20141018

मानवअधिकारकर्मीले भने "गंगामायाले अनशन तोडेको नभई जीवनरक्षाका लागि मात्र हर्लिक्स, पानी र जीवनजल खाएको"

छोराका हत्यारालाई कानुनी कारबाही माग गर्दै तीन सय ५७ दिनदेखि अनशनमा बसेकी गोरखा फुजेलकी गंगामाया अधिकारीले शनिबार अबेर अनशन 'तोडेकी' छिन्। उनका पति नन्दप्रसाद अधिकारीको अनशन बसेकै बेला २५ दिनअघि असोज ६ गते निधन भएको थियो। कानुनमन्त्री नरहरि आचार्यले 'प्रधानमन्त्रीको विशेष निर्देशन' मा शनिबार अबेर वीर अस्पतालमै गएर गंगामायाको अनशन तोडाएका हुन्।  

मन्त्री आचार्यका अनुसार सरकारले ल्याएको पाँचबुँदे सम्झौतापत्रप्रति सहमति जनाएपछि उनले अनशन तोडेकी हुन्। गंगामायाले अनशन तोड्ने क्रममा भनेको आचार्यले उद्धृत गरे, 'म आफ्नो संघर्ष जारी राख्छु, सरकारले अनशन तोड्न गरेको आग्रहप्रति सदाशयता राख्दै म पानी, हर्लिक्स, जीवनजल र ग्लुकोज ग्रहण गर्छु।' 
चिकित्सकहरूका अनुसार पछिल्लो एक सातादेखि गंगामायाले कुनै प्रतिक्रिया दिएकी छैनन्। सरकारले प्रस्ताव गरेको पाँचबुँदे सम्झौतामा सहमति जनाउने गंगामाया आफैं भने निरक्षर हुन्। गंगामायालाई कानुनमन्त्री आचार्यले सञ्चारकर्मी, मानवअधिकारकर्मी, चिकित्सक र केही सरकारी कर्मचारीको उपस्थितिमा चम्चाले हर्लिक्स खुवाएका थिए। 
 
मन्त्री आचार्यले हर्लिक्स खुवाएको बताए पनि 'अनशन पूर्ण रूपमा तोडिएको हो त?' भन्ने सञ्चारकर्मीको जिज्ञासामा भने कुनै उत्तर दिएनन्। गंगामायाले सबैका सामु कुनै प्रतिक्रिया नजनाई तीन चम्चा हर्लिक्स मन्त्री आचार्यको हातबाट पिएकी थिइन्। आचार्यले 'हजुरले भनेबमोजिम नै काम हुन्छ' भन्दै गंगामायालाई सकेसम्म धेरै चम्चा हर्लिक्स खुवाउने प्रयास गरेका थिए। 

गंगामायाले शुक्रबार न्यायको लडाइँमा म होमिसकेकी छु, त्यत्तिकै मेरो संघर्ष अन्त्य हुँदैन भन्नुभएको थियो', आचार्यले भने, 'हामीले तपाईंको लडाइँ महत्त्वपूर्ण कुरा हो त्यसमा साथ दिन्छौं भन्ने प्रतिबद्धता जनाएर उहाँको जीवनरक्षाका लागि विशेष अनुरोध गर्‍यौं अनि उहाँ अनशन तोड्न राजी हुनभएको थियो।' पहिलो चरणमा तरल पदार्थ मात्र सेवन गर्छु भनेको र चिकित्सकले पनि एकैपटक ठोस खानेकुरा दिनुहुन्न भनेकाले जबरजस्ती नगरेको आचार्यले बताए। 

मानवअधिकारकर्मीले भने गंगामायाले अनशन तोडेको नभई जीवनरक्षाका लागि मात्र हर्लिक्स, पानी र जीवनजल खाएको प्रतिक्रिया दिएका छन्। 'हामीले यसलाई अनशन स्थगितको नाम दिएका छौं, अनशन तोडेको मान्‍न सक्दैनौं', अधिकारकर्मी सुदीप पाठकले  भने, 'सरकारसँग भएको सहमति कार्यान्वयन हुन्छ कि हुँदैन भन्‍ने हेरेको मात्र हो, कार्यान्वयन भएन भने उहाँले अनशन जारी राख्छु भन्‍नुभएको छ।' 
 
स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि केही दिनयता गंगामायालाई दुई पाउन्ड रगत दिइएको थियो। टीपीएन (पोषणयुक्त औषधि) सँगै उनलाई दिन थालिएको ग्लुकोजपानीले काम नगरेपछि अवस्था गम्भीर बन्दै गएको थियो। नन्दप्रसादको निधनपछि एक्लिएकी गंगामाया मानसिक रूपमा अत्यन्तै कमजोर भएकी छन्। 

उनलाई परामर्श दिन मनोचिकित्सक पनि खटिएका थिए। पतिको निधनपछि गंगामायालाई भेट्न छोरा वा आफन्त कोही पनि गएका थिएनन्। चिकित्सकले गंगामायालाई पहिला राखिएको कोठाबाट अयन्त्र सारी नयाँ वातावरणमा उपचार थालेका थिए। 
 
न्यायका लागि अनशन बस्दाबस्दै नन्दप्रसादले जीवन गुमाएपछि सरकारको व्यापक आलोचना भएको थियो। 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक