसिरहनुपर्दाको परिणाम हो वा जनताप्रति समर्पित रहने अन्तर हृदयदेखिको प्रतिवद्धता ? शुसिलले परिक्षा दिदैछन्, जनताका अगाडि ।
मलाई लाग्दैन, सत्तामा पुगेपछि सुशील गिरिजाप्रसाद कोईरालाजस्तै भ्रष्ट हुनेछन् । राजनीतिक बेइमानीका बादशाह बन्नेछन् । र, सुजाता कोईराला जस्ता पात्रहरुलाई आफ्नो राजनीतिक उत्तराधिकारी बनाउने छन् । उनले यस्तो सोचेका होलान् जस्तो त म शंका पनि गर्न सक्दिन । यिनी कृष्णप्रसाद भट्टराईजस्ता बौद्धिक, अध्यात्मिक र राजनीतिक त्यागी त होइनन् तर नजानेरै भए पनि यिनले व्यवहारमा  गिरिजाप्रसादको भन्दा किसुनजीकै पदचाप पछयाईरहेका छन् ।
तर देशको नेतृत्व लिएपछि उनी ब्यक्तिगत रुपमा इमान्दार रहनु, भ्रष्टाचार नगर्नु वा उस्तै सरल जीवन ब्यथित गर्नु मात्रले केही अर्थ राख्ने छैन । प्रधानमन्त्रीका रुपमा उनले देशको शासन व्यवस्थालाई यो स्वरुपमा परिवर्तन गराउन सके भने उनको आदर्शको साच्चिकै
राजनीतिक अर्थ रहनेछ । अन्यथा घर ब्यबहारबाट विरक्तिएर हिडेको एउटा जोगीको आदर्श र सुशील दा’को आदर्शमा कुनै फरक रहने छैन । उनको आदर्शको प्रतिविम्ब राजनीति हुनुपर्छ । शासन सञ्चालनमा हुनुपर्छ । र, जनतामा राजनीतिप्रति श्रद्धा जाग्ने तहसम्म यो आदर्श प्रतिविम्बित हुनुपर्छ ।
सुशील राजनीतिप्रति जनताको श्रद्धा जगाउन सक्ने राजनेता बन्न सक्लान् ? सम्भावना प्रशस्त छन् । तर, उनी कुन बाटो लाग्छन्, त्यसले नै उनलाई नेपालको ‘नायक’ वा ‘खलनायक’ सावित गरिदिनेछ । सुशील पनि गिरिजाप्रसाद, शेर बहादुर देउवा, झलनाथ खनाल, माधव कुमार नेपाल, पुष्प कमल दाहाल र बाबुराम भट्टराई जस्तै उस्तै प्रधानमन्त्री भईदिए भने निश्चित छ, एकपटक नेपाली नागरिकको मनबाट लोकतान्त्रिक गणतन्त्रप्रतिको विश्वास नराम्रोसँग धरमराउनेछ । यी त्यागी नेताको हालत त यस्तो छ भने अब कुन चाँही नेताले यो व्यवस्था अगाडि बढाउलार भन्ने अविश्वास आम नागरिकमा पक्कै उब्जाउनेछ ।
देश विकासको पथमा अगाडि बढ्न नीति ठीक भएर मात्रै हुदैन त्यो नीति कार्यान्वयन गर्ने नेता ठीक नभएसम्म परिवर्तनको सानो पाईलासम्म चाल्न सकिदैन भन्ने प्रयोगशाला नेपाल नै हो । हामीले राजनीतिक, आर्थिक र सामाजिक सुधारको कदम सन् १९९० मा  एकैसाथ चालेका हौं । वितेका झण्डै २५ बर्षमा हामीले यो सुधारको कस्तो नतिजा प्राप्त गर्यौ ? सन् १९९० पछि नेपालको शासनसत्ताको बागडोर पाएको नेपाली कांग्रेसको नेतृत्व सक्षम नहुदा नै नेपाली जनताले साढे दुई दशकसम्म पनि आजको विश्वमा अपमान, सास्ती र कष्टकर जीवनयापन गर्नुपरेको हो । कांग्रेसले लिएको सहि नीतिको असफल कार्यान्वयनको इतिहास हो यो । यसका सबैभन्दा बढि जानकार डा. रामशरण महत हुन् जो अहिले सुशील दा’का प्रमुख सारथी बनेका छन् । र, यी गिरिजाप्रसादका पनि सारथी थिए ।
सुशील दा’का सामू कांग्रेसले गरेको सबैभन्दा ठूलो यहि गल्ती सच्याउनु पर्ने जिम्मेवारी छ । सन् १९९२ को आम निर्वाचनमा बहुमत प्राप्त दलको हैसियतले सरकार चलाउदा गिरिजाप्रसादले यो गल्ती नगरेको भए नेपाल ‘सिंगापुर’ त हैन ‘मलेसिया’ चाँही पक्कै पनि बन्ने थियो । यो गल्ती सच्याउने सुवर्ण अवसर र त्यत्तिकै जटिल चुनौती सुशीलको काँधमा छ । सुशीलले प्रधानमन्त्रीका रुपमा चाल्नुपर्ने पहिलो कदम यहि हो । यसका लागि उनी पुष्पकमल दाहाल जस्तो हठ्टाकट्ठा र शेरबहादुर देउवा जस्तो बहादुर पनि हुनु पर्दैन । ठीक नीति कार्यान्वयन गर्ने अडानमा अलिकति पनि विचलित नबने सुशील दा’को सरकारले सहि बाटोको यात्रा प्रारम्भ गर्नेछ । पार्टी चलाउदा शुसिलले लिदै आएका अडान अब देशलाई सहि बाटोमा हिडाउनका लागि आवश्यक परेको छ ।
ठीक नीति कार्यान्वयन गर्न राज्य संयन्त्र हाक्ने निकायमा पनि ठीक नेतृत्व स्थापित हुनु अत्यावश्यक छ । यो सबैभन्दा पहिले क्याविनेटमा प्रतिविम्बित हुनुपर्छ भने त्यसपछि ब्यूरोक्रेटिक स्तरमा । सुशील दा’ले आफ्नो त्यागको राजनीति देशका लागि थियो भनेर प्रमाणित गर्न मन्त्रिमण्डलको अनुहार पनि त्यस्तै देखाउनु पर्छ जुन ब्यक्तिगत रुपमा उनको छ । तर, सुशील यस मामिलामा चुक्दैछन् जस्तो अनुभव गरिदैछ । भ्रष्टहरुले सुशीलको अनुहारबाट आफुहरुलाई निर्दोष सावित गर्ने कोशिस गर्नेछन्, सायद ।
ठीक नीति कार्यान्वयनमा सरकारलाई साथ दिन कर्मचारीतन्त्र, प्रहरी, न्यायालयको नेतृत्व गर्नेहरुको भुमिका उत्तिकै महत्वपूर्ण हुन्छ । एकजना प्रहरी अधिकृत रमेश खरेल वीरगञ्ज पुग्दा सारा तस्करहरु पलायन हुनुपर्ने र काठमाडौंमा आउँदा डनहरुको रुवावासी किन भईरहेको छ ? कारण यहि हो, ठीक नीति कार्यान्वयन गर्न संगठनले राम्रो नेतृत्व पायो भने अपेक्षा अनुसारको उपलब्धी हासिल हुन्छ । रमेश खरेलले गर्ने राम्रो कामको जश आखिरमा प्रधानमन्त्रीले नै पाउने हो । यी तहमा यसैगरि उत्कृष्ट कार्य सम्पादन गर्न सक्ने अधिकारीहरुलाई जिम्मा लगाउने र उनीहरुले अगाडि बढाउने काममा प्रधानमन्त्री र मन्त्रीस्तरबाट स्यावासी मात्रै दिने हो भने पनि धेरै राम्रा उपलब्धीहरु हासिल गर्न सकिन्छ । सीमित नै भए पनि कर्मचारीतन्त्रमा पनि उच्च व्यवसायिक दायित्वबोध भएका अधिकारीहरु छन् । तर भ्रष्ट कर्मचारी संयन्त्रको जालोमा उनीहरुलाई काम गर्न दिइएको छैन । समक्ष, इमान्दारहरुलाई  कर्मचारीतन्त्रको अनुहार बनाउन सक्नुपर्छ उनले, ता कि सुशील साँच्चिकै भ्रष्टहरुको विपक्षमा छन् भन्ने अनुभुति गर्न सकियोस् ।  सुशील दा’ हट्ठाकट्ठा भईदिएको भए पनि आखिर उनी आफै डन समाउन जाने त होइनन् । त्यसैले केही अशक्त वा कम क्षमतावान भनिदा भनिदै पनि राज्य संचालनका लागि ठीक ठाउँमा ठीक ब्यक्तिलाई जिम्मेवारी दिने निर्णय लिन सके भने उनी बालुवाटारको गद्दीमै बसेर पनि परिवर्तनको मियो बन्न सक्छन् ।
उनको कार्यकालमा भ्रष्टाचार अन्त्य हुने अपेक्षा त गर्न सकिदैन । तर उनका क्याविनेट सदस्यहरुले मात्रै भए पनि घुस खादैनन् भन्ने निश्चित गर्न सके भने यसलाई ठूलो उपलब्धी मानिनेछ । अहिले सत्ता समीकरणमा गृह, अर्थ, श्रम वा भौतिक योजना जस्ता मन्त्रालयहरु आफ्नो भागमा पार्न किन छिनाझम्टी भइरहेको छ ? मिडियाहरुले पनि कुतर्कहरुलाई ठाउँ दिईरहेका छन् । वास्तविकता यी मन्त्रालयमा छिर्न पाउदा हात पर्ने घुस नै हो । गृहमन्त्री वा अर्थमन्त्रीले जति घुस खाने अवसर तुलनात्मक रुपमा अरुले नपाउन सक्छन् । प्रहरीले बजारबाट हप्ता उठाएको रकमको अन्तिम हिसाबकिताब उही गृहमन्त्रीको टेबलमा पुगेर गरिन्छ । धेरैजसो पूर्व गृहमन्त्रीहरु डनले बुझाएको त्यहि कालो धनबाट प्राप्त भएको सान समाजमा देखाईरहेका छन् । त्यसैले त सबैलाई चाहिएको छ, गृह मन्त्रालय । अनि भन्सार वा राजश्वमा सरुवा हुन चाहने खरदार, सुब्बाहरुले समेत आफ्नी श्रीमतीलाई भेटेर पैसा बुझाएको चिट सदर गरेको हुनुपर्ने नियम बनाएका पूर्व अर्थमन्त्रीहरुले किन त्यहाँ फेरी जान मरिहत्ते नगरुन् । सुशीलले अर्थ, गृह र भौतिक योजना मन्त्रालयमा मात्रै भए पनि घुस नखाने मन्त्री नियुक्त गर्न सके भने अहिलेका लागि यसैलाई निकै ठूलो उपलब्धी मान्नुपर्छ । यसो हुन सके सरकारभित्र बग्ने भ्रष्टाचारको सागर कम्तिमा नदिमा परिणत हुनेछ ।
अनि घुस संकलन गर्ने अर्को संस्था बनेका छन्, दलगत रुपमा खडा गरिएका कर्मचारी संगठनहरु । कांग्रेस नेतृत्वमा सरकार बनेपछि अब उनीहरुको ठेकेदारी शुरु भईसकेको छ, भन्सार, मालपोत, यातायात, राजश्व, वैदेशिक रोजगार लगायतका घुस अड्डाहरुमा कर्मचारीको सरुवा गर्न । आजकाल मन्त्रालय वास्तवमा सचिवले होइन, ट्रेड युनियनका नेताहरुले चलाउछन् । उनीहरुले सदर गरेका कामहरुलाई सचिव महोदयहरुले औपचारिकताका लागि कार्यान्वयनमा लगिदिन्छन् । यसो नगरे सचिवहरुलाई सिंहदरबारबाट क्षेत्रीय प्रशासन कार्यालयमा सरुवा होला भन्ने त्रासदी रहन्छ । सुशीलको शासनमा कांग्रेस कर्मचारी संघका पदाधिकारीहरुका अगाडि मन्त्रालयका सचिवहरु निरीह सावित हुनेछन् कि छैनन् ? ठेकेदारीमा रकम उठाएकाहरुलाई वीरगन्ज र तातोपानी सरुवा गराउन रातभर भन्सार विभागमा उनीहरुले धर्ना कस्ने छन् वा छैनन् ?
सुशीलको कार्यकालमा दलगत कर्मचारी संगठनको नाममा दादागिरी शासन शैलीको अन्त्य भयो भने पनि उनी सफल प्रधानमन्त्री ठहरिनेछन् । जुन भर्खरै टिचिङ अस्पतालबाट उनले सिक्न सक्छन् । उच्च व्यवसायिक मर्यादा पछयाउदै टिचिङ अस्पतालबाट सबै राजनीतिक संगठनका भातृ संगठनहरु खारेज गरि त्यहाँका विद्यार्थी, डाक्टर र कर्मचारीहरुले बल्खु, सानेपा र पेरिसडाँडाको शासनबाट आफूलाई मुक्त गरेका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक