20150109

जातीयताको आधारमा प्रदेश विभाजन गर्नु भनेको सुतिरहेको बाघलाई व्यूँझाउनु सरह खतरनाक - मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य

देशलाई टुक्र्याउने वा जातीय सद्भाव खल्बलाउने गरी आउने संघीयतासहितको संविधान आउनु भन्दा बरु संविधानै नआउँदा बेश
देशका सबभन्दा लोकप्रिय र प्रतिष्ठित मध्येका दुई व्यक्तित्व कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले जातीयता र क्षेत्रीयताका मुद्दाहरूका कारण एकता खल्बलिने संविधान आए त्यो देशका लागि घातक हुनसक्ने चिन्ता व्यक्त गरेका छन्। काठमाण्डूमा आयोजित नागरिक समूहको एक कार्यक्रममा बोल्दै मह जोडीले त्यस्तो संविधान आउनुभन्दा नआउनु नै वेश हुने बताए। उनीहरूले सहमतिबाट सम्भव नभए माघ ८ मै
प्रकृयामा गएर भए पनि संविधान जारी गर्नुपर्नेमा जोड दिए। संविधान समयभित्र नआए नागरिक समूह त्यसको विरोधमा सडकमा उत्रिनुपर्ने उनीहरुको सुझाव थियो। लामो समयदेखि संविधानका मुख्य विवादित विषयहरुमा सहमति जुटाउन, श्रृंखलाबद्ध बैठक गरेर पनि नेताहरुले कुनै प्रगति देखाउन नसकेका बेला, लोकप्रिय हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले एउटा प्रमुख विवादको मुद्दा संघीयताबारे आफ्ना चिन्ताहरु व्यक्त गरे। आफ्नो घरमा हालै किनेको ऐनासँग संघीयतालाई जोड्दै आचार्यले भने, "शिशालाई लामो पारेर काट्दा त्यो टुक्रा टुक्रा भयो अनि दलहरुले पनि देशलाई लामो गरि विभाजन गर्ने बताइरहेको बेला मैले त्यही सम्झिएँ, विचार नपु-याइ विभाजन गर्दा देश शिशा जसरी टुक्रिन सक्छ।" आचार्यकै भनाइमा सही थाप्दै अर्का कलाकार मदनकृष्ण श्रेष्ठले पनि जातीयताको आधारमा देशलाई संघीयतामा लैजाँदा त्यसले अहिले भइरहेको आपसी सद्भावलाई खल्बलाउन सक्ने आशंका व्यक्त गरे। उनले जातीयताको आधारमा प्रदेश विभाजन गर्नु भनेको सुतिरहेको बाघलाई व्यूँझाउनु सरह खतरनाक हुने बताए। श्रेष्ठले भने, "देशलाई जातीयताको आधारमा टुक्र्याउँदा सुतिरहेको बाघलाई उठाए जस्तो घातक हुन्छ, यसले भोलि एकले अर्कोलाई खाने सम्भावना हुन्छ। हामी जसरी मिलेर बसेका छौं, त्यसलाई खल्बल्याउनु हुँदैन।" नेपाली दर्शकमाझ झन्डै तीन दशकदेखि हास्यविधामा सदाबहार बनिरहेको नेवार र बाहुनको यो जोडीले संविधानलगायत अन्य सामाजिक मुद्दालाई आफ्नो टेलिचलचित्रमार्फत पनि उठाउँदै आएका छन्। उनीहरुले यसअघिको संविधान जारी भएको भए पनि त्यसले कुनै प्रकारको हिंसा भड्काउन सक्ने आशंका व्यक्त गर्दै अब सहमतिबाट हुन नसके प्रकृयामा गएर भए पनि संविधान ल्याउनुपर्ने बताए। प्रकृयाको विरोध गर्नेहरुले चुनावमै जान नहुने उनीहरुको तर्क थियो। उनीहरुले देशलाई टुक्र्याउने वा जातीय सद्भाव खल्बलाउने गरी आउने संघीयतासहितको संविधान आउनु भन्दा बरु संविधानै नआउँदा बेश हुने पनि बताए। - BBC Nepali Service

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक