20141017

न्यूनतम ज्यालाः अमेरिकी इतिहासमै ठूलो फड्को १०.१० डलर हुने !

अमेरिकामा ज्याला: इतिहास, विश्लेषण र विशेष चिरफार
- सानुबाबु सिलवाल
अमेरिकी राष्ट्रपति बाराक ओबामाले गत २०१४ जनवरी २८ मा स्टेट अफ युनियनमा सम्बोधनका क्रममा अमेरिकामा श्रमिकहरूको न्यूनतम ज्यालादर बढाउन आवश्यक रहेको र ज्यालादर बृद्धिलाई 'इयर अफ एक्सन'को रूपमा अघि बढाउने विचार प्रकट गरेपछि कंग्रेसमा ज्यालादर हाल कायम प्रतिघण्टा ७ डलर २५ सेन्टबाट बढाएर १० डलर १० सेन्ट पुर्याउन प्रस्ताव गरेका छन् । यो बृद्धि झन्डै ५ वर्षपछि अर्थात् सन् २००९ को जुलाईयता पहिलो पटक हुन लागेको हो । हाल कायम ज्यालादरमा प्रतिघण्टा दुई डलर ८५ सेन्ट बृद्धि गर्ने प्रस्ताव गरिएको छ । यो ज्याला बृद्धिदर अमेरिकी इतिहासमै पहिलो पटक सबैभन्दा धेरै हो । मैले यस लेखमार्फत् यो बृद्धिबाट अमेरिकी अर्थतन्त्रमा पर्ने सकारात्मक प्रभाव र यसका केही नकारात्मक असरहरूलाई चिरफार गर्ने जमर्को गरेको छु ।
फेडरल न्यूनतम ज्यालादर प्रतिघण्टा ७ डलर २५ सेन्ट भए पनि करीव २३ वटा राज्यहरूमा आफ्नो राज्यस्तरमा ज्यालादर यसभन्दा बढी पनि कायम गरिएको छ । ८० प्रतिसत अमेरिकीहरू यस ज्याला दर बृद्धिको पक्षमा रहेको एक सर्वेक्षणले देखाएको छ । यदि अमेरिकी कंग्रेसले अनुमोदन गरेमा अमेरिकामा न्यूनतम ज्यालादर प्रतिघण्टा १० डलर १० सेन्ट हुनेछ । र, यो ज्यालादर आउँदो जुलाई १, २०१५ बाट लागू हुनेछ । अमेरिकी राष्ट्रिय रोजगार कानुन आयोजना कोषको एक अध्ययन अनुसार, यसबाट ३० मिलियन अमेरिकी कामदारहरू लाभान्वित हुनेछन् भने ५१ बिलियन डलर अतिरिक्त ज्याला रकममा बृद्धि हुनेछ । यसबाट एक लाख ४० हजार रोजगारी बढ्ने र रोजगारी बृद्धि हुँदै दुई लाख ८४ हजार पुग्ने अनुमान गरिएको छ ।
न्यूनतम ज्यालादर संघीय सरकारको एक नीति भए पनि दुई दर्जन राज्यहरूमा ज्यालादर फरक रहेको र संघीय ज्यालादर बृद्धिसँगै ती राज्यहरूमा पनि हाल कायम ज्यालादरमा थप बृद्धि हुने बताइएको छ । एक तथ्यांकअनुसार, सन् १९४७ मे १४ मा अमेरिकी सरकारले प्रतिघण्टा न्यूनतम ज्यालादर ४० सेन्ट तोकेको रहेछ । सन् २०१५ सम्म बृद्धि हुने ज्यालादरको अनुपातमा विभिन्न समयमा गरी ६८ वर्षको दौरानमा अमेरिकामा श्रमिकको न्यूनतम ज्याला हालसम्म ६ डलर ८५ सेन्ट र प्रस्तावित बृद्धिको अनुपातमा ९ डलर ७० सेन्ट बृद्धि हुने देखिन्छ । यो बृद्धिदरलाई अमेरिकी श्रमिक बजारमा ठूलो फड्कोको रूपमा लिन सकिन्छ ।
अमेरिकामा सन् १९४७ देखि हालसम्मको ज्याला बृद्धिदर अवस्था
वर्ष
ज्याला दर
बृद्धि फरक
मे, १९४७
४० सेन्ट

मे, १९४९
७० सेन्ट
३० सेन्ट
मे, १९५५
१ डलर
३० सेन्ट
सेप्टेम्बर, १९६१
१ डलर १५ सेन्ट
१५ सेन्ट
सेप्टेम्बर, १९६३
१ डलर २५ सेन्ट
१० सेन्ट
फेब्रुअरी, १९६८
१ डलर ३० सेन्ट
५ सेन्ट
फेब्रुअरी, १९६९
१ डलर ४५ सेन्ट
१५ सेन्ट
फेब्रुअरी, १९७१
१ डलर ६० सेन्ट
१५ सेन्ट
सेप्टेम्बर, १९७४
२ डलर
४० सेन्ट
सेप्टेम्बर, १९७५
२ डलर १० सेन्ट
१० सेन्ट
सेप्टेम्बर, १९७६
२ डलर ३० सेन्ट
२० सेन्ट
सेप्टेम्बर, १९७७
२ डलर ६५ सेन्ट
३५ सेन्ट
जनवरी, १९७८
२ डलर ९० सेन्ट
३५ सेन्ट
जनवरी, १९७९
३ डलर १० सेन्ट
२० सेन्ट
जनवरी, १९८०
३ डलर ३५ सेन्ट
२५ सेन्ट
जनवरी, १९८९
३ डलर ८९ सेन्ट
५४ सेन्ट
अप्रिल, १९९०
४ डलर २५ सेन्ट
३६ सेन्ट
अक्टोबर, १९९६
४ डलर ७५ सेन्ट
५० सेन्ट
अक्टोबर, १९९७
५ डलर १५ सेन्ट
४० सेन्ट
२४ जुलाई, २००७
५ डलर ८५ सेन्ट
७० सेन्ट
२४ जुलाई, २००८
६ डलर ५५ सेन्ट
७० सेन्ट
२४ जुलाई, २००९
७ डलर २५ सेन्ट
७० सेन्ट
जुलाई, २०१५
१० डलर १० सेन्ट
२ डलर ८५ सेन्ट
श्रम विभागकै तथ्यांकअनुसार, अमेरिकाका कतिपय राज्यहरूमा हाल प्रतिघण्टा ज्यालादर ७ डलर २५ सेन्ट छ । कतिपय राज्यहरूमा ज्यालादर फरक फरक कायम गरिएका छन् । प्रतिघण्टा ज्यालादर ७ डलर २५ सेन्ट कायम गरिएको राज्यहरूमा आइडाहो, हवाई, टेक्सास, ओक्लाहोमा, उटाह, वियोमिङ, साउथ डाकोटा, नर्थ डाकोटा, विस्कन्सिन, आइओवा, क्यानसस्, लुजियाना, मिसिसिपी, अलाबामा, नेबिस्का, जर्जिया, साउथ क्यारोलिना, नर्थ क्यारोलिना, भर्जिनिया, वेष्ट भर्जिनिया, पेन्सिलभेनिया, न्यू ह्याम्सायर, टेनिसी, मेरिल्यान्ड, अर्कन्सस्, केन्टकी र इन्डियाना रहेका छन् ।
त्यसैगरी वासिङटनमा प्रतिघण्टा ९ डलर ३२ सेन्ट, वोरिजन ९ डलर १० सेन्ट, मोन्टाना ७ डलर ९० सेन्ट, नेबाडा ८ डलर २५ सेन्ट, क्यालिफोर्निया ९ डलर, एरिजोना ७ डलर ९० सेन्ट, अलास्का ७ डलर ७५ सेन्ट, कोलोराडो ८ डलर, मिनेस्टोटा ८ डलर, न्यू मेक्सिको ७ डलर ५० सेन्ट, फ्लोरिडा ७ डलर ९३ सेन्ट, ओहियो ७ डलर ९५ सेन्ट, मिचिगन ८ डलर १५ सेन्ट, न्यूयोर्क ८ डलर, कनेक्टिकट ८ डलर ७० सेन्ट, म्यासाचुसे ८ डलर, मेन ७ डलर ५० सेन्ट, भरमन्ट ८ डलर ७३ सेन्ट, न्यूजर्सी ८ डलर २५ सेन्ट, मिजौरी ७ डलर ५० सेन्ट, इलिनोइज ८ डलर २५ सेन्ट, डेलवारे ७ डलर ७५ सेन्ट, रोड आइल्यान्ड ८ डलर रहेको छ । सर्सती हेर्दा ठाउँ, परिस्थिति, सहर, महंगी, जनघनत्व र जीवनशैलीका आधारमा न्यूनतम ज्यालादर संघीय सरकारको ज्यालादर भन्दा कम नहुने गरी बढी कायम गरिएको देखिन्छ । केन्द्रीय सरकारको न्यूनतम ज्याला बृद्धिपछि म्यासाचुसेले सन् २०१६ सम्ममा ८ डलरबाट ११ डलर पुर्याउने तथा हवाई राज्यले बृद्धि अनुपातमा हेरफेर गर्ने निर्णय सार्वजनिक गरिसकेका छन् ।
सन् २००९ देखि अमेरिकी अर्थब्यवस्था ओरालो लागिरहेको अवस्थामा यो प्रस्तावित ज्यालाबृद्धिलाई अमेरिकी सरकार, दुबै सदनका कानुन निर्माता एवं विज्ञहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । ज्यालाबृद्धिबाट स्वाभाविक रूपमा अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ नै । तर, यसका अन्य नकारात्मक पक्ष र जोखिमहरू पनि त्यतिकै छन् । अमेरिकी जनता खर्च गर्न रुचाउँछन् । खर्च गर्न आम्दानी हुनुपर्यो । पे चेकका साथमा केन्द्रीय एवं राज्य सरकारबाट प्राप्त हुने सहयोग नै आम्दानीको मुख्य आधार हो । अर्कोतर्फ अमेरिकाको अर्थब्यवस्था, राजश्वको मुख्य आधार र मेरुदण्ड भनेकै साना ब्यवसाय हुन् । अर्थब्यवस्था ओरालो लागेसँगै साना ब्यवसायले श्रम कटौती गरिरहेका छन् । साना ब्यवसाय लगभग चुनौतीमा बाँचिरहेको अवस्था एकातिर छँदैछ, अर्कोतिर महंगी, करमा बृद्धि, उपभोक्ताको क्रयशक्तिमा मन्दी र श्रमबजारले दक्ष र क्षमतावान श्रमिक मागिरहेको अवस्थामा यसको पूर्ति हुन नसक्नु, थप रोजगारीका आधारहरूमा कमी आउनु, श्रमिकको विविध बीमा एवं खर्चबृद्धिमा भइरहेको भर्याङले साना ब्यवसाय थप मार खेप्न सक्ने अवस्थामा छैनन् ।
अमेरिकी गरीव समुदाय श्रम र सम्भावनाबाट टाढै छन् । विभिन्न तथ्यांकले न्यूनतम ज्यालादर बृद्धिसँगै रोजगारी बढ्ने र अर्थब्यवस्थामा थप राहत पुग्ने देखाए पनि रोजगारदाता थप खर्च गर्नसक्ने अवस्थामा नरहेको हुँदा श्रमिकले थप घण्टा काम नपाउने, प्राप्त भइरहेको घण्टामा कटौती हुने देखिन्छ । र, बल्लतल्ल बाँचेका ब्यवसायहरू बन्द हुनसक्ने सम्भावना पनि त्यत्तिकै छ । रोजगारको खोजीमा रहेका मानिसहरू टेबुलमुनिबाट नगदमा कम मूल्यमै काम गर्नुपर्ने अर्को ज्वलन्त अवस्था छ । त्यसैले ज्यालाबृद्धिसँगै दैनिक अत्यावश्यकीय वस्तुहरूका साथै बसाइलगायतमा मूल्य बढ्न गई यसको सम्पूर्ण मार उपभोक्तामा पर्ने देखिन्छ । सरकार ज्यालादर बृद्धिसँगै कामदारको आम्दानीबाट बढी कर चाहन्छ भने रोजगारदाताबाट पनि रोजगार बीमा कर बढी उठाउन चाहन्छ । त्यसको अलावा अमेरिकी सरकार अहिले ‘फूड स्टाम्प’ को खर्च धान्नै नसक्ने अवस्थामा छ । त्यसैगरी सुत्केरी तथा नवजात शिशुहरूलाई प्रदान गर्दै आइरहेको ‘विक’ थेग्न नसक्ने अवस्था छ । सरकार ब्यक्तिको आम्दानी ज्यालामार्फत् देखाइ ‘फूड स्टाम्प’ र ‘विक’ एवं अन्य भैपरि आउने राहत कटौती गर्न चाहन्छ । ज्यालादर बृद्धि यसको ज्वलन्त उदाहरण हो । त्यसैगरी अमेरिकी सरकार मेडिकेयरको डरलाग्दो खर्चलाई कटौती गर्न चाहन्छ । आम्दानी नभएका तथा बढी सदस्य संख्या भएका परिवारको आम्दानीको आधार र स्वास्थ्य बीमा थेग्न नसक्ने अवस्थामा छ । सरकार हदभन्दा बढी आम्दानी देखिएमा स्वास्थ्य बीमा आफैंले ब्यहोर्नुपर्ने अवस्था सिर्जना गर्न चाहन्छ । अहिले पनि अमेरिकी गरीव र मध्यम वर्गीय अधिकांश समुदाय बरु काम नगर्ने, काम गरिहाले पनि कम घण्टा देखाएर नगदमा काम गर्ने तर मेडिकेयर, फुड स्टाम्पलगायतका सुविधाहरू कटौती गर्न चाहँदैनन् । सरकार ज्यालादर बढाएर आम्दानीको कर दर्ता गरेपछि फिर्ता दिनुपर्ने कर रकममा पनि कटौती गर्न चाहन्छ । सिनेटरहरू पाउल रायन, मार्को रूबियोले भनेजस्तै समग्रमा यो ज्यालाबृद्धिबाट गरीवहरूलाई फाइदाभन्दा बेफाइदा बढी हुनेछ ।
अर्कोतिर, मौसमीरूपमा काम गर्ने विद्यार्थीहरूलाई भने कलेजको शुल्क तिर्न, किताब खरिद गर्न ठूलो राहत पुग्ने बताइएको छ । यसबाट गर्मी महिना वा एक सिजन काम गरेर शुल्क तिर्ने ठूलो संख्याका विद्यार्थीहरू लाभान्वित हुनेछन् । अमेरिकी सरकार खर्च कटौती र राजश्व बढाउन चाहन्छ । यस मानेमा ज्यालादर बृद्धिलाई सकारात्मक रूपमा लिइएको छ भने यसबाट महंगो श्रमशक्तिका कारण लगानी बाहिरिन सक्ने सम्भावना पनि त्यत्तिकै छ । अहिले पनि वैधानिक कागजात नभएका विभिन्न मुलुकका प्रवासीहरू, बोल्न नसक्ने, भाषागत रूपमा पछि परेका प्रवासी समुदाय अझै पनि मारमा परिरहेका छन् । श्रमशोषण, ज्यालामा अनियमितता, कर छलीजस्ता थुप्रै विसंगति र अभ्यासहरू अमेरिकी श्रमबजारमा विद्यमान छन् । कागजात नभएका, पहुँच नभएका र रेष्टुरेन्ट, होटल र मोटेललगायतका ब्यवसायमा श्रम गर्ने लाखौंलाख श्रमिकहरूका लागि यो ज्यालाबृद्धि ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात’ भनेझैं हुनेछ ।
अन्त्यमा, सबै नीति तथा कार्यक्रमहरूमा असंगतिसँगै फाइदाहरू पनि त्यत्तिकै हुन सक्छन् । अमेरिकी सरकारले ज्यालाबृद्धिसँगै आर्थिक प्रगति एवं उत्थानका लागि थप कार्यक्रमहरू ल्याउन सके आर्थिक विकास एवं सामाजिक सम्मुनतिका क्षेत्रमा केही आशा गर्न सकिन्छ ।
(लेखक अमेरिका नेपाल व्यवसायी संघका बरिष्ठ केन्द्रीय उपसभापति र अमेरिकन चेम्बर अफ कमर्शका संस्थागत सदस्य हुनुहुन्छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक