20140728

मोदीको भ्रमणलाई पनि सफल र विवादरहित बनाउने नेपाली काग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीको सहमति

प्रमुख तीन ठूला दलका शिर्ष नेताहरुवीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणलाई सफल र विवादरहित बनाउने विषयमा सहमति भएको छ । सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली काग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीका शीर्षनेताहरुको बैठकले विदेशमन्त्री सुष्मा स्वराजको भ्रमण विवादरहित र सफल भएका निष्कर्स निकाल्दै मोदीको भ्रमणलाई पनि त्यस्तो बनाउने
सहमति गरेको हो । बैठकले सरकारलाई भोली अपरान्ह ५ बजेसम्म भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको क्रममा हुने सम्झौता लगायतका विषयमा आवश्यक प्रस्ताव तय गरी छलफलका लागि पेश गर्न निर्देशन दिएको छ । सरकारले कुन कुन सम्झौता हुने र त्यसमा के कस्ता विषयबस्तु रहने भन्ने विषयको प्रस्ताव तयार पारेपछि शिर्ष नेताहरुले छलफल गर्ने छन । त्यसैगरी बैठकमा संविधान निर्माणको क्रममा देखिएका विमतिका विषयहरुमा तत्काल छलफल थाल्ने, संविधानसभाको पहिलो बैठक अघि भएको चार बुँदे सहमति अनुसार सत्य निरुपण आयोग गठन लगायतको विषयमा छलफल भए पनि सहमति भने हुन नसकेको एमाओवादी नेता पोष्टबहादुर बोगटीले जानकारी दिए । १७ वर्षपछि हुन लागेको भारतीय प्रधानमन्त्रीको राजकीय भ्रमणमा नेपालले उठाउने विषय र आवश्यक तयारीका बारेमा छलफल भएको कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले जानकारी दिए । वैठकमा मोदीको नेपाल भ्रमणलाई सफल र सार्थक बनाउन परराष्ट्र मन्त्रालय र जलस्रोत मन्त्रालयसँग छलफल गर्ने निर्णय भएको छ । नेपाल–भारत सिमा विवाद र जलबिद्युत परियोजनाका बिषयमा भारत सरकारसँग छलफल गर्नु अघि जलस्रोत मन्त्रालयसँग छलफल गरिने छ । यस्तै बैठकमा संविधान निर्माणप्रक्रियालाई गति दिने विषयमा छालफल भएको सिटौलाले वताए । माघ ८ भित्रै संविधान जारी गर्ने गरी संविधान निर्माणको कार्यतालिका अनुसार अघि बढ्ने सहमति बैठकमा भएको सिटौलाले वताए । बैठकले संविधानका विवादीत विषयमा संविधानसभा अन्र्तरगतको संवैधानिक राजनीतिक सम्बाद तथा सहमति समितिले टुंगो लगाउन नसकेका विषयलाई टुंग्याउन शीर्ष नेता सम्मिलित अनौपचारिक समिति बनाउने विषयमा पनि छलफल भएको छ । शीर्ष नेता रहने अनौपचारिक समितिले सम्बाद समितिले टुंगो लगाउन नसकेका विषयमा छलफल गरी विवादीत विषयको टुंगो लगाउने छ । यसैगरी संविधान सभा बाहिर रहेका नेकपा(माओवादी लगायतका दलहरुलाई सहमतिमा ल्याउन वार्ता र छलफललाई तिव्र बनाउने निर्णय बैठकले गरेको छ । यस्तै बैठकमा सत्य निरुपण तथा बेपत्ता छानविन आयोग गठनका विषयमा पनि छलफल भएको र छिट्टै आयोग गठन गर्ने सहमति तीन दलवीच भएको छ । प्रमुख तीन दलको वैठकमा २६ सभासदको मनोनयनका विषयमा सामान्य छलफल भएको नेताहरुले वताएका छन् । संसदका बिभिन्न समितिको सभापति चयन गर्ने बारेमा पनि दलहरुबीच सहमति हुन सकेको छैन । वैठक मंगलवार साँझ ५ बजे फेरि बस्नेछ ।
सभामुख सुवास नेम्वाङले नेपाल–भारत संयुक्त आयोगको बैठकमा भएका सहमतिबारे संसदमा जानकारी गराउन सरकारका नाममा रुलिङ गरेका छन् । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण र दुई देशबीच भएको वार्ताबारे सभासद्हरुले सदनमा जवाफ मागेपछि सभामुखले संसदको आर्को बैठकमा जानकारी गराउन रुलिङ गरेका हुन् । त्यसअघि संसदको बैठकमा सभासद्हरुले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण र नेपाल भारत संयुक्त आयोगको प्रगतिवारे सदनलाई जानकारी गराउन माग गरेका थिए । नेकपा एमालेका भरतमोहन अधिकारीले भारतीय विदेशमन्त्रीको भ्रमण र संयुक्त आयोगको बैठकवारे जानकारी गराउन माग गरेका थिए । नेमकिपाका नेपाल भारत वार्ताका क्रममा भएको २६ बुदे सहमति राष्टघाती भएको आरोप लगाएका थिए । उनले जलस्रोत र नागरिकतामा गरिएको सहमतिले नेपालमा ‘नयाँ लेण्डुप दोर्जे’ जन्मिन लागेको बताएका थिए
नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा आफुहरूले विरोध नगर्ने बताएका छन् । आइतबार ३३ दलीय मोर्चाले विरोधका कार्यक्रम सार्वजनिक गरेको भोलीपल्ट सोमबार गजुरेलको यस्तो भनाई आएको हो ।
रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘मित्र राष्ट्रको प्रधानमन्त्री आउँदा हामी विरोध गर्दैनौं । हामीले विरोधका कार्यक्रम पनि राखेका छैनांै र राख्दैनौं पनि ।’ साक्षात्कारमा गजुरेलले आफूहरू विरोध भन्दा पनि भारतीय प्रधानमन्त्रीसँग वार्ता गर्न ईच्छुक भएको भन्दै विदेश मन्त्री सुष्मा स्वराजसँग वार्ता गर्न चाहे पनि उनले किन बार्ता गर्न चाहिनन् भनेर आफूहरू आश्चर्यमा परेको बताए । उनले भने, ‘भारत सरकारको हामीसँग वार्ता गर्ने के नीति छ, त्यसमा पनि भर पर्छ । तर हामी भने वार्ता गर्न सधैं तयार छौं ।’
उनले विदेशमन्त्री स्वराज आउँदा समेत आफूहरूले विरोध नगरेको स्पष्ट पार्दै अब भारतीय प्रधानमन्त्रीसँग वार्ता गर्न आफुहरू तयार भएर बसेको बताए । गजुरेलले भने, ‘पशुपतिनाथको दर्शन गर्न आउने भारतीय प्रधानमन्त्रीलाई विरोध होईन, हामी स्वागत गर्न चाहन्छौँ ।’ उनले आफूहरू भारत विरोधी नभएको र भारत विरोधी भनि प्रचार नगर्न आग्रह गर्दै भारतीय सरकारसँग केही असहमति रहे पनि भारतीय जनता र राजनीतिक दलहरूसँग भने राम्रो सम्बन्ध रहेको दावी गरे ।
सन् १९५० को नेपाल भारत सन्धि पुनरावलोकन गर्ने कुरा सकारात्मक रहे पनि यसको कार्यान्वयन हेर्न बाँकी रहेको उल्लेख गर्दै गजुरेलले पानी र विद्युतमा नेपालीको अधिकार रहने गरी सम्झौता हुँदा आफूहरूलाई कुनै आपत्ति नरहेको बताए । उनले भने, ‘हामी पनि नेपालको हितमा जलस्रोत सम्झौता होस भन्ने चाहन्छौं । पानी र विद्युतमा नेपालीको अधिकार स्थापित हुनु पर्छ । नेपाली जनता अझै लोडसेडिङको मारमा बस्नु पर्छ भन्ने हामी पनि चाहँदैनौं । यी विषयमा राष्ट्रिय सहमति गरेर अघि बढ्नु पर्छ । यसको लागि हामी तयार छौं ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही साउन १८ गते नेपालको औपचारिक भ्रमणमा आउँदै छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक