(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20141026

इबोलाबाट बच्न आम मानिसको दैनिक जीवनका लागि गाइडलाइन: सर्ने सम्भाव्य तरिका, इबोला नसर्ने अवस्थाहरु !

सर्ने सम्भाव्य तरिकाहरुः
 १) बिरामीको शरीरबाट आउने तरल पदार्थहरु तथा छाला–छालाबीच हुने सम्पर्कबाट
   क) थुकः जुठो खाँदा, चुम्बन गर्दा, बिरामीको स्याहार गर्दा
   ख) छालाको सम्पर्कबाटः
  • हात मिलाउँदा, आलिंगन गर्दा, साझा लुगा, ओछ्यान, टावेल आदि प्रयोग गर्दा
  • बिरामीले छोएको सतह –जस्तै भित्तो, अन्य पर्खाल, बस्ने ठाउँ, बेड, आदि खाली हातले छुँदा
  • यात्राको बेला बिरामीले छोएको सीटको सतह, डण्डी, ढोका, आदि खाली हातले छुँदा
  • साझा साधनहरु –जस्तै कुचो, ब्रश र दैनिक जीवनका अरु सामाग्री खाली हातले समातेर प्रयोग गर्दा
  • पैसाको नोट समात्दा, बिरामीले प्रयोग गरेको एटीएम मेशिन आदि चलाउँदा
  • खास पेशामा मानिसहरुको शरीर खानतलासी लिने आदि काम गर्दा
 
 ग)  स्वासप्रश्वास र खोकीको बेला निस्किने मिहीन थोपाहरु
  • राम्रो भेन्टिलेशन नभएको कोठामा बिरामीसँगै बस्दा
  • साँगुरो सवारी साधनमा कोचिएर यात्रा गर्दा
  • अस्पताल, बैंक वा अन्य ठाउँमा भीडमा उभिएर वा बसेर पालो कुर्दा
  • विना मास्क बिरामीको सेवा गर्दा वा बिरामीलाई भेट्न जाँदा
  • ट्राफिक प्रहरीले आफ्नो नाकले सुँघेर मादक पदार्थ सेवनको जाँच गर्दा
 
  घ) वीर्य
  • संक्रमण भएको साढ़े तीन महिनासम्म वीर्यमा भाइरस देखिइरहन सक्ने भएकाले खास गरी रोग निको हुनेहरुमा रोग निको भइसकेपछिका लागि रोग सर्ने यो तरिकाबारे ध्यान दिनु जरुरी छ ।
    ङ)  आँशु
  • रोगीसित साझा रुमाल आँखा पुछ्न प्रयोग गरेमा
 
     च)  मृत शरीरबाट
  • इबोलाको कारण कसैको मृत्यू भएपछि पञ्जा नलगाई लाशका कपडा खोल्ने, लाश चलाउने, आदि गरेमा
  • मृतकले प्रयोग गरेका बिछ्यौना, लुगाफाटा र अन्य सामानहरु सुरक्षित रुपमा व्यवस्थापन नगरेमा
  • त्यस्तो मृतकको पोष्ट मार्टम गर्नु परेको खण्डमा उचित सावधानी नअपनाई शरीरको कुनै तरल पदार्थ छालाको सम्पर्कमा आएमा
 
      छ)   स्वास्थ्यकर्मीहरुका लागि
  • स्वास्थ्यकर्मीले बिरामी जाँच्दा वा बिरामीमा अन्य कुनै प्रोसिजर गर्दा युनिभर्सल प्रिकसन नअपनाएमा
  • निडल प्रिक एक्सिडेन्ट भएको अवस्थामा
      ज) अन्यः
  • संक्रमित चमेरो, सुँगुर, आदि प्राणीसित सम्पर्क भएमा
 
 
इबोला नसर्ने अवस्थाहरु
 
यथेष्ट अध्ययनको अभावमा अरु रोगहरु झैं यसो गर्दा इबोला सर्दै सर्दैन भनेर तोकिएको अवस्था अहिले छैन, जुन विवरण भविष्यमा चाहिं आउने सम्भावना छ । 
 
इबोलाको मृत्यूदर
 
अन्यथा असाध्य चिन्ताजनक रहेको इबोलाको अहिलेको महामारीमा एउटै चाँदीको घेरा के भने विगतका  इबोला महामारीहरुभन्दा अफ्रिकामै पनि यसको मृत्युदर यसपालि कम छ । विगतका कुनै महामारीहरुमा ९० प्रतिशतसम्म पुग्ने गरेको मृत्यूदर यसपालि अफ्रिकाका लागि पनि पछिल्लो तथ्यांकअनुसार त्यो भन्दा निकै कम छ । महामारी अझै नियन्त्रणबाहिर रहेका गिनी, सिएरालियोन र लाइबेरियाका लागि मृत्युदर करीब ५० प्रतिशत (९१९१ जम्मा बिरामी हुँदा मृत्यूको संख्या ४५४६ ) छ भने महामारी नियन्त्रणमै रहेका तथा नियन्त्रणमा आइसकेका नाइजेरिया, सेनेगल, स्पेन र संयुक्त राज्य अमेरिकाका लागि प्रारम्भिक मृत्युदर ३६ प्रतिशत (२५ बिरामी, ९ मृत्यू) रहेको छ ।
 
प्रभावकारी भाइरस प्रतिरोधी औषधि नभएका कारण अमेरिकामा एउटा परीक्षण कालको औषधि सीमित बिरामीहरुलाई दिइएबाहेक अहिले यसको उपचार पूर्णतः रोगका लक्षण र जटिलताको उपचार गर्नुमा सीमित छ, जुन आफैंमा ज्यादै चुनौतीपूर्ण काम हो ।
 
त्यसबाहेक अफ्रिकाको अहिलेको मृत्युदर भाइरसको घातक क्षमताको मात्र नभएर त्यहाँ व्याप्त अव्यवस्था र अराजकताको परिणाम पनि हो । मागभन्दा धेरै कम स्वास्थ्य जनशक्ति हुनु, दक्ष जनशक्तिको उल्लेख्य हिस्सा विदेशी स्वयंसेवक हुनु र उनीहरुमध्ये धेरैले महामारीसँगै कार्यस्थल छाड्नु, महामारीको बीचमै सिएरा लियोनका नेतृत्वदायी चिकित्सक तथा शोधकर्ता शेख उम्मार खानको मृत्यू हुनुले त्यहाँ इबोला रोगीहरुको उपचारमा गम्भीर व्यवधान उत्पन्न गरेका छन् । त्यसबाहेक इबोला रोग नै हैन भन्ने अन्धविश्वास, यो गोराहरुले अफ्रिकालाई तहसनहस पार्न आविष्कार गरेको भाइरस हो भन्ने हल्लाका कारण उत्पन्न अन्योलले पनि खास गरी शुरुको चरणमा रोग नियन्त्रणमा बाधा पुर्याएको थियो । त्यसमाथि इबोला बिरामीले खचाखच क्वारेन्टाइन भवनलाई दंगाकर्ताहरुले तोडेर बिरामी भगाउने, बिरामीमध्ये कति आफैं अटेर गरेर घर जाने र बजार घुम्ने आदि गर्दा पनि त्यहाँ इबोला तीव्र रुपमा समुदायमा फैलिन पाएको हो ।
 
त्यसबाहेक इबोलाको जोखिमबारे कुरा गर्दा भुल्न नहुने कुरा के छ भने, फरक फरक व्यक्तिहरुमा उही भाइरसले संक्रमित गर्दा किन कसैमा यो गम्भीर भएर हप्ताभरमै मृत्यू हुन्छ र अरुहरुमा चाहिं सामान्य लक्षणहरु मात्र देखिएर ठिक भएर जान्छ, त्यो रहस्य अहिलेसम्म खुल्न सकेको छैन । इबोलाकै बारेमा अध्ययन पनि गर्दै र उपचारको नेतृत्व पनि गर्दै गरेका सिएरालियोनका डा शेख उमार खानले सक्रियतापूर्वक सबै सावधानी अपनाएर उपचारमा संलग्न हुँदा समेत उनी संक्रमित हुनु र साताभरमै उनको मृत्यू हुनुले यो रोगको बारेमा जान्न बाँकी अरु धेरै कुरा छन् भन्ने जनाउँछ ।
 
अमेरिका र युरोपमा महामारी प्रारम्भिक चरणमै रहेकाले त्यहाँको मृत्युदरको सार्थक तथ्यांक अझ आउने बेला भइसकेको छैन । तर नेपालमा रोग भित्रिइहालेको खण्डमा अफ्रिकाको अनुभव हेरेर मृत्यूदरलाई पचास प्रतिशतको वरिपरि राख्ने अपेक्षा गर्न सकिन्छ । मृत्युदर अझ कम गर्न तथा इबोला आइसकेपछिको अवस्थामा आउन सक्ने अस्तव्यस्तताको अवस्थामा पचास प्रतिशत कायम राख्न पनि नेपालका स्वास्थ्य संस्थाहरुको क्षमता तत्काल वृद्धि गर्नुपर्ने हुन्छ । रोग फैलिनबाट रोक्ने प्रयासहरुसँगै रोगीहरुलाई उत्कृष्ट उपचार दिएर मृत्यूदर कम गर्ने प्रयास पनि सँगसँगै गर्नुपर्ने हुन्छ ।
 
इबोलाः सजगता आवश्यक, प्यानिक वा हताशी घातक, किन?
 
सजगताले बाटो देखाउँछ भने हताशी र अन्योलले बाटो छेक्छ । ठूलो चुनौतीका बीच हाम्रो राज्य, हाम्रा अस्पताल र स्वास्थ्य संस्थाहरु, स्वास्थ्यकर्मीहरु र समग्र समाजले कति कुशलताका साथ तिनलाई सामना गर्छन् भन्ने यस्ता मौकाहरुमा नै थाहा हुन्छ ।
 
त्यसैले इबोला नियन्त्रणको आधारभुत नियम होः सजग बन, हताश नहोऊ, अर्थात् Exercise caution but do not panic.
 
लाइबेरिया, गिनी र सिएरालियोनमा इबोलाले समग्र राज्यलाई नै अस्तव्यस्त पारिसकेको कुरा सत्य हो तर अफ्रिकामै पनि रोग देखिएका सबै देशहरुको अवस्था त्यहाँभन्दा ज्यादै फरक छ ।
 
पछिल्लो आँकडाअनुसार, हालसम्म बीस इबोला पुष्टि भएका बिरामी र आठ मृत्यू भोगिसकेको नाइजेरियामा ५ सेप्टेम्बरदेखि र एउटा बिरामी देखा परेको सेनेगलमा २९ अगस्टदेखि नयाँ बिरामी फेला परेका छैनन् र दुवै देशमा बिरामीको सम्पर्कमा आएका कारण निगरानीमा राखिएका सबै मानिसहरुलेहरु (नाइजेरियामा ८९१ जना) ले २१ दिनको फलो–अप पूरा गरिसकेका छन् ।
 
त्यस्तै अफ्रिकाबाट इबोला लागेर अमेरिका पुगेका एक जनाको मृत्यू भए पनि अमेरिकामै उनीबाट संक्रमित भएका दुई नर्सहरुको अहिले उपचार चलिरहेको छ ।
 
त्यस्तै विगतको अनुभवले के पनि देखाउँछ भने, अफ्रिकामा पटक पटकका महामारीहरुमा मर्ने स्वास्थ्यकर्मीहरुको संख्या कुल मृत्यूको २५ प्रतिशतसम्म भए पनि तीमध्ये सबैजसो युनिभर्सल प्रिकसन व्यवहारमा नउतार्दा भएको देखिन्छ भने १९९५ को कंगोको महामारीमा संक्रमित हुने एक नर्सले सबै उपाय अपनाए पनि झुक्किएर ग्लोभ्स सहितका हातले आँखा मिचेको कुरा खुलेको थियो ।
 
निष्कर्षः इबोलाका लागि उचित सावधानी नअपनाउनु घातक हुन सक्छ तर सावधानीसाथ काम गर्ने हो भने आफ्नो जिम्मेवारीबाटै तर्सनुपर्ने अवस्थाचाहिं स्वास्थ्यकर्मीहरुका लागि छैन ।
 
इबोलाबाट बच्न आम मानिसको दैनिक जीवनका लागि गाइडलाइन
 
तह १)
  • भीडबाट बच्ने
  • अति आवश्यक नभएसम्म भीडभाडमा नजाने, अति नै जरुरी नभएसम्म जन्मदिन र चाडबाडका भेटघाटजस्ता जमघटहरुको आयोजना नै कम गर्ने
  • अस्पताल जानु परे पालो आएर नाम नबोलाइँदासम्म बाहिरको खुल्ला ठाउँमा पर्खेर बस्ने, सकभर मास्क र पञ्जा लगाएर बस्ने ।
  • हरेक किसिमको लाममा पर्खन बस्दा ठेलमठेल नगर्ने, यताउति अनावश्यक रुपमा नछुने
  • छालाको संपर्कबाट हुने संक्रमण रोक्ने
  • घरमा रहँदा पटक पटक साबुन पानीले हात धुने
  • यात्रामा साबुन वा एन्टिसेप्टिक ह्याण्डवाश बोकेर हिंड्ने र जतिपटक अवसर मिल्छ, त्यतिपटक हात धुने
  • हात मिलाउने चलन बन्द गरेर त्यसको विकल्पमा नमस्ते, आदि अरु अभिवादनका तरिका अपनाउने
  • अनावश्यक रुपमा कतै कुनै सतह नछुने, नचलाउने । असावधानीवश छोइएमा तुरुन्त साबुन पानीले हात धुने । नछोई नहुने अवस्था छ भने पञ्जा लगाएर छुने ।
  • छालामा ससाना काटेका वा कोतरिएका दाग छन् भने विशेष ध्यान दिंदै तिनलाई खाली रहन नदिने
  • यात्राको सावधानी
  • यात्रा गर्दा सानो र ठेलमठेल मानिसहरु भएको साधनमा यात्रा नगर्ने । विकल्पको रुपमा निजी सवारी साधन प्रयोग गर्ने वा सानो दुरीका लागि पैदल यात्रा गर्ने ।
  • बसजस्तो ठूलो साधनमा झ्यालहरु खोलेर बस्ने ।
  • मास्क (सकभर डिसेजेबल अर्थात् लगाएर फल्न मिल्ने कागजको मास्क) र सम्भव भए कुनै खालको पञ्जा लगाएर बस्ने ।
  • सकभर बसको सीट, डण्डी, आदि सतहमा नछुने । हरेकपल्ट साधनबाट उत्रेपछि साबुन पानी वा डिटोल पानीले हात धुने ।
  • पैसाबाट हुने संक्रमणबाट सावधानी
  • एकैदिन धेरै मानिसको हातबाट गुज्रिने हुनाले पैसा वा मुद्राका नोटहरुसित विशेष सावधान रहने
 
तह २)
 
  • यात्रा गर्दा वा घरमा रहँदा, डिस्पोजेबल मास्क र रबरको नन्स्टेराइल पञ्जाको बट्टा आफूसित राखिराख्ने र अवस्था हेरीकन समयमै तिनीहरुको प्रयोग गरिहाल्ने
  • यात्रा गर्नुपर्यो भने यात्राको जरुरीपन र रोगको जोखिम तौलेर मात्र निर्णय लिने
  • छोटो दुरीमा निजी सवारी साधन वा रिक्सा र ट्याक्सीजस्ता एक्लै चढ्ने सवारी साधन प्रयोग गर्ने वा पैदल हिंड्ने
  • लामो दुरी यात्रा गर्दा मास्क र पञ्जा लगाएर झ्यालढोका खुल्लै राख्न मिल्ने ठूला बसहरुमा यात्रा गर्ने र यात्राको अन्तमा साबुन पानीले हात धुने
  • एटीएम मेशीनजस्ता सामुहिक प्रयोगमा आउने साधनहरु पञ्जा लगाएर मात्र प्रयोग गर्ने र काम सकिएपछि पञ्जा बदल्ने
  • पैसाको लेनदेन केही समयका लागि न्यूनतम वा बन्द गर्ने
  • नजिकका पसलहरुमा या त सिंगो नोट तिर्न पुग्ने गरी सामान लिएर पैसा फिर्ता नआउने गरी तिर्ने वा खुल्ला पैसा फिर्ता नलिई पछिलाई राख्ने वा त्यस्तै तरिका अपनाउने
  • टाढाको नगरे पनि काम चल्ने किनमेल बन्द गर्ने, नगरी नहुने किनमेलका लागि खुल्ला पैसा फिर्ता नआउने गरी किन्ने
  • खुल्ला पैसाको कारोबार नगरी नहुने गाडी भाडा तिर्नेजस्ता कामका लागि अलग्गै मुख बन्द गरिएको पोलिथिनमा खुल्ला पैसा राख्ने र पञ्जा लगाएको हातले दिने
  • बच्चाहरुको यात्रा न्यूनतम गर्ने, उनीहरुलाई यी सबै उपाय अपनाउन सिकाउने, खास गरी अरु मानिसले छोएको हुन सक्ने भित्तो वा अन्य सतह छुन निषेध गर्ने तथा पटक पटक हात धुन सम्झाउने
  • अनिवार्य नभएको अवस्थामा अस्पताल नजाने, अन्य रोग लागेर आफ्नो मानिस अस्पतालमा छ भने पर्यटकका रुपमा आउने आफन्तहरुलाई निषेध गर्ने, आइहालेको खण्डमा अस्पताल बाहिर टाढैबाट भेटेर फर्काइदिने
  • अस्पतालमा रहँदा अरु बेलाभन्दा तीन गुना सावधानीसहित माथि भनिएका सबै उपायहरु अपनाउने 
 
तह ३)
  •   छिमेकमा इबोला बिरामी भएको खण्डमा पूर्ण सावधानीका साथ रोकथामका उपायहरु अपनाएर मात्र भेट्न जाने
  •   इबोलाका कारण कसैको मृत्यु भएमा दोहोरो पञ्चा, मास्क, चौडा सीसा भएको चस्मा, उपलब्ध भएमा विशेष गाउन लगाएर मात्र लासलाई छुने, चलाउने र बोक्ने काम गर्ने
  •   घरमा इबोलाको बिरामी भएमा तुरुन्त अस्पताल लगेर पूरा सावधानी र चिकित्सकको निर्देशन बमोजिम सेवा गर्ने
  •    बिरामीलाई घरमा राख्नुपरेको खण्डमा राम्रो भेन्टिलेशन भएको कोठामा राखेर माथि भनिएका सबै उपाय अपनाउँदै सावधानीसाथ सेवा गर्ने
  •    घरका सदस्य, नातेदार तथा छिमेकीहरु बिरामीलाई आवश्यक परे जति मिल्दो समुहको रगत दिन तयार भएर बस्ने

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक