20140831

आइस बकेट च्यालेन्ज र नेपालीहरु : लहैलहैमा लागेर चार टुक्रा आइस र एक जग पानी खन्याएर बहादुरी देखाएको ठान्नु भन्दा दिनदुःखी नेपालीका लागि केही गर्नु वेस !

- शिव प्रकाश

नेपालमा सिटामोल नपाएर हजारौं मान्छे मर्छन्, तर हामी कोही कसैले आजसम्म कुनै यस्तो अभियान चलाएको छैन। टीबीको उपचार नपाएर मर्ने कति छन् तर हाम्रो दृष्टि र बुद्धि कहिल्यै त्यहाँ पुग्दैन। बाढी पहिरोले हजारौंको बिचल्ली गराएको छ, हाम्रा आँखाले कहिल्यै त्यो देख्दैनन्।
एउटा लहड नै चलेको छ सोसल मिडियामा अहिले। मूलत फेसबुक, ट्विटर र युट्युबमा छ्याप्छ्याप्ती देखिने यो दृष्य एक अर्थमा ‘फनी’ पनि छ। त्यसैले धेरैले ‘फन्’ को रुपमा मात्र लिएको पनि पाइन्छ। तर ‘फनी’ मात्र हैन, यसको सम्बन्ध ‘मनी’सँग पनि छ। ‘मनी’ मात्र हैन, यसको सम्बन्ध जागरणसँग पनि छ। यस अर्थमा
भने यो ‘सोसल अवेरनेश भाइरल’ कै रुपमा फैलिएको छ सोसल मिडियामा। बुझेर गर्नेले यसलाई सकारात्मक रुपमा लिएका छन्। बुझ्दै नबुझी गर्नेका लागि लहडी ‘फन्’ मात्र भएको छ। पच्चीस प्रतिशत पनि नबुझेर १२५ प्रतिशत बुझाउन खोज्नेका लागि अरुका भिडियो हेरेर हाँस्ने र ‘टाइम पास’ गर्ने मनोरञ्जनको स्रोत पनि भएको छ।
के हो त यो?
आखिर अमेरिकाको पछि को लाग्दैन? अमेरिकाबाट सुरु भएको यो बाढीमा नेपाली समाज पनि समाहित हुन थालेको छ। विदेशमा रहेकामध्ये अमेरिकाभित्र बस्ने धेरै नेपालीको छोटो भिडियो आजकाल मूलतः फेसबुकमा देख्न पाइन्छ जसमा ‘फनी’ प्रतिक्रिया पनि त्यति नै पढ्न पाइन्छ।
यो एक प्रकारको च्यालेन्ज हो जुन च्यालेन्ज सायद संसारको इतिहासमै सबैभन्दा सजिलो होला। यसकारणले पनि बुझी–नबुझी धेरैले स्वीकार गरेको पनि हुन सक्छ।
अहिले यो च्यालेन्ज अमेरिकाभित्र मात्र नरहेर संसारभर फैलिसकेको छ । एउटा समाजमात्र सीमित नरहेर विश्वका कुनाकाप्चालाई यो च्यालेन्जको बाढीले छोइसकेको छ।
सोसल मिडियामा एकाएक आएको यो च्यालेन्जको बाढी के हो त?
यसलाई ‘ए एल एस आइस बकेट च्यालेन्ज’ नाम दिइएको छ। मूलत फेसबुक मार्फत मित्रसूचीमा भएकालाई यो च्यालेन्ज गरिन्छ। च्यालेन्ज अनुसार एक बाल्टी पानीमा एक पोको (पाँच पाउण्ड) बरफ राखेर आफैंले आफ्नो टाउकोबाट खन्याउनु पर्ने हुन्छ।
जसले च्यालेन्ज स्विकार्छ उसले अर्को तीन जनालाई च्यालेन्ज गर्छ। च्यालेन्जको नियम अनुसार स्विकार्नेले दश र अस्विकार गर्नेले एकसय अमेरिकी डलर ए एल एस एसोसिएसन, अमेरिकालाई ‘डोनेशन’ गर्नु पर्ने हुन्छ। तर यो ऐच्छिक हो, वाध्यात्मक भने हैन। दश र सय डरलबीचको ठूलो भिन्नताले गर्दा पनि धेरैले लहैलहैमा स्विकारेको भनाइहरु पनि पाइन्छन्। स्विाकारे पनि ‘डोनेशन’ नगर्नेको संख्या कति छ त्यसको भने लेखाजोखा छैन। त्यसकारणले पनि यो लहड लहडमै चलेको छ।
कसरी सुरु भयो यो आइस बकेट च्यालेन्ज ?
सन् २०१४ को सुरुवातसँगै बोस्टन स्थित बोस्टन कलेजका पूर्व वेसबल खेलाडी पीट फ्रेटस्ले साथी कोरी गिफ्रिनको सहयोगमा यो च्यालेन्ज सुरु गरेका हुन् जसको स्वामित्व अहिले ए एल एस एसोसिएसनले लिएको छ।
के हो ए एल एस ?
यसको पुरा अर्थ हो–Amyotrophic Lateral Sclerosis(ALS)। यो एक प्रकारको रोग हो। झट्ट हेर्दा र लाक्षणिक रुपमा पक्षधात जस्तै लाग्ने यो रोगले मस्तिष्कको स्नायु तथा कोशिकालाई प्रभावित गर्छ। यसको सबैभन्दा बढी असर मेरुदण्डमा पर्छ जसको पीडाले मान्छे अर्धमूर्छित अवस्थामा पुग्छ।
किन चलाए पिट फ्रेटस्ले यो अभियान?
सन् २०१२ मा उनलाई यो रोग लागेको थाह भयो। हालसम्म यो रोगको उपचारका लागि कुनै औषधि नभएको बताइएको छ। नहुनुको मुख्य कारण भने यो रोगको औषधि बनाएर निर्मातालाई आर्थिक रुपले फाइदा नहुने कुरा पनि चर्चामा आएको छ। फाइदा नहुनुको कारण भने यो रोगका बिरामीको संख्या कम हुन नै रहेको छ। अमेरिकामा यसका बिरामी तीस हजारमात्र भएकोले औषधि निर्माता कंपनीहरुले रुचि नदेखाएको बताइन्छ।
यही रोगका बारेमा जागरण ल्याउने र दवाव दिने उदेश्यले यो ‘ए एल एस आइस बकेट च्यालेन्ज’ अभियान चलाइएको कुरा मिडियामा आएका छन्।
पिट फ्रेटस् संक्रमित भएपछि उनले चलाएको ए एल एस अभियानको चर्चासँगै यो नितान्त नौलो रोग भनिए पनि यसको वास्तविकता भने फरक छ। मूख्यत ४० देखि ७०  वर्ष उमेरका मानिमा देखिने यो रोग सन् १८६९ मा फ्रेन्च न्यूरोलोजिष्ट जेन मार्टिनले पत्ता लगाएका थिए।
पिट फेटस्को यो अभियान मार्फत ए एल एस एसोसिएसनले करीब ११५ मिलियन डलर संकलन गरिसकेको वेबसाइटमा उल्लेख गरेको छ ।
अभियान राम्रो कि नराम्रो?
यो अभियानमा ए एल एस एसोसिएशनले सोचेभन्दा धेरैले सहयोग र समर्थन पनि गरेका छन्। यसको कारण भने मानवीय संवेदनासँग जोडिएको छ। हल्लैहल्लाको भरमा हल्लैहल्लालाई विश्वास गरेको पनि पाइन्छ। उपचार नपाएर यही रोगको कारण पिट फ्रेटस्को मृत्यु भएको हल्ला पनि चलेको छ। वास्तविकता चै साथी गिफ्रिनको मृत्यु भएको हो। त्यो पनि पानीमा डुबेर।
धेरैले यसलाई राम्रो र एक सफल अभियानको रुपमा पनि लिएका छन् भने प्रस्तुति र आइस बकेटको शैलीलाई नपुशंकको नाटक पनि भनेका छन्।
यो च्यालेन्ज स्विकार्नेमा अमेरिकी पूर्व राष्ट्रपति जर्ज बुस, वर्तमान राष्ट्रपति बराक ओबामा, माइक्रोसफ्ट मालिक विल गेट्स, फेसबुक मालिक मार्क जुकेरबर्ग, सेलिब्रेटी ओफ्रा विनफ्रे, लेर्बोन जेम्सदेखि प्रसिद्ध अमेरिकी खेलाडी, कलाकार र सामाजिक अभियन्ताहरु पनि छन्। यिनैभित्रका केहीमा भने यो अभियानको तरिकाले नकारात्मक प्रभाव पनि पारेको छ।
धरैले पिउने पानीको महत्वलाई नबुझ्नु दुःखपूर्ण पनि मानेका छन्। करोडौं मान्छेले अरबौँ ग्यालेन पिउने पानीको नाश गरेको, आइस कंपनीको व्यापार बढाएकोले यो तरिका सर्वथा व्यर्थ र मूर्खतापूर्ण हो भन्नेको संख्या पनि सोसल मिडियामा त्यतिकै छ।
यही पङ्तिमा हलिउडकी चर्चित नायिका पामेला एन्डरसनले पनि उभिइन् । पिपुल डट कमका अनुसार उनले यो च्यालेन्जलाई अस्वीकार गरिन्। हल्का प्रस्तुतिको संज्ञा दिंदै ‘यो च्यारेटी अभियानको हिस्सा भए पनि आफूलाई चुनौती र जोखिमपूर्ण काम मन पर्ने’ कुरा बताइन्। ‘म कुनै यस्तो सँस्था र संगठनलाई सहयोग गर्न सक्दिन, जसले मानिसको रोग पशुमाथि परीक्षण गर्छन्। मान्छेको उपचारका लागि निरीह पशुलाई बिरामी बनाएर परीक्षण गर्नु क्रुरता हो।’
अभियानको उदेश्य राम्रो भए पनि प्रस्तुति शैलीलाई धेरैले यसलाई पुतलीको खेलको रुपमा पनि लिएका छन्।
अभियानलाई समर्थन पनि गर्ने तर पिउने पानीको विनास रोक्न अमेरिकी क्लिन वाटरसँग सम्बद्ध गायक तथा कलाकार म्याट डेमनले भने अलि बेग्लै तरिका अपनाए। उनले पिउने पानी हैन वाथरुम कमोटको पानी उपयोग गरे। एक अमेरिकी नारीले पनि पानीको उपयोगलाई बुझिन् र फूलबारीमा गएर खन्याइन एक बाल्टी वरफ पानी आफूमाथि। यो प्रक्रियालाई पछ्याउनेहरु पनि अहिले धेरै छन्।
नेपाल र नेपालीको वास्तविकता र आलोचना
लहैलहैमा लाग्ने र घाटघाटको पानी परिवर्तन गरे पनि बानी परिवर्तन नगर्ने नेपालीका वारेमा नेपालीले नै आलोचना पनि गरेका छन ।
नेपालमा सिटामोल नपाएर हजारौं मान्छे मर्छन्, तर हामी कोही कसैले आजसम्म कुनै यस्तो अभियान चलाएको छैन। टीबीको उपचार नपाएर मर्ने कति छन् तर हाम्रो दृष्टि र बुद्धि कहिल्यै त्यहाँ पुग्दैन। बाढी पहिरोले हजारौंको बिचल्ली गराएको छ, हाम्रा आँखाले कहिल्यै त्यो देख्दैनन्।
पशुपतिका मूलभट्टलाई चन्दा दिनु र हामी नेपाली अमेरिकाका संघसँस्थालाई चन्दा दिनु एकै हो भन्ने तर्क पनि भेटिन्छ। यो लहैलहैमा लागेर चार टुक्रा आइस र एक जग पानी खन्याएर बहादुरी देखाएको ठान्नु भन्दा दिनदुःखी नेपालीका लागि केही गर्नु वेस हुने धारणा पनि राख्छन् केही नेपाली।
यो नाटकीय शैलीको च्यालेन्ज स्विकारेर दश डरल समृद्ध अमेरिकालाई दिनु भन्दा अस्वीकार गरेर १०० डलर नेपालका बाढी पीडितलाई दिन्छु भन्ने पनि छन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक