20150111

"पृथ्वीनारायणको शालिक ढाल्नु गल्ती भएछ, अहिले बुझ्दा पृथ्वीनारायण शाह देशभक्त रहेछन् बरु अहिलेका हाम्रा पार्टीहरु देश बेचुवा रहेछन् !"

- माओवादीको जनमुक्ति सेनाका पूर्व ब्रिगेड कमाण्डर तथा पूर्व पीएलए संघका अध्यक्ष जनक राना
यिनको आँखा खुलेछ बल्ल, आँखा खोल आँखा देख्ने अन्धाहरु हो !   
‘गोरखाको शान, पृथ्वीनारायणको सम्मान’ भन्ने नाराका साथ गोरखाका राजा तथा नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको २९३ औं पृथ्वीजयन्ती गोरखामा धुमधाम मनाइएको छ। नागरिकस्तरमा गठित पृथ्वीजयन्ती मूल समारोह समिति गोरखाको ठूलोआँगनस्थित संग्रहालय परिसरमा स्थापना गरिएको
उनकै सालिक रहेको स्थानमा पृथ्वीजयन्ती समारोह मनाइएको हो। समारोह सुरु हुनु अघि गोरखाको पुछारबजार हरमटारीबाट पञ्चैबाजा सहितको र्‍यालीले बजार परिक्रमा गरेको थियो । पृथ्वीनारायण शाहको तस्वीर, उनका दिव्योपदेश लेखिएका प्लेकार्ड, ब्यानर सहितको र्‍यालीले ‘गोरखाको शान, पृथ्वीनारायणको सम्मान, राष्ट्रिय एकता दिवसलाई मान्यता देउ’ लगायतका नाराहरु लगाएका थिए । औपचारिक समारोहमा बोल्दै गोरखाका नागरिक समाजले पृथ्वीनारायण शाह राजा मात्र नभएर दूरदर्शी नेता भएकाले उनको सदासर्बदा सम्मान गर्नुपर्ने तर्क गरेका थिए । ‘पृथ्वीनारायण शाह गोरखाका राजा हुन्, नेपालका राजा हुन् । तर त्यति मात्र होइन उनी नेपालका दूरदर्शी नेता हुन्’ पत्रकार महसंघ गोरखाका अध्यक्ष भीमलाल श्रेष्ठले भने ‘उनको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउनु पर्छ । बाइसी चौबीसी राज्यलाई एकीकरण गरी सिंगो नेपाल निर्माण गर्ने पृथ्वीनारायण शाह गोरखाका इज्जत, प्रतिष्ठा र गौरब हुन् । त्यसैले उनको जन्मजयन्ती गोरखाको गौरब र प्रतिष्ठासंग जोडिएको छ ।’ कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका जिल्ला अध्यक्ष यदु अधिकारी, पूर्व लडाकु जनक राना मगर(क. मुनाल), राप्रापा नेपालका जिल्ला अध्यक्ष होमसिँह बस्नेत, अखण्ड नेपालका अध्यक्ष रोलकबहादुर थापा, सभासद रेशम लामा, गोरखा संग्रहालय प्रमुख करुणा राई, समाजसेवी मोहनलाल श्रेष्ठ, पूर्व मेहर रुद्रराज पाण्डे, शंकर अधिकारी लगायतले बोलेका थिए । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने बिषयमा असहमत राख्दै आएको माओवादीको जनमुक्ति सेनाका पूर्व ब्रिगेड कमाण्डर तथा पूर्व पीएलए संघका अध्यक्ष जनक राना(मुनाल) गोरखामा आयोजित पृथ्वी जयन्ती समारोहमा सहभागी भएका छन् । पूर्व जनमुिक्त सेनाको १३ औं ब्रिगेडका कमाण्डर समेत रहेका उनले पृथ्वीनारायण शाह नेपालका साझा नेता भएकाले सबैले सम्मान गर्नुपर्ने टिप्पणी गरे । ‘हुन त पार्टी नेतृत्वको कमाण्डमा पृथ्वीनारायण शाहको सालिक हामीले नै ढालेको हो’ उनले भने ‘अहिले बुझ्दा पृथ्वीनारायण शाह देशभक्त रहेछन् । बरु अहिलेका हाम्रा पार्टीहरु देश बेचुवा रहेछन् । विदेशीको टपरी सोहोर्ने रहेछन् । त्यो महशुस भएर पूर्व जनमुक्ति सेनाका साथीहरु अहिले देशभक्त युवासंघ गठन गरेर राष्ट्रिय एकीकरण अभियानमा लागेका छौं ।’ यही एकीकरण अभियान अन्तर्गत ३० दलीय मोर्चाको बन्द छिचोलेर गोरखा आइपुगेको उनले बताए । पूर्व जनमुक्ति सेनाहरु विदेशी नेताले प्रतिपादन गरेको भन्दा स्वदेशी पृथ्वीनारायण शाहले प्रतिपादन गरेको सिद्धान्त बोक्न तयार भएको बताए । ‘उनका सन्तानहरु सामन्तवादी थिए होलान् तर पृथ्वीनारायण शाह सामन्तवादी थिएनन्’ मुनालले भने ‘उनले राज्य संचालन गर्दा होस् वा एकीकरण अभियान सञ्चालन गर्दा होस्, हामी गुरुङ, मगर, राई, लिम्बु, दमै, कामीहरुको साथ र सहयोग कहिल्यै छाडेनन् । त्यसैले उनी हामी सबैको साझा नेता हुन् ।’ उनले आफू माओवादी फुटेपछि नेकपा–नेकपा माओवादीतिर लागेको तर नेकपा–माओवादी पनि फुटेपछि देशभक्त युवा संघ गठन गरेर त्यसकै नेतृत्व गर्न लागेको बताए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक