(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20150324

राति सुत्नुभन्दा अगाडि विप्लव गम खाँदा हुन्- विद्रोहको कुरा गर्दा मिडिया र मानिसको भिडभाडमा म यतिधेरै चर्चित भइसकेँ कि मानौँ म विद्रोही विप्लव हुँदै होइन, बलिउड हिरोजस्तै सेलिब्रेटी भइसकेँ।

- दिलनिशानी मगर 

पेलेर गए हतियार उठाउँछौँ भनेर सगौरव उद्‌घोष गरेका कारण विप्लव माओवादी चर्चाको चुचुरोमा ठिंग उभिएको थियो। यतिखेरचाँहि तिनै पेलेर गएका शक्तिहरूसँग फेरि मिलेर हिँड्ने चाहनाका कारण विप्लव माओवादीको चर्चाले अर्को चुचुरोमा पैताला बिसाएको छ। कसले हो पेलेर गएको?  यसलाई राजनीतिक, वैचारिक, सैद्धान्तिक मतभिन्नताको आधारमा बुझ्ने कोसिस गर्नु पर्दछ। जनतासामु यसको भेद खुलाउन अत्यावश्यक छ।
जसले महान् सपनाहरूको निर्मम हत्या गर्‍यो, तिनले चुन्वाङ बैठकमा पेलेर गए। पालुङ्टार प्लेनममा पनि पेलेर गए। खरिपटी भेलामा पेलेर गए। दोश्रो संविधानसभामा भाग नलिउँभन्दा समेत पेलेर गए। गोलमेच सम्मेलनबाट हल खोजौँ न त भन्दा झन् पेलेर गए। ओहो! जम्मा यति कुरामा मात्र पेलेर गएको कहाँ हो र? तिनले सेना संयायोजनजस्तो गम्भीर मुद्दामा पनि पेलेर गए। अरुसँग पार्टी एकता र आफैँसँग विघटन हुँदा पेलेर गए।
यसरी बुझ्ने हो भने क्रान्तिकारी शक्तिलाई पाखा लगाउँदै पेलेर जानेहरू संस्थापन पक्षका चैतै, वैशाखेहरूबाहेक अरु को थिए? हो, ती रगतको बाढी थामिएपछि पित्तलको गिलासमा गाईको दूध पिउन उपस्थित थिए। ती चोक्टा खान जाँदा झोलमा डुबेर मर्नेहरू थिए। त्यसैले अब संघर्ष कसको विरुद्धमा हुने वा जारी एकताको प्रयास सही छ कि छैन? भन्ने विषय निकै संगीन बनेको छ।
यो संगीन विषय किन पनि छ भने विद्रोहको कार्यदिशालाई तुहाइदिएको नेकपा एमालेले होइन। मध्यरातमा नेपाली सेना पठाएर क्यान्टोनमेन्ट खाली गराएको नेपाली कांग्रेसले हुँदै होइन। सग्लो पार्टीलाई तहसनहस हुने गरी फुटाइदिएको राष्ट्रिय जनमोर्चा नेपालले होइन। संविधानसभाको दोश्रो चुनावमा लज्जास्पद हार बेहोर्नुको मुख्य कारण नेपाल मजदुर
किसान पार्टी (नेमकिपा) पनि होइन। अब भन्नुहोस् पेलेर कसले गयो? अब कालो झन्डा, कालो मोसो वा हतियार कसका विरुद्ध उठाउने हो?
जसका विरुद्ध उठे पनि कमरेड विप्लव, बिलयको बाटोमा छन् कि विद्रोहको बाटोमा छन् भन्ने कुराको पुष्टि उनका एकाध रेडियो, टेलिभिजन तथा पत्रपत्रिकाको अन्तर्वार्ताले गर्न सक्दैनन्। मिडियामा विद्रोह गरेर हुने भए मातृका यादवले उहिल्यै गरिसक्थे। कता हो कुन्नि, एकजना बबन सिंह नाम गरेका मानिस थिए। भोट दिएनौ भने झुन्डिएर मर्छु भन्थे। अहिले उनि कता गायब हुन पुगे थाहा छैन। पेलेर जानेहरूसँग  एकता गरेमा भोलि विप्लवको हालत पनि बबन सिंहको जस्तै हुनेमा दुई मत छैन।
एकताका लागि क्रान्तिकारी नेतृत्व चाहिन्छ। क्रान्तिकारी नेतृत्व आकाशबाट बर्सिंदैन। यो त वस्तुगत परिस्थिति, परिघटना, आकस्मिकता, बाध्यता र क्रान्तिको विशिष्ठ जोखिमपूर्ण मोड र वर्गसंघर्षको रापिलो भट्टीबाट जन्मन्छ। जनयुद्ध लड्नु थियो, लड्यौँ, युद्धमा बाध्यता थियो। समयले कोल्टे फेर्‍यो। जनमुक्ति सेना विघटन गरी हातका मेसिनगन खोसियो, नेतृत्वले खोस्यो। हिजोको लडाइँ काठमाडौँमा घर किनेर उपर्खुट्टी गर्ने महाराजा जन्माउनका लागि थिएन।
यति कुरा बुझेर पनि एकबारको जुनीमा राति सुत्नुभन्दा अगाडि विप्लव गम खाँदा हुन्- विद्रोहको कुरा गर्दा मिडिया र मानिसको भिडभाडमा म यतिधेरै चर्चित भइसकेँ कि मानौँ म विद्रोही विप्लव हुँदै होइन, बलिउड हिरोजस्तै सेलिब्रेटी भइसकेँ।
अहिले त्यो हिरो फेरि जिरो बन्ने हो कि भन्ने चिन्ता चारैतिर छ। आफैँले जुत्ता चोर भनेको मान्छेलाई नयाँ जुत्ता किनेर राख्न दिने कुरा शोभनीय हुँदैन। क्रान्तिका हत्याराहरूसँग मिलेर जाँदा बडो लाज हुन्छ भन्ने कुरा विप्लवलाई थाहा छैन।
थाहा नपाउनु एउटा कुरा हो। थाहा पाएर पनि थाहा नपाएजस्तो चालबाजी गर्नु अर्को कुरा हो। दैनिक अखबारहरूले विप्लवलाई साँच्चैको सेलिब्रेटी बनाइदिएको आभास हुने गर्दछ। अहिले झन् पेलेर जानेहरूसँग मिलेर जाने छलफलमा विप्लव सहभागी बनेको अखबार पढेपछि एक हूल राता मान्छेहरू प्रश्न गर्दा हुन्- कमरेड विप्लव सधैँभरि मिडियामा यसरी नै छाइरहने हुन् कि विद्रोही बनेर गाउँघरतिर पनि घुस्ने हुन्?
आफैँले जोडतोडसाथ धोकेवाजको आरोप लगाउन भ्याएका संस्थापन पक्षलाई विश्वास गरेर मिल्न जाने कुरा सिद्धान्तत:  अराजक हुन्छ।
अन्यथा बिहेजस्तै रमाइलो ठानिएको अघोषित विद्रोहको शुभमूहुर्तका निम्ति जन्ती र बाजागाजा पुगेनन् भनेर जनताको माझमा घोषणा गर्न सक्नु पर्‍यो, विद्रोह घोषितरूपमा ‘स्थगन’ हुनेछ। विद्रोह स्थगनलाई लाजको विषय होइन कि प्रतिष्ठाको विषय बनाउन किरण समूहले भुमिका खेलिदिनेछ। वाम-पार्टीएकताको बाहनामा यतिखेर कमरेड किरणलाई काम चाहिएको पनि छ। प्रचण्ड, बाबुरामलाई सुरक्षाको खाँचो छ, उतै जाँदा हुन्छ।
इतिहासको आवश्यकताले विप्लवलाई विद्रोही नेता बनाएको कुरा सत्य हो। प्रचण्डलाई इतिहासकै आवश्यकताले हाँस्य अभिनेता बनाइदिएको कुरा पनि झन् सत्य हो। नेता हुनु र दक्ष नेतृत्व प्रदान गर्न सक्नु अनि अभिनेता हुनु र कुशल अभिनय गर्न सक्नु यी दुई उस्तै विषय होइनन्। शान्ति प्रक्रियासमेत गलत थियो भन्ने तर विद्रोह पनि गर्न नसक्ने हो भने सेलिब्रेटी भएर बाँच्न त सजिलो हुनेछ, चे ग्वेभरा बनेर मर्नचाहिँ कठिन हुनेछ।
मैले प्रस्तुत गरेका माथिका यी विचार कुनै विद्रोहलाई जोड दिनका निम्ति होइनन्। हुन त विप्लव माओवादीको मनोबललाई घटाउन पनि होइन। अहिले मानिसलाई एउटा ‘कन्फ्युजन’ छ, त्यो कन्फ्युजन कुनै जोड-घटाउजस्तो छैन। यो निकै भयानक र गम्भीर छ। अहिले पार्टी एकताका प्रयास भइराखेको देखिन्छ। यो टाउकेहरूको एकता हो कि पुच्छरहरूको एकता हो कि बुझ्न सकिएको छैन। पार्टी एकताको नाटक तीन घन्टाका लागि मात्र हो कि यसको भाग दुई पनि छ?
अहिले पार्टी एकताका नाममा सँगै फोटो खिचाइमा एकता हुँदैन, एकता विचारसँग हुन्छ। कुनै संगठन एउटा रूप मात्र हो, यसले अँगालेको चिन्तन, चरित्र सार पक्ष हो। एकता सार पक्षसँग हुन्छ, रूप पक्षसँग हुदैन। एकता हतास मनस्थितिको भावनासँग पनि हुँदैन, एकता सिद्धान्तसँग हुन्छ। त्यो सामूहिक फोटो त पेरिस डाँडामा लेलिनको पनि होला। तर, पेरिस डाँडामा लेलिन छैनन्। लेलिन नभएको पेरिस डाँडाको महलमा कालो झन्डा गाडिनु पर्दैन?
दुईचारजना व्यक्तिको जग्गामा कालो झन्डा गाड्नु महानता हुँदै होइन। त्यसको संयन्त्र, चिन्तन र जगलाई माथिबाट नै भत्काउन आवश्यक छ। त्यसको जग कहाँ छ? नवधनाड्य र नवदलालहरूको असली रूप कस्तो छ? पहिल्याउन जरुरी छ। क्रान्तिको कार्यदिशालाई अलमल, जाल अनि षड्यन्त्रमा फसाउन एकताको चक्मा फ्याँकिएको पो छ कि भनेर किन नसोच्ने? फेरि नयाँ खालको विचलन देखा पर्‍यो भनेर किन नबुझ्ने?
भेडा भेडातिर, बाघ बाघतिर हुन आवश्यक छ। भेडा र बाघको बथान एकै हुन सक्दैन। स्याल र चिलको कहानी आफ्नो ठाउँमा छ। टाउको टाउको जोडेर मात्र मानिसको रूप धारण गर्न सकिँदैन। मानिसको रूप धारण गर्न सग्लो हात, पाखुरा र तिघ्राहरू हुनु पर्छ। फोक्सो, आँखा, नाक-कान हुन पर्छ। त्यस्तै जनताको पार्टी बन्न पनि विचार, सिद्धान्त, कार्यदिशा र जनभावना समेटिएको महान आदर्श चाहिन्छ। आफ्नो स्वार्थ र चित्त पर्दा मिल्ने, आफ्नो स्वार्थ र चित्त नपर्दा नमिल्ने कार्यदिशाको नजिक त पतनको बाटो भेटिनेछ।
ढोका अगाडि बम पड्किँदैछ भने आफू कानमा कपास हालेर सुत्न सकिँदैन तर प्रतिरोधका लगि सामर्थ्य चाहिन्छ। आफूलाई बाघ त भन्ने तर हातको नंग्रा काटेर फालेर लडाइँ जितिन्न, चिथोर्न सकिन्न। अरुको रीसले आफ्नो दाँत किटेर मात्र हुँदैन। साँचो कुरा के हो भने, पार्टी एकताको जुन बहस छ, यसको कुनै फेद अनि टुप्पो देखिँदैन। यसको कुनै जरा, हाँगाहरू पनि छैनन्। यो यसै-यसै हावामा उडेको बेलुनजस्तै बनेको छ।
कसरी बेलुन बनेको छ? भन्दा संस्थापन पक्ष बरु संगठन सकिएर जाला तर संविधानसभा छाड्ने पक्षमा छैन। 
यतिसम्म कि बाग्लुङमा हुन गइरहेको संविधानसभाको चुनावमा उसले उम्मेदवार उठाइसक्यो। संविधानसभाको साटो गोलमेच सम्मेलन हुन नसक्दा किरण अलग हुन परेको कुरा छिपेको छैन। अहिले किरणजीहरू एकताको खेमामा पुगेर उभिनु भएको छ। त्यसो भए पार्टी फुटको उपादेयता र पुष्टि के हो? वैचारिक कारण थियो कि व्यक्तिगत कारण थियो?
द्वन्द्वकालीन घटना ब्युँझाएर शान्ति प्रक्रियालाई नै जोखिममा पार्ने काम भइरहेको भन्दै टुटेर फुटेर गएका सबै माओवादीको सामूहिक वक्तव्य आइसकेको छ। सानो शक्तिलाई घेराबन्दी हुन सक्छ, अवसर पाउने बित्तिकै विरोधी शक्तिले घेराबन्दी गर्न सक्छन् भन्ने हेक्का युद्धबाट स्थापित भएका नेताहरूलाई हुन सकेन। आफ्नो पार्टी दुईदुईपटक सरकारमा जाँदा यस्ता घटनालाई मेलमिलाप गराउने आयोग पनि गठन गर्न नदिन कुनै त्यस्तो अमुख शक्तिले नेताहरूका चार हात-खुट्टा बाँधिदिएको थियोजस्तो मलाई लाग्दैन।
माओवादी पार्टी साइकलको ट्युबजस्तो एक्कासि फुटेको पनि थिएन। यो त ज्वालामुखी र भल्कानो जसरी फुटेको थियो। साइकलको ट्युबलाई जोड्न सकिन्छ तर ज्वालामुखी र भल्कानोलाई जोड्न सकिन्न। हो, यतिखेर तिनै ज्वालामुखी र भल्कानोहरू जोडिने ध्याउन्नमा छन। यसले आफैँलाई पोल्छ, डढिन्छ भन्ने कुरा थाहा हुनु पर्दछ। कम्तिमा अमिक शेरचन र दिवंगत नेता पोष्टबहादुर बोगटीले छानबिन गरेको प्रतिवेदन सार्वजानिक गर्ने साहस गर्, अनि कसलाई पोल्छ, को डढेर बिलिन हुन्छ भन्ने कुरा घाम जस्तै छर्लंग हुनेछ।
मुख्य चासो सहरका भ्रष्ट, दलालहरू भनेका एमाले, कांग्रेसका मानिस हुन् कि यसभित्र एमाओवादीका भ्रष्टहरू पनि मिसिन्छन् भन्ने विषयको छ, किनभने जनवादी केन्द्रियताको नीति आफ्ना साथीभाइ उम्कन दिने तर भिन्न विचार प्रकट गर्नहरूको घर-जग्गामा कालो झन्डा गाड्ने भन्ने हुँदैन। क्रान्तिकारी शक्तिहरूसँग हिम्मत छ भने लुकाएर राखिएको शेरचन र बोगटी प्रतिवेदनका सम्भावित भ्रष्टहरूको घर, जग्गामा कालो झन्डा झुन्डाउने गर। हिम्मत छैन र कायरताको झोला बोकेर राजनीति गरेको हो भने सामान्य मानिसलाई आतंकित बनाउने काम सही छैन।
केही वर्षअघि मात्रै पहाडको कच्ची बाटोमा मुस्ताङ जिप चढ्दा ‘लौ, मलाई त बान्ता आउलाजस्तो भयो, वाक्‌वाकी लाग्यो बरु पैदल हिडम् है?’ भन्दै कालो प्लास्टिक ‘पोलिथिन’ माग्ने सर्वहारा पार्टीका गरिब नेताहरू केही वर्षयता नयाँ मारुती कार किनेर राजधानीको सडकमा हुँइकिएको देख्छु, सुन्छु। आफुहरू अति नै सर्वहारा भइसकेको भन्दै तिनले निजी मोबाइल खर्च र सवारी भाडासमेत जनतासँग मागेको दिन हिजो हो किजस्तै लाग्छ। यी र यसका नेता र तिनको संगठन नवदलाल र नवधनाड्य हुन् कि होइनन्?
तर आज शान्तिप्रक्रियालाई विशेष प्रक्रियाको उपमा दिएर लडाकुको नाममा सरकारी रकम निकासा गरी शिविरमा वितरण गरेको १४ महिनापछि अनमिन प्रमाणीकरणमा सहभागी हुँदा कुल संख्यामध्ये करिब ८ हजार ७ सय ६७ लडाकु शिविरमा फेला परेनन्। फेला नपरेका लडाकुहरूको अस्तित्व कहाँ, कस्तो छ? भनेर कामान्डरहरूले समेत पुष्टि गर्न सकेनन्। अनि तिनको नाममा निकासा गरिएको करोडौँ रकम खोइ त? कालो मोसो कसलाई दल्नु पर्छ, कालो झन्डा कसको घर-जग्गामा गाडिनु पर्छ भन्नेबारे जनतालाई सोध्ने पो हो कि?
संकटमा परेको कम्युनिस्ट आन्दोलनलाई जोगाउन आफ्नो टुकी, बुलाकी र फुलीहरू पार्टीकरण गर्न कार्यकर्तालाई उर्दी जारी गर्ने नेताहरूको बुहारीलाई घाँटी नै निहुरिने गरी झुन्डाउन मिल्ने सुनको माला कुन सुनखानीबाट उत्खनन् गरियो? दुनियाँको छोराछोरीलाई सामूहिक जनवादी विवाह गर्न उक्साउने अनि आफ्नो सन्ततिको बिहेचाहिँ कुनै तानाशाही खानदानको भन्दा कम नदेखाउने विचार कुनै पनि कम्युनिस्ट दर्शनमा पाइँदैन। अनि यसरी राजनीतिक मात्र होइन, साँस्कृतिक विचलन भई गद्दारी गर्नेहरूप्रति विप्लव माओवादीको पछिल्लो धारणा उनीहरूसँगै एकता गर्ने हो?
यदि उनीहरूसँग एकता गर्ने हो भने विद्रोहको निसानामा चाहिँ को-को हुनेछन्? के गाँउमा अहिले शोषक, सामन्तहरूको अस्तित्त्व छ? छैन। गाउँमा अहिले गरिबहरूको अस्तित्व छन्। खेती गरी खाने दुई रोपनी खेतबारी नभएका किसानहरूको दु:खी जीवन छ। बेरोजगारी जिन्दगीलाई तास खेलेर जसोतसो धकेलिरहेका उदास युवाको हुल छ। गाउँमा पीडाले छाती चिरा-चिरा परेका बिधवाहरू छन्, अनपढ टुहुराटुहुरी छन्। रोगी, बूढाबुढी अनि अशक्त अपांग केटाकेटी छन्। टोपीको घेरा फाटेको एउटा दु:खी मास्टर छन्। ती सबै माओवादी, एमाले, कांग्रेसका मानिस होइनन्, नेपाली नागरिक हुन्।
गाउँमा अरु के-के छन्? निमेक गरी जीवन धान्नेहरूसँग सम्पत्तिको नाममा लामो कान भएका तीनओटा जति उन्नत जातका विकासे बाख्रा छन्। एक हल गोरु छन्। दूध दिन छाडेर थाकेका भैँसीहरू छन्। कटाउन बाँकी राँगा छन्। खरायो, कुखुरा, बिरालो, कुकुर, खच्चडहरू त गाउँमा हुने नै भए। गाउँमा युरिया मल नपाएर सुकेका मकैका बुटा छन्। विषादीको व्यवस्थापन हुन नसक्दा हल्केर पहेँलो बनेका आलुका पात छन्। सिँचाइको अभावमा खेत चिराचिरा परेर बाँझो बनेका वस्तीहरू छन्।
के अबको विद्रोह यिनै निर्जीव अस्तित्वमाथि धावा बोल्नका लागि हुनेछ ?
यदि त्यस्तो हुने छैन भने सहरमा अहिले को छ? यसमा कुनै शंका छैन। सहरमा अहिले संस्थापन माओवादी छ। घाइते र सहिदहरूको नाम बेचेर निर्माण गरिएका ठुल्ठूला महल छन्। महलमा बसेर आफ्नै गाउँ नचिन्ने महान् मनुवाहरू छन्। सहरी एकीकृत क्रान्तिको कार्यदिशाको मुख्य आधार बन्न सक्ने धेरै चिजहरू सहरसँग छ। सहरी विद्रोह भनेको सहरका भ्रष्टहरूमाथि हो भने सबैभन्दा ठूलो भ्रष्ट उही हो, जसले सहिदको सपना बेचेर खायो, निल्यो अनि अघायो।
लाजिम्पाट दरबारमाथि कालो झन्डा गडेपछि बल्न झुपडीमुनि रातो एकता सम्भव देखिन्छ। विप्लवज्यु, तपाईंको दिमागमा के छ? पेरिसडाँडाको महलमा कालो झन्डा गाड्ने अक्कल छ कि छैन? - साभार : सेतोपाटी 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक