(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20140302

दिलशोभा प्रकरणःअपुरो फोन रेकर्डले ल्याएको बबन्डर

- अमित ढकाल र किरण भण्डारी 

गोजीमा लुकाएको मोबाइलबाट दिलशोभाकै कर्मचारीले रेकर्ड गरेका थिए उनको संवाद

(सम्पादकीय नोटः हामीले यो रिपोर्टिङ गर्ने सिलसिलामा दिलशोभा, उनको चर्चित फोन वार्ता रेकर्ड गर्ने अप्सरा गुरुङ, काठमाडौं एसएसपी रमेश खरेल, केन्द्रीय बाल कल्याण समितिका पदाधिकारीत्रय तारक धिताल, नमुना भुषाल, झनहरि,आमाको घरका १५ जाना बालबालिकालाई निशुल्क पढाउने एन्जेल एकेडेमीका जोतिक नापित, आमाको घरका कोषाध्यक्ष राजु शाक्य, लेखापरीक्षक युवराज घिमिरे, हुम्लाबाट विद्यार्थी ल्याउन सहयोग गरेकानवराज महतारा, आमाको घरमा काम गर्ने स्वयंसेवक लगायतसँग कुराकानी गरेका थियौं। यी मध्ये कतिपयलाई संवेदनशीलता कारण उद्धृत गरेका छैनौं।)

दिलशोभा श्रेष्ठको काठमाडौँ रविभवनस्थित 'आमाको घर'को पहिलो तला चढ्नेबित्तिकै एउटा कोठामा पुगिन्छ।
कोठाका भित्ता उनले पाएका सम्मानले भरिएका छन्। ठूलै आकारको त्यो कोठामा पनि नअटेका दर्जनौँ सम्मानपत्रका फ्रेमहरु थुप्रिएका छन्। यो कोठाआमाको घरको बैठक र कार्यालय पनि हो।
माघको कुनै साँझ यही कोठामा दिलशोभा फोनमा कुरा गर्दै थिइन्। यो कोठासँगै जोडिएको अर्को कोठामा आमाको घरमा कार्यरत कर्मचारी अप्सरा गुरुङ र एक वर्षदेखि त्यहीँ काम गर्दै आएकी आनी संगीता तामाङ सुत्थे।
अप्सरालाई दिलशोभाको कुरा 'शंकास्पद' लाग्यो। उनले तुरुन्त मोबाइलमा दिलशोभाको एकतर्फी फोन संवाद रेकर्ड गर्न सुरु गरिन्।
अर्को कोठाबाट रेकर्ड गर्दा राम्ररी नसुनिएपछि अप्सराले संगीताको खल्तीमा आफ्नो मोबाइल हाल्दिन् र दिलशोभाको छेउमा गएर बस्न भनिन्। बेखबर दिलशोभाले फोनमा निश्चिन्त कुरा गरिन्।
उनको एकतर्फी संवाद अप्सराको मोबाइलमा रेकर्ड भयो।

को हुन अप्सरा?

दिलशोभाको फोन संवाद रेकर्ड गरिएको केही हप्ताअघि, पुस १८ गते मात्रै, अप्सरा आमाको घरमा कर्मचारीका रुपमा नियुक्त भएकी थिइन्। अप्सरा र दिलशोभाबीच तीन वर्ष पुरानो चिनजान थियो। उतिखेर अप्सराले आमाको घरमा आएर केही दिन दिलशोभालाई सघाएकी थिइन्।
‘मैले पहिला ५० हजारसम्म तलबमा काम गरेँ। अहिले खालि छु। सेवाका लागि यहाँ १० हजारमै काम गर्दिन्छु,’ अप्सरालाई उद्धृत गर्दै दिलशोभा भन्छिन्, ‘आठ हजार दिने गरी काम लगाएको हुँ।’
७/८ वर्ष बालबालिकाको क्षेत्रमा काम गरेकी अनुभवी कर्मचारी पाएर दिलशोभा दंग थिइन्। अप्सराले संस्था व्यवस्थित गरेर लाने र एकजना बच्चा बराबर वार्षिक दुईलाख रुपैयाँसम्म सहयोग पाउन सकिने बताइन्। दिलशोभा थप प्रभावित भइन्।दुवै जना क्रिश्चियन धर्म मान्ने, चर्च जाने भएकाले सम्बन्धको अर्को सेतु थपियो। दुई बीचमा आमाछोरीको साइनो स्थापित भयो।
अप्सराले विस्तारै सुधारको कुरा गर्न थालिन्।
अन्नपानीको गुणस्तर, बालबच्चाको लुगाफाटो, जुत्ताचप्पल लगायत कुरा उठाइन्। पारदर्शिताको कुरा उठाइन्। दिलशोभालाई अप्सराको कुरा कता कता चित्त बुझेन। बिस्तारै उनीमाथि नै शंका लाग्न थाल्यो। उनले ठानिन्, ‘कुनै एनजिओले अप्सरालाई आमाको घरको जासुसी गर्न पठायो।’
खटपट हुनुभन्दा अघि नै अप्सरा केटाकेटीहरुसँग घुलमिल भइसकेकी थिइन्।
केटाकेटीलाई पनि उनले आमाको घरले बालगृहको मापदण्ड अनुसार खानलाउन नदिएकोबारे सचेत तुल्याउन कोशिश गरिसकेकी थिइन्। अप्सराको मायालु स्वभावले ३२ मध्ये धेरै केटाकेटी उनीसँग रत्तिइसकेका थिए।
दिलशोभा र अप्सराको खटपट बढेर भान्छा अलग्गिइसकेको थियो। दिलशोभा आमा र केटाकेटीलाई पकाउने माथिल्लो तलाको भान्छामा नै खान थालिसकेकी थिइन्। अप्सराले पनि मोबाइलमा, आफ्नो ल्यापटपमा सकेजति संवाद र भिडियो रेकर्ड गर्न थालिन्।
दिलशोभा अप्सरालाई कामबाट हटाउने टुंगोमा पुगिन्। आफू प्रार्थना गर्न जाने चर्चबाट केही दिनका लागि आफूलाई सहयोग गर्न दुई जना मानिस झिकाइन्। संस्थाको काममा उनीहरुले सघाउन थालेपछि, अप्सरा भूमिका विहीन हुँदै गइन् र अन्तत: महिना दिन नपुग्दै आठ हजार तलब लिएर आमाको घरबाट बिदा भइन्। अप्सरासँगै आनी संगीता तामाङले पनि आमाको घर छाडिन्।
संस्थाबाट निस्केपछि अप्सराले आफूसँग भएका रेकर्डहरु आफ्नो मनले खाएका मानिस र एनजिओकर्मीलाई देखाइन्।
रेकर्डहरुमध्ये आमाको घरको बैठक/कार्यालय कोठाबाट दिलशोभाले गरेको एकतर्फी टेलिफोन संवादमा भनिएको थियो, ‘१५ सय जति पैसा दिने, बेलुका पकाएर ख्वाउने एकछाक, बिहान ख्वाउनुपरेन, तपाईँलाई माया लाग्छ भने एक कप चिया ख्वाएर पठाउनू, बेलुका आएर तपाईँलाई पकाएर ख्वाउँछ, रातभरि तपाईँसँग सुत्छ,माया माया माया गरेर बस्छ।’
अप्सरालाई पहिलेदेखि नै यो संवादले शंकित तुल्याएको थियो। रेकर्ड सुन्ने अरुले पनि उनलाई उक्साए- यो दिलशोभा देह व्यापारमा संलग्न भएको बलियो प्रमाण हो।
अप्सरा, आमाको घरमै पहिले काम गरेका कर्मचारी र अरु केहीले सल्लाह गरेर जिल्ला प्रशासन कार्यालयमा यसबारे टेलिफोन रेकर्डसहित आफूले जुटाएका 'प्रमाण'राखेर उजुरी दिए। केन्द्रीय बालकल्याण समितिलगायतलाई अप्सरा आफैँ गएर उजुरीको बोधार्थ दिइन्।
जिल्ला प्रशासन कार्यालय, बालकल्याणमा हल्लीखल्ली मच्चियो। त्यो हल्लीखल्लीको मूल कारक त्यही एकतर्फी टेलिफोन संवाद थियो। जिल्ला प्रशासन,बालकल्याण र अरु सरोकारवाला निकायको बैठकमा पनि त्यो टेलिफोन संवादको अर्थ 'देहव्यापार' गरेको भन्ने नै लगाइयो।
बालबालिका राख्ने अनुमति नलिएको र आमाको घरको दुर्व्यवस्थाको मुद्दा छँदै थियो, 'देह व्यापार' को शंकाले बालबालिकालाई तुरुन्त उद्धार गर्नुपर्ने तदारुकता उब्जियो।
दिलशोभालाई बोलाएर काठमाडौँका सिडिओ वसन्तराज गौतमले बालबालिका उद्धार गर्ने जानकारी दिए।  
उद्धार हुनु दुई दिनअघि दिलशोभाबिरुद्धको उजुर र फोन रेकर्ड सम्मिलित इमेल केही सञ्चारगृहलाई पठाइएको थियो। सेतोपाटीलाई पनि त्यो इमेल आएको थियो।
जुन रेकर्डलाई आधार मानेर देहव्यापारको शंका गरिएको छ, त्यसले मात्र त्यो संगिन आरोप पुष्टि हुन्न। दिलशोभा स्वयमले त्यो फोन वार्ता क्यान्सरपीडित ७० वर्षीया राधिका मानन्धरसँग गरेको पत्रकार सम्मेलनमा बताएकी छन्। त्यो संवादको मसिनोसँग विश्लेषण गर्ने हो भने दिलशोभाको भनाइ झुटो मान्ने आधार छैन।
अनुसन्धानमा संलग्न प्रहरी, प्रशासन, समिति कसैले पनि ‘यौन व्यवसाय’बारे टेलिफोन रेकर्डबाहेक अहिलेसम्म अरु प्रमाण नभेटिएको बताएका छन्। संवाद रेकर्ड गर्ने अप्सरा स्वयमसँग पनि देहव्यापारको सवालमा अरु प्रमाण वा तर्क छैनन्।

बालगृह सुधार्नुपर्थ्योउद्धार गरियो

दिलशोभाले आफूविरुद्ध उजुरीबारे जानकारी पाएपछि सिडिओ कार्यालय रबालकल्याण धाउन सुरु गरिन्। बालकल्याण, सिडिओ र प्रहरी देहव्यापारको शंकाले उनीप्रति नकारात्मक भइसकेका थिए।
काठमाडौंका सिडिओ गौतमको अध्यक्षतमा बैठक बस्यो। सहायक सिडिओले सबैनिकायलाई डाकेर पटकपटक छलफल चलाए।
माघ अन्तिमदेखि फागुनको पहिलो साता बालगृह संचालनको अनुमति लिने प्रयासमा दिलशोभा लागिरहिन्। घरि कानुन, व्यवसायी घरि लेखापरीक्षकलाई लिएर सिडिओ कार्यालय र बालकल्याण धाइन्।
‘उजुर परेकाले बालगृह संचालन अनुमति दिन सकिँदैन,’ सिडिओ अफिसले नाइँनास्ती गर्‍यो। विधान संशोधनमा बालगृहको अनुमति थप गर्ने मस्यौदाको पाना संस्था दर्ता शाखाका कर्मचारीले च्यातेरै फ्याँकिदिए।
त्यो घटना भएको दुई दिनमा आमाको घरमा छापा मार्न सरकारी टोली पुग्यो।त्यहाँ रहेका ३४ बालबालिकालाई ललितपुर गोदावरीको 'सानो पाइला' बालगृह सारियो।
सरकारी टोलीले बालबालिकाको राम्रो स्याहारसुसार नभएको, घरघरमा काम गर्न पठाएको, खानपान राम्रो नभएको र बालगृहको मापदण्ड नै नपुगेको जानकारी गराए। दिलशोभाले दर्ता नै नगरी गैरकानुनी क्रियाकलाप गरेको आरोप बालकल्याण लगायतले लगाए।
दर्ता गर्ने भन्दाभन्दै मेलो नपाएर अलमल र गल्ती भएको दिलशोभाले स्विकारेकी छिन्। ‘मान्छे हो गल्ती हुन्छ, मबाट पनि भयो होला,’ उनले भनिन्, ‘मसँग दिल छ। माया, न्यानो, तातो दिन मात्र जानेको छु।’
‘क्राइटेरिया’ पूरा गर्न दुई महिना समय मागेको र त्यो पनि नपाएको दुखेसो उनको छ।
बालकल्याणका अधिकारीले आफूले वर्षौँदेखि पटकपटक दर्ता गर्न र मापदण्ड अनुसार संचालन गर्न अनुरोध गरेको तर दिलशोभाले नटेरेको बताए।
‘हामीले अकस्मात् छापा मारेका होइनौं, धेरैचोटि उहाँलाई दर्ता गर्न भन्यौं,’बालकल्याणकी अनुगमन अधिकृत नमुना भुषालले भनिन्, ‘जति मौका दिँदा पनि दिलशोभा सुध्रनु चाहनुभएन।’
दिलशोभाले भने आजसम्म दुईपटकमात्र बालकल्याणका मानिस आएको बताइन्।'पाँच वर्षअघि नागरिक पत्रिकामा मेरो कामको बारे लेखेपछि उहाँहरु एकपटक आउनुभएको थियो, त्यसपछि यसपालिमात्रै आउनुभएको हो,' दिलशोभाले भनिन्।बालकल्याणका सदस्यसचिव तारक धितालभन्दा पुरानी भुषालले 'तीनवर्ष पहिला र यसपाला माघको' अनुगमनमात्र सम्झिन सकिन्।
अप्सराले आमाको घर छोडेको भोलिपल्ट बालकल्याण अनुगमन गर्न रविभवन पुग्यो। दिलशोभाले अनुगमनमा गएका बालकल्याणका अधिकारीहरुलाई तपाईँहरु अप्सराले भनेर आउनुभएको भनेर प्रश्न गरिन्।
अप्सराले छोडेको भोलिपल्ट आफूहरु अनुगमनका लागि पुग्नु एउटा संयोगमात्र रहेको दाबी बालकल्याणका सदस्य सचिव धितालले गरे। 'वालगृहहरुकाे अनुगमन अन्तरगत आमाघरमा गएका हौं,' उनले भने, 'यहिँ चरणमा १९ वटाको अनुगमनमा गएका थियौं ।'
बालगृहलाई मापदण्ड अनुसार संचालन गराउने र बालबच्चाका लागि आधारभूत वातावरण ग्यारेन्टी गराउने जिम्मा पाएको नियमनकारी निकाय हो, बालकल्याण समिति।
आमाको घरमा बालगृह संचालन भएको छ वर्ष भयो। यसबीचमा कुनै पनि अनुगमनमा समितिले दिलशोभालाई आधिकारिक रुपमा सचेत गराएको वा पत्र लेखेर सुधार्ने कोसिस गरेको देखिएन। दिलशोभालाई लिखित सुझाव नदिएर आफूहरुबाट कमजोरीभएको बालकल्याणका अधिकारीहरुले स्विकारेका छन्।
बालगृह गैरकानुनी भने पनि केन्द्रदेखि जिल्ला बालकल्याणले आमाको घरमाबच्चा पठाएको अर्को तथ्य फेला परेको छ। बालकल्याणले २०७० जेठ १७ गते आमाको घरलाई छ वर्षको एक बालकलाई संरक्षण र पालनपोषण गरिदिन लेखेको सिफारिसपत्र सेतोपाटीलाई प्राप्त भएको छ।
‘म त सेवा गर्न जान्दछु, धेरै कानुन जान्दिन,’ दिलशोभाले प्रश्न गरिन्, ‘आमाको घर कामै नलाग्ने थियो भने किन बालकल्याण, सिडिओ, गाविसहरुले बच्चा पठाए त?’ बालकल्याणको सिफारिसमा तीन, कालिकोट, हुम्ला, मुगु लगायत सिडिओ,गाविस, जिल्ला बालकल्याण समितिको सिफारिसमा तीस जनाभन्दा बढी बच्चा राखेको दाबी उनले गरेकी छन्।
बालगृहमा कर्णालीका बच्चा अत्यधिक हुनुलाई पनि बालकल्याणका पदाधिकारीहरुले शंकास्पद् ठानेका छन्। 'कर्णालीबाट ल्याएका कतिपय बालबालिकालाई अन्त काम गर्न पठाएको लगायत आरोपमा छानबिन भइरहेको छ,’ भुषालले भनिन्, ‘बालगृह खोलेर बच्चा अन्त पठाउनु त भएन नि।’
धेरैले ठानेजस्तो र दिलशोभाले कतिपय प्रसंगमा दाबी गरेजस्तो आमाको घरमा भएका बालबालिका सडकबाट उठाइएका भने होइनन्। बुधबार 'उद्धार' गरिएका ३२ मध्ये ३० बालबालिका कर्णालीका विभिन्न जिल्ला र एकजना चितवनका हुन्।
कर्णालीका बच्चा बालगृहमा आइपुग्नुलाई दिलशोभा संयोगमात्र मान्छिन्। ‘बिबिसी साझा सवालमा जुम्ला गएकी थिएँ,’ उनले भनिन्, ‘त्यसपछि कर्णालीका बच्चा आउन थाले।’
दिलशोभालाई कर्णालीबाट बालबालिका पठाइदिनेमध्ये हुम्लाका नवराज महतरालेसेतोपाटीसँग भने, ‘टुहुरा बच्चा पठाएको छ, उनीहरुले पेटभरि खान र स्कुल जान पाएका छन्।’
हुम्लामा कहिले पढाइ नहुने, कहिले पाठ्यपुस्तक नहुने लगायत समस्या झेल्नुभन्दा मापदण्ड पूरा भए पनि नभए पनि आमाको घरको आश्रय महतरालाई सुविधाजनक लाग्छ।
बालगृहका पन्ध्र जना बच्चालाई निशुल्क पढाइरहेको एन्जेल एकेडेमी कीर्तिपुरका संस्थापक प्रिन्सिपल जोतिक नापितलाई दिलशोभा घटनाले मर्माहत बनाएको छ।
उनले तीन वर्षअगाडि नै कानुनी प्रकृया पूरा गर्न, दर्ता गर्न र पारदर्शी बनाउनदिलशोभालाई सुझाव दिएका थिए। संस्था ठूलो भइसकेकाले कर्मचारीसहितको अफिस खोलेर व्यवस्थित गर्न उनले पटकपटक घच्घच्याए।
‘कुन दिन दशा आइपर्ला र धुरुधुरु रुनुपर्ला,’ जोतिकले सम्झाएका थिए।
उनलाई दिलशोभाले नियतवश सुधार नगरेको भन्ने लाग्दैन। किनकि ‘ल न त संस्था दर्ता गर्न सहयोग गरिदिनुस्’ भनेर दिलशोभाले धेरैपटक उनीसँगै सहयोग मागिन्। बालगृहका विद्यार्थी निशुल्क पढाइदिने अर्को स्कुलको प्रिन्सिपललाई पनि त्यस्तै अनुरोध गरेको उनले सुनेका थिए।
‘हामी शुभेच्छुकले सहयोग गर्नुपर्ने कुरा थियो,’ जोतिकले भने, ‘आ–आफ्नो व्यस्तताले सकिएन, अहिले आएर बच्चाहरु उठाएर लाँदा दुखद स्थिति सिर्जना भयो।’
कानुन उल्लघंन गरौं वा अरु छलछाम गरौं भन्ने दाउ दिलशोभाले गरेजस्तो नलाग्ने मात्र हैन, सरकारी निकायले आमाको घरलाई सुधार्न लागिपर्नुपर्थ्यो भन्ने जोतिकको धारणा छ।
‘बालगृह सुधार गर्नुपर्थ्यो,’ उनले भने, ‘उद्धार गरियो।’ हुन त आमाको घरका कतिपय शुभेच्छुक र सहृदयीहरुलाई प्रशासनले प्रयोगमा ल्याएको यो ‘उद्धार’ भन्ने शव्द नै चित्त बुझेको छैन।

दुरावस्था र दुर्व्यवहारको आरोप

आमाको घरको ‘दुरावस्था’ले पनि उद्धार गर्नुपरेको सरकारी तर्क छ।बालबालिकालाई राम्रो व्यवहार नगरेकोदेखि ‘दुर्व्यवहार’ सम्मको आरोप उनलाई छ। बालबालिका राख्न कस्तो भौतिक पूर्वाधार हुनुपर्छ भन्ने बालकल्याणको पुस्तिका नै छ। ती मापदण्ड भने आमाको घरले पूरा गरेको छैन।
बालबालिका र बृद्धलाई एउटै घरमा राखिएको छ। बालबालिका सुत्ने कोठा साँघुरो छ। सुत्ने र लगाउने कपडा फोहोर छन्। आमाको घरमा बस्दा धेरै बालबालिकाका खुट्टामा चप्पल हुन्न। तर आमाको घरको अवस्था पहिलेदेखि नै यस्तै हो। पत्रपत्रिकाको प्रशंसा, दर्जनौं सम्मान पाएर दिलशोभाको हाईहाई हुँदा आमाकोघरको अवस्था अहिलेभन्दा पनि नाजुक थियो।
आमाको घरका बुढापाका र बालबच्चालाई भरथेग गर्ने शुभेच्छुक र सहृदयीहरु पहिलाभन्दा भौतिक अवस्था निकै सुध्रेको ठान्छन्। ‘पहिला भन्दा ६० प्रतिशत स्तर बढेको छ,’ प्रिन्सिपल जोतिकले भने, ‘चार/पाँच वर्ष पहिला झन् फोहोर, झन् साँघुरो र झन् अव्यवस्थित थियो।’
दिलशोभाले आफ्नो माइतीले पेवामा दिएको घरमा आफन्तले वास्ता नगरेर सडकमा आइपुगेका बुढापाकालाई आश्रय दिएर अठार वर्ष पहिला आमाको घरलाई जन्म दिएकी हुन्।
त्यसले चार वर्षपछि मात्र दर्ताको औपचारिकता पूरा गर्‍यो। त्यही घरमा एउटा पाखो थपेपछि उनले बालबालिकालाई पनि आश्रय दिन थालिन्। दुखम्, सुखम् चलाइन्।
भौतिक अवस्था सुधार्दै लगेको दिलशोभाको पनि दाबी छ। ‘विजयकुमारले अन्तर्वार्ता लिएपछि दुई वर्षयता आमाको घरलाई धेरै सहयोग आउन थालेको हो,’दिलशोभाले भनिन्, ‘सँगै जग्गा बढाइसकेको थिएँ, जापानिज दूतावासले घर बनाइदिन नक्सा बनाइसकेको थियो ।’
चामल, दाल, भुटुन, मसला, बिस्कुट लगायत खानेकुरा प्रशस्त जिन्सी सहायतामा आउने गरेको छ। श्राद्धको तिथि, जन्मोत्सव, विवाहको वार्षिकी लगायतमा खाना खुवाउनेको भीड नै हुन्छ। त्यतिबेला अघिपछि भन्दा मिठो, मसिनो पाक्छ।
‘पकाउने, सरसफाई, लुगा धुने, भान्छे गरेर चार जना छन्,’ उनले भनिन्, ‘बिहान ३ बजे उठेर अरु चार जानाको काम मै गर्छु।’
पछिल्ला वर्षमा उनको संस्थालाई सहयोग गर्नेको जुन भीड छ, त्यो तुलनामा आमाको घर फुर्तिलो देखिदैन। बच्चालाई राखेको भुँइतल्ला घाम पस्ने र हावा खेल्ने खालको छैन। बुढापाकालाई राखिएको कोठा पनि ओछ्यान जोडिएजस्तै छ।
‘सडकपेटीमा सुतेका वृद्धा उठाएर जीउमा कटकटिएको दिशा धुन नै मैले घन्टौं लगाएकी छु,’ उनी भन्छिन्, ‘हाम्रो घर सडकभन्दा राम्रो र तातो होला, त्यो भन्दा राम्रो छैन।’
उनले केटाकेटीलाई हप्की, दप्की लगाउने गरेको र चप्पल समेत लगाउन नदिएको आरोप पनि छ। चप्पल दियो कि छिनालिहाल्छन् भन्ने पीर उनलाई छ नै। हप्काएनन् भन बिग्रिन्छन् भन्ने उनको मान्यता छ।
पन्ध्र वर्ष निकै दुखजिलो गरेर संस्था चलाएकी उनको ‘टार्ने, पुर्‍याउने’ बानी गएको छैन।
नयाँले पुग्ने भए पनि पुराना लुगाफाटो लिन दिलशोभाले छाडेकी छैनन्। कसैले महँगो चामल दियो भने त्यो बेचेर मझौला खालको ल्याएर फारु गर्ने बानी पनि उस्तै छ।
खासै लेखपढ नगरेकी उनको चेतनास्तर र वृद्ध/बालबालिकाबारे ऐन/कानुनले तोकेको मान्यतामा ठूलो खाडल छ। कतिसम्म फोहोर र कति गरे सफा भन्ने उनको व्यक्तिगत चेतमै निर्धारित छ।
उनले विद्यार्थी पठाउने स्कुलका शिक्षकहरुलाई पनि बालबालिकाको सरसफाइमा ध्यान नपुगेको खट्किन्छ। ‘कतिपल्ट मैले नै स्कुलमा बच्चालाई नुहाइदिएको छु,’एन्जल एकेडेमीका संस्थापक प्रिन्सिपल जोनिकले भने।
उनले पाँच जना बच्चालाई विभिन्न व्यक्तिको घरमा काम लगाउन पठाएको आरोप पनि छ। दिलशोभाले भने काम गर्न नभई आमाको घरभन्दा राम्रो हुन्छ भनेर शिक्षादिक्षाका लागि पठाएको स्विकारेकी छिन्।
बालकल्याणका अनुसार तीन जना पोखरा र दुईजना काठमाडौंमा अरुको घरमा छन्। ‘मेरो भाइले तपाईँ मात्र कति दुख गर्नुहुन्छ, हामी पनि अलिकति सेवा गरौं भनेर लगेको हो,’ दिलशोभाले पत्रकार सम्मेलनमै भनेकी थिइन्।
बालकल्याणका अधिकारीहरुले भने त्यसबारे अनुसन्धान भइरहेको बताएका छन्।‘बालगृहले जिम्मा लिएर अन्त पठाउन कहाँ पाइन्छ?’ धितालले भने।

आर्थिक स्रोतमा दिलशोभाकै तजबिज

दिलशोभाकै अनुसार पछिल्लो दुई वर्षदेखि उनको संस्थालाई आर्थिक सहायता गर्नेको संख्या ह्वात्त बढेको छ। परोपकारको भावनाले आमाको घरलाई सहायता गर्नेमा लगभग सबैजसो नेपाली छन्, स्वदेश र विदेशमा बसेका।
सहायतामा आएको रकम बैठककोठामा रहेको मोटो खातामा लेख्ने चलन छ। तर त्यसको खर्चमा कञ्जुस्याइँ गरेको, हिसाबकिताब दुरुस्त नराखेको र हिनामिना गरेको आरोप उनीमाथि छ। उनीबिरुद् जिल्ला प्रशासन कार्यालयमा गरिएको उजुरीमा ४० लाख रुपैयाँ अमेरिकामा रहेका छोरीज्वाइँलाई पठाएकोसमेत दाबी छ।
दिलशोभाको विश्वासमा दिएको सहायताको खटनपटन उनले व्यक्तिगत तजबिजमा गर्ने गरेकी छन्। संस्थाको संचालक समिति खासै सकृय छैन।
कोषाध्यक्ष राजु शाक्यले आफूलाई हिसाबकिताबबारे केही थाहा नभएको बताए।‘दिलशोभा आमालाई सहयोग गर्न म कोषाध्यक्ष बस्दिएको मात्र हुँ,’ शाक्यले भने, ‘सबै जिम्मा आमाकै हो।’
यसपाला संस्थाको लेखापरीक्षण गर्ने युवराज घिमिरेले सेतोपाटीलाई दिएको जानकारी अनुसार यो आर्थिक वर्ष २०६९/७०मा संस्थालाई १ करोड १२ लाख भन्दा बढी नगद सहायता प्राप्त भएको छ। ‘६९ लाख संस्थाको खातामा बाँकी छ,’घिमिरेले भने, 'सिकाउने मानिस नभएर कागजपत्र दुरुस्त राख्न नसकेको देखिन्छ।'
उनका अनुसार ६० भन्दा बढी केटाकेटी र बुढापाकाका लागि संस्थामा मासिक ३ लाख ५० हजार रुपैयाँ भन्दा बढी खर्च हुन्छ।‘बुढापाकाको औषधिउपचारमा प्रशस्त खर्च देखिन्छ,’ उनी भन्छन्, ‘एकजना वृद्धाको अपरेसन गरेर बीस किलोको ट्युमर झिकेको कागज समेत छ।’
स्कुलहरुले फि माफी गरिदिए पनि ड्रेस, कापी कलम, औषधि उपचार खर्च पनि महँगो नै हुने दिलशोभा बताउँछिन्।
अनुगमन गर्ने निकायले आर्थिक पारदर्शितामा आजसम्म  प्रश्न उठाएको देखिन्न। बालकल्याण वा समाज कल्याण परिषद्ले आजसम्म हिसाबकिताब वा लेखा परीक्षणमाथि प्रश्न उठाएका छैनन्।
दिलशोभाले पनि हिसाबकिताब पारदर्शी र दुरुस्त राख्न शुभेच्छुकहरुले दिएको सुझाव कार्यान्वयन गरेकी छैनन्। 
उनले व्यवस्थापन गर्न नजानेर त्यसो गरिन् वा नियतवश गरिन्, सबै जाँचपडताल नगरी भन्न कठीन छ।
उनको संस्थाको खातामा खर्च भएर बचेको ६९ लाख रुपैयाँ देखिएको तथ्यले भने आमाको घरमा आएको स्रोत बालबच्चा र वृद्धको लालनपोषणमा खर्च नगरी व्यक्तिगत लाभ लिएको भन्ने आरोपको धेरै हदसम्म खण्डन गर्छ। - setopati

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक