20140316

सभासद राजेन्द्रबहादुर अमात्य 'महामूर्ख' , अर्का सभासद राजकुमार गुप्ता 'अधिराजकुमार मूर्ख' घोषित !!!

संविधानसभाको निर्वाचन जितेका सभासद राजेन्द्रबहादुर अमात्यलाई जिल्लाबासीले भद्र र परिपक्व नेताको रूपमा चिन्छन् । तर, शनिबार वीरगन्जमा एउटा समारोहमा उनलाई 'महामूर्ख' उपाधि दिइयो । उनलाई तरकारीको माला लगाई दिएर महामूर्ख विभूषित पनि गरियो । उनीसँगै अर्का सभासद राजकुमार गुप्तालाई 'अधिराजकुमार मूर्ख' को उपाधिले विभूषित गरियो । कसैले मूर्ख भनेर गाली गर्दा जोकोही पनि झोकिन्छ । तर अमात्य र गुप्ता भने मञ्चमै यसरी पदवी दिँदा रिसाएनन् बरु खुसीले गदगद भए । उनीहरूले आयोजक नेपाल भोजपुरी प्रतिष्ठानलाई धन्यवाद मात्र दिएनन् एक वर्षका लागि आफूमाथि ठूलो जिम्मेवारी आएकाले त्यसको राम्रोसँग वहन गर्ने सार्वजनिक वचनबद्धता नै जाहेर गरे । विषय हो- प्रतिष्ठानले गरेको महामूर्ख सम्मेलनको । प्रत्येक वर्षझैं यस वर्ष पनि प्रतिष्ठानले नगरको सबैभन्दा भीडभाड हुने स्थान माईस्थान मन्दिर अघिल्तिरको खाली भागमा मञ्च ठडाएको थियो । आयोजकले दुवैजनालाई यस वर्षको महामूर्ख र अधिराजकुमार मूर्ख घोषित गरेपछि अबिरसँगै तरकारीको माला लगाइदिए । महामूर्ख घोषित भएपछि प्रतिक्रिया दिँदै गुप्ताले भने, 'होलीले हामीलाई एक आपसमा सद्भाव बढाउने सन्देश दिन्छ, आज मुलुकमा सद्भाव र एकताको खाँचो छ ।' गुप्ताले पनि आफूहरू एक वर्षभित्रै नयाँ संविधान बनाउने प्रणका साथ संविधानसभामा पुगेकाले यसका लागि
दत्तचित्त भई लागेको बताए । 'यो पर्वमा जसले जसलाई पनि व्यंग्य गर्न छुट छ,' आयोजक संस्थाका अध्यक्ष मास्टर तारा सिंहले भने, 'यही त यो पर्वको मज्जा पनि त हो, सबै लोकलाज र वैरभाव त्यागेर उल्लासपूर्वक मनाउँछन् ।' मञ्चमा तेस्रोलिंगीदेखि लिएर स्थानीय कलाकारहरूले होली नृत्य पस्केर माहोललाई पूर्ण रूपले होलीमय बनाएका थिए । रंगमा व्यंग्य पर्सा -कास)- 'कबही कुष्णा फगुवा खेले, कवही खेलले राम नेपालके राजनीतिमे फगुवा होला सवेरे साम' पाका व्यंग्यकार विनोद तिमल्सेनाले शनिबार होलीको अवसरमा आयोजित भ्रष्टाचारविरुद्धको साहित्यिक यात्रामा भोजपुरी भाषामा यसरी कविता सुनाएपछि तालीको गडगडाहट छुट्यो । उनको कविताले भनिरहेको थियो- 'कहिले कृष्ण होली खेल्छन्, कहिले खेल्छन् राम नेपालको राजनीतिमा होली हुन्छ दिन-रात ।' हास्यव्यंग्य मञ्च पर्साले गरेको यो कार्यक्रममा प्रस्तुत गरिएका सबै व्यंग्य कविताका बिषयबस्तु बने नेता, तिनको आचरण, सभासद, देशको बेथिति, अभिनेता, भ्रष्टाचार, महँगी लगायत । कसैले नेपालीमा कसैले भोजपुरीमा अनि कसैले हिन्दीमा रचना वाचन गरे । कविता वाचन गर्नेमा दीलिपराज कार्की, फडिन्द्र अधिकारी, अच्युत प्रधानांग, अरुणविक्रम शाह, महेशचन्द्र गौतम, काशिनाथ जमरकटेल, रामसेवकलाल कर्ण, रामाशिषप्रसाद धानुक लगायत थिए । श्रोता पनि चोटिलो र पेचिलो व्यंग्य कविता सुनेर पेट मिचीमिची हाँसे । एकले अर्कालाई अबिर दलेर सद्भाव र शुभकामना पनि बाँडे । तराईमा होली रंग र उल्लासको मात्र नभई व्यंग्य र हाँसोको पर्व पनि मानिन्छ । होलीको बेला गरिएको हासो ठट्टा र व्यंग्यलाई कसैले पनि गम्भीरताका साथ लिन मिल्दैन । र लिदैनन पनि । शत्रुसँग मेलमिलाप गर्ने पर्वको रूपमा मानिने यो पर्व तराईमा छठपछि दोस्रो ठूलो पर्व मानिन्छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक