20140803

पहिरोका कारण मर्नेको पछिल्लो संख्या ३२, अझै १५५ हराइरहेको गृह मन्त्रालयका अधिकारीहरुले जनाए !


सिन्धुपाल्चोक जिल्लाको माङ्खा गाउँको जुरेमा आएको पहिरोका कारण मर्नेको पछिल्लो संख्या  ३२ पुगेको तथा अझै १५५ हराइरहेको गृह मन्त्रालयका अधिकारीहरुले जनाएका छन्। मुख्य पहिरो गएको स्थानमा अहिलेसम्म पनि ससाना पहिरा गइरहेकोले त्यसले थुनेको सुनकोशी नदीको पानीलाई विष्फोट गराएर निकास गर्दा जमिन हल्लिएर एक्कासी पहिरोले बनाएको बाँध फुट्ने संभावना बढ्ने भएकाले समाधानबारे थप अध्ययन भइरहेको पनि मन्त्रालयले जनाएको छ। पहिरोका कारण बाँध बनेको स्थानमा शनिबार दिउँसो
दुई पटक नेपाली सेनाले विष्फोट गराएर पानीको निकास गराउने प्रयास गरेको भएपनि त्यस्तो प्रयास आइतबार गरिएन। पानी पहिरोले बनाएको बाँध माथिबाट बगेर गइरहेकाले जोखिम कम भएको भएपनि झण्डै १३ घण्टासम्म थुनिएको पानी अहिले पनि ताल बनेर बसिरहेको अधिकारीहरुले बताए। गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले भने, “बाँधमाथिबाट ओभरफ्लो भएर गएको पानी बाहेक त्यहाँ ताल बनेर बसेको पानी अझै छ। भारतबाट पाँचजना प्राविधिक आएका छन्। चीनले पनि आवश्यक सहयोग गर्छु भनिरहेको छ।" 
जोखिमको स्तर कम हुँदै गएको भएपनि माथिबाट ससाना पहिरो आउने क्रम नरोकिएकाले कुनै ठूलो चट्टान वा ढिस्को खस्ने संभावना रहेको हुँदा कुनै पनि बेला ताल फुट्ने खतरा टरिनसकेको विज्ञहरुले बताएका छन्।
सरकारी टोलीसंगै सो क्षेत्रको भ्रमण गरेर फर्केका त्रिभुवन विश्वविद्यालयका भूगर्भ विभागका सहप्राध्यापक रन्जन कुमार दाहालले भने, “माथिबाट थप पहिरो खस्ने डर एकदमै छ। तर यदि यही अवस्थामा हामीले पानी फ्याँक्न सक्यौं भने र अझ बढाएर फ्याँक्न सक्यौं भने खतरा धेरै घटेर जानेछ।” गृहमन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले पानीको निकास गराउने कामसंगै हराइरहेकाहरुको खोजी कार्य पनि भइरहेको बताए। सडक पहिरोले बगाएको र माथिबाट ससाना पहिरा आइरहेकाले पहिरोमै पुगेर स्थलगतरुपमा खोजीकार्य गर्न गाह्रो परिरहेको उनको भनाइ छ। पानीको निकासमा सुधार आएपनि पहिरोले बनाएको बाँध फुट्ने संभावना यथावत नै रहेकाले सबैलाई सुरक्षित स्थानमै रहन सरकारले अनुरोध गरेको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक