(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20150223

परिवर्तन हाम्रै जीवनकालमा हेर्ने हो भने देशभित्र र देशबाहिर रहेका सक्षम, इमानदार, दूरदृष्टिपूर्ण र नेतृत्व क्षमता भएका नेपालीहरूले अब एकजुट भएर राजनीतिक रूपमै हस्तक्षेप गर्न अत्यावश्यक भैसकेको छ

- रबीन्द्र मिश्र  

भारतमा आम आदमी पार्टीको पुनरोदयले नेपालमा नयाँ शक्तिको बहसलाई फेरि एकपटक चर्चामा ल्याइदिएको छ । क्षणिक रहने यस्ता चर्चा आउँछन् र जान्छन् । तर नयाँ शक्तिबारेको छलफल केही वर्षयता केही समूहहरूमाझ बेलाबखत भएपनि एक वर्ष यताचाहिँ त्यसबारे गम्भीर गृहकार्य भैरहेको देखिन्छ । प्रयास गरेका सबै काम सफल हुनुपर्छ भन्ने छैन र विफलतालाई सहजतापूर्वक स्वीकार्नुमा जिन्दगीको सौन्दर्य निहित हुन्छ । तर, विफल भइएला भन्ने डरले गर्नैपर्ने प्रयास नगर्नुचाहिँ हरूवा मानसिकताको परिचायक हो । होइन भने एउटा कुरा झन् झन् स्पष्ट हुँदै गएको छ: यो देशको उत्साहजनक परिवर्तन हाम्रै जीवनकालमा हेर्ने हो भने देशभित्र र देशबाहिर रहेका सक्षम, इमानदार, दूरदृष्टिपूर्ण र नेतृत्व क्षमता भएका नेपालीहरूले अब एकजुट भएर राजनीतिक रूपमै हस्तक्षेप गर्न अत्यावश्यक भैसकेको छ । जहाँ दशकौंसम्म विकृत नेतृत्वहरू विकासका कुरा गर्छन्, जहाँ दशकौंसम्म अपारदर्शी जीवन र पार्टी चलाउनेहरू पारदर्शिताका भाषण छाँट्छन्, जहाँ नेताहरू प्रतिकूलतालाई सधैं आफ्नो विफलताको कारक ठान्छन् र जहाँ विवेकीहरू विश्लेषण गररे बस्छन्, तर अर्थपूर्ण हस्तक्षेप गर्न डराउँछन्, त्यहाँ सम्पन्नताको भरपुर सम्भावना भएर पनि नेपालजस्ता देशहरू गरिबीको जाँतोमा पिल्सिएर बस्छन् । यो परिस्थितिलाई अधिकांश नेता तथा कैयौं बुद्धिजीवीहरू देशको ऐतिहासिक, सांस्कृतिक,
भूराजनीतिक परिस्थितिका आधारमा व्याख्या गरिनुपर्छ भन्ने तर्क गर्छन् । कतिपयले मलाई बारम्बार प्रश्न गरेका छन्, युरोपमा स्थिरता, विकास र समृद्धिका लागि कति सय वर्ष लाग्यो ? हतार गरेर हुन्छ ? तिनलाई
प्रतिप्रश्न गर्न सकिन्छ, हाम्रा छिमेकी र छिमेकीका छिमेकीको विकास एकै पुस्ता अर्थात केही दशकभित्रै कसरी सम्भव भयो, विकासको मामिलामा हतार नगरी हुन्छ ? दस लाख मानिसको ज्यान जानेगरी भएको सन् १९८४ को भोकमरी, अनि त्यो सँगसँगै
चलेको विखण्डनकारी युद्धले विछिप्त इथियोपियालाई अहिले 'एउटा अफ्रिकी बाघ'को रूपमा हेरिन्छ र उसले सन् २०२५ सम्ममा मध्यम आयको मुलुक बन्ने महत्त्वाकांक्षी लक्ष्य लिएर तीव्र आर्थिक प्रगति गरिरहेछ । के त्यहाँको स्थिति अनुकूल थियो ? सन् १९९० को मध्यतिर झन्डै १० लाख मानिसको ज्यान जानेगरी गृहयुद्धले ध्वस्त बनाएको अर्को भूपरिवेष्टित अफ्रिकी राष्ट्र रुवान्डा अहिले कसरी उल्लेख्य आर्थिक प्रगतिको बाटोमा दौडिएको छ ? के त्यहाँको स्थिति अनुकूल थियो ? त्यस्तो प्रश्न गर्दा कतिपयले भन्नेछन्, ती अधिकांश 'नरम तानाशाही व्यवस्था'का कारण सम्भव भएको हो । के तपाईंले पनि देशमा तानाशाह खोजेको हो ? उत्तर स्पष्ट छ: होइन । यो देशमा अब कोही पनि सर्वसाधारण, बुद्धिजीवी या राजनीतिकर्मीले तानाशाहको झिनो सपनासम्म पनि नदेखे हुन्छ । देश यति ब्यापक रूपमा राजनीतीकरण भैसक्यो कि अब गृहयुद्ध जस्तो चरम परिस्थितिमा बाहेक अन्य स्थितिमा यो देशमा तानाशाहको उदय र स्थायित्व कल्पनै नगरे हुन्छ ।
तर बुझ्नुपर्ने कुरा के हो भने विकास र स्थिरताका लागि तानाशाह आवश्यक छैन । विकास र स्थिरताका लागि दुई/तीन सय वर्षको अस्थिरता र उथलपुथल पनि आवश्यक छैन । विकासका लागि 'पद्धति, पारदर्शिता र समृद्धि'को एजेन्डा बोकेका सक्षम, इमानदार, दूरदृष्टिपूर्ण र नेतृत्व क्षमता भएका नेपालीहरू एकजुट भएर तिनले राजनीतिक रूपमा हस्तक्षेप गरे पुग्छ । वर्तमान राजनीतिक शक्तिहरूलाई सुदृढ गरेर हाम्रै जीवनकालमा परिस्थिति बदल्न खोज्नु समय, ऊर्जा, ज्ञान र विवेक सबैको विनासमात्र हुनेछ ।
हो, आजका अधिकांश नेताहरूले अहिले नयाँ शक्ति चाहने जमातले बोकेको जस्तै आदर्श बोकेरै राजनीति सुरु गरेका थिए । तिनले प्रतिकूल परिस्थितिमा पनि धेरै दुःख बेहोरेर अनौठो साहस देखाए । तर तिनले आफ्नो आदर्श संस्थागत गर्नका लागि सबभन्दा महत्त्वपूर्ण पक्ष 'पद्धति र पारदर्शिता' हो भन्ने कहिल्यै बुझेनन् र दशकौंसम्म तिनले त्यो महत्त्वपूर्ण पाटोलाई अंगीकार गर्न सकेनन् । उनीहरूलाई 'वास्तविक लोकतन्त्र' देशका लागिमात्र चाहियो, आफू र आफ्नो पार्टीको लागि भने 'देखावटी लोकतन्त्र' भए पुग्यो । त्यसै गर्दा उनीहरूको भविष्य सुनिश्चित हुन्थ्यो ।
सबै पार्टीमा पद्धति र पारदर्शिताको महत्त्व बुझ्नेहरू नभएका होइनन्, तर तिनको संख्या अत्यन्त न्युन छ र ती अधिकांश आफ्नो राजनीतिक भविष्य सुनिश्चित राख्न पुराना नेताको लाचार छायामात्र बनेका छन् । तिनले आउँदा धेरै वर्षका लागि चाहेर पनि पार्टीहरूको राजनीतिक संस्कार बदल्ने क्षमता राख्दैनन् । पार्टीभित्रको राजनीतिक भर्‍याङ चढन र मन्त्री बन्नमात्र राजनीति गरेको हो भने ठिकै छ, नत्र पार्टी राष्ट्र निर्माणको साधनमात्र हो, साध्य होइन भन्ने बुझ्न जरुरी छ । त्यसबाट गन्तव्यमा पुग्न सकिँदैन भन्ने लाग्छ भने अब सुरुदेखि नै 'पद्धति र पारदर्शिता'को जगमा बन्ने नयाँ शक्तिको निर्माणमा सामेल हुन जरुरी छ । नत्र राजनीतिज्ञको रूपान्तरण होला, समग्र देशको रूपान्तरणचाहिँ असम्भव हुनेछ । उच्च र स्वच्छ छवि भएका केही राजनीतिज्ञहरू नयाँ शक्तिको अभियानमा सकारात्मक देखिनु खुसीको विषय हो ।
नयाँ राजनीतिक शक्तिको बहसकै क्रममा कतिपयले अहिलेका दलहरू विफल भइनसकेको टिप्पणी गर्ने गरेका छन् । नयाँ शक्ति चाहिएला या नचाहिएला भन्ने बहस आफ्नै ठाउँमा छ र त्यो भद्र रहोस् भन्ने कामना गरौं । तर विश्व राजनीतिको यो कालखण्डमा आएर देशलाई निम्न आय भएको राष्ट्रबाट मध्यम आय भएको राष्ट्रमा दशकौंसम्म पनि उठाउन नसक्नुलाई हरेक देशका भिन्न भिन्न विशिष्ट ऐतिहासिक, सांस्कृतिक र भूराजनीतिक परिस्थिति हुन्छन् भन्ने तर्क गर्दै आफ्नो कमजोरीमा खोल हाल्न खोज्नु गलत हुनेछ । त्यसैले कतिपयलाई नमिठो लाग्ला, तर हाम्रा राजनीतिक दलहरू दशकौंदेखि विफल नै भएका हुन् ।
यति भन्दै गर्दा एउटा तथ्य उल्लेख गर्नैपर्छ, राजनीतिक दलहरूभन्दा बढी विफल पञ्चायतकालका राजा वीरेन्द्र हुन् जसले बेलायत र अमेरिकामा पढेर स्वविवेकले नेपाललाई न सहभागितामूलक समावेशी लोकतन्त्र, न तीव्र विकासको दिशामा डोर्‍याउन सके । उनले २०२८ सालदेखि ०४६ सालसम्म झन्डै १८ वर्ष एकछत्र शासन गरे । त्यो अहिलेको जस्तो अस्थिरता, राजनीतिक चेतना, आक्रोश, उग्रता र प्रतिरोधको समय थिएन । शासकहरूले ठूलो अवरोधबिनै विकासका अनगिन्ती काम गर्न सक्थे । तर उनले त्यो दृढता र नेतृत्व क्षमता कहिल्यै देखाउन सकेनन् । २००७ सालपछिको नेपालमा सबभन्दा स्थिर झन्डै दुई दशक लामो त्यो कालखण्डमा प्रजातन्त्र, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण र आर्थिक समृद्धिको क्षेत्रमा देशले ठूलो फडको मार्न सक्थ्यो । दुर्भाग्यवश त्यो भएन । नेता असल हुनुपर्छ, तर असल हुँदैमा सबै नेता हुनसक्दैनन् । राजा वीरेन्द्र असल तर विफल नेता थिए । उनलाई राजा भए पनि नेता भन्न मिल्छ, किनभने राज्यको सम्पूर्ण शक्तिको स्रोत उनै थिए । त्यसैले हामीकहाँ नेतृत्व विफलताको लामो शृङखला छ । त्यो विफलताको औचित्य दर्शाउन दुई ध्रुवमा बाँडिएर कि त अहिलेको नेतृत्वको बचाउ र राजतन्त्रको तीव्र आलोचना वा अहिलेको नेतृत्वको तीव्र आलोचना र राजतन्त्रको बचाउ गर्नुपर्दैन । दुबै दोषी छन् । अनि हामी अलिअलि पढेलेखेका, देखेसुनेका वर्गको पनि कम दोष छैन ।
हामी अधिकांशले हाम्रा भाइ बहिनी, छोरा छोरी सबैलाई सफल पेसाकर्मी बनाउन चाह्यौं । राम्ररी पढाउन, विदेश पठाउन, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा राम्रो जागिर खुवाउन या व्यापार गराउन चाह्यौं । यो देशमा सबै भ्रष्ट छन्, एकजना मात्र आदर्श भएर केही हुँदैन भनेर तिनको दिमागमा भरिदियौं र तिनलाई नजानिँदो रूपमा भ्रष्ट हुन प्रेरित गर्‍यौं । यो देशमा केही हुँदैन, उतै बस् भनेर उनीहरूलाई सकभर विदेशतिरै राख्न चाह्यौं । सधैं राजनीतिको चर्चा र विश्लेषण गर्‍यौं तर राजनीति फोहोरी खेल हो, त्यसमा हातै हाल्न हुन्न भनेर उनीहरूलाई हुर्कायौं, बढायौं । हाम्रा अभिभावकहरूले पनि हामीलाई त्यसै गरे । आफ्नै खुट्टामा उभिने क्षमता र स्वाभिमान नभएका व्यक्तिहरूले समाज र देशलाई आफ्नो खुट्टामा उभ्याउन असम्भव हुन्थ्यो, तर हामीले आफूले होइन, सधैं अरुले नै त्यो स्थिति बदलिदेओस् भन्ने चाह्यौं । व्यक्तिगत र पार्टीगत दुबै जीवनमा पद्धति र पारदर्शिता अवलम्बन नगर्ने बहुसंख्यक भ्रष्ट र असक्षमहरूको हातमा बागडोर सुम्पिएर हामी राजनीतिमा स्वसुधारको अपेक्षा गरेर बसेका छौं ।
त्यसो गर्नु हाम्रो भूल हो जुन सुधार्न अब विकल्पको बाटो खोज्नु अपरिहार्य छ । यद्यपी अबको विकल्प केवल नयाँ भएर पुग्दैन, त्यसले आउँदो निर्वाचनमा कम्तीमा सामान्य बहुमत ल्याउनैपर्छ । नत्र दुई, तीन, चार, पाँच नम्बरका शक्तिहरू यो देशमा जति भए पनि छन्, देशको नेतृत्वमै पुग्ने विश्वास नहुने हो भने नयाँ शक्तिका लागि समय, ऊर्जा, ज्ञान, विवेक, स्रोत साधन र जीवन अर्पण गरिरहनुपर्दैन ।
ठीक छ, अझै पनि कसैलाई वर्तमान राजनीतिक दलहरूमै सुधार गरेर परिवर्तन सम्भव छ भन्ने लाग्छ भने उनीहरूलाई प्रतीक्षा गरेर बस्ने छुट छ । त्यो अधिकारलाई सबैले सम्मान गर्नुपर्छ । तर जसलाई त्यो विश्वास छैन, उनीहरू एकताबद्ध हुनुपर्ने बेला आइसकेको छ । तर त्यो ऐक्यबद्धता जनाउनेहरूले संविधान समयमा नबनिरहेको धमिलो पानीमा माछा मार्ने मानसिकता राख्नु भूल हुनेछ । संविधान बनेन भने त्यो राष्ट्र र सम्भाब्य नयाँ शक्तिका लागि घातक हुनेछ । कुनै विषयमा विमति भए पनि नयाँ शक्ति अब बन्ने संविधानको दायराभित्रै बसेर काम गर्न तयार हुनुपर्छ, किनभने देशलाई सधैं संवैधानिक संघर्षको बन्धक बनाउनु हुँदैन । देश सधैं सिद्धान्त र दस्तावेजको लडाइँमा अल्झिएर बस्न सक्दैन । कतिपयले भन्लान्, संविधान बनिसकेपछि त पुरानै शक्तिहरूले काम गर्न सकिहाल्छन् नि ! त्यसो होइन । दशकौंसम्म चेतनाको नक्सा बदल्न नजान्नेहरूले राज्यको नक्सा बदल्दैमा देश बन्दैन । त्यसैले देश बनाउने हो भने नयाँ शक्ति त चाहिन्छ, चाहिन्छ । नयाँ शक्तिको घोषणा गर्न ढिलो भैसक्यो भन्नेहरू पनि नभएका होइनन् । तर सामाजिक सञ्जालको प्रतिक्रिया हेरेर कोही बहकिन खोज्यो भने नयाँ शक्ति विगतमा घोषणा गरिएका कैयौं राजनीतिक दलहरूझैँ अस्तित्वमा त आउनेछ, तर त्यसले 'नम्बर एक' भएर देशको नेतृत्व भने गर्नसक्ने छैन । त्यसैले गम्भीर गृहकार्यको आवश्यकता छ ।
नयाँ शक्तिको आधार, दर्शन, संगठनात्मक स्वरूप, पृथकता, चुनौती, रणनीति र राष्ट्र निर्माणको योजनाबारे गृहकार्य हुँदै गर्दा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूले त्यस्तो शक्ति चाहिन्छ कि चाहिँदैन भन्नेबारे स्पष्ट हुन नितान्त जरुरी देखिन्छ । एउटा कुराचाहिँ प्रस्ट भए हुन्छ: नयाँ शक्तिको सोचसँग जोडिएको चुनौतीको पहाडले धेरैलाई अत्याउन सक्छ, तर चुनौती सामना नगरी संसारमा शान्ति, स्थिरता र विकास कहाँ नै सम्भव भएको छ र ? अरुले हाम्रोभन्दा धेरै गम्भीर चुनौती एकै पुस्तामा सामना गरेका छन् भने नेपालीले मात्र सामना गर्न नसक्ने भन्ने प्रश्नै उठदैन । त्यसका लागि तयार हुने कि नहुने ?
twitter.com/MishraRabindra
*****************************************************************

म "जिउँदो मुर्दा" हुँ 
-रामप्रसाद खनाल
पशुपती आर्यघाटमा
जलाइनु अघिको निसमन्न लाश 

र म मा मात्र एउटा फरक छ
लाश श्वास प्रश्वास गर्दैन
तर म सेकेन्ड सेकेन्डमा
श्वास लिन्छु श्वास फ्याँक्छु
मात्र यत्ती फरक छ त्यो लाश र म मा !
शुरुमा चन्दा माग्न आए
मैले चन्दा दिएँ
बास माग्न आए
बास दिएँ
लुटेर खान थाले
मैले चुपचाप सहें
कुटेर अँग भँग गरे
घोप्टी परेर रुँदै बेदना सहें
अपहरण गरेर बेपत्ता पारे
म चुप चाप सहेर बसें
गोठको लैनो भैंसी
भर्खर ब्याएको माली गाई
जोत्दा जोत्दै जुवाले
काँध घोटिएका एक हल बुढा गोरु
सबै लुटेर
मेरै अगाडी तिनका जुलुसले
काटेर खाँदा
मेरै कलिलो छोरो, उसकी बहिनी
युद्ध लड्न भन्दै जबर्जस्ती लाँदा
मेरा यिनै फुटेका आँखाले
ट्वाल्ल हेरेर बसें
रोएर मन बुझाएँ
गाई बस्तु त काटेरै खाएको देखेको हुँ
तर मेरा लाला बाला कहाँ पुर्याए
जिउँदा छन या मरी सके
मलाई थाहा छैन अझै
बुढी माउँ तिनै चिन्तामा जली
घर तलको खोलामा हाम फालेर मरी
मेरो सुख लुटे
मेरो बैश लुटे
सम्पत्ती लुटे
म आर्यघाटमा जलाइनु अघिको लाश जस्तै
शान्त भएर बसिरहेँ
सोँचेको थिएँ
ढिलै भए पनि न्याय पाउँला
खोसिएको लुटिएको जायज्यथा पाउँला
बुढेशकालमा त्यसैमा गरी खाउँला
हेर्दा हेर्दै बसौँ बित्यो
मेरा आँखाहरु रुँदा आशु नआउने भए
चुनावहरु आए
तिनैले भाग बिल्ला पाए
मलाई जस्तै देश लुटेर खाए
अहिले हड्डिमा लडेका कुकुरहरु जस्तै
कोही लडेका देख्छु
कोही फेरी पुरानै पेशामा फर्किएका देख्छु
बिस बर्ष पछी फेरी उही घाऊ बल्झिएको देख्छु
अस्ती भर्खर कोही कुर्सी भाँच्दै देखेँ
कोही खुशीले त्यही नाच्दै देखेँ
त्यसै त म लाश जस्तो जिउँदो मान्छे
त्यो नाँगो नाच पछी
झन मरे तुल्य भएको छु
त्यहीँ बाट चुइटिएका एक हुलबाट
फेरी धाक धम्की र चन्दाको पत्र बुझेको छु
म त जिउँदो मुर्दा भएँ भएँ
छन की कोही जिउँदा भनी
वर पर तल माथि हेरें, खोजेँ
अहँ मैले कोही जिउँदो मान्छे देखिन
सबै म जस्तै जिउँदा मुर्दाहरु मात्र देखेँ
अनी आफैले आफैलाई धिक्कार्दै
यती हुँदा पनि नजाग्ने
“थुक्क म जिउँदो लाश” भन्दै
जे जस्तो देखेँ , यि दुई चार लाइन लेखेँ !

Like ·  · 

प्रश्न आफै सँग: 

के नेपाल म जस्तै जिउँदा लाशहरुको बास हो ??!!

-रामप्रसाद खनाल

राणाहरुले राम्रो गरेका भए
२००७ साल किन आउँथ्यो ?
२००७ सालमा आएको प्रजातन्त्र
२०१७ सालमा किन जान्थ्यो ?
२०१७ मा आएको पञ्चायत
२०४६ मा लखेटिन किन मान्थ्यो ?
यि त भए पुराना कुरा
भनौंला उहिलेका कुरा खुइलिएर गए !
अहिलेका कुरा पो गर्नु !
पुराना दिन सम्झिएर हुन्छ ??
२०४६ मा बहुदल आयो
गणेशमान को कुर्सी त्याग
किशुनजी अन्तरिम प्रधानमन्त्री
संबिधान आयो, वाहवाही भयो
२०४८ मा चुनाव
नेपाली काङ्रेसले बहुमत पायो
किशुनजी हट्ना साथ
गिरिजाबाबुको शासन
काङ्रेस भित्र किचलो
एकाउन्नमा मध्याबधी चुनाव
काङ्रेस गयो, एमाले आयो
टिकेन एमाले ९ महिना पनि
त्यस पछी शुरु भए
सत्ता साझेदारीका कुरा
मिलिजुली भागबन्डाको राजनीति
कुर्सी तानातान 
 
टिकाउने खेल
गिराउने खेल
मुसाहरु सिंहदरवार छिरे
कोही छेरपाटे लागेर
थाइल्यान्ड पुर्याइए
कोही शंकर होटलमा थुनिए
प्रजातन्त्रका नाममा
अनेक जालझेल बुनिए
मात्र कुर्सीको खेल
जन्मियो माओवादी
बाउन्न फागुन एकमा
कुर्सी नपाएको झोंकमा
काङ्रेस भित्र छत्तिस र चवत्तर
माधव केपी छाडेर बामदेब अलग
बाम घटकहरु फुट्दै जुट्दै देखेकै हो
सत्ताको लागि जे पनि गरेकै हो
कङ्रेस, एमाले, माले, रा.प्र.पा देखी
मधेशबादी गज्जु बाबु पनि भोगेकै हो
यि सबैको कुशासन
कमजोर राजा बीरेन्द्र
देश भताभुंग लथालिँग देखेकै हो
यसैको फाईदा उठाउँदै
छबिलाल र बाबुरामहरु
रोल्पा रुकुम पुगेर
सोझा साझा, गरीब, बेरोजगार,
अशिक्षित जनता भड्काउँदै
सिँहदरबारको फोहोरी राजनीति देखाउँदै
छबिलाल बाबुराम लिनुसम्म फाईदा लिए
मागेर खाए, लुटेर खाए, कुटेर खाए
अपहरणमा लागे, मान्छेका घाँटी रेट्न थाले
जँगली राज झांगिँदै गयो
काठमाडौंको फोहोरी राजनीति
सत्ताको लुछाचुँडी
छबिलालाई फलिफाप भयो
कयौँ निर्दोश काङ्रेस मारिए
एमाले चुपचाप राम हेरेर बसे
काङ्रेस पछी एमाले, एमाले पछी अरु हरु
सबै छबिलालको निशाना बन्दै गए
रक्त पिपासुहरुको शिकार भए
खसी काटे जस्तै मान्छे काटिँदा
बुच्चरले खसी रेटे जस्तै रेटिंदा
काठमाडौं लाई कहिलै दुखेन
जब छबिलाल र बाबुराम आतंकले
राजाधानी मै धावा बोल्न थाल्यो
प्रहरी सेना सबै भुत्ते साबित भयो
बीरेन्द्रको बम्श नाश
मदन आश्रित गुमाएको देश
गणेशमान गुमाएको देश
मनमोहन गुमाएको देश
बिपी र पुष्पलाल नहुँदाको देश
महत्वाकांक्षी राजा ज्ञानेन्द्र
उनका तुल्शी गिरी र किर्तिबाबुहरु
पुराना असफल अनुहारहरु
राजा एक स्तर तल झरेर
मन्त्रिमन्डलको अध्यक्ष भएको देश
राजा देखी रँक सम्म
काङ्रेस देखी एमाले सम्म
मधेशी देखी अन्य दल सम्म
स्वार्थमा चुर्लुम्म डुबेको देश
आफ्नो कुर्सी फर्काउन
गिरिजा बाबु तात्नुभयो
माकुने जि र अरुजीहरु
दिल्ली दरवार जानुभयो
महाराजको कुबुद्धी
जँगली छबिलालको आतंक
हेर्यो भारतले आफ्ना भक्त
प्रणब मुखर्जीले
पेन्शीलले गरेको १२ बुँदे खेस्रा
महाराजको काल भो
शहरिया देखी जँगली सम्म
सबैलाई माल भो
देशको यो हाल भो
अर्बौँ पैसा सकियो
दुई दुई चुनाव
६०१ औंठाछाप बने माननिय
देश लुटिँदैछ, जनता लुटिँदैछ
न छ संबिधान, न त शान्ती !
देश चिर्ने सुर सार
सानो देश !
ककसलाई भाग बिलो पर्ने हो
भाग बिलो नपाउने ले के गर्ने हो ?
बिबेक नभएका नेता
आत्मियता हराउँदै गएका जनता
आखिर अवस्था जहाँको तहीँ छ
बिकास निर्माण आकाशको फल
युवा जनशक्ती बिदेश पलायन
उस्तै छ नेताको छल
गाउँहरु खाली छन
न त खेत बारीमा बाली छन
बुढा बुढी बाउ आमाको बिजोग
देशको देखिंदैन राम्रो योग
प्रहरी भाँडेर
प्रशासन भाँडेर
सेना भाँडेर
छबिलाल र बाबुराम प्रधानमन्त्री बनेर
लुट्न सम्म लुटेकै हुन
देशको सम्पत्ती
लुटको धन फुपुको श्राध्दे गरेकै हुन
कुर्सी गुमेर बेहोस् यो जोडी
यिनका मितहरु
आतंकका प्रितहरु
फेरी जँगलको ध्वाँस दिँदैछन
थाहा छैन यिनिहरु
देश र जनता सँग
कुन युगको बदला लिंदैछन
यो सबै देख्दा लाग्छ, म किन चुप छु ??
म जिउन्दो मान्छे हुँं या मुर्दा ??!!
म जिउँदो भए किन बोल्दिन ??
यती हुँदा पनि आवाज किन खोल्दिन ??
यता उता हेर्छु सबै म जस्तै !!!
के नेपाल म जस्तै जिउँदा लाशहरुको बास हो ??
सोध्छु प्रश्न आफै सँग !
बिचरा म,
आफ्नो प्रश्नमा आफै अनुत्तरित छु !!!

होस गर ढिलो चाँडो हेग पुग्ने तिमी भाछौ ! 
- रामप्रसाद खनाल
उनले मान्छे खसी काटे जस्तै काटे पनि हुने !
रगत र गोली सँग कुर्सी साटे पनि हुने ! 
जती अपराध गरे पनि को आउँछ ?? उनलाई छुने ?
नाटक गर्न माहिर कती कहिले हाँस्ने कहिले रुने !
जन्मिएनन कोइ उनको अपराधी मन धुने
सबै पिछलग्गु देख्छु उनकै पछी फेरो छुने !
परदेशिएका स्वदेशी मन चिच्च्याएर के नै हुने ??
देश जल्दा पानी हाल्ने देखिएनन कुनै रुने !
मात्र लडाईं प्रधानमन्त्री र मन्त्री को को हुने !
कती धम्की दिन सक्छौ कती दु:ख दिन्छौ तिमी
सोझा साझा जनतासँग के को बदला लिन्छौ तिमी ??
पियौ रगत हजारौंको अझै कत्ती सुध्रिएनौ
हेग पनि पुग्न सक्छु भनी किन उघ्रिएनौ ??
संबिधान र शान्ती जती सबै तिम्रै पेवा भयो !
कस्तो शान्त देश अहिले हेर्दा हेर्दै कस्तो भयो ??
के का लागि समानान्तर सरकार अनी लाठी सेना ??
हेर्दै जाउ काल बन्छन एकदिन तिम्रै सेना मेना !
हिम्मत हारा भए अरु फाईदा तिमी लिँदै गाछौ !
होस गर ढिलो चाँडो हेग पुग्ने तिमी भाछौ !

बोकाको घिउ, घोँडाको फुल र रेलको चक्कामा हावा !!!
- रामप्रसाद खनाल
एउटा धुर्मुसे अाजकल
बैतडी ज्वाँई नारायण बनेर 
सोझा साझा गाउँलेहरुलाई
कहिले बोकाको घिउ प्याक गर्ने
गोरखपुरको कम्पनीमा
काम लगाइदिन्छु भन्छ !
कहिले गाउँलेहरुलाई फकाउँदै
घोंडाको फुल टिप्ने काममा
लगाइदिन्छु भन्छ !
त्यती मात्र हो र ??!!
ठग धुर्मुसे रुप फेरी फेरी आउँछ
सोझासाझा जनतालाई सताउनु सताउँछ !
हुँदा हुँदा उसले भन्छ
गोरखपुरमा काम लगाइदिन्छु
रेलको चक्कामा हावा हाल्ने काम !
बिचरा सोझा साझा जनता
छेपारे धुर्मुसेको
यस्तो कुरा पनि पत्याउँछन, दंग हुन्छन !
कमिशन ख्वाउन तयार हुन्छन !
बोकाको घिउ,
घोंडाको फुल
र रेलको चक्कामा हावा !!!
उसलाई नै विश्वाश गर्छन् !!!
मेरो देशका दाजुभाइ दिदिबहिनी !
एकातिर उसलाई हेर्छु अनी
अर्कोतिर छबिलाल र मुस्ताङेहरु हेर्छु
छबिलाल र मुस्ताङे ज्वाँई नारायण पनि
धुर्मुसे ले जस्तै
नयाँ नेपाल र कुन्नी के के तन्त्रका नाममा
सोझा साझा जनताको नाममा
बर्सौं देखी कुटेर, लुटेर, मारेर खाएकै छन
उनिहरुपनी ज्वाँई नारायण हुन पाएकै छन !
उनिहरुले पनि
सोझा जनतालाई
बोकाको घिउ प्याक गर्न लाएकै छन
घोंडाको फुल टिप्न तयार जनता ??!!
रेलको चक्कामा हावा भरेकै छन !
यसो हेर्छु पराया भुमीबाट
मेरी बास्सैको धुर्मुसले
यसै गरेर हाँस्य जगत खाएकै छ !
मेरो देशका महान नेता
छबिलाल र मुस्ताङे ज्वाँई नारायणहरुले
बोकाका घिउ बनाउने फेक्ट्री खोल्न पाएकै छ ??
अझ कती घोँडाका फुल टिप्न लगाउने हुन ??
कतिलाई गोरखपुरमा लगेर
रेलको चक्कामा हावा हाल्न लगाउने हुन !?
धनी गरीब सब बराबर !
धनीको सम्पत्ती खोसेर गरीबलाई बाड्ने रे !
एक महिनामा दश लाख जनसेना बनाउने रे !
देशै भरी समानान्तर सरकार चलाऊने रे !
सडक बाटै संबिधान र शान्ती फलाउने रे !
हुन्न भन्ने सबलाई जलाउने रे !
सामन्ती सत्ता गलाउने रे !
यिनी सपना र
धुर्मुसेका बोकाका घिउ फेक्ट्री
घोँडाका फुल टिप्ने जागीर
रेलको चक्कामा हावा हाल्ने जागीर
मलाई उस्तै उस्तै लाग्यो
पत्याउनेले पत्याइदिए पछी
म मुला बबुरोको के अर्थ !
म बबुरो वाल्ल परेर लाटाले केरा हेर्या जस्तो
उल्लु चराले आँखा हेर्या जस्तो
हेरिरहेको छु !!!
लामो लामो श्वास फेरिरहेको छु !
for dhurmuse's Meri Bassai click this link
https://www.youtube.com/watch?v=OpfcoBm8tvc

कठै म ! 
- रामप्रसाद खनाल 

उता पनि हुन्छ भन्छु, यता पनि हुन्छ भन्छु !
बिहान मन रुन्छ भन्छु, बेलुकी के हुन्छ भन्छु ?!
२४ घण्टा चौबिस थरी बोल्न मलाई मन लाग्छ
एकातिर टाल्छु भन्छु, अर्को खोल्न मन लाग्छ !
अाजकल सबै गुम्दा आकाश टोल्न मन लाग्छ
कुन्नी किन मलाई देशमा बिस घोल्न मन लाग्छ !
बाठाहरु छोरी दिल्ली लगिकन पढाईराछन
मेरो धुर्मुसेलाई यिनले चढाइ चढाइ सडाइराछन !
ढिलो चाँडो तान्ने हुनकी ! डर लाग्न थालेको छ
मेरो पुस्तै नाश हुन्छ कि डरले मन गालेको छ
हात हेर्ने ज्योतिसीको पनि भर परेकै हुँं
ग्रह दशा सोझ्याउन भैंसी पूजा गरेकै हुँं !
सपनीमा सद्दाम र गद्दाफी नि आइरहन्छन
श्रीलँकन प्रभाकरण मध्य रातमा बोलाइरहन्छन !


"कुख्यात ढाडे र केही चोर बिरालाहरु !"
- रामप्रसाद खनाल 

दुध चोर्न नपाएर वाक्क दिक्क भएको 
एउटा कुख्यात ढाडे बिरालो 
मानब बस्तीमा नरूचाइए पछी
केही चोर बिरालाहरु जम्मा गरेर
जँगल पस्यो !
दिनभर जँगलका झाडीहरुमा लुक्ने
साँझ कती खेर पर्ला भनी ढुक्ने
अनी सम्साँझै चोर बिरालाको जथ्था बनाएर
मानब बस्तीमा छिर्ने
मान्छेहरु लाई चिथोर्ने, कोपर्ने गर्दा गर्दै
ज्यानै सम्म लिने ढाडे र उसको जथ्था
शुरु शुरु का दिनमा
मानब बस्ती छिरेर
भोकाएको झै गरे
रुझेको झै गरे,
म्याउँ म्याउँ गर्दै
राम्रै अभिनय पनि गरे !
दुधको आशा गरे झै गरे
कहिले रोए झै गरे
कहिले हाँसेझै गरे
कहिले दुध र खाना दिनेको
खुट्टामै लडिबुडी गर्दै
जुठो पुरो म्याउँ म्याउँ गर्दै
माग्थे, खान्थे !
ढाडे बिरालो रुन्थ्यो, कराउँथ्यो
खाना नपाए घुर्की पनि लाउँथ्यो
खान दिँदा दिँदा उ यस्तो हराम निस्क्यो कि
बिस्तारै उ चोर बिराला जम्मा पारेर
कहिले मानब बस्तीमा झ्यालबाट
कहिले धुरीबाट
कहिले पछाडि, त कहिले अगाडीबाट
छिर्न थाल्यो
चोरेर होइन उ धारिला नङ्रा देखाउँदै
राक्षसको जस्तै रुप र दाँत देखाउँदै
हाकाहाकी लुटेर खान थाल्यो
लखेट्न खोज्ने मानबलाई
उल्टै जथ्था बाँधेर लखेट्न थाल्यो
जँगलबाट गाउँ छिर्यो
यसै गर्दै शहर छिर्यो
जङली बिरालोले
घर बिरालोको बिल्ला पनि भिर्यो
अहिले उ
मानबहरुलाई उल्टै जँगल जाउ भन्छ
मानब बस्तीमा मै खाउँ मै लाउँ भन्छ
ढाडे र उसका पछी पछी लागेर आएका
चोर लुटेरा अरु बिरालाहरु
मानब बस्ती नै कब्जा गर्न खोज्दैछन
ढाडेको ईशारामा आफै बस्ने घरमा
बिरालाहरु कहिले मान्छे चिथोर्छन
कहिले कपडा च्यात्छन
कहिले छानो त कहिले झ्याल ढोका
क्षत बिक्षत पार्छन
आजकाल यस्तै छ !
मानब बस्ती उजाड छ
ढाडे र चोर बिलालाको राज छ
मानबहरुको पऊँच दुर दराज छ ! दुर दराज छ ! 
Like ·  · 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक