20141028

"संविधानसभामा तीन दलीय सिण्डिकेट खडा गरेर निषेधको राजनीति सुरु" : कमल थापा

"जबर्जस्ती लादिएर धर्मनिरपेक्ष राष्ट्र घोषणा" : पशुपति समशेर राणा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संविधानसभामा तीन दलीय सिण्डिकेट खडा गरेर निषेधको राजनीति सुरु भएको बताउनुभएको छ । सार्वभौम संस्था संविधानसभा हुँदाहुँदै सहमतिका नाममा नेताहरु रिर्सोटतिर लाग्नु जनमतको अपमान भएको उहाँको भनाई छ । अध्यक्ष थापाले संविधमानसभा र राष्ट्रिय राजनीति निर्णायक घडीतर्फ उन्मुख भइरहेको चर्चा गर्दै भन्नुभयो, ‘यदि माघ ८ गते नयाँ संविधान बनाउने हो भने संविधानसभालाई अधिकार दिनुपर्छ, विधि र प्रक्रियाबाट काम गरिनुपर्छ’ । संविधान बन्न नदिने शक्तिहरु सक्रीय भइसकेको पनि उहाँको आरोप छ । उहाँका अनुसार हाल संविधानसभामा दुईवटा प्रवृत्ति देखिएका छन् । नेपाली काँग्रेस र नेकपा (एमाले) मा सख्याको घमण्ड र एमाओवादीमा मार्चावन्दीको घमण्डले संविधान निर्माणमा ढिलाइ भएको छ । अध्यक्ष थापाले जात र भाषाका आधारमा जनतालाई विभाजन गर्ने काम भएको र राष्ट्रियता कमजोर भएको दावी गर्नुभयो । हिन्दुराष्ट्र, राजासहितको प्रजातन्त्र र संघीयताको विषयमा जनमत संग्रह गर्नुपर्ने
दवावका लागि  मङ्गलबार यहाँ आयोजित जनसभामा अध्यक्ष थापाले ‘धार्मिक स्वतन्त्रता स्वीकार्न तयार छौ, सबै धर्मको सम्मान गछौँ तर नेपालमा ९४ प्रतिशत हिन्दु छन् उनीहरुको पहिचान जरुरी छ’ भन्नुभयो । उहाँका अनुसार कुनै न कुनै रुपमा राजसंस्थालाई समेटिनुपर्छ । ‘हिन्दुराष्ट्र मेटिएको संविधान स्वीकार्य छैन’ उहाँको भनाई छ । 
सबैलाई समेटी मध्यमार्गी वैचारिक धरातलमा काम गर भनेर जनताले मत दिएको चर्चा गर्दै निषेधको राजनीति रोकेर संविधानसभाबाटै संविधान निर्माणको काम गरिनुपर्ने राप्रपाका सभासद्हरुले माग गरेका छन् । संविधान निर्माण गर्ने मिति माघ ८ गते आउन ३ महिना बाँकी रहँदा पनि मुख्य विषयमा सहमति हुन नसक्दा जनताका आशंका बढेको बताइएको छ । 
राप्रपा नेपालका नेता टंक ढकालले संविधान नबनाउनेतर्फ राजनीति उन्मुख भएकाले आफूहरु सडकमा आएको बताउनुभयो । उहाँले संविधानसभा र प्रक्रियाबाट संविधान निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
राप्रपाले जनमत संग्रहका लागि दबाव सिर्जना गर्न कात्तिक ७ गते गाईपूजाको दिन पशुपति मन्दिरबाट देशव्यापी रुपमा हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको छ । 
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति समशेर राणाले धर्मनिरपेक्ष राष्ट्र आफ्नो पार्टीलाई स्वीकार्य नभएको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले मङ्गलबार यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले माथिबाट जबर्जस्ती लादिएर धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्नु सान्दर्भिक नभएकाले राप्रपाले धर्मनिरपेक्ष राष्ट्र स्वीकार नगरेको बताउनुभयो । 
धर्मनिरपेक्ष राष्ट्र घोषणाको बारेमा संविधानसभामा लिखित रुपमा राप्रपाले असहमति जनाइसकेको भन्दै उहाँले भन्नुभयो – धर्मनिरपेक्षताका बारेमा जनमत संग्रह गर्नुको विकल्प छैन । 
गणतन्त्रलाई आफ्नो पार्टीले स्वीकार गरिसकेकाले यसमा अब विवाद गर्नुको कुनै अर्थ नभएको चर्चा गर्दै राणाले घोषित मितिमा नै संविधान भने जारी हुने विश्वास व्यक्त गर्नुभयो । 
जातीय राज्य कुनै पनि हालतमा स्वीकार गर्न नसकिने भन्दै राणाले भन्नुभयो, ‘मधेसमा दुई र हिमाल र पहाडमा पाँच गरी सात प्रदेशको संघीयतामा हुनुपर्ने राप्रपाको प्रस्ताव हो ।’ आफूहरुले सात प्रदेशको प्रस्ताव गरे पनि अडान भने नरहेको बताउँदै उहाँले सहमतिका लागि भने राप्रपा लचिलो हुने बताउनुभयो  । 
आफ्नो पार्टीभित्र देखिएको विवाद सामान्य भएको भन्दै उहाँले एक पक्ष न्यायका लागि भन्दै जहाँ धाए पनि सहमतिअनुसार अगाडि बढ्नुको विकल्प नभएको प्रष्ट पार्नुभयो । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक