20140913

लाखौंं कम्युनिस्ट कार्यकर्ता र हालका सर्बेसर्बा नेता हौँ भन्ने नेताहरुका राजनीतिक गुरु डा. मोदनाथ प्रश्रितको मन छुने अभिब्यक्ती : नेपाललाई धर्म निरपेक्ष राज्य घोषणा गर्ने अदूरदर्शी कदम किन चाल्ने ?


 विभिन्न देश र राज्यका इतिहास, संस्कृति, भूगोल, राजनीतिक, आर्थिक र सामाजिक स्थिति भिन्न भिन्न प्रकृतिका हुन्छन् । कुनैपनि देश र राज्यले जुन पद्धति र व्यवस्था अंगाल्दा राष्ट्रलाई फाइदा हुन्छ र कुन बाटो हिँड्दा नोक्सान हुन सक्छ, गम्भीर रुपले विचार गरी अघि बढ्नु आवश्यक हुन्छ । “धर्मनिरपेक्ष राज्य” विश्वमा प्रचलित एउटा अवधारणा हो । विशेष गरी यो पश्चिम मुलुकको विशिष्ट परिस्थितिको उब्जनी हो । पश्चिमी जगतका अधिकांश देशमा इशाई धर्मको प्रभाव छ । उनीहरूमध्ये केही देशले धर्म निरपेक्ष राज्य घोषणा गरे पनि राजा र राष्ट्रपतिहरूले शपथग्रहण गर्दा “वाइबल” छोएर गर्छन् । अदालती मुद्दाहरूमा पनि अभियुक्तलाई बयान गराउँदा ँबाइबल’ छोएर ईश्वरका नाममा धर्म भकाउने चलन व्यापक छ । पश्चिमी मुलुकहरूको स्थिति, दक्षिण एसियाको स्थिति र विशेष गरी नेपालको विशिष्ट स्थितिलाई गम्भीर रुपले विश्लेषण गरेर मात्र धर्म सम्बन्धमा हाम्रो राज्यले नीति तय गर्नु आवश्यक हुन्छ । आफ्नो देशको विशेषता नबुझी लहैलहैमा धर्म सम्बन्धमा पश्चिमको नक्कल गरेमा त्यसको गम्भीर नकारात्मक परिणाम देशले भोग्नुपर्नेछ र यो बहुधार्मिक देश संकटको भूमरीमा फस्ने खतरा बढ्ने छ ।
 धर्मनिरपेक्ष राज्यको धारणा पश्चिमी मुलुकहरूमा लोकतान्त्रिक जनप्रतिनिधि मूलक राज्य प्रणालीको स्थापना र संचालनको सन्दर्भमा उठेको हो । तर उनीहरूले विश्वका विभिन्न मुलुकहरूमा इशाइ धार्मिक मिसनरीहरूमार्फत् उपनिवेश वा साम्राज्य विस्तारको पूर्वाधार तयार गर्ने र राज्य हातमा लिएपछि
आफ्नो धर्मलाई अनेक उपायले प्रचार गरी राज्यमा पकड बढाउँदै जाने काम गर्दै आएका हुन् र अहिलेपनि त्यो धन्दा छोडेका छैनन् । अंग्रेजहरूले दक्षिण एसियाको प्रमुख देश भारतमा गरीब र दलित समुदायको बीचमा आर्थिक प्रलोभनको माध्यमबाट ईशाई धर्मको प्रचार प्रसार गरी औपनिवेशिक साम्राज्य कायम गरेका हुन् । उनीहरूले नेपालमा पनि धार्मिक मिसनरीहरू पठाएर धर्म प्रचार गर्ने प्रयास गरेका हुन् । धर्मलाई उपनिवेश वा साम्राज्यको विस्तार गर्दै या आ-आफ्नो प्रभाव जमाउने माध्यम बनाउने नीति उनीहरूले अहिलेपनि छोडेका छैनन् । भारत पटक पटक विदेशीहरूको उपनिवेश बन्दै आएकोले अंग्रेजहरू पनि त्यहाँ सफल भए । तर पृथ्वीनारायण शाहको दूरदर्शीता र सैनिक प्रयत्नको कारण समेतबाट उनीहरू नेपालबाट फर्कन बाध्य भएका थिए । पश्चिमेलीहरूले धर्मलाई उपनिवेश वा प्रभाव क्षेत्र बनाउने रणनीति र कूटनीति अहिलेसम्म पनि छोडेका छैनन् । वर्तमान विज्ञान र प्रविधिको युगमा पनि अहिले नेपालमा ईसाई मिसनरीहरू व्यापक रुपमा संचालित छन् । कुनै धनाड्य व्यक्ति वा संस्था विशेषले यसरी व्यापक जनपरिचालन गरेर विश्वव्यापी रुपमा धर्म प्रचार गरी हजारौं, लाखौ, करोडौ महिनावारी आर्थिक सहयोग दिएर धार्मिक मिशन चलाउन सक्दैन । स्पष्ट छ, अहिले पनि पश्चिमा शक्तिहरू धर्म प्रचारद्वारा आफ्नो राजनीतिक वा धार्मिक प्रभाव विभिन्न कमजोर मुलुकमा जमाउने प्रयत्नमा लागिरहेकै छन् । अहिले पश्चिमी धार्मिक मिसनरी प्रचार नेपालका गाउँ गाउँ, सहर सहर सर्वत्र व्यापक रुपमा चलिरहेको छ । यहाँका सत्ताधारी नेताहरूले लोकतान्त्रिक उदारताका जतिसुकै डींग हाकेपनि त्यो प्रचार सत्ता निकट कसैको सहयोग र आडभरोसा विना चलेको छैन । पश्चिमेलीहरूले धर्म निरपेक्षताको दुहाई दिँदै अरु देशमा धर्म प्रचारलाई उपनिवेश वा साम्राज्य बिस्तार गरेको इतिहास बिर्सिनु आत्मघाती हुनेछ ।
  नेपालमा धर्म निरपेक्षताको कुरा बढी उठाएको कम्युनिष्टहरूले हो । तिनमा पनि विशेष रुपमा माओवादीहरूले हो । आम रुपमा हेर्दा सिद्धान्तः धर्म निरपेक्ष राज्यको कुरा जायज जस्तो देखिन्छ । तर भिन्न-भिन्न देशको परिस्थिति नेताहरूको नियत र चरित्र, नेपाली वामनेताहरूको विगत दुई दशकका विसंगत चिन्तन र घातक व्यवहार आदि सबै कुरा हेर्दा उनीहरूले उराल्ने गरेको धर्म निरपेक्षताको कुरामा आर्थिक स्वार्थ, अवसरवादी पाखण्ड एवं स्वाधीन राष्ट्रको भविष्य प्रति अन्धोपन स्पष्ट रुपमा अभिव्यक्त हुन्छ । केही बान्की र उदाहरण हेरौं- कुनै पनि देशका कम्युनिष्ट पार्टीहरूले माक्र्सवादी दर्शनको मार्ग दर्शनमा विज्ञान सम्मत चिन्तन एवं जनहित र राष्ट्र हितको मात्र होइन अन्तर्राष्ट्रिय साझा हितको ध्येयमा समेत सचेत रुपले काम गर्दै जानु आवश्यक हुन्छ । तर नेपालका कतिपय कम्युनिष्टहरूका चिन्तन, प्रवृत्ति र व्यवहारका केही बान्की हेरौं- · नेकपा माओवादीले दश वर्षे द्वन्द्व कालमा संस्कृत विश्वविद्यालयमा आगो लगाउने, संस्कृत पढाउने शिक्षकलाई रुखमा टाँगेर किला ठोकेर मार्ने, ठूलो धार्मिक जनसंख्याको भावना विपरीत खुला ठाउँमा गाई गोरू काटेर भोजभतेर लगाउने, पण्डित पुरोहितहरूलाई रक्सी र गाईको मासु खान बाध्य पार्ने, फरक विचारका पत्रकारलाई खाल्डो खनेर जिउँदै पुर्ने जस्ता कति उदण्ड काम गर्‍यो, त्यसको बयान अहिले गरि सक्नु छैन, भविष्यले गर्दै रहला ।  के ती कामहरू माक्र्सवादी दर्शन, जनताको भावना, नेताको नैतिकता र दूरगामी सोचमा आधारित थिए ? · पुराणवाचनद्वारा देशको विकास निर्माणमा प्रतिबद्ध रुपले लागेका पण्डित नारायणप्रसाद पोखरेललाई सप्ताहको मण्डप निरै गोली हानेर मार्ने पनि उनै मान्छे । पण्डित नारायणका छोरा दिनबन्धु पोखरेलद्वारा भागवत यज्ञ लगाई बालाजु (काठमाडौं) मा पार्टीको आयश्रोतका निम्ति विराट अस्पताल बनाउने पनि उनै मान्छे । कति दूरदर्शी, नैतिक र क्रान्तिकारी नेता प्रचण्ड र बाबुरामहरू ! · आफू राष्ट्रपति वा प्रधानमन्त्रीको पदमा पुग्ने ध्येयले बाराह क्षेत्रमा गएर चिना देखाई शनिश्चर ग्रह र भैसीको पूजा गर्ने पनि उनै क्रान्तिकारी नेता प्रचण्डजी । · मनमोहन मेमोरियल अस्पताल (स्वयम्भु) बनाउनको निम्ति सप्ताह यज्ञको जाँगर देखाउन नेकपा एमालेका नेता पनि पछि परेका हैनन् । समाज र राष्ट्रको हितमा धार्मिक भावनात्मक प्रयोग नराम्रो कुरा होइन तर पाखण्ड निन्दनीय हो । नेपाल जस्तो गरीब र अविकसित मुलुकमा पण्डितनारायण प्रसाद पोखरेलले पुराण वाचनद्वारा विकासको काम गर्ने जुन आदर्श देखाए सिंगो देशले अहिले त्यही बाटो पछ्याएर काम गरिरहेको छ । जनतामा धार्मिक आस्था छ । पार्टीहरूले एउटा संविधान बनाउन गरेको वाचा पूरा नगर्दा दुई पटक संविधान सभा निर्वाचित गर्नुपर्ने बाध्यता ल्याए । विकास निर्माणको गति रोकिँदा धार्मिक भावनाले देशलाई राहत दिएको छ । यस स्थितिको कस्तो विश्लेषण गर्छन् माओवादीहरू । नेपालको विकासमा धर्मको भूमिका नेपालको विकासमा धर्मको भूमिका कति महत्वपूर्ण छ भन्ने सन्दर्भमा नेपालमा केन्दि्रत रही विकसित भएका शाक्त, शैव, वैदिक, वैष्णव र बौद्ध धर्मको चर्चा माथि गरिसकिएको छ । विश्वमा धर्म पनि राष्ट्रिय अर्थतन्त्रका अंग भएका मुख्य देश ५ वटा छन् । ती हुन् नेपाल, भारत, इजरायल, भ्याटिकनसिटी र साउदी अरब । यहुदी धर्मको मूल भूमी इजरायल हो । भेटिकनसिटी इशाई धर्मको केन्द्र भूमि हो भने साउदी अरबका मक्का मदीना इश्लाम धर्मका जन्मभूमि हुन् । नेपाल शाक्त, शैव, वैदिक, वैष्णव र बौद्ध धर्मको उत्पत्ति वा विशिष्ट आधार भएको मुलुक हो । धर्म सापेक्ष राज्यको अर्थ हो- राज्यले कुनै धर्मलाई विशेष महत्व दिन्छ, धर्मको निमित्त राज्य कोषबाट लगानी गर्छ र त्यसबाट लाभ पनि लिन्छ । धर्म निरपेक्ष राज्यको अर्थ हो- राज्यले कुनै धर्मलाई, धार्मिक कामलाई र धार्मिक क्षेत्रको संरक्षणलाई कुनै लगानी गर्दैन, धार्मिक क्षेत्रबाट हुने कुनै आम्दानी अपेक्षा पनि गर्दैन । उसो भए, गणतन्त्र युगको नेपाल राज्यले धर्म र नेपालका धार्मिक क्षेत्रहरू बारे कस्तो नीति अंगाल्ने छ त ? नेपाल, ५ धर्म -शाक्त, शैव, वैदिक, वैष्णव र बौद्ध) को उत्पत्ति वा विकाससँग विशेष सम्बन्ध भएको देश हो । यी ५ प्रमुख धर्मसँग कुनै न कुनै सम्बन्ध भएका अनेक धार्मिक या तिर्थस्थल नेपालमा यत्रतत्र रहेका छन् । ती मध्ये प्रमुख तिर्थ या धार्मिक स्थल हुन्- पशुपति क्षेत्र, बाराह क्षेत्र, गोसाइकुण्ड, हलेसी महादेव, गोकर्णेश्वर, डोलेश्वर, मनकामना, गोरखनाथ, मुक्तिनाथ, पुलहाश्रम, बिन्ध्यवासिनी, व्यास गुफा, देवघाट, रुरु क्षेत्र, गलेश्वर धाम, त्रिवेणी तीर्थ, शैलेश्वरी, त्रिपुरासुन्दरी, गुहृयेश्वरी, दक्षिणकाली, दामोदर कुण्ड, बुढानीलकण्ठ, चाँगुनारायण, जलेश्वर, त्रिवेणी, वाल्मीकि आश्रम, सिद्धबाबा, मालिकादेवी, स्वर्गद्वारी, बागीश्वरी आदि आदि अनेक धार्मिक या तिर्थस्थल छन् नेपालमा । माथि उल्लेख गरिएका नेपालका ५ प्रमुख पौराणिक र ऐतिहासिक धार्मिकधाममा प्रतिवर्ष नेपाल र विश्वका अन्य देशबाट लाखौं करोडौं धार्मिक तीर्थयात्रीको अवागमन हुन्छ । त्यस धार्मिक तीर्थयात्रा या पर्यटनबाट प्रतिवर्ष नेपालले करोडौं, अर्बौ आर्थिक आर्जन गर्दै आएको छ । उपर्युक्त सम्पूर्ण तीर्थस्थलहरूमा यातायात र बसोबासको राम्रो व्यवस्था भएमा विश्वका विभिन्न धर्मका मानिसहरूको निरन्तर आवागमन भइरहन्छ । नेपाल धार्मिक तीर्थयात्रा या पर्यटनको दृष्टिले अत्यन्तै समृद्ध देश हो । एउटा मनकामना मन्दिर जान १७/१८ करोड खर्च गरेर बिजुली भर्‍याङ बनाएको केही वर्षमा त्यसबाट अरबौ आम्दानी हुन सक्यो । नेपालको धार्मिक पर्यटनबाट सरकार विभिन्न रुपबाट लाभान्वित भइरहेको छ । यसले राज्य (सरकार) र जनता पनि आर्थिक दृष्टिले लाभान्वित भइरहेका छन् । यातायात र बसोबासको सुविधा बढेमा राजश्व पनि बढ्दै जान्छ र जनताको व्यवसाय पनि चल्दै जान्छ । नेपाल धार्मिक र सांस्कृतिक पर्यटनको दृष्टिले अत्यन्तै उर्वर- विश्वकै सर्वश्रेष्ठ देश हो । नेपालका अनेक धार्मिक क्षेत्रको विकास हुँदा त्यसबाट राज्य र जनता दुवै लाभान्वित हुन्छन् र भइरहेका छन् । आफ्नो नेपालको यस्तो विशिष्ट स्थिति र आफैले धार्मिक क्षेत्रबाट लाभ लिएको स्थितिलाई समेत चटक्कै बिर्सिएर धार्मिक आस्थाका अत्यधिक बहुसंख्यक जनताको अभिमत नलिइकन राजनीतिक दलका केही नेता र कार्यकर्ता मात्र पुगेको संविधानसभाले आफू खुशी नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गर्दा देशलाई कति नोक्सानी हुन्छ र जनताको भावनामा कति चोट पर्ला भन्ने ख्यालै नगर्नु कत्तिको उचित हो ? नेपालको समग्र धार्मिक क्षेत्रको अध्ययन गर्दा जनताको धार्मिक आस्थाको विराट अवस्थालाई हेर्दा र नेपालको विकासमा धार्मिक क्षेत्रको भूमिका बारे मनन् गर्दा नेपाललाई धर्म निरपेक्ष राज्य घोषणा गर्नु धेरै दृष्टिले घातक हुनेछ । आफ्नै पार्टी र नेतालाई धर्म निरपेक्ष बनाउन नसक्नेहरूले सिंगो राज्यलाई धर्म निरपेक्ष बनाएको घोषणा गर्नु घोर सैद्धान्तिक अपचलन मात्र होइन राष्ट्रको समग्र स्थिति चिन्नै नसक्ने मुढपना व्यक्त गर्नु मात्रै हो । जब धार्मिक क्षेत्रले राष्ट्रको विकासमा वृहत् सहयोग गर्ने व्यापक सम्भावना छ भने नेपाललाई धर्म निरपेक्ष राज्य घोषणा गर्ने अदूरदर्शी कदम किन चाल्ने ? नेपाललाई धर्मनिरपेक्ष देश हैन, धार्मिक स्वतन्त्रता भएको देशको रूपमा स्थापित गर्नु श्रेयस्कर हुनेछ । (पूर्वमन्त्री एवं संस्कृतिविद प्रश्रितद्वारा शुक्रबार माइलस्टोन प्रकाशनद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रस्तुत कार्यपत्रको सारांश) 
 ****************************************
 राप्रपा नेपालका अध्यक्ष कमल थापाले नयाँ संविधानमा हिन्दु राज्य कायम नगरे सडकमा उत्रने चेतावनी दिए

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नयाँ संविधानमा हिन्दु राज्य कायम नगरे सडकमा उत्रने चेतावनी दिएका छन् । राप्रपा नेपालले कलंकीमा गरेको सभामा थापाले प्रमुख दलहरुले बुझ्दै नबुझी मुलुकलाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेको दावी गरे । उनले भने-‘आफ्नो धर्मको रक्षाका लागि नेपाली जनता चुप लागेर बस्दैनन् । त्यस्तो अवस्थामा डरलाग्दो धार्मिक द्वन्द्व हुनसक्छ ।’ मुलुकमा धार्मिक द्वन्द्व भए त्यसको जिम्मेवार मुलुकलाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्ने दल र नेताहरु नै हुने उनको भनाइ छ । राप्रपा नेपालका अध्यक्ष थापाले धर्म निरपेक्षताका विषयमा जनमत संग्रह हुनु पर्ने भन्दै धर्म निरपेक्षताको पक्षमा बहुमत ल्याएर देखाउन चुनौती दिएका छन् । 
************************************

‘हिन्दू राष्ट्र’ नलेखिए संविधान जारी भएको भोलिपल्टै जलाउँछौ: खुमबहादुर खड्का 
शेरबहादुर र रामचन्द्र पनि कोठाभित्र हिन्दु धर्मकै पक्षमा ! 
 नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काले धर्म निरपेक्षतासहितको संविधान जारी गरे भोलिपल्टै राजधानीको शान्तिबाटीकामा जलाउने चेतावनी दिएका छन । रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा उनले धर्मनिरपेक्षता जनआन्दोलनको म्याण्डेड नभएको भन्दै पेलेर बहुमतको आधारमा धर्मनिरपेक्षतासहितको संविधान जारी गरे जलाउने चेतावनी दिएका हुन । अब बस्ने नेपाली काँग्रेस केन्द्रिय समितिको बैठकमा आफूले नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने र संघियता विनाको संविधान जारी गर्नुपर्ने प्रस्ताव पेश गर्ने पनि उनले जानकारी दिएका छन् । साक्षात्कारमा उनले ८१ दशमलब ५ प्रतिसत जनता हिन्दू भएको मुलुकमा काँग्रेसले धर्म निरपेक्षतामा गएर गल्ती गरेको तर्क गर्दै धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र हुनुपर्ने माग गरे । खड्काले अहिले पेलेर धर्म निरपेक्षता घोषणा गरिए पनि आगामी दश–बाह्र वर्षभित्र मुलुक भयंकर धार्मिक द्धन्दमा फस्ने चेतावनी दिए । उनले काँग्रेसका सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलपनि कोठाभित्र हिन्दु धर्मकै पक्षमा रहे पनि बाहिर बोल्न नसकेको दावी गर्दै नेपाली काग्रेसको केन्द्रीय समितिमा पनि हिन्दु राष्ट्रको पक्षमा बहुमत पुग्ने ठोकुवा गरे । खड्काले आफू संघीयताको पक्षपाती नभएको स्पष्ट पार्दै संघीयताले मुलुकको हित नगर्ने बताए । उनले संघीयतामा जानै पर्ने भए पनि अहिलेको पाँच विकास क्षेत्रलाई पाँच प्रदेश मानेर उत्तर–दक्षिण संघीयतामा भौगोलिक आधारमै जानु पर्ने भन्दै जातीय आधारको संघीयतामा गए मुलुक विभाजित हुने दावी गरे । आफ्नै पार्टी सभापतिको नेतृत्वको सरकारले अहिलेसम्म कुनै गतिलो काम गर्न नसकेको टिप्पणी गर्दै यहि गतिमा अघि बढीरहे काग्रेसको अस्तित्व नै समाप्त हुने ठोकुवा गरे । उनले भने– ‘यो सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री सुष्मा स्वराजलाई नेपाल ल्याउनु बाहेक कुनै काम गर्न सकेको छैन । सरकारमा एमाले हावी छ । यस्तै तालले देश बामपन्थीको कब्जामा जान्छ र अर्को चुनावमा एमालेले बहुमत सहित सरकार बनाउँछन ।’ यद्यपि उनले एमाओवादी भने अझै समाप्त भएर जाने दावी गरे । उनले भने– ‘प्रचण्ड नाङगिसकेका छन् ।’ खड्काले आगामी असोज ४ गतेबाट केन्द्रीय समितिको म्याद सकिने भएकोले तत्काल महाधिवेशन गर्नु पर्ने पक्षमा आफू रहेको समेत साक्षात्कारमा स्पष्ट पारे । एमाओवादी संविधान बनाउने पक्षमै नरहेको भन्दै राजनीतिक संबाद समितिका सभापति डा. बाबुराम भट्टराईले संविधान बन्न नदिन दवाव आयो भनि दिएको अभिब्यक्तिबारे को र कहाँबाट दवाव आएको हो स्पष्ट पार्नु पर्ने माग गरे । सहमतिको फेरामा लागे माघ ८ गते संविधान नआउने दावी गर्दे संविधान बनाउन प्रक्रियाबाट अघि बढ्नु पर्ने बताए । उनले संघीयता र धर्म निरपेक्षताको विषयमा भने जनमतसंग्रह गर्नु पर्नेमा समेत जोड दिए । नेकपा–माओवादीलाई समेत साथै लिएर जाने विषयमा राजनीतिक सभा र उच्चस्तरीय राजनीतिक समिति गठन गर्न कुनै आपत्ति नभएको भन्दै माओवादी र एमाओवादी सहमतिको नाममा अल्मल्याएर संविधान आउन नदिने दाउमा लागेको दावी समेत गरे । उनले काँग्रेसले एमाओवादीसंग गरेको ४ बुँदे सम्झौता नै गलत रहेको भन्दै आफ्नो विश्वसनियता कायम गर्नका लागि पनि प्रचण्डलाई उच्चस्तरीय संयन्त्रको संयोजक बनाउन सुझाव दिए । उनले सम्झौता गर्ने र कार्यन्वयन नगर्ने कार्य काँग्रेसले गर्न नहुने पनि प्रष्ट पारेका छन् । नेकपा माओवादीको माग अनुसार रािष्ट्रय सम्मेलन गर्नु उचित भएपनि त्यसबाट संविधान जारी हुन नसक्ने पनि खड्काले ठोकुवा गरे ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक