20140406

प्रत्येक घरबाट निस्कने फोहोर व्यवस्थापन गर्ने साथै ढलको प्रसोधन गर्ने उचित प्रवन्ध नगरिएसम्म बागमती सफा हुनै सक्दैन, भावनामा बगेरमात्र सफा हुन्छ बागमती ?

- रमेश भुुसाल  


केही साताअघि वातावरण मन्त्रालयले बोलाएको एउटा मिटिङमा पुगेको बेला मन्त्रालयका बागमतीसँग सरोकार राख्ने विभागका महानिर्देशक ‘गुहुमुत सोहोर्ने हामी विदेश जाने अरु’ भन्दै कुर्लिरहेका थिए। विदेश जान रोक लगाइए पछि चिढिएका उनले मुख्यसचिव लीलामणि पौडेलले नेतृत्व गरेको बागमती सरसफाइ
अभियानमा बाध्यतावश जानुपरेको रिस पोखेजस्तो देखिन्थ्यो। उनले यस्ता ‘गुहुमुत सोहोर्ने विभागमा बसिंँदैन, सरुवा मागेर हिँडिन्छ’ पनि भने।  पौडेल मुख्य सचिव हुनुअघिदेखि नै वातावरणीय सवालहरुमा अलि चाख राख्थे। यो समयमा आएर किन उनलाई बागमतीले यति आकर्षित गरेको होला भनेर धेरैले प्रश्न गर्छन्। केही त यतिसम्म पनि भन्छन्, यो उनले अवकास पाएपछि पनि चर्चामा आइरहन अहिलेदेखि विउ रोपेका हुन्। पौडेलका भाषामा यो नकारात्मक सोच भएकाको भनाइ हो र उनलाई त्यसमा कुनै दुखमनाउ छैन। चर्चैका लागि भए पनि यदि कोही वागमतीमा पसेर फोहोर निकाल्छ भने बहादुर नै हो उसलाइ सलाम गर्नुपर्छ। जे जस्तो कारणले भए पनि उनले बागमतीमा गरेको काम सराहनीय छ। माथि उल्लेख गरेका सहसचिवको कुरा सुनेपछि भने पौडेलले नेतृत्व गरेको सरसफाइ अभियान उनको डरले मात्रै अहिलेसम्म टिकेको त होइन भन्ने आशंका उब्जियो। यदि त्यस्तो हो भने यो अभियान पनि बीचमै तुहिन्छ। दिगो हुनै सक्दैन। उक्त मिटिङबाट फर्केलगत्तै मैले पौडेललाई एउटा इमेल लेखेर दुइवटा प्रश्नहरु
सोधेको थिएँ:
१. तपाईँलाई के कुराले यसरी वागमतीमा लाग्न प्रेरित गरेको हो?
२. बागमती सफा कसले गर्छ? व्यवस्थाले कि व्यक्तिले?
एक हप्ता पछि उनले लगभग ८ सय शव्दको लामो इमेल लेखेर पठाए। रातको पौने १२ वजेतिर मलाई प्रेषित गरेको इमेल निकै मार्मिक थियो। उनले नितिनियमहरुले होइन, मानिसको सोचमा परिवर्तन ल्याउन सकेमात्र बागमती सफा हुन्छ भन्ने आसयको इमल लेखेका थिए। म अहिले पनि समूह बनाएर फोहर टिपेर बागमती सफा गर्न सकिँदैन भन्नेमै विश्वास गर्छु। यो झुट सावित् होस् म यही चाहन्छु। तर साँच्चै बागमती सफा गर्ने हो भने चेतना विस्तारसँगै विकल्पहरु पनि बन्दै जानुपर्छ। हैन भने त्यो दिगो हुनै सक्दैन। मुख्यसचिव पदमा उनी रहुन्जेल त उनको वरिपरि कोही पर्न सक्दैनन् तर उनी पदमा नहुदाँको भोलिपल्ट उनले भनेको मान्ने कोही हुँदैन। यो समाजले व्यक्तिलाई भन्दा पद र शक्तिलाइ मान्छ। अब ती सहसचिव अहिले त त्यसो भन्दैछन् भने मुख्यसचिव हिँडेको भोलिपल्ट गुहुमुत सोहोर्न जालान् भनेर कसरी विश्वास गर्ने? त्यसैले फोहोर व्यवस्थापनको गतिलो आधार बनाउने र फोहोर गर्नेलाई कारबाही गर्ने थिति नमिलाएसम्म वागमती लगायत अरु कुनै खोला सफा हुनै सक्दैन। उनले यसलाइ मनन गर्नु निकै जरुरी छ र त्यसैअनुरुप दिगोपनबारे आफू पदमै रहँदा व्यवस्था नमिलाए त्यो सेलाएर जाने छ।
भावनामा बगेर नदी सफा गर्न सकिँदैन भन्ने उदाहरण भारतको गंगा नदी हो जहाँ बितेका तीन दशकमा एक सय अर्ब रुपैयाभन्दा बढी खर्च भइसक्यो तर पनि कुनै सुधार आएको छैन। जानकारहरुका अनुसार जनचेतनामा धेरै तर पुर्वाधार विकासमा कम खर्च गरिएकाले भारत सरकारको गंगा सफाइ गर्ने गुरुयोजना असफल भएको हो। चेतनासगै विकल्प दिन सकिएन भने शहरको फोहोर व्यवस्थापन संभव छैन। जुन शहरका अधिकांश मानिसहरुलाई विहानवेलुका हातमुख जोड्न धौधौ छ त्यहाँ आदर्शका कुराले धेरै दिन काम गर्दैन। अहिलेको बागमती अभियानले गंगा नदीबाट सिकेर त्यही अनुसार अगाडि बढ्न जरुरी छ।
आजभन्दा लगभग दश वर्षअघि म वातावरण विज्ञानमा स्नातक पढ्थे जुनबेला भर्खर भर्खर बागमती सफा गर्ने भन्दै बागमती रिभर फेस्टिवल भनेर वातावरणकर्मी मेघ आलेले शुरुवात गरेका थिए। भलै त्योभन्दा पहिला पनि अरुले प्रयास गरेका थिए होलान्, म आफूले सामेल भएको अभियानको मात्रै कुरा गर्दै छु। हामी स्वंयसेवक भएर काम गर्छौँ भनेर उनीसंग लागेर विहान विहान वागमती सफा गरेका थियौ तर जहिले पनि बागमती उस्ताको उस्तै। केही वर्षपछि म जानै छाडिदिएँ। मेरो उद्देश्य पौडेलले इमेलमा भनेजस्तै नराम्रो मात्रै कहाँ छ भनेर खोजेर हिँड्नु होइन तर उनको अभियान विफल नहोस् भन्ने हो। उनले नेतृत्व गरेको बागमती अभियानका केही कमजोर पक्षहरु छन् जसलाई उनले अहिले नै सच्चाएनन् भने बागमती सफा हुनै सक्दैन किनभने बागमतीलाइ मनवाटै माया गर्नेा हुतराम वैद्य र मेघ आलेहरुले पनि उनको जस्तै विचार राखेर लामो समयसम्म बागमती चहारेका थिए तर सफलता हात परेन।
बागमती सफा नहुनुमा पनि हाम्रो प्रवृत्ति दोषी छ भन्ने उनको ठम्याइ रहेछ। तर जवसम्म राज्यले सही र गलत छुट्याएर कारवाही गर्न सक्दैन तवसम्म व्यक्तिले ल्याएका परिवर्तन दिगो हुन सक्दैनन्। बागमती फोहोर हुनुमा मानिसको प्रवृत्ति मुख्य कारण हो भनेर उनले भनेका छन् तर त्यो सँगसगै सरकारले पनि दुरगामी भन्दा काले काले मिलेर खाउँ भाले भन्ने खालका कार्यक्रम ल्याएकाले बागमती सफा हुन नसकेको हो भन्ने उनले स्वीकार्नुपर्छ। बागमती गैरसरकारी संस्थाहरुको दुहुनो गाई भएको भन्ने धेरै स्वीकारेकै छन्। शनिबार पारेर वा पायक परेको ठाउँमा केहीवेर भेला भएर माइकिङ गरेर वा सेना प्रहरीका जवान लगाएर केही समयका लागि बागमती सफा होला तर यो दिगो समाधान होइन। महानगरपालिकाको प्रत्यक्ष निगरानीमा चौविसै घण्टा काम हुने र प्रत्येक घरबाट निस्कने फोहोर व्यवस्थापन गर्ने साथै ढलको प्रसोधन गर्ने उचित प्रवन्ध नगरिएसम्म बागमती सफा हुनै सक्दैन।
शिवपुरीको डाँडाबाट बगेको बागमती चोभारबाट निस्कने बेलासम्म २० भन्दा बढी साना ठूला खोला त्यसमा मिसिन्छन् जुन खोलाहरु बागमतीभन्दा कम फोहोर छैनन्। बागमती सफा गर्दै जाने अनि अरु साना खोलाका फोहोर फेरि मिसिँदै जाने हो भने के बागमती सफा हुन्छ त केही वर्षमा? जति नै ठुलो कुरा गरे पनि काठमाडौँ फोहोर लगेर फाल्ने ठाउँ त्यही शिशडोल हो, अर्को बनाउन सरकारले सकेको छैन। अनि कसरी गरिन्छ त फोहोरको व्यवस्थापन? अहिले मीनभवनसम्म ढल व्यवस्थापन गरिएको भनिए पनि त्यो सत्य होइन किनभने त्यहाँसम्म खोलामा मिसाइएका ढललाई जोडेर शखंमूल मुनि ल्याएर फेरि बागमती मै मिसाउने काम भएकाले माथिको भागको पानी सफा देखिएको हो। एक ठाउँको ढल अर्को ठाउँमा पुर्‍याएर व्यवस्थापन गरेको भन्न मिल्दैन। यसपालिको बर्षायाममा जव बागमतीमा मिसिने सहायक नदीले पुरै फोहोर बगाएर बागमतीमा मिसाउँछन् अनि फेरि उस्तै हुनेछ बागमती। त्यसैले उपत्यका भरिका खोलानालाको एकीकृत सफाइ योजना नबनाएसम्म र निरन्तर काम नगरिएसम्म बागमती चोभारको डाँडा कटेर जाँदा सफा भएर जाने छैन। शुरुमा फोहोर पानी प्रशोधन गर्ने काम सकाउनुपर्ने हो तर त्यसतर्फ काम अगाडि बढेको देखिँदैन।
भलै बागमती सफा गर्ने गुरुयोजना अनुसार केही काम पनि भइरेका छन् जुन राम्रो पक्ष हो तर त्यहाँभित्रको राजनीति र बेथितिको अर्को कथा छ। अभियानसँगसँगै बलियो कानुन र कार्यान्वयन नभएसम्म बागमती सफा हुँदैन। त्यो सँगसँगै बागमतीको अर्को समस्या भनेको वहावका लागि चाहिने पानी नै बागमतीमा नहुनु हो किनकि सुन्दरीजलदेखि नै अधिकाशं पानी काठमाडौँवासीलाई पिउने पानीका लागि भनेर डाइभर्ट गरिएको छ भने खोलाछेउमा शहरीकरणसँगै वस्ती विस्तारका कारण पानी रिचार्ज हुने क्षेत्र घट्दो छ। बग्न चाहिने पानी नै अपुग छ बागमतीमा त्यसैले त्यसको बहाव बढाउने उपायहरु नखोजी बागमती बगेको सपना देख्नु भ्रममात्र हुनेछ।
अहिले गरिएको सरसफाइ अभियान अत्यन्त व्यक्तिकेन्द्रित हुँदै गएको छ र मुुख्यसचिवलाई मात्रै सबै जस दिनेगरी संचारमाध्यम प्रस्तुत भइरहेका छन् जुन मुख्यसचिवका लागि नै घातक सिद्ध हुनसक्छ। उनलाइ बाबुराम भट्टराइलाई जसैगरी देवत्वकरण गरिएको छ र उनी पनि यसबाट रमाइरहेजस्तो देखिन्छ। त्यसैले उनले बेलैमा यो सरसफाइ अभियानको अपनत्व यसमा सरिक सबैलाई गराउन सकेनन् भने उनको अभियान सफल हुने छैन। उनले त्यो गर्न सकिरहेका छैनन् भन्ने उदाहरण माथि उल्लेख गरिएका सहसचिवको उद्घोष हो।
यदि बागमती सफाइ दिगो बनाउने हो भने उनले देशभरिका खोलाहरुको अवस्था र आजको २० वर्षपछि बागमती हुने सम्भावना रहेका देशभरिको खोलाको समग्र नेतृत्व गर्नुपर्छ साथै ढलमा परिणत हुने तयारीमा रहेका हजारौ खोलानालाको राष्ट्रिय योजना के हुने भन्ने बारेमा अहिलेदेखि नै सोच्नु जरुरी छ। मुख्य सचिवको हैसियतले उनले यो मौका सदुपयोग गरेर नेपालको नदी निति र दुरागामी सोच बनाउन सकेमात्र उनको अभियानले सार्थकता पाउने छ र दिगो हुने छ। होइन भने यो पनि फगत एक प्रयास मात्र हुनेछ।
(वातावरण विज्ञानका स्नातकोत्तर भुसाल एक दशकदेखि वातावरण पत्रकारिता गर्छन्।) 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक