(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20150301

"सत्ता कब्जा गर्न भनेर काठमाडौँ आइपुग्नेमध्येको अभागी मनुवा म पनि एक हुँ, उनी आफैँले गौरवसाथ घोषणा गरेजस्तै प्रचण्डलाई ज्यानको खतरा छ !"

"बसको छतमा समेत जनताको भिड हुँदा बसपछाडि झुण्डिएर काठमाडौँ आइपुगेको थिएँ म, सत्ता कब्जा गर्न। सत्ता कब्जा गर्न नसकेपछि गाउँमा सिम्बोलिक मजाक गर्न पाइन्छ भनेर म झ्याल-ढोकामा लगाउने कब्जा किनेर गाउँ फर्केको थिएँ।"

"सकिनै लागेको माओवादी यतिखेर आफ्नो हार लुकाउन भगीरथ प्रयासमा छ। भाटा बोकेर शक्ति प्रदर्शन गर्दागर्दै बाबुराम फुत्त दिल्ली जान सक्छन्, किनभने शक्तिको मुहान दिल्लीमा छ। भाटाधारी मनुवाको दिमागमा जीवनको उज्यालो दियो बल्न बाँकी छ। खतरासँग खेल्न बानी परेका प्रचण्डले फेरि अर्को खतरनाक खेल खेल्दैछन्। उनी ज्यानको बाजी थाप्न मानिसलाई उक्साउँदै छन्।"

- दिलनिशानी मगर 


एक सर्वसाधारण मोटरसाइकल यात्रीलाई चारैतिरबाट घेरेर ‘भाटा’ प्रहार गरिरहेको तस्बिर फेसबुकमा अपलोड गर्दै पढ्न भनेर काठमाडौँ बसेको गाउँले भाइले गर्वसाथ क्याप्सन लेख्यो- यो रामधुलाइ हाम्रो टेलर मात्र हो, फिल्म त १६ गते रिलिज हुँदैछ।
१६ गते सकियो। उनले देखाएको टेलरअनुसार फिल्म जोडदार बनेको रहेछ। दर्शकले आँखै नझिम्काई एकटकले हेरिरहे। फिल्मको दृश्यमा समेटिएका ‘रामधुलाइ’हरू देख्दा यस्तो लाग्छ- फिल्मको विषयवस्तु ‘भाटा-एक्सन’मा आधारित रहेछ। जनवादी फिल्मको छायांकन क्षेत्र वानेश्वर बजार जो थियो।
कमरेडहरू जनसंविधानको माग राखेर रामधुलाइ इतिहासको विशाल पहाड उक्लँदैछन्। जनसंविधानको माग गर्नेहरूले कम्तिमा पनि मान्छे कुट्न पाउदैन। अन्यथा एकदिन जनसंविधान मिचिनेछ, अनि जनताको ज्यान मार्न पाइने कानुन लेखिने छ।
हामी कस्तो राजनीतिक संस्कार स्थापित गर्न खोज्दैछौँ? नेपालीमा एउटा उखान छ- नानीदेखि लागेको बानी, बूढो भइसक्दा पनि नजानी। ती गाउँले भाइको भाटा उज्याउने बानी बूढो भएपछि जाला कि नजाला? कि छविलाल र
लालध्वजको लडाकु बानीजस्तै बूढो हुँदासम्म पनि रहिरहला?
गोरुको जुधाइ, बाच्छाको मिचाइ भयो भने मैले मन थाम्न सक्दिनँ। कसैगरी मन थाम्न नसकेपछि म आफ्नो फेसबुक स्ट्याटस पोस्ट गरेर चित्त बुझाउने गर्छु। मैले पनि पोस्ट गरे-
‘भाटासँग त भैँसी पनि डराउन्न। समस्या गाउँको छ। मान्छेको चित्त बुझाउन सक्ने पढे-लेखेका युवालाई गाउँघरतिर अभियानमा पठाएर पहिचानसहितको संघीयताबारे सम्झाउँ। विभिन्न जातका युवा समुदायसँग यसबारे गम्भीर छलफल चलाउँ। शान्ति प्रक्रियामा आइसकेपछि बन्दुकले ल्याउन नसकेको राज्यसत्ता दुईचारजना ट्यापेले लाठी देखाएर आउने वाला छैन। युवा त सबै पार्टीसँग छन् नि। तर, युवाको सचेत ढंगबाट प्रयोग गर्ने कि अचेत ढंगबाट दुरुपयोग गर्ने भन्ने सवाल मुख्य हो।
मेरो स्ट्याटस् ‘लाइक’ गरेपछि गाउँले भाइलाई लाज लागेछ क्यारे। आफूले पोस्ट गरेको स्ट्याटस् उसले तुरुन्तै हटायो, किनभने ऊ पढेलेखेको थियो। उसलाई उक्साउने मानिस काफी थिए। उसको कुनै दोष थिएन।
यस्तै सामान्य समर्थकको अराजक गतिविधिबारे प्रचण्डलाई थाहा थिएन। खुलामञ्चमा उभिएर प्रचण्ड आन्दोलनकारीलाई सम्बोधन गर्दै थिए- तपाईंहरूले इतिहासको सबैभन्दा ठूलो अनुशासन प्रदर्शन गर्नुभएको छ, म तपाईंहरूलाई विशेष धन्यवाद दिन चाहन्छु।
यो सुनेर ती रामधुलाइवाला गाउँले भाइ फेरि पनि लाजले रातोपिरो बने होलान्। केवल म कल्पना मात्र गर्न सकुँला।
शक्ति प्रदर्शनको सिलसिलामा प्रचण्डले खुलामञ्चमा अभिव्यक्त गरेका आरोप, चाहना र सपनाको विश्लेषण गर्नुभन्दा अगाडि म सबैलाई एउटा प्रश्न गर्न चाहन्छु- कमरेडहरू, गद्दारीपूर्ण इतिहासबाट हामीले पाठ सिक्नु पर्छ कि पर्दैन?
त्यो एउटा गद्दारीपूर्ण इतिहास
मिडिया तथा मानिसले खुला टिप्पणी गरेजस्तो माओवादीले भाटा उज्याएको घटना यो नै पहिलो होइन। ‘विद्रोह कि शान्ति’ भनेर लामो समयसम्म आफैँ वैचारिक गोलचक्करको फसेको माओवादी पार्टीको सन्तुलन गुमेको अहिले होइन। चुनवाङ, खरिपाटी, पालुङटार हुँदै प्रचण्डको बेइमानीपूर्ण राजनीति सिंहदरबारभित्रसम्म पसेको कुरा कसैले चाहेर पनि लुकाउन सक्दैन।
एमाले नेता माधवकुमार नेपाल सरकारको पालाको ‘सत्ता कब्जा’ गर्ने प्रयास भएकै थियो। उक्त सत्ता कब्जाको योजना प्रचण्डको आत्मसमर्पणका कारण असफल भयो। प्रचण्डको गुदी र बाह्य कुरा सानो अक्कल भएको मानिसले अनुमान लगाउन सक्दैसक्दैन। माओवादी असफल राजनीतिको दिनगन्ती त्यही दिन सुरु भएको थियो, जुन दिन सत्ता कब्जा गर्न भनेर काठमाडौँ पसेको ठूलो शक्ति हार स्वीकार गर्दै ‘ब्याक’ हुन परेको थियो।
विषय वा प्रसंगले अन्य अर्थ नलागे, सत्ता कब्जा गर्न भनेर काठमाडौँ आइपुग्नेमध्येको अभागी मनुवा म पनि एक हुँ। अहिलेभन्दा मानिसलाई यो कुरा कथाजस्तो लाग्छ, किनभने तिनलाई जितेर पनि हार खानुको नमिठो व्यथाबारे केही थाहा छैन। बसको छतमा समेत जनताको भिड हुँदा बसपछाडि झुण्डिएर काठमाडौँ आइपुगेको थिएँ म, सत्ता कब्जा गर्न। सत्ता कब्जा गर्न नसकेपछि गाउँमा सिम्बोलिक मजाक गर्न पाइन्छ भनेर म झ्याल-ढोकामा लगाउने कब्जा किनेर गाउँ फर्केको थिएँ।
उतिखेर माओवादीसँग शारीरिक तथा मानसिक रूपको अहिलेभन्दा १०० गुणा बढी शक्ति थियो। सबैभन्दा ठूलो कुरा त विचार, त्याग, तपस्या अनि बलिदानीको भावना थियो। युवालाई भाटा चलाउने तालिम मात्र होइन कि आवश्यक परेमा उनीहरू हतियार पनि खेलाइदिन्थे। प्रत्येक वाइसिएल सदस्यको झोलाभित्र गुलेली र सिसाको मट्यांग्रा थियो। पेट्रोल बम बनाउन सकिने मदिराको खाली बोतल पनि थियो।
स्मरण रहोस्, त्यतिखेर वाइसिएल र जनसेना विघटन भइसकेको थिएन। किरण धारका कट्टरपन्थी समूहलाई अब जितिन्छ भन्ने लागेको थियो। माधव नेपालले घुँडा टेक्छन् अनि सत्ता कब्जाको मार्ग प्रशस्त गरिदिन्छन् भन्ने विश्लेषण थियो। प्रचण्ड ज्यानको बाजी थाप्न युवालाई उक्साउँदै थिए, थापिएको पनि थियो। कार्यकर्ता हाँसीहाँसी मर्न तयार देखिन्थे। तर, के गर्ने तिनीहरूलाई रोइरोई घर फर्किन परेको थियो।
विडम्बना, उत्कर्षमा पुगेको ‘सत्ता कब्जा’ आन्दोलनलाई प्रचण्डले कसैसँग सल्लाह नै नगरी एक्कासि ‘झ्याप्प’ स्थगित भएको घोषणा गरे। अचानकको यस्तो कदम स्वाभाविक थिएन। प्रचण्डले आकाशवाणी आदेशमा अनेक कुरा थपे, झुठहरूको थुप्रै कथा रच्न पुगे। माधव नेपाललाई घुँडा टेकाउन खर्च भएको करोडौँ रुपैयाँ अहिले पनि माओवादी पार्टीको ऋणका रूपमा साक्षी छ।  
कुनै कुराको उठान गर्ने तर बैठान गर्न नचाहने उनको बानी आजसम्म हटेको छैन। सत्ता कब्जाको आन्दोलन स्थगित भएपछि अस्थायी सेल्टरको बलियो मोर्चा जमाएर बसेका गुट-उपगुटका कार्यकर्ता आ-आफैँबीच मारामार-काटाकाट होलाजस्तो भयो। गाउँको तालिम लिएर लड्न काठमाडौँ आएका लाखौँ कार्यकर्ता निराश बन्दै घर फर्केका थिए।
सत्ता कब्जा गर्ने भनिएको आन्दोलन स्थगन भएको घोषणापछि भोकभोकै सडक तताइरहेका कार्यकर्तालाई आकाश खसेजस्तै भयो। कति रुन थाले, कतिपय जोडसँग कराउन थाले। जनताको मनोभावना नबुझी निर्णय गर्ने प्रचण्डको अगतिलो बानी अझै गएको छैन। जस्तो कि संविधानसभामा फरक मत राखेर अगाडि बढी अर्को चुनावको तयारीमा जनताबीच जानु पर्नेमा फगत शक्ति प्रदर्शनको बहानामा माओवादी आफूलाई सिध्याउँदैछ।
कमरेडहरू शक्ति प्रदर्शन त सकियो, सत्ता कहिले हात पर्छ? के सुशील दा र केपी ओली ३० दलको शक्ति देखेर डराउने वा हार खाने मनस्थितिमा छन्? अन्तर्राष्ट्रिय शक्तिको चाहना नेपालमा मुठभेड होस् भन्ने नै छ त? बाबुरामको दिल्ली सवारी हुने प्रसंगमा कुन शक्ति लुकेको छ?
अहिलेको शक्ति प्रदर्शन के हो ?
अहिलेको शक्ति प्रदर्शन केवल अन्तिम चित्कारजस्तो देखिन्छ। प्रचण्ड ‘युज एन्ड थ्रो’को सिद्धान्त बोकेका मानिस हुन्। यिनी मार्क्सवादी सिद्धान्त बोकेका मानिस होइनन्। कमरेडहरू कापीको पानामा टिपेर राख्नुहोस्- तपाईं चाँडै ‘युज एन्ड थ्रो’ हुनु हुनेछ। अहिले अरबका गल्लीहरूमा लडाकु कमरेडहरू रुँदै छन्।
खुलामञ्चमा प्रचण्डले आफ्नो सम्बोधनमा सहिद परिवार तथा घाइतेलाई स्मरण गरेर मात्र हुँदैन। घाउ निको बनाउन दबाई चाहिन्छ। दबाईका लागि कि सहुलियत चाहिन्छ कि पैसा। आफ्नो सरकार छँदा घाइतेलाई सहुलियत पनि दिन नसक्ने, पैसा पनि नदिने अनि अहिले आएर एमालेलाई गाली गरेर हुन्छ?
खुलामञ्चको टाउको गन्नैपर्ने तर संविधानसभाभित्रको टाउको नगने पनि हुने यो कस्तो अंक गणित हो कुन्नि? आफू सत्ताबाहिर बस्नुको पीडाबोधमा अर्को पार्टीलाई तथानाम गाली गर्नु नेताहरूको मुख्य पेसाजस्तै बनेको छ। प्रचण्ड ‘एमालेको काम छैन’ भन्छन्, विप्लव ‘प्रचण्डको काम छैन’ भन्छन्। फेरि प्रचण्ड ‘एमाले पार्टी कांग्रेसजस्तो भयो’ भन्छन्। अनि, विप्लवचाहिँ ‘एमाओवादी पनि एमालेजस्तो भयो’ भन्छन् आखिर को के भयो सामान्य मानिस बुझ्न सक्दैनन्।
प्रचण्डले बलत्कारीलाई फाँसी दिनुपर्छ भने। यो एक हदसम्म सही पनि हो। कानुन बनाउन सके मान्न पनि सकिन्छ। तर, आफू प्रधानमन्त्री भएका बेला बलात्कारपछि हत्या गरिएको भनिएको मैना सुनुवार हत्याकाण्डको दोषी देखिएका सैनिक अफिसरलाई फुली किन लगाइदिएको? उनलाई त्यतिखेरै लट्काउन किन नसकेको? अहिले आएर ‘जो चोर, उसको ठूलो स्वर’ गर्न मिल्छ?
प्रचण्डको गद्दारीपूर्ण राजनीतिको रूप कस्तो छ?
जसरी पानीबिनाको ओभानो जमिनमा माछा बाँच्न सक्दैन, त्यसैगरी सत्ताबिनाको ओभानो सडकमाथि कमरेड प्रचण्ड मर्न पनि सक्छन्। उनी आफैँले गौरवसाथ घोषणा गरेजस्तै प्रचण्डलाई ज्यानको खतरा छ। किनभने अहिले उनी सत्ताबाहिर सडकमा उभिएका छन्। सडकको बास अक्सर खतरनाक हुन्छ। गम्भीर दुर्घटनाहरू सडकमै हुने गर्छन्।
प्रचण्डले बास बसिरहेको सडकमा भाटाबाहेक अरु देखिँदैन। खुल्ला सडकमा भाटा उज्याउँदा बटुवालाई पनि लाग्न सक्छ, आफैँलाई पनि लाग्न सक्छ। राजनीतिको खासै चासो नराख्ने नागरिकको टाउको हाडछालाको अनि प्रचण्डको टाउकोचाहिँ फलामले बनेको हुँदैन। फेरि भाटाको चोट गहिरो हुन्छ, जसको ज्यान पनि खतरामा पर्न सक्छ। यो कुरामा कमरेड प्रचण्ड कहिल्यै पनि गम्भीर बन्न चाहेनन्।
उनलाई अर्को खतराचाहिँ लोकवासीको नजरमा प्रचण्ड ठूला माछा हुन्। यो कुरा लोकमान साहेबलाई थाहा छैन। आफ्नो जीवनभरि खतरासँग खेल्दाखेल्दै प्रचण्ड ‘खतरों के खेलाडी’जस्ता बनिसके। कागताली मिलाउन सके खेलाडीको जित पनि हुन्छ, अन्यथा हार नभएर के हुन्छ? खासमा केही हुँदैन, पानीबिनाको माछा अनि सत्ताबिनाको प्रचण्ड एकै रथका दुई पांग्रा हुन्छन्। प्रचण्ड पौडिने माछा पोखरी अनि सत्ता जोगाउन यसभन्दा अगाडि झन् ठूलो ताण्डव भइसकेको छ।
उतिखेरको सत्ता कब्जा र अहिलेको शक्ति प्रदर्शन दुवै खतरामुक्त थिएनन्, छैनन्। फरक यत्ति हो- कमरेड माधव नेपाल नेतृत्वको विषवृक्ष सरकार छँदा प्रचण्डले सत्ता कब्जा गर्ने भनेका थिए। सुशील दा, नेतृत्वको बहुमतीय सरकार आइपुग्दाचाहिँ प्रचण्ड शक्ति प्रदर्शनमा सीमित भइसकेका छन्। मानौँ, उनको शक्ति अझै घटिसकेको छ, किनभने शक्ति प्रदर्शन र सत्ता कब्जा उस्तै होइनन्।
सत्ता कब्जामा एउटा उत्साह हुन्छ, जनता हामीसँग छन् भन्ने बलियो आत्मविश्वास पनि हुन्छ। कुनै दिन रेखा थापासँग नाच्दै खुलामञ्चदेखि गोंगबुसम्म जनताको अभिनन्दन फर्काउन गाडी चढेर जानुपर्ने माओवादी नेताहरू हिजोआज सानो कोठामा भाषण गर्दै भन्ने गर्छन्- माओवादी अझै सक्किएको छैन।
सकिनै लागेको माओवादी यतिखेर आफ्नो हार लुकाउन भगीरथ प्रयासमा छ। भाटा बोकेर शक्ति प्रदर्शन गर्दागर्दै बाबुराम फुत्त दिल्ली जान सक्छन्, किनभने शक्तिको मुहान दिल्लीमा छ। भाटाधारी मनुवाको दिमागमा जीवनको उज्यालो दियो बल्न बाँकी छ। खतरासँग खेल्न बानी परेका प्रचण्डले फेरि अर्को खतरनाक खेल खेल्दैछन्। उनी ज्यानको बाजी थाप्न मानिसलाई उक्साउँदै छन्। - Source : Setopati

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक