20141016

मुस्ताङ्ग र म्याग्दीमा हिमपातका कारण अहिलेसम्म ३० जनाको ज्यान गयो, तीनसय जना हराइरहेका छन् !

मुस्ताङ्ग र म्याग्दीमा हिमपातका कारण अहिलेसम्म ३० जनाको ज्यान गएको क्षेत्रीय प्रशासन कार्यालय पोखराले जनाएको छ । मनाङ्गमा ११ जना, मुस्ताङ्गमा १४ जना र म्याग्दीमा ५ जनाको ज्यान गएको पुष्टी भएको हो । ज्यान गुमाउनेमा ११ जना नेपाली, ४ जना क्यानेडियन, ३ जना इजराइली, ३ जना पोल्यान्ड, २ जना स्लोभाकियन, १ जना भारतीय छन् भने ३ जनाको पहिचान नखुलेको पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले जानकारी दिनुभयो । उहाँका अनुसार तीन ठाउँमा गरी तीनसय जना हराइरहेका जानकारी आएको छ । बिहीबार मात्र मुस्ताङबाट ६३ जना र मनाङबाट १ सय २९ जनाको उद्दार गरेको थपलियाले जानकारी दिनुभयो । शुक्रबार पनि बिहानैदेखि खोजी तथा उद्दारको काम भैरहेको छ । प्रशासनले अन्नपूर्ण पदयात्रामा गएका आन्तरिक तथा बाह्य पर्यटकहरुलाई फर्कन आग्रह गरेपछि मनाङको सदरमुकाम
चामेमा दुईसय ३० जना फर्किएका छन् । उनीहरु तिलिचो, उपल्लो मुस्ताङ, लगायतका ठाउँबाट फकिर्एका हुन । ५ हजार ४ सय १६ मिटर अग्लो थोरङ पासमा भने अहिलेसम्म उद्धार टोली पुग्न सकेको छैन ।

मुस्ताङमा १४ जनाको सनाखत

भारी हिमपातमा परि मुस्ताङमा ज्यान गुमाएका १४ जनाको सनाखत भएको छ । बिहिबार मुस्ताङ्गका विभिन्न स्थानमा भेटिएका ६ विदेशी र ४ नेपालीको सनाखत भएको मुस्ताङका प्रहरी नायव उपरीक्षक गोविन्द प्रसाद पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार ज्यान गुमाउनेमा इजरायलका नाभाड, टोअन लुरिअ, टोनर रुसल, पोल्याण्डका रोर्बोट दुर्केस, लोसुज्यान्टोन्स र अग्नी मेक्स छन् । त्यस्तै नेपालीहरु अजय मगर, चामे नेपाली, पाशाङ र बाग्लुङका विष्णु बहादुर बुढा मगरको सनाखत भएको छ ।
मृतकमध्ये बाग्लुङका ३० वर्षिय बुढामगर उपल्लो मुस्ताङको घमी गाविसबाट घर फर्कदै गरेको अवस्थामा झैतेमा आईपुग्दा हिउ“मा पुरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङ्गले जनाएको छ । त्यसअघि बुधबार नै मुस्ताङ्गमै भेटिएका ४ वटा शव काठमाडौं पठाईएकोमा ३ विदेशी र १ नेपालीको सनाखत भएको सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । पर्यटनमन्त्री दिपकचन्द्र अमात्यले दिनुभएको जानकारी अनुसार पोल्यान्डका रोबर्ट डुरस्केज र लुम्मानटोनाज, इजरायलका नाडब र नेपालका पासाङको शव काठमाडौंमा रहेको हो ।

म्याग्दीमा पनि

म्याग्दीको मुदी गाविसस्थित धौलागिरी आधार शिविरमा हिउँ पहिरोमा परी स्लोकाभियाका ६० वर्षीय मिस्टर जान माटिक, ५८ वर्षीय भ्यादिमिर स्भाकर, नेपाली सहयोगी सोलुखुम्बु बुँदेल–८ का गोपाल राई, सोलुखुम्बु जुविङ–२ का दोर्जे शेर्पा र ओखलढुङ्गा मोली–६ का भोजकुमार राईको ज्यान गएको छ । उनीहरु सबैको शव हिउँमा पुरिएको अवस्थामा बिहीबार भेटिएको म्याग्दीका प्रहरी नायब उपरीक्षक जर्नादन जिसीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय म्याग्दी, नेपाल पर्वतारोहण सङ्घ र ट्राभल एजेन्सीको संयुक्त टोलीले मङ्गलबार रातिदेखि बेपत्ता भएका उनिहरुको मनाङ एयरको हेलिकप्टर मार्फत खोजी गरेका थिए । २ विदेशी पर्यटकको शव बिहिबार नै सदरमुकाम बेनी ल्याएको र बाँकी ३ शव इटाली वेश क्याम्पमा राखिएको प्रहरीले जनाएको छ ।
खराब मौसमका कारण सबै शव ल्याउन कठिन भएको नेपाल पर्वतारोहण संघ उद्दार टोलीका सदस्य डाक्टर निमा शेर्पा बताउनुभयो । शुक्रबारसम्म सबै शव काठमाडौं पु¥याइने डाक्टर शेर्पाले जानकारी दिनुभएको छ ।

मनाङमा ११ जनाको ज्यान गयो

मनाङमा हिमपातले ज्यान जानेको संख्या ११ पुगेको छ । बिहीबार थप २ जना भारतीय पर्यटक र अर्का १ जना पुरिएको अवस्थामा भेटिएका छन् । यसअघि बुधबार ४ क्यानेडियन र १ भारतीय पर्यटकको शव भेटिएको थियो । ती बाहेक चौंरी हेर्न गएका ३ गाउँलेको शव पनि बुधबारै भेटिएको थियो ।
मनाङका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेका अनुसार काङला र फू गाउँबीच शव फेला परेको हो । तर हिउमा गाडिएको अवस्थामा रहेको शव निकाल्न सकिएको छैन । मनाङमा पुरिएका कुनैपनि शव निकाल्न नसकिएको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताउनुभयो । खराब मौसमले निकाल्न नसकिएको गृह मन्त्रालयलाई जानकारी दिएका छौं लामिछानेले भन्नुभयो–मृतकभन्दा जीवितको उद्दारमा लाग्नुपर्ने अवस्था आएको छ ।
क्षेत्रीय प्रशासन कार्यालय पोखराका अनुसार मनाङ्गको क्याङ्ग र फू मा हराईरहेका विदेशी र नेपाली गरि १० जनाको नाम खुलेको छ । हराईरहेकामध्ये हिडन ट्रेक प्रालिबाट टे«किङ्ग गएका क्यानेडेली नागरिक ५५ वर्षिय ज्यानेट रक्स, ५४ वर्षिय शिल्भिया म्यारिओस, ५९ वर्षिय मोनेल्ले डुराङ्ग र ३३ वर्षिय जेनेभियाने औदत आदम रहेका छन् भने भारतीय नागरिक ६२ वर्षिय सुनिल सेन, ४१ वर्षिय तोथा जना र ३० वर्षिय राजा घोष्टसँगै नेपालीहरु ४७ वर्षिय फुर्वा लामा, ३० वर्षिय छो ग्याल्चेन लामा र ३९ वर्षिय सोनाम सामाङ्ग घले रहेका छन् ।
यसैबीच अन्नपुर्ण पदयात्रा मार्गमा पर्ने कास्कीको घान्द्रुकमा १ चिनिया पर्यटकको ज्यान गएको छ । घान्द्रुकको भुराज भन्ने ठाउँमा बास बसेका चिनीया नागरिकको बुधबार साँझ ज्यान गएको हो । अन्नपुर्ण बेसक्याम्प पुगेर फर्केपछि बास बस्ने क्रममा ज्यान गएको पदयात्राबाट फर्केका गाइड बुद्धिमान तामाङ्गले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक