20140307

काठमाडौंका प्रहरी प्रमुख रमेश खरेलले सर्वोच्चबाट जन्मकैद सुनाइएका एमाओवादीका नेता बालकृष्ण ढुंगेललाई कानुनी दायरामा ल्याउनु आफ्नो अग्निपरीक्षा रहेको बताए


खरेल भन्छन्-’बालकृष्ण ढुंगेल मेरो अग्निपरिक्षा’काठमाडौंका प्रहरी प्रमुख रमेश खरेलले सर्वोच्चबाट जन्मकैद सुनाइएका एमाओवादीका नेता बालकृष्ण ढुंगेललाई कानुनी दायरामा ल्याउनु आफ्नो अग्निपरीक्षा रहेको बताउनुभएको छ । खरेललाई भेट्न शुक्रबार उहाँकै कार्यकक्षमा पुगेका पीडित परिवारलाई उहाँले यस घटनाका सम्बन्धमा आफू जानकार र चिन्तित रहेको बताउनुभयो । न्याय नपाउँदा पीडित परिवारलाई मर्का परेको भन्दै उहाँले भन्नुभयो– ‘यो मेरो अग्निपरिक्षा हो, तपाईंहरुले न्याय पाउनुहुन्छ, ढुक्क हुनुस ।’
balkrishna-dhungel-super-final
यस्ता घटनामा दोषीलाई कानुनी कठघरामा नल्याए प्रहरी ‘नपुसक’ जस्तो हुने उहाँको भनाइ थियो । गृहमन्त्री बामदेव गौतमले ढुंगेललाई कारबाही गर्ने बताइसकेकाले पनि आफूलाई थप बल प्राप्त भएको खरेलले
बताउनुभयो ।
ओखलढुंगाको टारकेराबारीका स्थानीय उज्जनकुमार श्रेष्ठको २०५५ साल असार १० गते हत्या भएको थियो । एमाओवादीका तत्कालिन सभासद् रहेकै बेला ढुंगेललाई हत्यामा दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले ढुंगेललाई आममाफी दिएका थिए । तर, त्यो निकै विवादास्पद बन्यो । नागरिक समाज, अधिकारकर्मी, अन्य राजनीतिक दल र अन्तर्राष्ट्रिय समुदायले समेत आममाफीको विरोध गरेको थियो । आममाफी दिने भट्टराई सरकारको निर्णयविरुद्ध पीडित परिवारका तर्फबाट उज्जनकी दिदी सावित्री श्रेष्ठले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । । जुन अहिले पनि बिचाराधीन छ ।
काठमाडौंका प्रहरी प्रमुख खरेललाई भेट्न पुगेकी उज्जनकी दिदी सावित्रीले आफू उत्साहित भएको बताउनुभयो । खरेलले ढुंगेल लगायतका दोषीलाई कानुनी कठघरामा ल्याउने विश्वास लिएको सावित्रीको भनाइ छ । सर्वोच्चले दोषी ठहर गरिसक्दा पनि ढुंगेललाई प्रहरीले पक्राउ गरेको छैन । ढुंगेल अहिले पनि राजधानीमा लुकीलुकी हिँड्ने गरेको पीडित परिवारको दाबी छ ।
Sabitri Shrestha
यसरी मारिए उज्ज्नकुमार 
सुन्दर पोकली गाउँ । बुबा गाउँकै प्रतिष्ठित व्यापारी । मिजासिलो स्वभावका बुबा गाउँमा सबैका प्रिय हुनुहुन्थ्यो । गाउँभरिमा एउटै पसल हाम्रो मात्र थियो । त्यसैले बुबा सबैका सहाराजस्तै हुनुहुन्थ्यो । बिहान–बेलुकै किनमेलका लागि घुइँचो लाग्थ्यो । ११ सन्तानको उज्ज्वल भविष्यका लागि बुबा दिनरात मेहनत गर्नुहुन्थ्यो । व्यापारसँगै सामाजिक क्षेत्रमा संलग्नताले बुबाको कद गाउँमै उच्च थियो ।
मेरो बुबा व्यापारकै लागि पोकली पुग्नुभएको हो । बाजे गुन्जदास श्रेष्ठ छिमेकी रामेछापको साँघुटार बजारका कहलिएका व्यापारी । मर्दापर्दा पनि साँघुटार पुग्नुपर्ने त्यति बेलाको बाध्यता । पोकलीबासीले बाजेलाई गाउँमा पसल राख्न अनुरोध गरेछन् । कुनै छोरा जान नमानेपछि बाजेको कुरा काट्न नसकी मेरो बुबाले पोकलीको लेतीमा व्यापार सुरू गर्नुभयो । २०११ सालमा । पोकलीसँगको हाम्रो साइनो त्यहीँबाट गाँसिएको हो ।
बुबाले व्यापार थाल्दा लिखु क्षेत्रमा साँघुटारमा मात्रै बजार रहेछ । त्यति बेला पसल चलाउन सजिलो थिएन । काठमाडौँसम्म हिँडेरै आउनुपर्ने, हिँडेरै सामान लैजानुपर्ने । राजधानीबाट सामान पुग्न करिब दुई हप्ता लाग्थ्यो । बाटामा खानबस्न भाँडाकुँडादेखि भरियासम्म लिएर हिँड्नुपर्ने त्यो बेला अनेक दुःखकष्ट गरी बुबा सफल व्यवसायी बन्नुभयो । कुनै बेलाको अर्काको गाउँ पोकली पनि आफ्नै बन्न पुग्यो ।
मैले थाहा पाएदेखि नै लेतीमा हाम्रो परिवार सम्पन्न थियो । ब्राह्मण समुदायको बाहुल्य रहेको पोकली गाविसमा हामीमात्रै नेवार थियौँ । लेतीमा व्यापारसँगसँगै बुबाले प्रशस्तै खेती जोड्नुभयो । साँघुटारको पुख्र्यौली त छँदै थियो । लेती, ओखलढुङ्गाकै खिजी फलाँटे, साँघुटार गरी तीन ठाउँमा पसल, दुई ठाउँको खेतीपाती । छोराछोरीलाई हुर्काउने, उचित शिक्षा दिने र सँगसँगै व्यापार पनि चलाउन सजिलो थिएन बुबालाई । तैपनि आमाको साथले सजिलै व्यवस्थापन गर्नुहुन्थ्यो । वर्षमा करिब पाँचसय मुरी धान आउँथ्यो । गाउँकै सबैभन्दा ठूलो घर हाम्रै थियो । चारतले ।
बिरामी पर्दा या बिहेबारीमा, सबैका हामी आर्थिक सहयोगी । गाउँमा आउने सरकारी कर्मचारीदेखि पाहुनाको बास हाम्रै घरमा हुन्थ्यो ।
समयक्रमसँगै बुबाले व्यवसाय विस्तार गर्नुभयो । त्यसैमध्ये थियो, टारकेराबारी गाविसमा पानीबाट चल्ने मिल (वाटर टर्बाइन) । त्यसले धान कुट्न र तेल पेल्न त्यस भेगका मानिसहरूलाई सहज भयो । सहरबजारमा पाइने अधिकांश सामान गाउँकै पसलमा पाइन्थे । बुबाको मिजासिलो स्वभावले ११ सन्तान हुर्किँदासम्म कसैसँग रिसराग भएन । उहाँले देखाएको बाटोमै थियौँ हामी सात दाजुभाइ र चार दिदीबहिनी ।
० ० ०
बुबालाई व्यापारबाहेक अरू सोच्ने फुर्सदै भएन । छोराहरू भने आफ्ना रुचि र सीपका काममा व्यस्त हुन थाले । जेठो दाइ राजकुमार श्रेष्ठ विद्यार्थीकालदेखि नै कम्युनिस्ट राजनीतिमा हुनुहुन्थ्यो । २०३२ सालदेखि शिक्षण पेसा थाल्नुभयो । कम्युनिस्ट भएकोले तत्कालीन पञ्चायती शासकबाट उहाँलाई बेलाबेलामा जेल हालियो । भिनाजु गणेशराज गौतम त्यस बेलाको भूमिगत कम्युनिस्ट नेता हुनुहुन्थ्यो । एमालेका माधवकुमार नेपाललगायत नेता भिनाजुको साथी थिए रे । २०३१ सालको जेठबाट तत्कालीन सरकारले भिनाजुलाई बेपत्ता पार्‍यो । अहिलेसम्मै उहाँको स्थिति अज्ञात छ । परिवारका अन्य सदस्यको भने राजनीतिक आबद्धता थिएन ।
दुवैतिर खेती भएकाले माइलादाइ गणेशकुमार साँघुटार र लेती आउजाउ गर्नुहुन्थ्यो । मिलनसार स्वभावका माइला दाइ वचनले कसैलाई घोच्ने स्वभावका हुनुहुन्नथ्यो । अरू भाइहरू पढाइको सिलसिलामा काठमाडौँ झरे । हामी चार दिदीबहिनी पनि बिहेबारी गरी आआºनै कर्मथलोमा थियौँ । पोकली घरमा बुबाआमा, माइला दाइ, भाउजू र भदाहा–भदैमात्र थिए । काइँला भाइ उज्जनले आमाबाले रोजिदिएकी बुहारी लक्ष्मीलाई मन पराएको थिएन । त्यसैले काठमाडौँकी महालक्ष्मी श्रेष्ठसँग विवाह गरेर बसेको थियो । जेठी श्रीमतीलाई मन नपराएकोले ऊ घर जाँदैन्थ्यो । कान्छी श्रीमतीबाट बच्चा नहुने भएकाले उसले जेठीपट्टिको छोरालाई भने काठमाडौँमा आफूसँगै राखेर पढाएको थियो ।
२०५० सालतिर बुबालाई मुटुको रोग लाग्यो । २०५३ सालतिर पक्षाघात भएपछि थलिनुभयो । त्यति बेला उज्जन काठमाडौँमै बसेर ट्ेरकिङसम्बन्धी काम गथ्र्यो । काठमाडौँको सुन्धारामा झोला बनाउने व्यवसायमा पनि उसको साझेदारी थियो । बिरामी बुबाको हेरचाह गर्नुपर्ने भएपछि उसले काम छाड्यो । छ महिनासम्म वीर अस्पतालमा उपचार गरेपछि बुबालाई केही आराम भयो । त्यसपछि बुबालाई लिएर ऊ २०५४ सालमा गाउँ फर्कियो र बेँसी (टारकेराबारी) मा रहेको पानी मिल सञ्चालन गर्‍यो ।
यसरी खोसियो खुसी
पहिलो शोक :२०५५ असार १० गते
टारकेराबारी– ७, ओखलढुङ्गा
बिहान ३:०० बजे । भाइ उज्जन मस्त निद्रामै थियो । रामेछापको धोबीडाँडामा प्रत्येक साताको बुधबार हाटबजार लाग्थ्यो । घरका अनाज बेच्ने र आवश्यक सामान खरिद गर्ने थलो हाट नै थियो । बिहानै किनमेल गरी बेलैमा फर्कने सल्लाहमा घरमै सुताएका दुई भरिया रामबहादुर श्रेष्ठ र थिरबहादुर खत्रीले उज्जनलाई उठ्न भनेछन् । तर, उठाउन एक घण्टा लाग्यो ।
Ujjan Kumar shrestha
‘अहिल्यै नहिँड्ने भए हामी जाँदैनौैं’, भरिया रामबहादुरले घुर्की लगायो ।
‘अलि उज्यालो होस्, पाँच बजेतिर जाऊँला, अहिले सुत’, भाइको आग्रह भरियाले मानेनन् ।
भरियाले अड्डी कसेपछि केही लागेन । उज्जन आँखा मिच्दै घरबाट निस्कियो ।
साँढे चारबजेतिर टर्च बालेर तीनै जना लिखु खोलाको तिरैतिर धोबीडाँडातिर लागे । घरबाट २० मिनेट हिँडेपछि खहरे खोलाको दोभान आइपुग्यो । चम्किलो टर्चको प्रकाश एक्कासि आँखामा परेपछि उज्जन झस्कियो । खेतको कुलोमा एउटा ठूलो ढुङ्गोमा केही मानिस लुकेर बसेको देख्यो । हुलमा थिए, बालकृष्ण ढुङ्गेल, पुष्कर गौतम, डोरबहादुर पौडेल, थलबहादुर पौडेल, पर्वत भट्टराई र अन्य सहयोगी ।
‘तिमीहरू भाग’, ढुङ्गापछाडिबाट कसैले भन्यो । उज्जनसँगै आएका दुई भरिया पछाडि सरे ।
उज्जनको हंसले ठाउँ छाड्यो । केही सोच्न भ्याएकै थिएनन्, पुष्कर गौतमले टर्च देखाउँदै ‘गोली ठोक्’ भन्यो । बालकृष्ण ढुङ्गेलले गोली हान्यो ।
गोली लागेपछि उज्जन ‘आमा…….!’ भन्दै खेतको गह्रामा ढल्यो । भाग्न खोज्दा घेरा हालेर सबैले खुकुरी प्रहार गरे । उज्जनको त्यहीँ निर्मम हत्या भयो । सबै मिलेर भाइको शव लिखु खोलामा बगाइदिए । घटनास्थलमा ठाउँ–ठाउँमा रगत जमेकाले पनि हत्याको निर्ममता प्रस्टै झल्कन्थ्यो । हत्यापछि उनीहरूले उज्जनको रगतमा हात चोपल्दै नदी किनारको ढुङ्गामा त्यसको निशानीसमेत छाडे । लाँकुरीभञ्ज्याङ पुगेपछि ‘हाम्रो जित भयो’ भन्दै सबैले दही खाएर हर्षबडाइँ गरे ।
हत्यापछि भरिया थिरबहादुर खत्री र रामबहादुर श्रेष्ठ डोरबहादुर पौडेलको घरतिर लागे । थिरबहादुर हत्या योजनाका मतियार थियो । राति नै उठाएर लैजान र खहरेखोलामा हत्या गराउन उसले ‘सुपारी’ लिइसकेको थियो । त्यसैले राति नै नगए हाट नजाने घुर्की देखाएको थियो । आºनै घरमा काम गर्ने भरियाको यो योजना भाइलाई थाहै भएन । उल्टै आºनै घरमा सुत्न दियो ।
हत्या योजनामा संलग्न डोरबहादुर ‘उज्जन कहाँ गयो ?’ भन्दै टारकेराबारीस्थित मिलघर आइपुग्यो । बुहारी लक्ष्मीले हाट गएको भनेपछि ‘ए…’ भन्दै फर्कियो ।
हत्या योजनामा संलग्न नरहेका भरिया रामबहादुरले भने, ‘बालकृष्ण ढुङ्गेल, पुष्कर गौतम लगायतले मारेर खोलामा फालेको’ सन्देश लेती घरमा पुर्‍यायो । दाइ गणेशकुमार श्रेष्ठ कुँद्दै घटनास्थल पुग्दा हत्या प्रमाणित भयो । नजिकैको प्रहरी चौकीमा जानकारी दिएपछि काठमाडौँबाट हेलिकप्टरमार्फत प्रहरी घटनास्थल पुग्यो । शव नभेटेपछि सर्जिमन र घटनास्थल मुचुल्का उठाएर प्रहरी फर्के ।
भाइको हत्याबाट छटपटिएका माइला दाजु गणेशकुमार श्रेष्ठले तत्कालै गामनाङटार प्रहरी चौकीमा जानकारी दिनुभयो । २०५५ असार १४ गते जिल्ला प्रहरी कार्यालय ओलखढुङ्गामा पनि किटानी जाहेरी पर्‍यो । किटानी जाहेरीकै आधारमा बालकृष्ण ढुङ्गेल, पुष्कर गौतम, केशव ढुङ्गेल र पर्वत भट्टराईबाहेक सबै केही दिनको अन्तरमै पक्राउ परे ।
बालकृष्ण ढुङ्गेल लुकीछिपी बसेकै अवस्थामा घटना भएको केही महिनापछि पल्लो लेतीस्थित ससुरालीबाटै पक्राउ पर्‍यो । पुष्कर गौतम र केशव ढुङ्गेल भने फरार भए ।
यसकारण मारियो मेरो भाइ
धान कुट्ने मिलमा आउजाउ गर्दागर्दै देखभेट भएका उज्जन र रेनुका पौडेलबीच केही समयमै गहिरो प्रेम बस्यो । हँसिलो अनुहार, अग्लो–खँदिलो ज्यान र गाउँमै व्यापार व्यवसाय गरेको उज्जनसँग आफ्नो जीवन हाँसीखुसी बित्नेमा ढुक्क थिइन् रेनुका ।
मन नपरी बिहे भएको भन्दै जेठी पत्नीलाई उज्जनले स्वीकारेको थिएन । आफैँले रोजेकी काठमाडौँकी महालक्ष्मी श्रेष्ठसँग पनि बालबच्चा नहुने भयो । घरमा पत्नी हुँदाहुँदै रेनुकालाई भित्र्याउन चाहेको थियो उसले । माइतीको स्वीकृतिबिना रेनुकाले उज्जनसँग बिहे गरिन् । तर, रेनुकालाई उज्जनले घरमा चाँहि भित्र्याएको थिएन ।
बिहे भएको आठ महिनापछि प्रेम विवाहकै कारण माइती पक्षबाट यस्तो घटना भयो जसले उज्जनको मात्र ज्यान गएन, हाम्रो परिवारमा कहिल्यै नपरेको पीडाको वज्रपात भयो ।
घटना भएको एक महिनापछि दुई भरियाले अदालतमा बयान दिए : ‘रेनुकाका दाइ र बालकृष्ण ढुङ्गेलले उज्जनलाई मार्ने योजनाअनुसार हामीलाई उज्यालो नहुँदै खोलाको तिरैतिर ल्याउनु भनेका थिए । हामीले त्यसै गरेका हौँ, पुष्करले टर्च लाइट देखाए, बालकृष्णले गोली हाने । अनि हत्या गरेर लिखु नदीमा बगाइदिए ।’
Sabitri Shrestha HOme
रेनुकाका दाजु डोरबहादुर पौडेल टारकेराबारी गाविसका तत्कालीन वडाध्यक्ष थिए । रेनुकाको बिहेलगत्तै उनका कान्छा दाइ थलबहादुर र उज्जनबीच पटकपटक झगडा परेको थियो । ‘तल्लो जात’ ले माथिल्लो ताक्ने भन्दै मार्ने धम्की पनि दिइरहन्थ्यो । डोरबहादुरको आफन्त हो बालकृष्ण । ऊ तत्कालीन शाही नेपाली सेनाको जागिर छाडेर घरमै बस्थ्यो । डोरबहादुरकै योजनामा बालकृष्ण पनि मिसियो । सेनाको तालिम प्राप्त बालकृष्ण गोली हान्न प्रयोग भयो । उज्जनको हत्यापछि गाउँमा बस्ने अवस्था रहेन । आफूलाई जोगाउन बालकृष्ण माओवादीमा प्रवेश गर्‍यो । पुष्कर भने पुरानै माओवादी कार्यकर्ता थियो । बालकृष्णजस्ता तालिम प्राप्त पूर्वसेना पाउँदा पुष्कर मख्ख पर्ने नै भयो । उसले बालकृष्णलाई माओवादी कार्यकर्ता बनाइदियो ।
उज्जनको हत्या भएका बेला पुष्करबाहेक गाउँमा कोही माओवादी थिएन । रेनुकाका दाजु डोरबहादुर भने एमालेबाट निर्वाचित वडाध्यक्ष थियो । उसको भाइ थलबहादुर पनि एमाले । अरु कुनै पनि पार्टीमा लागेका थिएनन् । तर, भाइको हत्यामा संलग्न डोरबहादुर र थलबहादुरबाहेक सबै आफूलाई जोगाउन माओवादीमा प्रवेश गरे ।
ओखलढुङ्गामा रहेकी आमाको छिनछिनमा होस गुम्न थाल्यो । घरको भान्साबाटै उज्जनलाई गोली हानेको ठाउँ देखिन्थ्यो । त्यही सहन नसकी आमा खाटमै बेहोस भइरहने । बालकृष्ण माओवादीमा प्रवेश गरेपछि तारन्तार आइरहेको धम्कीले गाउँमै बसिरहने अवस्था रहेन । त्यसपछि बृद्ध आमाबा दुवै काठमाडौँ आउनुभयो । यसअघि नै अरू सबै काठमाडौँमा विस्थापित भइसकेका थिए । मानसिक र आर्थिकरूपमा झनै ठूलो तनाव सुरू भयो ।
उता घरका सबै सरसमान, पसल, मिल, जग्गाजमीन भएभरका सबै माओवादीले कब्जा गरे । ओखलढुङ्गास्थित पोकलीको घर माओवादीले कार्यालय खोलेर सञ्चालन गरे । त्यसको केही दिनमै तत्कालीन शाही नेपाली सेनाले बम पडकाएर घरै उडाइदियो ।
ganesh kumar shrestha
दोस्रो शोक
न्याय खोज्दा दाइको पनि ज्यान गयो
२०५९ मंसिर ६ गते
साँघुटार, रामेछाप
बालकृष्ण माओवादीमा प्रवेश गरेपछि प्रहरीमा दिएको किटानी जाहेरी फिर्ता लिन माओवादीतर्फबाट धम्कीपत्र आउन थाल्यो । स्वयम् बालकृष्ण पटकपटक माइला दाइ गणेशकुमार श्रेष्ठलाई ज्यान मार्ने धम्की दिन्थ्यो । भाइ त गुमाइयो, दाइलाई पनि बचाउन नसक्ने अवस्था रहेपछि घरमा ठूलो तनाव भयो । त्यसपछि दाइ छिमेकीहरूको घरमा लुकेर ज्यान बचाउन बाध्य हुनुभयो । केही नलागेपछि परिवारकै सल्लाहमा काठमाडौँ आउनुभयो ।
घर नफर्कने सल्लाहमा दाइ काठमाडौँमै बस्नुभयो । न्याय खोज्दै काठमाडौँका सडक र गल्लीमा भौँतारिरहनुभयो । साँघुटारको घरमा भाउजू र ससाना छोराछोरीमात्र थिए । उनीहरू उतै पढ्ने भएकाले पढाइ बिगारेर काठमाडौँ ल्याउन मिलेन । भाउजूलाई पनि रोगले च्याप्यो । उपचारका लागि उहाँ पनि यतै आएपछि एकातिर केटाकेटीको चिन्ता, अर्कोतिर खेती बिग्रेको चिन्ताले दाइलाई सताउन थाल्यो ।
धान भित्र्याउने बेला भइसकेको थियो । ‘धान भित्र्याएर छोराछोरीको चाँजोपाँजो मिलाएर आउँछु’ भन्दै घर जान जिद्दी गर्नुभयोे । दाइको जिद्दीसँग कसैको केही लागेन ।
गाउँ पुगेको दुई साता नहुँदै माओवादीहरू घरमै आइपुगे । घरमा माइली छोरी रचना र ससाना छोरीहरूमात्रै थिए । १३ वर्षे रचनाले धेरै कुरा सोच्न भ्याइनन् । काम होला भन्ने ठानेर खेतमै लगेर देखाइदिइन् । दाइलाई देख्नेबित्तिकै माओवादीहरू झम्टन थाले । परालको डोरीले पछाडिपट्टि हात बाँधेर छोरीकै अगाडि खेतमै गोली ठोके ।
हत्यालगत्तै माइला दाइको लास नउठाउन माओवादीले सबैलाई चेतावनी दिए । ‘लास उठाउनेको यस्तै गति हुन्छ’ भन्दै बजारमै खबरदारी गरेपछि लास कुर्र्ने समेत कोही भएन ।
जिल्ला प्रशासन कार्यालय रामेछापमा जानकारी दिइयो । तर, प्रहरीहरू घटनास्थल पुग्ने हिम्मत गरेनन् । एमाले जिल्ला पार्टी कार्यालयमा लास उठाउन गुहार माग्दा पनि एमाले नेताहरूले हिम्मत गरेनन् । दाजुभाइ इष्टमित्रलाई गुहार्दा कसैले पनि माओवादीको उर्दी नाघ्न सकेनन् । घटनाको तीन दिनपछि कान्छो भाइ दीपेन्द्र र मेरा श्रीमान् गणेशमान लामा काठमाडौँबाट घटनास्थल पुगे । तर, माओवादीले जलाउन दिएनन् ।
लिखु खोलाको किनारमा खाल्डो खनेर दाइको अन्त्येष्टि गरी उनीहरू काठमाडौँ फर्किए । भाइको हत्या भएको चार वर्षपछि लिखु खोलामै दाइलाई पनि बिदा गर्नुपर्‍यो । माओवादीको धम्कीले दागबत्ती दिने मानिससमेत भेटिएनन् । छोरी रचनाले नै बुबालाई दागबत्ती दिइन् ।
दाइ गणेशकुमारलाई गुमाउनु परेको पीडा आलै थियो, हत्याकै दिनदेखि साँघुटारका सम्पूर्ण व्यापारीलाई घर खाली गर्न उर्दी आयो । त्यसअघि नै माओवादीले लेतीको घरजग्गा कब्जा गरिसकेका थिए । दाइको सम्पूर्ण परिवार खाली हात काठमाडौँ आयो । कुनै बेलाको अत्यन्त सुखी र हाँसीखुसी रहने हाम्रो परिवार एकाएक बिचल्लीमा पर्‍यो ।
फोटो
Rachana Shrestha
तेस्रो शोक 
बाबा–बाबा भन्दै गई भदै
२०६५ जेठ २९ गते
भाइ उज्जन र माइला दाइ गणेशकुमारको हत्यारालाई सजाय दिलाउन सम्पूर्ण परिवार राज्यसँग भिडिरहेको थियो । यसैबीच आफ्नै अगाडि बुबाको मृत्यु देखेकी रचनाको कलिलो मस्तिष्कमा सायद पीडाबोध बढ्दै गयो । बुबालाई देखाएको र आफ्नै कारणले हत्या भयो भन्दै संधै रोइरहने र मानसिकरूपमा आफूलाई दोषी ठहराउँदै आएकी थिई उसले । त्यही वर्ष एसएलसीमा फेल भएपछि रचना झन्झन् गल्दै गई । मन बहलाउन परिवारको सल्लाहमा उसलाई जिरीको प्राविधिक स्कुलमा भर्ना गरिदिएँ । त्यहाँ पास भएर आए पनि बुबासँगको वियोगको पीडाले उसलाई छोडेन । अपराधबोधबाट छुटकारा पाउन २०६५ जेठ २९ गते आफ्नै गलामा पासो लगाएर उसले आत्महत्या गरी । - Dainik nepal
(सावित्री श्रेष्ठको ‘पीडाका ५०० दिन’ नामक पुस्तकबाट)

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक