20150206

केपी ओली लाई पागल भनेका छबिलाल दाहाल उर्फ प्रचण्डले यस्तो पनि भनेछन बा ! अझ के के सुन्नु पर्ने हो !

एमाओवादी अध्यक्ष प्रचण्डले "संघर्ष शान्तिपूर्ण हुने बताउँदै शान्तिपूर्ण संघर्षमा ढुंगा हान्न, टाउको फुटाउन र गाडी जलाउनसमेत छुट भएको बताए। 'माइक भाँच्ने, मन्त्रीको गाला चड्काउने, बन्द तोड्न खोजे गाडीमा ढुंगा हान्ने र गाडी जलाउने पनि शान्तिपूर्ण संघर्ष हो,' उनले भने, 'प्रहरीलाई ढुंगा हान्ने, लखेट्ने पनि शान्तिपूर्ण संघर्ष हो"

नेपालमा जारी राजनीतिक सहमतिको वातावरण बिग्रनुमा भारतीय शक्तिको हात रहेको एमाओवादी अध्यक्ष प्रचण्डले आरोप लगाएका छन्।  शुक्रबार सुनसरीको इटहरीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पहिले-पहिले आउने आकासवाणीभन्दा पछिल्लो समयमा फरक आकासवाणी आएको बताए। साँकेतिक रुपमा बुझ्नुस् भन्दै पूर्व क्षेत्रका नेता तथा कार्यकर्ताहरुलाई उनले भने, 'मलाई आकासवाणीले हटाएको थियो, केपी ओलीलाई आकासवाणीले प्रधानमन्त्री बनाउँदैछ।' उनले भारतमा निकै ठूलो परिवर्तन आएको र मोदीको लहर देखिइरहँदा नेपालमा पनि आकासवाणी आएको उनको भनाइ थियो। पूर्वभरिका नेता तथा कार्यकर्ताको बाक्लो जमघटलाई सम्बोधन गर्दै प्रचण्डले एमाले र कांग्रेस सहमति नगर्ने पक्षमा रहेको आरोप लगाए। उनले विगतका शान्ति सम्झौता र अन्तरिम सम्झौताको मर्मविपरीत संविधान बनाउन अग्रसर भए अर्को चरणको आन्दोलन थालिने बताए।
 
उनले सडकमा नआई र आन्दोलन नगरी नहुने देखिएकोले संघर्षका लागि तयार रहन र फागुन १६ गतेभित्र गाउँ गाउँमा गएर जनतालाई आफ्नो संघर्षबारे बुझाउन नेता तथा कार्यकर्तालाई आह्वान गरे। 
 
उनले संघर्ष शान्तिपूर्ण हुने बताउँदै शान्तिपूर्ण संघर्षमा ढुंगा हान्न, टाउको फुटाउन र गाडी जलाउनसमेत छुट भएको बताए। 'माइक भाँच्ने, मन्त्रीको गाला चड्काउने, बन्द तोड्न खोजे गाडीमा ढुंगा हान्ने र गाडी जलाउने पनि शान्तिपूर्ण संघर्ष हो,' उनले भने, 'प्रहरीलाई ढुंगा हान्ने, लखेट्ने पनि शान्तिपूर्ण संघर्ष हो, एमाले, कांग्रेसले यही सिकाएका छन्।'
 
उनले संघर्षको लागि जनस्वयंसेवक र जनपरिचालन समिति बनाउन आह्वान गरेका छन्। 'जनस्वयंसेवक समितिले गुण्डाहरुलाई प्रतिकार गर्छ,' दोस्रो संविधानसभामा हार्नुको एउटा कारण वाइसिएल नहुनु पनि हो भन्दै उनले भने, 'जनपरिचालन समितिले चाहिँ चुनावलाई पनि काम गर्छ।' उनले अबको संघर्षले आफ्नो माग तथा पार्टी संगठन दुवैलाई मजबुत बनाउने भन्दै एमाले र कांग्रेसलाई धन्यवाद समेत दिए।
 
अध्यक्ष प्रचण्डले आवश्यक परेमा एक महिनाभित्र १० लाख सेना बनाउने चेतावनी दिएका छन्। जनस्वयंसेवक फोर्सका रुपमा मधेस, लिम्बुवानलगायतका विभिन्न समुहबाट ठूलो सेना बनाउने र त्यो सेनालाई एमाले र कांग्रेसले थेग्न नसक्ने समेत उनले स्थानीय नेताहरुलाई सुनाए। 'अब पनि चेतेनन् र सहमतिबाट संविधान बनाउन तयार नभएर संविधानसभाको औचित्य नै सकियो भने 'टिट फर ट्याट' (जस्तालाई तस्तै) हुन्छ,' उनले भने।
 
उनले एमाओवादी केन्द्रिय समितिका सदस्यहरुसमेत पहिचान र जातीय ऐजेण्डाकै कारण आफूहरुले हारेको विश्लेषण गर्ने गरेको खुलासा गरेका छन्। 'केन्द्रिय समितिमा पनि पहिचान र जातीय कुराले हार्यौं भनेको सुन्दा-सुन्दा वाक्क भएँ,' उनले भने, 'त्यसो होइन, हामी बिग्रेर एमाले र कांग्रेसजस्तै पहिचान बुझ्न छाडेर हारेका हौं।' उनले जातीयता र पहिचानको मुद्दा पनि वर्ग संघर्षकै एउटा अभिव्यक्ति भएको जिकिर गरे।
 
आफ्नो भाषणको अधिकतर समय एमाले र एमाले अध्यक्ष केपी ओलीलाई गाली गर्न खर्चिएका प्रचण्डले ओली आफूलाई ज्ञानेन्द्र सम्झन थालेको आरोप लगाए। 'षड्यन्त्र, अपराध गरेर बनेका नक्कली राजा भएकोले ज्ञानेन्द्रले राजा जस्तो देखिन नाटक गर्नुपर्यो,' उनले भने, 'त्यसैगरी बल्ल बल्ल अध्यक्ष भएका ओली आफूलाई ज्ञानेन्द्र सम्झेर बैठकमा ढिलो आउने, आएपछि दुई चार टुक्का हालेर बैठक भाँड्न थाले।' सो क्रममा प्रचण्डले पूर्वराजा वीरेन्द्रलाई 'रियल' (वास्तविक) राजा बताउँदै ज्ञानेन्द्र भने राजा नभएको जिकिर गरे।
 
प्रचण्डले कार्त्तिक १७ गते विहान एमाले, का+ग्रेस र राप्रपा मिलेर ल्याएको प्रस्ताव अपारदर्शी, अराजनीतिक र अनैतिक रहेको आरोप लगाए। एमालेले चुनावअघि जारी गरेको घोषणापत्रभन्दा पछि हटेर प्रस्ताव ल्याएको भन्दै उनले एमालेको नैतिकतामाथि प्रश्न समेत उठाए।
 
उनले समानुपातिक समावेसी निर्वाचन प्रणाली, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री र पहिचानमा आधारत संघीय लोकतोन्त्रिक संविधान बनाउने विषयमा मिल्नै लागेको सहमतिसमेत एमाले र काँग्रेसले भाँडेको आरोप लगाए।
 
उनले एमाले, काँग्रेससँग बारम्बार लचक हुनु र बाबुराम भट्टराई नेतृत्वको सरकार छाडेर एमाओवादीले गल्ती गरेको बताए। 'सरकार नछाडेको भए गलहत्याएर निकाल्ने आँट कसैले गर्दैनथ्यो,' उनले भने, 'त्यो बेला गल्ती भयो।' उनले अघिल्लो संविधानसभा चुनावमा व्यापक धाँधली भएको दाबी गरे।
 
कार्यक्रममा बोल्दै एमाओवादी नेता नारायणकाजी श्रेष्ठले बहुमतीय प्रक्रियालाई हर हालतमा असफल बनाएरै छाड्ने बताए। उनले सहमति गर्नुपर्छ भन्नुको अर्थ सबै पार्टीहरुसँग सहमति भन्ने नभएको बताए। 'सबैसँग सहमति दुनियाँमा काहिँ पनि हुँदैन,' उनले भने, 'जनआन्दोलन, शान्तिप्रक्रियाका पक्षहरुबीच आधारभूत सहमति गर्नुपर्छ, नत्र शान्तिप्रक्रिया पूरा हुँदैन।'
 
उनले एमाले र कांग्रेसको खस संकीर्ण राष्ट्रवाद, यथास्थितिवाद र शासकीय अहंकारवादले उत्पीडित वर्गलाई हेपिरहेको र सहमति हुन नदिएको बताउँदै त्यसलाई तत्काललाई कमजोर पार्न संघर्ष गर्नुपर्ने बताए। उनले समाप्तै पार्न भने क्रान्तिको नयाँ शृंखला सुरु गर्नुपर्ने धारणा राखे।
 
इटहरी आउनुअघि विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले एमाले र कांग्रेस शान्ति सम्झौताको भावनाअनुसार लिखित दस्तावेजसहित आए वार्तामा बस्न तयार रहेको बताएका थिए। 
 
उनले प्रश्नावली सहमति खारेज हुनुपर्ने र सो नभएपनि परिवर्तनका लागि भएका आन्दोलनका भावना समेट्ने खालको दस्तावेज लिएर आउनुपर्ने माग गरेका थिए।
 
विराटनगरमा उनले स्वर्गीय गिरीजाप्रसाद कोइरालालाई सम्झदै उनी भएको भए सहमति भइसक्ने बताए।
 
यस्तै इटहरीमा आयोजित कार्यक्रममा उनले सुनसरी, मोरंग र झापालाई संघीयतामा जता मिलाए पनि विराटनगरलाई राजधानी बनाउँदा यहाँका मानिसहरु खुसी हुने कुरा आफूलाई थाहा भएको बताए। उनले यी तीन जिल्लालाई कोचिला, आधा काटेर मधेस वा प्रारम्भिक चरणमा केन्द्रबाटै सञ्चालन गर्न आफूहरु तयार हुने तर पहिचानसहितको संघ बनाउनुपर्ने बताएका थिए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक