(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20140612

पाँचौं तहको घेराबन्दीमा रुमलिएका प्रचण्ड ! वैद्यसँग मोर्चा बनाएर कसरी तोडिएला घेरा ? -

(अरुण बरालको अनलाइनमा प्रकाशित यो राजनीतिक टिप्पणी हामीलाई पनि मन पर्‍यो र नेपालमदर डट कमका पाठक हरुसँग पनि शेयर गर्न मन लागेर यहाँ साभार गरिएको छ - सम्पादक  )    
- अरुण बराल/ राजनीतिक टिप्पणी
काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले ललितपुरको खन्ना गार्मेन्टमा तीन दिन पहिले आयोजित आन्तरिक प्रशिक्षण कार्यक्रममा आफू घेराबन्दीमा परेको बताए । सो घेरा तोड्नका लागि एकसाताभित्रै वैद्य माओवादीसँग मोर्चा बनाउनुपर्ने प्रचण्डले उपचार विधि अघि सारे ।
प्रचण्ड आफैंले गरेको विश्लेषणअनुसार उनलाई फेरो लगाउने घेराहरु पाँचवटा छन् । राष्ट्रिय स्वाधीनताबारे आफूले लिएको पछिल्लो अडान, बाबुराम भट्टराईसँगको अन्तरकलह र उच्चस्तरीय राजनीतिक समितिमा नेतृत्व दिन कांग्रेस र एमालेले नमानेको जस्ता विषयलाई प्रचण्डले आफूमाथिको घेराबन्दी बताएका छन् ।
Prachanda Ghera
 पूर्वलडाकूको भ्रष्टाचारबारे अख्तियारले सक्रियता देखाउनु र राज्यबाट धमाधम द्वन्द्वकालीन मुद्दा ब्युँताउनुजस्ता विषयलाई पनि प्रचण्डले आफूविरुद्धको घेराबन्दीका रुपमा बुझ्न कार्यकर्तालाई
आग्रह गरेका छन् ।
छापामार युद्धकै धङधङी
‘घेराबन्दी’ सशस्त्र द्वन्द्वका बेलामा माओवादीले प्रयोग गर्ने पदावली हो । जनयुद्धको प्रारम्भिक कालमा राज्यले ‘घेरा हाल्ने र सखाप पार्ने’ नीति अपनाएको थियो भने माओवादीले ‘घेरा तोड्ने र प्रतिरोध गर्ने’ नीति लिएको थियो । चीनमा माओले सञ्चालन गरेको छापामार युद्धका बेला ‘घेरा हाल्ने’ र ‘घेरा तोड्ने’ कलाको प्रयोग २२ वर्षसम्म गरिएको थियो ।
नेपालका माओवादीहरुले पनि माओकै शैलीमा छापामार युद्ध गर्ने प्रयास गरेका थिए । त्योबेला राज्यपक्षले उनीहरुलाई विभिन्न जिल्लामा घेरा हाल्ने प्रयास गरेको थियो भने माओवादी छापामारले ती घेराहरु तोड्ने प्रयत्न गरेका थिए । यसरी घेरा तोड्दै आएका माओवादीले शान्तिकालमा आएपछि पनि यो पदावलि प्रयोग गर्न छाडेका छैनन् । यसै सन्दर्भमा प्रचण्डले खन्ना गार्मेन्टमा आफूमाथि घेराबन्दी भएको बताएका हुन् । यो प्रचण्डको पुरानो धङधङी मात्रै पनि हुन सक्छ । किनभने लोकतन्त्रमा कुनै पनि पार्टीले अर्कोलाई युद्धमा जसरी संहार गर्ने सोच्दैन ।
प्रचण्डले घेरा तोड्ने अस्त्रकारुपमा वैद्य माओवादीका साथै मात्रिका यादव र मणि थापासमूहसँग तत्काल मोर्चा बनाएर अघि बढ्नुपर्ने बताएका छन् । साथै पहिचानका पक्षधरसँगको सहकार्यले पनि घेरा तोड्न सघाऊ पुर्‍याउने प्रचण्डको विश्लेषण छ । यो प्रचण्डकोे मनको सन्तोष हो ।
पहिलो घेरा : भारत देब्रे हुनु
प्रचण्डले भनेको पहिलो घेरा उनले लिएको राष्ट्रिय स्वाधीनताको पछिल्लो अडान हो । बिराटनगरमा पारित दस्ताबेजमा गरिएको आलोचनाका कारण भारत घेराबन्दीमा उत्रिएको प्रचण्डको बुझाइ छ । प्रचण्डले प्रत्यक्ष भन्न नसके पनि यसको तात्पर्य के हो भने यतिबेला प्रचण्डप्रति भारत सकारात्मक छैन र उसले प्रचण्डलाई अप्ठ्यारो र कमजोर पार्न चाहेको छ । घेराबन्दी गर्न चाहेको छ ।
बिराटनगरमा पारित दस्ताबेजमा गरिएको आलोचनाका कारण भारत घेराबन्दीमा उत्रिएको प्रचण्डको बुझाइ छ
तर, के यो घेरालाई भारतको कडा आलोचक बैद्य माओवादीसँग मोर्चा बनाएर तोड्न सकिएला ? कि यो घेरा तोड्ने अरु कुनै विधि छ ? यसको जवाफ खोज्ने काम एमाओवादी नेता कार्यकर्ताकै हो । जटिलता के छ भने भारतले घेराबन्दी गर्न थाल्यो भनेर कार्यकर्ताको ‘ब्रेनवास’ गर्नुले विगतको सुरुङ युद्ध र सीमानामा गरिएका नारावाजीतिर पार्टीलाई लैजान खोजेको प्रतीत हुन्छ ।
भारतको विरोध गरेर राष्ट्रियताको पक्षपाती देखिने कुरालाई चीनले पत्याउन छाडिसकेको धेरै भइसकेको छ । योबेलामा आफ्नै आङको छारो कन्याएर खरानी निकालेजस्तो भारतसँगको सम्बन्ध आफैंले बिगार्न लागिएको पो हो कि ? यो पनि विश्लेषणको पाटो हो ।
यहाँ स्मरणीय त के छ भने चीनले प्रचण्डलाई यसअघि नै पटक-पटक सम्झाइसकेको छ । भारतसँग उत्तेजित होइन, मित्रवत् व्यवहार गर । भारतसँग नेपालको सम्बन्ध सुमधुर बनाऊ । आफ्नै देशका राजनीतिक पार्टीलाई भारतको कठपुतली नभन । आफ्नै पार्टीभित्रका योद्धालाई भारतीय एजेन्ट नभन । फराकिलो होऊ, हामीले मिलेर एक्काइशौं शताब्दीको एशिया अनि विश्वको नेतृत्व गर्नुपर्छ । चीनले प्रचण्डलाई पटक-पटक यस्तो सल्लाह दिएको अवस्था छ ।
दोस्रो घेरा : बाबुराम
डा. बाबुराम भट्टराईसँगको अन्तरविरोध र कलहले पार्टीभित्र र बाहिरबाट प्रचण्डमाथि अर्को घेराबन्दी भइरहेको बताइएको छ । पार्टीभित्रको अहिलेको अन्तरविरोधले प्रचण्डलाई अत्यन्तै तनाव र अप्ठ्यारोमा पारेकै छ । बाबुराम समूहलाई न पन्छाउनु, न बोक्नु, प्रचण्डलाई एकदमै अप्ठ्यारो परेको छ ।
तर, यो आन्तरिक घेरा तोड्ने र प्रतिरोध गर्ने विधि के हो ? यो पनि प्रचण्डका समर्थकहरुका लागि रोमियो अप्रेशन र किलोशेरा टु अप्रेशनको घेरा तोड्नुजत्तिकै जटिल मुद्दा बनेको उनको अभिव्यीक्तबाट प्रष्ट हुन्छ ।
यद्यपि यसमा विचारणीय विषय के छ भने पार्टीभित्रको फरक मतले केही कुरा उठाउँदैमा त्यसलाई किलोशेरा टु जस्तै घेराबन्दी ठान्नु र घेरा तोड्न कार्यकर्तालाई छापामार कला सिकाउन खोज्नु कत्तिको जायज होला ?
यो कुरा निश्चितै हो कि बाबुराम समूहले झिकेको बखेडाले प्रचण्डलाई कमजोर, तनावग्रस्त र जालमा बेरिएको माछोजस्तै बनाएकै छ । यही कारणले उनले यसलाई एउटा घेराका रुपमा विश्लेषण गरेका हुन सक्छन् । यो घेराबाट मुक्त हुन वैद्य पक्षसँग तत्काल एकता गर्ने कुराले प्रचण्डलाई सामान्य राहत मिल्न सक्ला ? यसबारे विश्लेषण गर्ने जिम्मा पनि एमाओवादी नेताहरुकै हो ।
तेस्रो घेरा : उच्चस्तरीय राजनीतिक समिति
उच्चस्तरीय राजनीतिक समिति बनाउन कांग्रेस र एमालेले आनाकानी गर्नु र बनाउन सहमत भएको अवस्थामा पनि आफूलाई नेतृत्व दिन नचाहनुलाई प्रचण्डले आफूविरुद्धको घेराबन्दीका रुपमा बुझेका छन् । बुधबार उच्चस्तरीय राजनीतिक समितिको साटो राजनीतिक समितिमात्र गठन गर्ने सहमति भएको छ । तर, त्यसको नेतृत्व बारे अझै उधारोमै कारोबार भएको छ ।
आखिर के छ यो उच्च्स्तरीय समितिमा ? प्रचण्डले यसलाई संविधानसभाको राजनीतिक सम्वाद समितिभन्दा माथिल्लो समितिका रुपमा बुझेका छन् र यसबाट बाबुराम भट्टराईलाईसमेत क्रस गरेर संविधान निर्माणमा जस पाउने गरी भूमिका खेल्न र शक्तिको अभ्यास गर्न सकिन्छ भन्ने ठानेका छन् उनले । यही कारण राजनीतिक समिति बनाएर त्यसको संयोजक हुने विषयलाई प्रचण्डले आफ्नो इज्जत र प्रतिष्ठाको प्रश्न बनाएका छन् ।
आफैंले सिर्जना गरिएको यो घेरा वास्तविक घेराबन्दी नै हो कि हैन भन्ने स्पष्ट छैन । किनभने, संविधानसभामा वैधानिकता प्राप्त राजनीतिक तथा सम्वाद समिति छँदैछ र त्यसको नेतृत्व एमाओवादीकै हातमा छ । तर, प्रचण्ड बाबुरामको नेतृत्वमा रहेको यो घेराबाट बाहिर निस्केर अर्को घेरा कोर्न चाहन्छन् । बाबुारम त उनका लागि आफैंमा एउटा घेरा भैसकेका छन् ।
चौथो घेरा : लडाकूको भ्रष्टाचार र अख्तियारको सक्रियता
पूर्वलडाकूको भ्रष्टाचारको विषयलाई लिएर अख्तियारले देखाएको सक्रियतालाई प्रचण्डले एमाओवादीमाथिको अर्को घेराबन्दी बताएका छन् । तर, यो घेरा तोड्ने विधि के हो ? उनीसँग उपचारविधि छैन । वैद्यसँग एकता गरे पनि अख्तियारविरुद्ध आन्दोलन गर्न सकिने अवस्था किन छैन । किनभने, भ्रष्टाचारीलाई कारवाही गरिनुहुँदैन भनेर आन्दोलन गरियो भने माओवादी जनताको अर्को गतिलो घेरामा पर्नेछ र थप बदनाम हुनेछ ।
पूर्वलडाकूलाई राज्यले दिएको रकममाथि भएको भ्रष्टाचार अख्तियारले एक दिन अवश्यै खोज्नेछ । यसमा एउटा रोचक तर सतहमा नआएको विषय के छ भने अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई नियुक्त गर्दा प्रचण्डले पनि सकारात्मक भूमिका खेलेको र लोकमानसँग प्रचण्डको राम्रो सम्बन्ध रहेकाले यो विषयबाट बच्न सकिएला भन्ने ठानिँदै आएको थियो । तर, जब भारतले घेराबन्दी गर्दैछ भन्ने प्रचण्डले विश्लेषण गरे, अब अख्तियारले पनि प्रचण्डलाई असहयोग गर्नेछ भन्ने आत्मगत निश्कर्ष उनले निकाले ।
अख्तियारको घेरा तोड्ने र प्रतिरोध गर्ने प्रचण्डसँग एउटै मात्र विकल्प हुन सक्छ, त्यो के भने लडाकूको सम्पत्ति हिनामिना गर्नेहरुको छानविन प्रतिवेदन सार्वजनिक गर्नु र दोषीलाई पार्टीबाट तत्कालै कारवाही गर्नू । यसो गरेको खण्डमा क्रिकेट संघका टंक आङबुहाङजस्तै व्यक्तिगतरुपमा केही माओवादी नेतामाथि अख्तियारले मुद्दा चलाउन सक्छ र सिंगो पार्टीको छविचाँहि जोगिन सक्छ । कांग्रेसका खुमबहादुर खड्का, गोविन्दराज जोशीमाथि यसैगरी व्यक्तिगतरुपमा मुद्दा चलेको थियो ।
तर, प्रचण्ड पार्टीभित्र अख्तियार पस्नुअगावै पूर्वलडाकूका कमान्डरलाई पार्टीबाट हटाउन नसक्ने गरी जेलिएका छन् । यो अवस्थामा अख्तियारको घेरा तोड्न सजिलो छैन । वैद्यसँग मोर्चा बनाउँदैमा अख्तियारले बनाउन लागेको यो घेरा तोडिँदैन । मेरो पनि शक्ति छ है भनेका भरमा अब माओवादीलाई विपक्षीहरुले पत्याउने या डराउने पनि स्थिति छैन ।
पाँचौं घेरा : द्वन्द्वकालीन मुद्दा
सशस्त्र द्वन्द्वकालका मुद्दाहरु ब्युँताउने र कार्यकर्तालाई थुन्ने काम सुरु भएको भन्दै प्रचण्डले बताएको यो अन्तिम घेराबन्दीचाँहि माओवादीका लागि वास्तविक घेराबन्दी बन्ने सम्भावना छ । यसलाई तोड्ने वा प्रतिरोध गर्ने अस्त्र भनेको राजनीतिक शक्ति सन्तुलन बाहेक अर्थोक छैन । शक्ति सन्तुलनमा आफू पातालमा नभासिनका लागि वैद्यलगायतका माओवादी समूहसँग एकता गरेर अघि बढ्ने तरिका अल्पकालीन रुपमै भए पनि औषधि हुन सक्ला । तर, जनताबाट यसैगरी विश्वास गुमाउँदै र नांगिँदै जाने हो भने यो घेरा माओवादीका लागि फलामे तारबेरा बन्नेछ ।
प्रचण्डले नदेखेको अर्को खतरनाक घेरा
एमाओवादीमाथि सबैभन्दा ठूलो घेराबन्दी कहाँबाट भइराखेको छ भन्ने प्रचण्डले अहिलेसम्म देख्न सकेका छैनन् । त्यो घेरा भनेको जनताको घेरा हो । एमाओवादी नेताहरुको कार्यशैली र व्यवहार देखेर जनताले उनीहरुलाई साँघुरो घेरामा खुम्च्याउँदै लगिरहेका छन् ।
जबसम्म एमाओवादीले. आफूलाई जनतामा स्थापित गर्ने तरिका अपनाउँदैन, तबसम्म भारत दाहिने भए पनि केही हुनेवाला छैन । चन्द्रमा दाहिने भए पनि केही हुनेवाला छैन । यस्तै अवस्था रहिरहे उच्चस्तरीय समितिको संयोजक प्रचण्ड आफैं बने पनि, बाबुराम समूह चुप लागे पनि, अख्तियारले नसेके पनि वा द्वन्द्वकालको कुनै मुद्दा नचले पनि एमाओवादी पार्टी जनताको घेराबन्दीमा गुम्सिने र स्वाहा हुने खतरा छ । यो खतरा प्रचण्डले देख्न सकेका छैनन् या देखेर पनि कार्यकर्तालाई त्यतापट्टि सचेत गराउनुको साटो राष्ट्रिय स्वाधीनताको पक्षपाती भएकाले भारतको घेराबन्दीमा परियो भन्दै मनोगत सुरुङ खन्ने प्रयासमा लागेका छन् । एमाओवादीको सबैभन्दा ठूलो भवितव्य नै यही हो ।
***********************************************************************

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक