(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20140406

नेकपा एमालेका उपाध्यक्षसमेत रहेका उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले आइतबार बागबजार स्थित एक होटलबाट नेकपा ‘एमालेको मार्गदिशा’ सार्वजनिक गरे

नेकपा एमालेका उपाध्यक्षसमेत रहेका उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले आइतबार बागबजार स्थित एक होटलबाट नेकपा ‘एमालेको मार्गदिशा’ सार्वजनिक गरेका छन् । ‘वर्तमान राष्ट्रिय परिस्थिति र नेकपा (एमाले) को मार्गदिशा’ शीर्षकमा मन्त्री गौतमले अगाडि सारेको १२ हजार शब्दको दस्तावेजमा वर्तमान समाज पुँजीवादी भइसकेको दाबी गरिएको छ । नेपाली समाज पूर्णरुपमा विकसित राष्ट्र भइसकेको नेता गौतमले दाबी गरेका छन् ।
गौतमको दस्तावेजको सारांश यस्तो छ-
वर्तमान परिस्थिति र हाम्रो कार्यदिशा
वर्तमान राष्ट्रिय परिस्थितिको मुख्य विशेषता राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको घोषणा हो । वर्तमान राष्ट्रिय परिस्थिति २०६५ जेष्ठ १५ बाट शुरु भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा राज्यसत्ता र सामाजिक आर्थिक ढाँचाकोाक संरचनागत रुपान्तरणको शुरुवात हो । यसबाट नेपाली समाजको युगान्तकारी परिवर्तन भएको छ ।
२०६२/६३ को जनआन्दोलन २००७ सालदेखि शुरुभएको पूँजीवादी क्रान्तिको निरन्तरताको मूर्तरुप थियो । यसले दुई हजार वर्षदेखि कायम सामन्ती राजतन्त्रात्मक व्यवस्थालाई शान्तिपूर्ण र वैधानिक तरिकाले अन्त्य गरेर पूँजीवादी व्यवस्था कायम गर्‍यो । यसबाट नेपालमा दुई हजार वर्ष पहिलेदेखि कायम सामन्तियुगको अन्त्य भएको छ र पूँजीवादी युग शुरु भएकोे छ । यो घटनासंँगै नेपालमा पूँजीवादी जनवादी क्रान्ति शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ र संसारकै निम्ति अनुकरणीय बनेको छ । अब नेपाली समाज नयाँ विशेषताले युक्त समाजवाद उन्मुख भएको
छ ।
 नेपाल राष्ट्रको वर्तमान अवस्थाले नेकपा (एमाले) का अगाडि निम्न ऐतिहासिक कार्यभार प्रस्तुत गरेको छ :
क) नेकपा (एमाले) दोस्रो ठुलो दल भए पनि संविधानसभाबाट संविधान निर्माण नगर्दासम्म संविधानसभामा नेकपा (एमाले) भन्दा केही सीट बढी प्राप्त गरी सबभन्दा ठूलो पार्टी भएको नेपाली काँग्रेससँग एकता गर्दै अगाडि बढ्नु पर्छ । यसबाट के स्पष्ट हुन्छ भने नेकपा-एमाले) को नेपाली काँग्रेससँगको सम्वन्ध, सहकार्य र संघर्षको अवस्थामा रहेको छ । नेपाली काँग्रेससँगको यो सम्वन्धलाई नेकपा-एमाले) ले स्पष्ट सन्तुलनमा राख्न सक्नुपर्छ ।
ख) ५८ वर्षको नेपाली जनताको संघर्षको महाउपलब्धिका रुपमा प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई जस्तोसुकै मूल्य चुकाएर भए पनि संरक्षण गर्ने कार्यभार नेकपा (एमाले) को काँधमा आएको छ । यो ऐतिहासिक कार्यभार पुरा गर्न सम्भव भएसम्मका राजनीतिक पार्टीहरुसँग मिल्न सक्नुपर्छ ।
ग) आगामी एक वर्षभित्र नयाँ संविधान जारी गरी समाजवाद उन्मुख सामाजिक, आर्थिक रुपान्तरणलाई सम्पन्न गर्न सक्नुपर्छ । जनक्रान्तिका उपलब्धिहरुलाई आम जनतासम्म पुर्‍याउन, विकास र निर्माणलाई जनताको घर दैलोमै पुर्‍याउन छिटो भन्दा छिटो स्थानीय निकायको निर्वाचन गर्न सक्नुपर्छ ।
घ) पुँजीवादी क्रान्ति सम्पन्न भएको र वर्ग संघर्षको मुख्य रुप वहुदलीय र जनताको जीवनस्तर उन्नत गर्न सामाजिक-आर्थिक रुपान्तरणको काम सम्पन्न गर्नु रहेको छ । यो रुपान्तरणको गति समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरण वन्न पुगेको छ ।
ङ) अब नेकपा(एमाले) ले साँस्कृतिक क्षेत्रमा रहेका अवशेष, दलाल पुँजीवाद र नोकरशाही पुँजीवादहरुलाई समाप्त गर्दै समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरणलाई तिब्र गति प्रदान गर्दै अगाडि बढ्नुपर्छ ।
नेपाली समाज पूर्ण रुपमा विकसित राष्ट्र हो
नेपाली समाज विकासको विशिष्ट अवस्थालाई आत्मसाथ गर्न नसकेका उग्रवामपन्थी अराजकतावादीहरुले संरचनागत पक्ष मात्र भएको संघीयतालाई सामाजिक क्रान्तिको रुपमा प्रस्तुत गरेर जातीय संघीयता र आत्मनिर्णयका नाममा देश टुक्राउने खतरा उत्पन्न गराएका छन् । कतिपय बुद्धिजीवीहरुले नेपाललाई राष्ट्र बन्दै गरेको राज्य, राष्ट्रियताहरुको राज्य अथवा बहुराष्ट्रिय राज्य भनेर खुलेआम देश विखण्डनको वकालत गरिरहेका छन् । कुनै एउटै नश्ल र वंश बसोबास गरेको देश यो संसारमा कहि पनि छैन ।
जहाँ अहिले एउटा मात्र जाती जस्तो देखिने गरेको छ, त्यो भाषा र सांस्कृतिक समानताको परिचायक मात्र हो । एउटै नश्लको वंश भन्ने कुरा गलत हो । मानव जाती गोत्रको अवस्थामा आईपुग्दा असङ्ख्य पटक जातीय अन्तरघुलन भइसकेको थियो । त्यो जनजातीमा पुग्दा अनेकौं गोत्रहरुको अन्तरघुलनबाट विकास भएको थियो । जाती -राष्ट्रियता)मा पुग्दा त्यस्ता अनेक जनजातीको अन्तरघुलन भएको थियो ।
कुनै पनि देशका जनसमुदाय राष्ट्रमा पुग्दा अनेक जातहरुको अन्तरघुलन भएको हुन्छ । प्रकृतिबाट फुत्त निस्केको कुनै प्राणी र त्यसको वंश यता उता केहि नभै राष्ट्रसम्म विकसित भएको मान्यता भ्रामक, अवैज्ञानिक र अप्राकृतिक छ । पृथ्वीनारायण शाहदेखि महेन्द्रसम्मका राजाहरुले संसारका अरु राष्ट्रहरु जस्तै नेपाल राष्ट्रलाई जन्माएका छन् । पहिले पृथ्वीनारायण शाहले राष्ट्रिय राज्यको जग बसाले, त्यही जगमा अरु राजा र राणाहरुले राष्ट्रिय राज्यलाई बलियो बनाउने काम गरे ।
नेपाली समाजको उत्पादन पद्धतिः
आज नेपाली समाजको सामाजिक आर्थिक संरचनामा पूँजीवादी उत्पादन पद्दति हावी भएको छ । आजको राज्यसत्ताले आम रुपमा पूँजीवादी उत्पादन पद्दतिलाई संरक्षण र विकास गर्ने काम गरिरहेको छ । जनताले प्राप्त गरेका राजनीतिक अधिकारहरु पनि पूँजीवादी नै छन् ।
समाजमा रहेका सबै जाति, भाषा, धर्म, संस्कृति र यस क्षेत्रका बीच रहेका विभेद कानुनतः समाप्त भएका छन् । शिक्षा, स्वास्थ, मनोरन्जन र रोजगारीका अधिकारहरु सबै पूँजीवादी छन् । पूँजीवाद सामाजिक, आर्थिक र सांस्कृतिक रुपमा हिमाल, पहाड, तराईका सबै गाउँ ठाउँ कुना काप्चामा पुगेको छ । नेपालमा पूँजीवाद नपुगेको र पूँजीवादीकरण नभएको कही छैन ।
अहिले कतैकतै पाइने सामुदायिक उत्पादनहरु पूर्व सामन्ती उत्पादन प्रणालीका अवशेष मात्र हुन् । भूदासहरुको श्रममा आधारित कृषि व्यवस्था समाप्त भएको छ र त्यो व्यवसायिकरण हुँदैछ । अवैतनिक श्रमको ठाउँ ज्यालादारी श्रमले लिईरहेको छ ।
पूँजीवाद भनेको पैसाले खरिद गरिएको श्रमशक्तिलाई प्रयोग गरी अतिरिक्त मूल्य उत्पादन गर्ने प्रणाली हो । अहिले स्वतन्त्र किसान, स्वतन्त्र कारिगर तथा व्यवसायी कसैले पनि गरेको उत्पादनले अतिरिक्त मूल्य उत्पादन गर्न बाध्य गरेको छ । वैदेशिक रोजगारीबाट प्राप्त हुने रकम पनि पूँजीवादी उत्पादन अन्तर्गत प्राप्त हुन्छ । मानसिक श्रम गर्नेहरुले त सबभन्दा धेरै अतिरिक्त मूल्य उत्पादन गर्दछन् र सानो हिस्सा मात्र पारिश्रमिकका रुपमा प्राप्त गर्दछन् । ज्यालामा काम गर्ने, आफ्नै स्वतन्त्र व्यवसाय गर्ने तथा मानसिक श्रमशक्ति मालका रुपमा विक्रि गरेर बाँच्न पर्नेहरुको संख्या देशमा करिब ८० प्रतिशत छ । सामन्ती उत्पादन पद्दति कायम नरहेपछि सामन्तवर्ग पनि अस्तित्वमा रहेको छैन । तर भूतपूर्व सामन्तका रुपमा कतिपय व्यक्तिहरु देखिन सक्छन् ।
अहिले नेपाली समाजको वर्गीय संरचना र बर्ग बनौटमा समेत परिवर्तन भएको छ । यहाँ अहिले पूँजीपतिवर्ग र श्रमजीवी वर्गमात्र छन् । पूँजीपतिवर्गमा दलाल, नोकरशाही र राष्ट्रिय पूँजीपति गरी तीन प्रकारका रहेका छन् । पूँजीपतिवर्गको त्यो हिस्सा जसले कानुन र प्रक्रियाहरुलाई दुरुपयोग गर्दै राष्ट्रिय लगानीलाई अनुत्पादक क्षेत्रमा प्रवाहित गर्दछ र कमिशनका रुपमा आम्दानी प्राप्त गर्दछ, त्यो दलाल पूँजीपतिवर्गमा पर्दछ ।
पूँजीपतिवर्गको त्यो हिस्सा जस्ले तस्करी, कमिशनखोरी, कालोबजारी, कर छली आदिबाट पूँजी आर्जन गर्दछ त्यो वर्ग नोकरशाही पूँजीपतिवर्गमा पर्दछ । राष्ट्रिय पूँजीपतिवर्ग मात्र राष्ट्रवादी चरित्रको पूँजीपतिवर्ग हो । यसले प्रत्यक्ष उत्पादन र पुनरुत्पादनको क्षेत्रमा लगानी गर्छ, कानुनको पालना गर्दछ, राष्ट्रिय हितलाई ध्यानमा राख्दछ र विदेशी पूँजी लगानी भित्राउँदा पनि राष्ट्रिय हितको पक्षमा खडा हुन्छ ।
नेपाली श्रमजीवी वर्ग पनि तीन प्रकारमा विभाजित छ । एउटा शारिरिक श्रम गर्ने शक्ति, जसले आफ्नो श्रमशक्तिको प्रयोग ज्याला वापत पूँजीपतिका निम्ति अतिरिक्त मूल्य उत्पादन गर्न बाध्य छ । दोस्रो, मानसिक श्रम गर्ने शक्ति, जसले आफ्नो वौद्धिक क्षमता विभिन्न संस्थाहरुलाई विक्रि गर्छ र संस्थापनको निम्ति अतिरिक्त मूल्य उत्पादन गर्छ । तेस्रो, त्यस्तो श्रमशक्ति, जुन स्वतन्त्र किसान, स्वतन्त्र कारिगर, लघु उद्यमी तथा व्यवसायिहरु हुन् जसले आफ्नो कारोबार आफै संचालन गरेका हुन्छन् । उत्पादक सहकारीहरु पनि त्यस्तै श्रमजीवीमा नै पर्दछन् । यिनीहरु सबैले बजारसम्म आफ्नो कमाइलाई कमिशनका रुपमा विभिन्न ठाउँमा छाड्दै जानुपर्छ । समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरणबाट दलाल र नोहरशाही पूँजीवाद समाप्त हुनेछ र त्यसपछि राष्ट्रिय पूँजीवाद मात्र देशमा कायम रहनेछ । त्यस्तो अवस्थामा राष्ट्रिय पूँजीवाद नयाँ र नमुना समाजवादको सहयोगी शक्तिका रुपमा नै कायम गर्नेछ ।
देशभरि वैंक तथा वित्तीय संस्थाहरुको संख्या बढेर गएका छन् । अहिले वाणिज्य बैंक ३२, विकास वैंक ८८, वित्त कम्पनी ७७, लघु वित्त कारोवार गर्ने संस्थाह २३, नेपाल राष्ट्र वैंकबाट इजाजत प्राप्त सहकारी संस्थाहरु (सीमित वैंकिङ कारोबार गर्ने) १६, नेपाल राष्ट्र वैंकबाट इजाजत प्राप्त गर्ने गैर सरकारी संस्थाहरु (लघु वित्त कारोवार गर्ने) ३७, बीमा कम्पनीहरु २५, कर्मचारी संचय कोष, नागरिक लगानी कोष र हुलका बचत वैंक समेत ११७ संस्थाहरु छन् । देशभरीमा वैंक तथा वित्तीय संस्थाका २२६५ शाखाहरु छन् ।
उपरोक्त वैंक तथा वित्तीय संस्थाहरुको कुल सम्पत्ति ११५८.३२ अर्ब, निक्षेप ८७१.९१ अर्ब, कुल कर्जा सापट ७१३.०९ अर्ब रहेको छ । -श्रोतः आर्थिक सर्वेक्षण आ.व. २०६८/६९, नेपाल सरकार, अर्थमन्त्रालय, सिंहदरबार, पृ. ५३, ५४) यसका साथै देशभरी करिव २७००० सहकारी संस्थाहरु छन् । त्यसमा करिव ४० लाख सदस्यहरु आवद्ध छन् । यसले करिव एक लाख कर्मचारीहरु परिचालन गरी २०० अरब बचत परिचालन गरिरहेका छन् । यसरी ठूलो संख्यामा मुलुकमा संचालनमा रहेको वैंक, वित्तिय संस्था तथा सहकारी संस्थाहरुले देशव्यापी रुपमा गरिरहेको वित्तिय कारोबार, निक्षेप संकलन तथा कर्जा प्रवाहको विस्तारले सामन्ती आर्थिक कारोवारलाई समाप्त गरेर पूँजीवादको विकासलाई गति प्रदान गरिरहेको छ ।
माथि उल्लेखित तथ्यहरुले नेपाली समाज पूँजीवादीकरण भएको पुष्टि गरे पनि त्यसमा दलाल तथा नोकरशाही पूँजीवादको वोलावाल रहेको देखिन्छ । मुलुकमा ठुलो संख्यामा खुलेका वाणिज्य वैंक, वित्तीय संस्था तथा बचत तथा ऋण सहकारीहरुले अनुत्पादक क्षेत्रमा गरेको लगानीले दलाल पूँजीवाद फस्टाएको छ । अनुत्पादक क्षेत्रमा नीजी क्षेत्रको पनि ठुलो लगानी छ ।
रियलस्टेट, घर जग्गा खरिद विक्रि र उद्योगको नाममा खोलिएका एसम्बलीङ्ग उद्योगहरुबाट ठुलोमात्रामा कमिशन कुम्लाउने काम मात्र भएका छन् । अदक्ष श्रमशक्तिका रुपमा प्रत्येक दिन हजारौंको संख्यामा नेपाली युवाहरु विदेशीएका छन् । वैदेशिक रोजगार कम्पनीले त्यसबाट ठूलो मात्रामा कमिशन पाउँछन् । तस्करी, कमिशनखोरी, कालोबजारी र घुसखोरी सर्वत्र व्याप्त छ ।
शिक्षा र स्वास्थमा ठुलो मात्रामा नीजी लगानी प्रवाहित छ र ठुलो मात्रामा लगानीकर्ताले कमिशन प्राप्त गरिरहेकाछन् । कृषि, पर्यटन र साना उद्योगहरुले मात्र राष्ट्रिय उत्पादनलाई अगाडि बढाएका छन् । राष्ट्रको सम्पूर्ण खर्चको मूख्य श्रोत वैदेशिक रोजगारीबाट प्राप्त रकम भएको छ । यी सबै आर्थिक सुचकांकहरुले के देखाउँछ भने नेपालमा दलाल र नोकरशाही पूँजीवादको बोलावाल छ । यसलाई नेपालमा प्रवेश गरेको नवउदारवादले प्रोत्साहन गरिरहेको छ र नेपालको राष्ट्रिय अर्थतन्त्र ध्वस्त भइरहेको छ ।
 नेपाली समाजको परिवर्तनको दिशाः
विकासको कुन नमुना नेपाली समाजको समृद्धिका लागि उपयोगी हुन सक्ला ? अव नेपाली समाजले पक्रने दिशा पूँजीवाद हो कि समाजवाद ? यी अहिलेका मूख्य प्रश्न बनेका छन् । करिब ८० प्रतिशत जनसंख्या श्रमजीवी वर्ग भएको र लगभग ८० वर्ष पहिलेदेखि पूँजीवादी उत्पादन पद्धति आरंभ भएको नेपाल राष्ट्रले अव पूँजीवाद होइन नेपाली विशेषताको समाजवादको नमुना नै अवलम्बन गर्नुपर्दछ । यस अन्तरगत सार्वजनिक, सामुहिक, सहकारी, नीजी र सार्वजनिक नीजी साझोदारी अर्थतन्त्रलाई दृढतापूर्वक अवलम्बन गर्नुपर्दछ ।
बहुदलीय प्रतिस्पर्धाको शासन प्रणाली भएको राज्यव्यवस्था अवलम्बन गर्नुपर्दछ । दलाल र नोकरशाही पूँजीवादलाई उन्मुलन गर्दै राष्ट्रिय पूँजीवादलाई व्यापक रुपमा बढावा दिनुपर्दछ । नेपालको आफ्नो राष्ट्रिय हितलाई प्रोत्साहन हुने गरी विदेशी लगानीलाई भित्राउनु पर्दछ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको उत्तरी छिमेकी चीन र विश्वको दसौे ठुलो अर्थतन्त्र भएको दक्षिणको छिमेकी भारतका बजारमा पहुँच स्थापित गरी अगाडि बढ्ने कामलाई प्राथमिकतामा राख्नु पर्दछ । तर दलाल पूँजीवादको बोलावाल कायम रही रहने अवस्थामा भने यी दुई अर्थतन्त्रले नेपाललाई नै समाप्त गर्नसक्ने कुरालाई विर्सन हुन्न ।
हामीले नेपाली समाजको सामाजिक आर्थिक अवस्था एसियाका विकसित देशको दाँजोमा पुर्याउने उद्देश्य राख्नु पर्दछ । यसका लागि सामाजिक रुपले उच्च सांस्कृति र बहुलतालेयुक्त, आर्थिक रुपले समृद्ध र राजनीतिक रुपले स्वस्थ बहुदलीय प्रतिस्पर्धालेयुक्त समाजको निर्माण नै नेपाली नमुनाको समाजवाद सबभन्दा उपयुक्त हुनेछ ।
 नेपाली नमुनाको समाजवादी कार्यक्रम
 १) कुनै किसिमको सामाजिक विभेद नभएको बहुलवादी खुल्ला समाज स्थापना गरिनेछ ।
२) सामाजिक सुरक्षाको सम्पूर्ण जिम्मेवारी राज्यले लिने व्यवस्था गरिनेछ ।
३) बहुदलीय प्रतिस्पर्धाको शासन प्रणाली तथा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने शासकीय स्वरुप अवलम्बन गरिनेछ ।
४) कानुनी राज्य, संविधानको सर्वोच्चता, लोककल्याणकारी राज्य, मानव अधिकार, मौलिक अधिकार, आवधिक निर्वाचन, समावेशी लोकतन्त्र स्थापना गर्नका साथै संसदलाई विधायिकाका रुपमा राख्ने व्यवस्था गरिनेछ ।
५) सार्वजनिक, सामुहिक, सहकारी र नीजी तथा सार्वजनिक निजी स्वामित्व तथा सार्वजनिक स्वामित्वको नेतृत्वदायी भूमिका रहेको अर्थव्यवस्था लागु गरिनेछ ।
६) नेपालको प्राकृतिक श्रोत जलस्रोत, खनिज, कृषि, वन, जंगल, जडिबुटि, पर्यावरण, मानव संसाधन र पर्यटनलाई अत्यधिक उपयोग गरेर राष्ट्रिय उत्पादनलाई विकास गरिनेछ र यीनमै आधारित उद्योगधन्दा बन्द व्यापारलाई विकसित गरिनेछ ।
७) शारिरिक श्रम र मानसिक श्रमका विचको विभेदलाई क्रमशः समाप्त गरिनेछ । सम्पूर्ण नेपाली समाजलाई प्रत्यक्ष उत्पादनमा आधारित गराईनेछ र बेरोजगारी पूर्णरुपले समाप्त गरिनेछ ।
८) राष्ट्रिय पूँजीवादलाई चौतफिर् रुपमा संरक्षण र विकास गरिनेछ ।
९) गाँस, बास, कपास, शिक्षा, स्वास्थ, रोजगारी र मनोरन्जन समेतका अधिकारलाई नागरिकको मौलिक अधिकारको रुपमा स्थपित गरिने छ र त्यसको सम्पूर्ण जिम्मेवारी क्रमशः राज्यको हुनेछ ।
१०) केन्द्रका मातहत प्रदेश सरकार, स्थानीय सरकार र प्रारंभिक निकायहरु रहने गरी राज्यको पूर्नसंरचना गरिएको संघीय संरचना कायम गरिनेछ ।
११) समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरणको १० वर्षपछि नेपाल एशियाली मापदण्ड पार गर्नेछ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक