20141028

४५ वर्षको उमेर पुग्दासम्म विशेष खालले तालु खुइलिनुले सम्बन्धित पुरुषलाई बुढ्यौलीमा घातक खालको प्रोस्टेट क्यान्सर हुनसक्ने !

मानिसको कपालको अवस्थाले समेत प्रोस्टेट क्यान्सरको सम्भावना अभिव्यक्त गर्ने पाइएको छ ।  ४५ वर्षको उमेर पुग्दासम्म विशेष खालले तालु खुइलिनुले सम्बन्धित पुरुषलाई बुढ्यौलीमा घातक खालको प्रोस्टेट क्यान्सर हुनसक्ने सङ्केत दिने जानकारी हालैको क्लिनिकल अङ्कोलोजी जर्नलमा दिइएको छ ।  पैतालीस वर्षको उमेरमा आफ्नो कपालको अवस्थाबारेमा उल्लेख गर्नुपर्ने प्रश्नावली, तस्बिर तथा अन्य विधिको प्रयोग गरी प्रोस्टेट क्यान्सरको खतरामा रहेका पुरुषको
अनुमान गर्न सकिने निष्कर्षमा अनुसन्धान टोली पुगेको थियो ।  
यसको पछाडि वैज्ञानिक तर्क के राखिएको छ भने प्रोस्टेट क्यान्सर र पुरुषको तालु खुइलिनुमा पुरुष हर्मोन एन्ड्रोजिन र एन्ड्रोजिन रिसेप्टरको मात्रा बढ्नुले भूमिका खेल्छ ।  
सन् २०१३ मा अमेरिकाको पेन्सिलभेनिया विश्वविद्यालयद्वारा गरिएको अनुसन्धानले पनि तालु खुइलिएका अफ्रिकी अमेरिकी पुरुषमा तुलनात्मक रूपमा प्रोस्टेट क्यान्सरको खतरा ६९ प्रतिशत बढी पाएको थियो ।  सो अनुसन्धानको प्रतिवेदन अनुसार प्रोस्टेट क्यान्सर भएका तीन सय १८ जना अफ्रिकी अमेरिकी पुरुष (३९ देखि ८६ वर्ष उमेर) र प्रोस्टेट क्यान्सर नभएका दुई सय १९ जना अफ्रिकी अमेरिकी (३३ देखि ९३ वर्ष उमेर)माथि अनुसन्धान गरिँदा टाउकाको अगाडिको भागबाट तालु खुइलिने पुरुषलाई घातक खालको प्रोस्टेट क्यान्सरको सम्भावना दोब्बर हुने हुन्छ ।  तर, टुप्पीको भागमा कपाल झरेका पुरुषलाई कम घातक प्रोस्टेट क्यान्सरको सम्भावना हुने जानकारी दिइएको छ । 
अमेरिकाको बेथेस्डामा रहेको नेसनल क्यान्सर इन्सिच्युटअन्तर्गतको डिभिजन अफ क्यान्सर इपिडिमियोलोजी एन्ड जेनेटिक्सको टोलीले यस विषयमा थप अनुसन्धान गरेको छ ।  अमेरिकाको पीएलसीओ क्यान्सर स्क्रिनिङ ट्रायलमा ५५ देखि ७४ वर्ष उमेर समूहका ३९ हजार ७० जना पुरुषबाट लिइएको स्वास्थ्य तथ्याङ्कको सो टोलीले विश्लेषण गरेको थियो । 
अनुसन्धानमा सहभागी गराइएका मध्ये एक हजार १३८ जनालाई अनुगमन अवधिमा प्रोस्टेट क्यान्सर भएको पाइयो ।  औसतमा हेर्दा ७२ वर्षको उमेरमा प्रोस्टेट क्यान्सर भएको र ती मध्ये ५१ प्रतिशतलाई घातक खालको क्यान्सर भएको थियो । 
अनुसन्धान टोलीले आफ्नो निष्कर्षमा उल्लेख गरेको छ– निधारमाथिबाट तालु खुइलिन सुरु गरेको र टुप्पीमा पनि हल्का रौँ झरेका पुरुषलाई घातक खालको प्रोस्टेट क्यान्सरको सम्भावना तुलनात्मक रूपमा ४० प्रतिशत अधिक हुन्छ । 
प्रमुख अनुसन्धानकर्ता माइकल कुकले भन्नुभएको छ– हामीले अन्य स्वरूपमा कपाल झर्नुको सम्बन्ध प्रोस्टेट क्यान्सरसँग देखेनौँ । तर, यस निष्कर्षलाई यतिकैमा आपूmसँग दाँजेर हेर्नु अलि चाँडो हुने उहाँले बताउनुभएको छ ।  साथै यसमा थप अनुसन्धानको खाँचो औँल्याइएको छ ।  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक