- उमेश चौहान

अधिराजकुमार तथा युवराजका रूपमा पारसले नेपाली समाजबाट त्यस्तो आदर कहिल्यै पाएनन् जसको उनी संवैधानिक हकदार थिए । मदिराको लतमा गाडी कुदाउँदै मान्छे किचेर, डिस्कोथेकमा फायरिङ गरेर तथा आफ्नै साथी र श्रीमतीलाई पेस्तोल ताकेर उनी पटक–पटक विवादमा आए । यसमा उनको व्यक्तिगत स्वभावको पनि दोष होला, तर राजपरिवारको सदस्यका रूपमा उनलाई सिकाइएको संस्कार झन् बढी जिम्मेवार छ । राजपरिवारको सदस्यलाई भगवान् बनाउने भन्दै उनीहरूको मानवता खोसियो, त्यसैले शाही परिवारमा पारसभन्दा अघि पनि धेरै धुन्धुकारी प्रकट भए कहिले सुरेन्द्रका नाममा कहिले धीरेन्द्रका नाममा ।
नेपालमा मात्रै किन ? विश्वका सबैजसो शाही परिवारमा टाइप–टाइपका धुन्धुकारी जन्मिएका छन् । नेपालको राजसंस्था त विघटन भइसकेको छ, तर बेलायतको राजसंस्था अहिले पनि संसारभर आदरणीय छ । रानी एलिजाबेथ द्वितीया आजका मितिमा पनि बेलायत मात्र होइन, क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, पपुआ न्युगिनी, जमैका र बेलिजजस्ता १६ देशकी राष्ट्रप्रमुख हुन् । तर, तिनका नाति प्रिन्स ह्यारी कहिले चरेस घोट्दै गरेका भेटिन्छन्, कहिले पत्रकार कुट्दै गरेका भेटिन्छन् । आमा डायनाको मृत्युपछि प्रिन्स ह्यारी बेलायती सञ्चारमाध्यमका लागि यस्ता सनसनी हुन् जसले ‘डेस्क क्लोज’ गरिसकेका सम्पादकहरूलाई पनि नयाँ स्क्यान्डल सिर्जना गरेर ‘स्टप द प्रेस’ भन्न बाध्य पार्छन् ।

पारस अहिले थाइल्यान्डमा बन्दी छन्, तर त्यही देशको राजसंस्था पनि विवादमुक्त छैन । अमेरिकाको बोस्टनमा जन्मिएका र स्विट्जरल्यान्डमा हुर्किएका अहिलेका राजा भुमिबोल अदुल्यादेज १९ वर्षको उमेरमा त्यतिवेला गद्दीमा बसे जब उनका दाजु गोली लागेर आफ्नै ओछ्यानमा मृत अवस्थामा भेटिए । तत्कालीन राजालाई कसले र किन गोली हान्यो, बन्दुक बोकेर राजाको शयनकक्षसम्म पुग्ने सक्ने दुस्मन को थियो ? यो विषयलाई रहस्यमै राखेर राजा भुमिबोलले थाइल्यान्डमा ६८ वर्ष अविच्छिन्न शासन गरिसकेका छन् । सबैभन्दा लामो शासन गर्ने जीवित राजा भुमिबोलका छोरा महा भाजिरालोङकर्न उमेरले त ५७ वर्षका भइसके, तर उपद्रो गर्न छाडेका छैनन् । थाईभूमिमा चर्चा गर्नु जोखिम मानिन्छ, तर पश्चिमा मिडियाका लागि यी वृद्ध राजकुमार सधै ‘न्युजमेकर’ हुन् । पहिलो श्रीमतीबाट एउटी छोरी हुँदा उनले गर्लफ्रेन्डबाट पाँचवटी छोरी जन्माइसकेका थिए । आमासँगै बेलायत गएका छोरीहरूलाई ‘अपहरण’ गरी ल्याएको भनेर ब्रिटिस मिडियामा थाई राजकुमारको निकै ठूलो आलोचना भयो । यी सबै आलोचनालाई बेवास्ता गर्दै नयाँ बेहुली भित्र्याएका राजकुमारको व्यक्तिगत तर आपत्तिजनक भिडियो देखेर संसार चकित भयो । सुट लगाएका राजकुमार र कम्मरमा धागोको एउटा धर्सो मात्र झुन्डयाएकी राजकुमारीले ‘ह्याप्पी बर्थडे टु यु’ भन्दै कुकुरलाई केक खुवाइरहेको भिडियो दरबारमै खिचिएको थियो । राजकुमारीको तस्बिर पश्चिमा मिडियाले त ‘मोज्याक’ गरेर छापे, तर जनावरको बर्थडे मनाउँदा जनावरजस्तै नांगै हुनुपर्छ भन्ने भावी राजारानीको विवेक संसारभरि छर्लंग भएको छ ।
शाही सदस्यको उन्माद अनौठो होइन, तर आफ्नो सन्तान निराश, हतास र बर्बाद हुँदा पनि तिनका अभिभावकको बेवास्ता अनौठो र चिन्ताजनक छ । तर, यसमा पनि सर्वसाधारणको घरबारभन्दा नितान्त फरक राजाको दरबारको संस्कार नै जिम्मेवार छ । जब एउटा सर्वसाधारण बालक भोकाउँछ, खेतमा धान रोप्दै गरेका, बगरमा गिटी कुट्दै गरेका र कार्यालयमा किबोर्ड चलाउँदै गरेका आमाको दूध चस्कन्छ, त्यही दूधले जोड्छ सर्वसाधारणको परिवारमा मायाको माला । तर, धाई आमाको दूधले हुर्किएका र तस्बिर खिचाउन मात्र बाबुआमाको काखमा बस्ने अवसर पाएका ती दरबारिया बालबालिका साँच्चै अभागी हुन् । तिनले न आफ्ना बाबुआमाको न्यानो काख पाए, न आफ्ना बाबुआमाको साख जोगाउन सके ।
जावलाखेलस्थित सेन्टमेरिज स्कुलको एउटा प्रसंग निकै मार्मिक छ । तत्कालीन अधिराजकुमारी श्रुति विद्यार्थी हुँदा स्कुलले अभिभावक दिवसमा तत्कालीन महारानी ऐश्वर्यलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरेको थियो । स्कुल व्यवस्थापनले दरबारीया सचिवहरूसँग जाहेर गरेपछि महारानीबाट ४० मिनेटको समय बक्स भएको थियो । आफ्नै परिसरमा महारानीका लावालस्कर देखेर रंगिबिरंगी नानीहरू खुसीले फुरुंग हँुदै नाचिरहेका थिए, गाइरहेका थिए । नाचगानबीच समय बितेको पत्तै भएन, तर ४० मिनेट बितेपछि महारानीले घडी हेरेर एडिसीलाई घुर्न थालिन् । डराएका एडिसी आयोजकसँग गएर कार्यक्रम समापन गर्न अनुरोध गर्न थाले । आयोजकले भन्न थाले–अधिकाराजकुमारी श्रुतिको विशेष प्रस्तुति त आउनै बाँकी छ हजुर । एडिसीले यो विषय जानकारी गराउँदा पनि महारानीको मन पग्लिएन, उनले फेरि घडी हेर्न थालेपछि एडिसीले निर्धारित समय सकिएकाले कार्यक्रम समापन गर्न निर्देशन दिए । महारानीको यो स्वभाव देखेर पश्चिमा संस्कारबाट आएकी प्रिन्सिपल पनि आश्चर्यचकित भइन् र उनले ठूलो स्वरमा प्रश्न गरिन्, ‘इजन्ट सी अ मदर ?’ अंग्रेज प्रिन्सिपललाई नै आश्चर्यचकित बनाउने नेपाली आमाको यो कथा सुनाउने प्रत्यक्षदर्शीहरू अहिले पनि जिब्रो टोक्छन् ।
दरबारको नाता कति चिसो हुँदो रहेछ भन्ने उदाहरण पारसलाई हृदयाघात हुँदा पनि स्पष्ट भयो । गत वर्ष फागुनमा बैंककको समितिवेज अस्पताल पुर्याइएका पारस ‘अलमोस्ट डेड’ भनेर समाचार आउँदा उनका बाबुआमा पूर्वी तराईको भ्रमणमा थिए । अपेक्षा थियो, छोरालाई भेट्न बाबुआमा अविलम्ब बैंकक पुग्नेछन् । म ठोकुवाका साथ भन्न सक्छु, पारसलाई जस्तै मलाई केही भएको खबर पाउने हो भने ७० नाघेका मेरा बुबा अर्घाखाँचीबाट जिपको ढोकामा झुन्डिएर, नाइट बसको छतमा बसेर रातारात काठमाडौं आइपुग्नुहुन्छ । तर विस्मय, पारसका बाबुले अन्तिम अवस्थामा पुगेको छोरो भेट्न एअरकन्डिसन भएको जहाज चढेर जाने अवसर पनि सदुपयोग गर्न सकेनन् । पारस अचेत छन् भनेर साताभरि समाचार आइरहँदा पनि उनका बाबुले ज्योतिषिसँग छोरो भेट्न जाने दिन हेराएर समय गुजारे र नौ दिनपछि छोरो होसमा आएपछि मात्र पत्रकारलाई अन्तर्वार्ता दिँदै बैंककतिर गए । यो ढोंग र आडम्बर दरबारमा मात्र चल्छ, सर्वसाधारणको घरमा कहिल्यै देख्नु पर्दैन ।
पारस बैंककमा चौथोपटक लागुऔषधसहित पक्राउ परेका छन् । तर, लागुऔषध खाने पारस एक्लो नेपाली होइनन् । अहिले पनि यो देशमा थुप्रै किसान ज्ञानबहादुरका छोराले गाँजा खान्छन्, थुपै शिक्षक ज्ञानप्रसादका छोराले सिरिन्ज हान्छन् र थुप्रै उद्यमी ज्ञानचन्द्रका छोराले चरेस खान्छन् । तर, तिनका बाबुआमाले छोरालाई गाली गरेर, छोरासँग रोएर, सुधारगृहमा लगेर सुधार्ने प्रयत्नमा हुन्छन् । तर, पारसको दुर्भाग्य, उनी पूर्वराजा ज्ञानेन्द्रका छोरा हुन्, त्यसैले उनको दु:खमा रोइदिने बाबुआमा उनीसँग छैनन् । त्यसैले राजदण्ड समाउने भनेर प्रशिक्षित हातमा हत्कडी लगाएर प्रहरीले तस्बिर खिच्दा पनि उनी मन्द मुस्कान दिन्छन् । उनको लाचार तस्बिर देख्दा लाग्छ–उनी ‘सेल्फ भिक्टिमाइजेसन डिस्अर्डर’का सिकार भएका छन् । यो त्यस्तो अवस्था हो जब एउटा व्यक्तिले आफूलाई समाज, परिवार र परिस्थितिबाट सम्पूर्ण रूपमा लुटिएको महसुस गर्छ र आफ्नो पुनरुत्थानका सबै ढोका अँध्यारा देख्छ । त्यो अँध्यारोबाट उज्यालोमा ल्याउने सबैभन्दा ठूलो भरोसा परिवार हो, तर निर्मलनिवासमा यस्तो कठोर आत्माहरूको बास रहेछ, जसले बिग्रेको सन्तानलाई छोए आफ्नो प्रतिष्ठा जान्छ भन्ने आडम्बर पालेको छ । त्यो आडम्बरबाट निस्कने हो भने पूर्वराजा ज्ञानेन्द्रका लागि बेलायतको शाही परिवारकै उदाहरण काफी छ जहाँ दुव्र्यसनी छोरा ह्यारीलाई आफैँ हातमा समातेर दक्षिण लन्डनको पेखामस्थित फेदरस्टोन सुधारगृहमा पुगेका थिए युवराज चाल्र्स । राजकुमार ह्यारी अहिले पनि टाइसुट लगाएर स्विमिङपुलमा हाम फाल्छन्, म पुरुषसँग सहवास गर्न मनपराउँछु भनेर सार्वजनिक रूपमा बोल्छन्, तर उनको परिवार उनीसँगै छ । त्यसैले ह्यारीको हातमा हत्कडी छैन ।
नि:सन्देह पूर्वराजा ज्ञानेन्द्र फेरि कुनै न कुनै रूपमा शक्तिमा आउन चाहन्छन्, राजनीतिशास्त्रले यसलाई असम्भव भनेर इन्कार पनि गर्न सक्दैन । शाहीशक्तिको पुनरुत्थान आफँैबाट नभए बुहारी हिमानी अथवा नाति हृदयन्द्रबाट हुन सक्ला, तर पारसबाट सम्भव हँुदैन भन्ने ठहरमा ज्ञानेन्द्र पुगेका छन् भन्ने देखिन्छ । त्यसैले एउटा सचेत मानसिकताका साथ निर्मलनिवासले छोरा पारससँग दूरी बनाएको छ, भविष्यको एउटा राजनीतिका लागि वर्तमानको एउटा छोराको बलि दिन निर्मलनिवास तयार भएको छ । साँच्चै यसो भयो भने यो शृंखला एउटा छोरा पारसमाथि बाबु ज्ञानेन्द्रको अत्याचारका रूपमा मात्र होइन, मानवतामाथि राजनीतिको अपराधका रूपमा भविष्यले मूल्यांकन गर्नेछ ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक