(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20150120

प्रचन्ड र बाबुरामका निकट, प्रिय, एक जना एमाओबादीकै बरिस्ठ पत्रकार नारायणप्रसाद शर्मा भन्छन "मधेसीसँग लागेर प्रचण्ड–बाबुरामले धोका खाँदैछन् "

"एक मधेश एक प्रदेशको क्षेत्रीयतावादी नारा लगाउनेहरुसँग हिमचिम गरेर प्रचण्ड–बाबुरामले खासै हासिल गर्न सक्ने छैनन् बरु अन्ततः धोखा नै पाउनेछन् । हिमाल र पहाडलाई चेपुवामा पार्ने गरी सोचिएको संघीयताले अन्ततः कसैको हित गर्ने छैन ।"
 नारायणप्रसाद शर्मा 

आखिर हजार बाचा गरे पनि सम्पूर्ण परिवर्तनकारी आन्दोलनकारी शक्तिहरुले माघ ८ गते संविधान दिन्छौं भनेको त्यो बाचा निरर्थक सावित हुने नै भयो । यस्तो बाचा गत निर्वाचनको बेलामा मात्र हैन, त्यस भन्दा चार वर्ष अघि पनि गरिएको थियो । दुई वर्षमा हैन, अर्को दुई वर्षमा हैन अर्को एक वर्षमा पनि पूरा हुन
सकेन । यसो गर्दा नेपालको राजनीति ढॉटको निम्तो जस्तै रहेछ भन्ने कुरा लाटा सोझाले पनि बुझे । नेपालको राजनीति पहिले देखि नै ढॉटढुट र छलछाममा चलेको जस्तो लाग्छ । २००७ सालको क्रान्तिमा गरिएका बाचा कवुल खोजेर पढ्न सकिन्छ । जनताले चुनेका प्रतिनिधिले संविधान बनाउने छन् भनेर लेखिएकै हो । १५ सालमा चुनाव त भयो तर संविधानसभाको हैन संसदको भयो । आखिर संविधान आयो– राजाका खल्तीबाट । त्यो खल्तीबाट आएको संविधान पनि खल्ती मै १७ सालमा खोसेर राखियो र निर्दलीय संविधान फेरि राजा कै गोजीबाट आयो ।
२०४५ सालसम्म त्यो संविधान टिक्यो । ४६ सालको आन्दोलन पछि फेरि बहुदलीय संविधान आयो । त्यसलाई पनि राजाप्रदत्त नै भनियो । ०६२–०६३ सालको जनआन्दोलनले त्यो संविधानलाई मात्र बढारेन राजतन्त्रलाई नै बढारिदियो । यसको पृष्ठभूमिमा १० वर्षे जनयुद्ध थियो । राजा ज्ञानेन्द्रले सम्पूर्ण राजनीतिक दलहरुलाई निषेध नगरेको भए यो अवस्था पनि आउने थिएन । अहिले नौ–नौ वर्षसम्म पनि समावेशी लोक गणतान्त्रिक संघीय संविधान दिन सकिएको छैन ।
नेपालका आन्दोलकारी शक्तिहरु किन यति कमजोर भन्ने प्रश्न उठ्छ । सैद्धान्तिक, बैचारिक र अँन्दोलनकारी दृष्टिले नेपालका राजनीतिक शक्तिहरु मिलेर पुरानो व्यवस्था उल्टाउन सक्ने तर नयॉ व्यवस्था किन संस्थागत गर्न सकेनन् ? यो साह्रै महत्वपूर्ण खोजको विषय भएको छ । नेपालमा मुख्यतः दुई राजनीतिक शक्ति छन्– एक प्रजातान्त्रिक शक्ति, त्यसको प्रतिनिधित्व नेपाली कांग्रेस । दोस्रो कम्युनिष्ट शक्ति जसलाई वामपन्थी शक्ति भनिन्छ । प्रजातान्त्रिक शक्ति संसदीय शक्तिमा पूरै रुपान्तरित छ वा विकसित छ । दोस्रो वामपन्थी शक्ति पहिले जनवादी क्रान्तिको कुरा गर्छ पछि सम्झौतामा टुङ्गिन्छ र सम्झौता पूरा गराउन सक्दैन ।
बामपन्थ द्रूत पन्थ हो । यो सर्टकट शैलीबाट शोषितहरुको लक्ष पूरा हुन विलम्ब हुँदैन । यो शनैशनैः वाद जस्तो सुधारवादी बाटो हैन । सुधारवाद मस्तै ढिलो वाद हो । यो हुने खाने हरुले मन पराएको बाटो । यसबाट गरिवलाई थाङ्नामा सुताउन सकिन्छ र अल्मलाउन सकिन्छ । यो लोलोपोतो गरेर आफूले मस्ती गर्ने ठूलाबडाको रक्षा कवच हो । यसैको बिरुद्ध बामपन्थ उभिएको छ । यस द्वीपमा पुरानो भाषामा यसलाई वाममार्ग भनिन्थ्यो । पुरानो धार्मिक विचार अनुसार सनातन धर्ममा तीनवटा ईश्वर छन्– ब्रह्मा, विष्णु, महेश्वर । महेश्वरको (शिव) को अर्को नाम बामदेव पनि हो । राजनीतिमा बामपन्थ यतैबाट सापटी लिइएको हो । बामदेव (शिवलाई) आसुतोष भनिन्छ । यिनी चॉडो खुशी हुन्छन् र चॉडो रिसाउ‘छन् । खुशी भए तुरुन्तै वरदान दिन्छन् रिसाए भने छिटो श्राप दिन्छन् । अर्को शब्दमा छिटो नाश गर्छन् ।
क्रान्तिकारीहरुको भाषामा यिनी क्रान्तिकारी देउता हुन् । पुरानो धार्मिक मान्यता अनुसार ब्रह्माले सृष्टि गर्छन् । विष्णुले पालन गर्छन् । शिवले संहार गर्छन् । उता व्रिटेनको पार्लियामेण्टमा प्रतिपक्षीहरु लेफ्ट (बायॉतिर) साइडमा बस्थे । तिनीहरुलाई लेफ्टिष्ट भनिन्थ्यो– नेपाली भाषामा बामपन्थी । पछि गएर यो शब्दको अलंकरण कम्युनिष्टहरुमा सिउरिन गयो ।
कम्युनिष्टहरु पुरातन विचार मान्दैनन् । पुरातन संस्कारका कडा आलोचक हुन्छन् । पुरानो आध्यात्मिक दर्शन मान्दैनन् । शोषकवर्गको राज्य सत्ता मान्दैनन् । सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक यावत जीवनमा परिवर्तन चाहन्छन् । छिटो परिवर्तन चाहन्छन् । उनीहरुको चरित्र सर्वहारा चरित्र हो । सबै तिरबाट हराइएकाले क्रान्तिकारी छलाङ लगाउन खोज्ने र विजेता बन्ने सपना बुन्ने ।
Narayan-Prasad-Sharma
लेखक : प्रेस काउन्सिलका पूर्वअध्यक्ष नारायणप्रसाद शर्मा, जसलाई प्रचण्ड बाबुरामले निकै आदर गर्छन्
मेरो स्वाभावले, मेरो वर्गीय स्थितिले वातावरणले, चेतनाले, संगतले मैले पत्तै नपाई मलाई बामपन्थी बनाएछ । हिंड्दा हिंड्दै त्यही प्यारो लागेछ । त्यतै लहसिएछु । मलाई धार्मिक कट्टरता मन परेन, जातीय संकीर्णता मन परेन । सामन्ती व्यवस्था मन परेन । पूँजीवाद साम्राज्यवाद निको लागेन ।
अध्ययनको क्रममा समाज विकासको क ख पढ्दै गएपछि थाहा पाएँ । आदिम युग जांगलिक जुग रहेछ । हाम्रो भाषामा त्यस युगलाई कुन्दमूल फलाहारी, बल्कल धारी महर्षि मुनिहरुको जुग रहेछ । माक्र्सको भाषामा आदिम साम्यवादी युग । त्यसबेला आजको जस्तो तेरो मेरो भन्ने थिएन । आजका जस्ता गाउ‘ शहर कहॉ पाइनु । शिकार, पशुपालन, खेती धेरै पछिका कुरा हुन् । सुरक्षा, आवास, भोजन सबै दृष्टिले जीवन स्वभावतः सामूहिक थियो । आवश्यकताले अनुभवले सिक्दै जाने क्रममा प्राकृतिक नियम अनुसार जीवन चल्थ्यो । राजा, राज्य, नियम कानून धेरै पछिका कुरा हुन् । जंगली जुग पार हुन हजारौं वर्ष लाग्यो भन्ने अनुमान छ ।
धनुर्धारी, जंगली जाति, छाप्रामा बस्न थाले पछि, पशु पालन र खेतीपाती सिक्न थाले । यसले संग्रह बृत्ति बन्यो । समूह–समूहबीच स्वार्थ बाझ्न थाले । हार्नेहरु दास बनाइए, जित्नेहरु मालिक भए । हार्नेहरु माथि शासन गर्न नियम बन्न लागे । यसरी शासकहरु जन्मे, जेल बने, अड्डा अदालत बने । दासहरु श्रम गर्थे, मालिकहरु रजाइ‘ गर्थे । काम गर्नेहरुमा स्वतः स्फूर्ति घट्दै गयो । ठाउ‘–ठाउ‘मा दास विद्रोह भए । अन्ततः दासहरु मुक्त गरिए । स्वतन्त्र भए । तर आर्थिक दृष्टिले साधनहीन थिए । मालिकहरुमा जमिनमा काम गर्ने यी पुरानाहरु कृषक (किसान) मा फेरिए त्यसैलाई सामन्त युग भनियो । नेपालमा यो परिवर्तनमा पहिलो विद्रोही लखन थापा हुन् । छलाङ लगाउनेहरुलाई पनि वाममार्गी, विद्रोही, क्रान्ति कारी विविध नाम दिइयो । युरोपमा थुप्रै किसान विद्रोह भएका छन् । नेपालमा पनि ७ सालपछि पनि थुप्रै विद्रोहरु भएका छन् । भीमदत्त पन्तको नाम यसमा पहिलो छ । दाङमा पनि यस्तै थुप्रै बिद्रोह भएका छन् । पाल्पा रौतहट आदि जिल्लामा यस्ता विद्रोह भए । जग्गाका मालिक विर्तावार, जमिनदार, मुखिया ठूला–ठूला जग्गाका मालिक, राणा शासक र अन्य अन्यका पोषक बने । सात सालको क्रान्तिपछि नै किसानहरु संघर्षमा खुलेर लागे । त्यसको नेतृत्व वामपन्थी अर्थात् कम्युनिष्टहरुले गरे ।
युरोपमा १६ औं शताब्दीदेखि औद्योगिक क्रान्ति भयो । त्यसले पूँजीवाद जन्मायो । पूँजी पूँजीपतितिर मात्रै पुग्दा त्यहॉ पनि समाजवादी र साम्यवादी चरित्र बोकेकाहरुले नेतृत्व गरे । त्यो पनि बामपन्थ नै थियो । उन्डाइसौं शताब्दीमा फ्रान्सको पेरिस शहरमा मजदुरहरुले केही दिन राज्य गरे । छिट्टै त्यो बामपन्थी विद्रोह असफल भयो । पछि विसौं शताब्दी १९१७ मा अक्टोवर क्रान्ति भयो । त्यसले विश्वमा ७५ वर्षसम्म हलचल ल्यायो । त्यो पनि आन्तरिक र बाह्य दुबै कारणले असफल भयो ।
नेपालमा पनि ४६ सालको जनआन्दोलन बामपन्थी जनबलमा र गणेशमान सिंहको राजनीतिक नेतृत्वमा भयो । तर त्यो सम्झौतामा टुंगियो । तर पनि त्यस बेला देखि अहिलेसम्म नेपालमा बामपन्थकै वर्चस्व छ । निर्वाचनमा देखापरेको मत गणनाले अहिले पनि टड्कारो वामवर्चश्व छ । तर दुःख साथ भन्नुपर्छ यहॉ कुकुरलाई घिउ नपचे जस्तै भएको छ । ठूला–ठूला कुरा गर्ने, सधै आपसमा फुट्ने कम्युनिष्टहरुको चरित्र देखियो ।
त्यस्तै दशवर्षे जनयुद्धको परिणाम पनि भोगिदैछ । समावेशी लोकतान्त्रिक गणतन्त्रले देश र जनताको मुहार हँसिलो पार्न सकेन नै उल्टो संविधान बन्न नसक्दा मुलुक अन्योलग्रस्त छ । माओवादीसहितको सात दलबीच र त्यसपछिका तमाम सम्झौता विपरीत गतिविधि बढिरहेका छन् । यसमा माओवादीहरु पनि केही दोषी छन् । जुटेर समस्या समाधान गर्नु भन्दा आरोप प्रत्यारोपसहित फुटपरस्त नीतिले गर्दा पार्टी विभाजित भए ५/६ टुक्रा बनेर आफैलाई आफै कमजोर पारे ।
प्रथमतः आजसम्मका सम्झौताहरु कति ठीक कति बेठीक भन्ने छँदैछ । दोस्रो सम्झौतामा हेलिइसके पछि यथासम्भव पार लगाउन सक्नुपथ्र्यो । माओवादीहरु फुटेर कसैले अहिलेसम्म केही हासिल गर्न सकेका छैनन् । बरु धेरै कुरा गुमाएका छन् ।
एक मधेश एक प्रदेशको क्षेत्रीयतावादी नारा लगाउनेहरुसँग हिमचिम गरेर प्रचण्ड–बाबुरामले खासै हासिल गर्न सक्ने छैनन् बरु अन्ततः धोखा नै पाउनेछन् । हिमाल र पहाडलाई चेपुवामा पार्ने गरी सोचिएको संघीयताले अन्ततः कसैको हित गर्ने छैन । बरु कम्तिमा पहाड हिमाल तराई सबैको साझा, सबैले समान अवसर पाउनेगरी संघीयताको अवधारणा कार्यान्वयन गर्नेतर्फ लाग्नुपर्थ्यो । जनआन्दोलनका अन्य सहयात्रीहरुले पनि बाह्रबुँदे समझदारीदेखि सहयात्रा गर्दै आएको माओवादीलाई यसरी भट्किन दिने तर्फ भन्दा आफैतिर समेट्न बल गर्नुपर्थ्यो ।
जनताको सदाशयता त यस्तै छ । तर यस्तो सदाशयताको मर्म बुझ्ने नेतृत्व पंक्ति छैन । हुन पनि गाह्रो छ । मान्छे पनि एक प्रकारले जनावरै हो । जनावरहरुमा पनि केही स्वभाविक प्राकृतिक गुण हुन्छन् । मान्छेको वनावटी जीवनले त्यो स्वाभाविक गुण पनि हरॉउदै गएको छ । भर्तृ हरिको कविता छ– पीत्वा मोहमयीं प्रमाद मदिराम् उन्मत्त भूतं जगत्
सबैतिर मोहैमोह छ, अज्ञानता नै अज्ञानता छ । एक प्रकारको प्रमादको नसा छ । त्यसैले संसारमा उन्माद छाएको छ ।
(प्रेस काउन्सिलका पूर्वअध्यक्ष शर्मा, प्रचण्ड नेतृत्वको माओवादीको कोटावाट नै नियुक्त हुन पुगेका थिए, उमेरले निकै भए पनि उनी लेखनमा सक्रिय छन् ।) साभारः युगबोध राष्ट्रिय दैनिक

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक