20140313

वातावरणविद डा. भेष धमलाको निधन, धमलाको पार्थिव शरीरलाई शुक्रवार बिहान नौ बजेदेखि १० बजेसम्म Pierce Funeral Home 9609 Center St, Manassas, VA 20110 मा राखिने

Nepalmother.com परिवार दिवंगत डा. धमलाको आत्माको चीर शान्तिको कामना सहित श्रद्धान्जली, परिवारजनमा समवेदना  व्यक्त गर्दछ
भर्जिनिया/ वातावरणविद डाक्टर भेष धमलाको निधन भएको छ | स्वर्गिय धमलाका जेठान विश्वबन्धु प्रसाइले नेपाल मदर लाई दिनुभएको जानकारी अनुसार धमलाको मंगलवार आफ्नै निवास ओक्टन भर्जिनियामा दिउँसो करीब १२ बजेतिर निधन भएको हो | ५९ वर्षीय धमला विगत दुई वर्षदेखि नै हिंडडुल गर्न नसक्ने भएर निवासमा नै उपचार गराई रहनु भएको थियो | धमला सन् २००८ देखि नै पार्किन्सन रोगले पीडित हुनुहुन्थ्यो | दिवंगत धमला सन् २००३ देखि नै पत्नी रश्मी धमला र दुई छोरी सुसन र रिभाका साथ भर्जिनियामा बस्दै आउनु भएको थियो | सन् १९५६ फेब्रुअरी १५ तारिख पूर्वी नेपाल ओखलढुंगाको बेतिनी गाविसमा जन्मनु भएका धमलाले न्युयोर्कस्थित सिराकस विश्वविद्यालयबाट वातवरण विज्ञानमा विद्यावारिधी गर्नु भएको थियो | विद्यावारिधिपछि सन् १९९६ सम्म उहाँले  सोही विश्व विद्यालयमा नै प्राध्यापन गर्नु भएको थियो | बौद्धिक एवं अत्यन्त मिलनसार व्यक्तित्वका धनी धमला सन् १९९६ देखि सन् २००२ सम्म नेपालस्थित युएनडीपीमा सहायक आवासीय प्रतिनिधिको रुपमा कार्यरत हुनुहुन्थ्यो | सहायक आवासीय प्रतिनिधि रहँदा युनडीपीले नेपालमा संचालन गरेका सबै परियोजनाहरुको प्रमुख नै डाक्टर धमला हुनुहुन्थ्यो | पछि सन् २००३ देखि सन् २०११ को अन्तिमसम्म उहाँ भर्जिनियाको फेयरफ्याक्स काउन्टीको स्वास्थ्य विभाग (मन्त्रालय) को वरिष्ठ वातावरणविदको रुपमा कार्यरत रहनु भयो | तर धमलाको स्वास्थ्य प्रतिकूल हुँदै गएपछि उहाँ सन् २०१२ देखि नै सेवा निवृत्त भएर उपचाररत हुनुहुन्थ्यो | लामो समयदेखि पार्किन्सन रोगले पीडित धमलाको शुक्रवार दाहसंस्कार गरिने धर्मपत्नी रश्मी धमलाले जानकारी दिनु भएको छ | शोकमग्न श्रीमती धमलाले बुधवार राती भावविव्हल हुँदै  भन्नुभयो,-उहाँ(श्रीमान) को अन्तिम श्रद्धान्जलीका लागि शुक्रवार बिहान नौ बजेदेखि १० बजेसम्म हामीले भर्जिनियाको एक चर्चमा उहाँको पार्थिव
शरीरलाई राख्ने भएका छौं, सबैलाई त्यहीं आएर श्रद्धान्जली दिनुहुन आग्रह गर्दछु |'
डाक्टर धमलाको पार्थिव शरीरलाई शुक्रवार बिहान नौ बजेदेखि १० बजेसम्म  Pierce Funeral Home 9609 Center St, Manassas, VA 20110 मा राखिनेछ | www.Nepalmother.com परिवार दिवंगत डाक्टर धमलाको आत्माको चीर शान्तिको कामनासहित श्रद्धान्जली व्यक्त गर्दछ | यसैगरी धमलाको परिवारजनमा पुग्न गएको यो अपुरणीय क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै शोकको यो घडीमा धैर्यधारण गर्न सक्ने शक्ति प्राप्त होस् भन्दै सम्बन्धित परिवारजनमा समवेदना समेत व्यक्त गर्दछ | 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक