(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20150324

कोर्टमार्शलबाट बच्ने हो भने समयमै राजनीतिका फिल्डमार्शलहरुलाई चेतना आओस

१७ हजारको चिहानमाथि अझै मारामार ?
- राजन कार्की 
 हाम्रा लोकतन्त्रवादीहरु किन जिम्मेवार हुनसक्दैनन्। रक्तपातले पार नलाग्ने रहेछ भनेर शान्तिबाटिका निर्माणमा लागेका हाम्रा नेताहरु फेरि रक्तपातकै आवेग निकाल्न थालेका छन्। यो राक्षसी प्रवृत्ति हो, राक्षसी प्रवृत्तिले लोकस्वर्गको यात्रा पार गर्न सकिदैन। स्मरणरहोस्। १९१७ मा जन्मिएकी इन्दिरा गान्धीले जवानीका दिनहरु भारतको स्वतन्त्रताका लागि खर्च गरिन्। भारतलाई स्वतन्त्र बनाउन बाँदर सेना गठन गरेर भारतको स्वतन्त्रता आन्दोलनमा सघाइरहिन्। उनको विवाह १९४२ मा भयो तैपनि उनले बाँदर सेनालाई सक्रिय पारेर अंग्रेजविरुद्धका सूचना संकलन गरेर बाबु जवाहरलाल नेहरुसम्म पुर्‍याउने र स्वतन्त्र भारतको गान्धी आन्दोलनमा मलजल गरिरहिन्। १९४७ मा भारत स्वतन्त्र भयो, नेहरु प्रधानमन्त्री बनेपछि उनले राष्ट्रको स्वतन्त्रताका लागि गठन गरेको बाँदर सेनालाई बिघटन गरिदिइन्। १९६६ देखि १९८४ सम्म भारतको लागि 'आइरन लेडी'का रुपमा शासनसमेत सम्हालिन्।
२००७ सालमा नेपाल पनि राणाशासनबाट मुक्त भयो। रामदल, मुक्तिसेना गठन भएका थिए। रंगविक्रम, पहलसिंह लामाहरुको संगठन थियो यो। उनीहरुले पनि यो सशस्त्र समूहलाई यथावत राखेनन्, समूहका लैन छोकडाहरुलाई राज्यशक्तिमा समाहित गरिदिए। समयक्रममा गठन भएका खुकुरी दलहरु पनि बिस्तारै अस्तित्वमा रहेनन्। माओवादीले जनयुद्धका लागि घर दिन्छु, जग्गा दिन्छु, समानता दिन्छु, जागीर दिन्छु, जसलाई जे जे चाहिएको छ, त्यही त्यही दिन्छु भनेर लडाका तैयार गर्‍यो र सपना बेचेर १० वर्ष लामो जनयुद्ध हाँक्यो। १७ हजारभन्दा बढी सहादत भए। महारथी, रथी, कमाण्डरहरुले सत्ता, सुख, सुविधा भोग गर्न सफल भए। हत्केलामा ज्यान बोकेर जनयुद्ध सफल पार्न हिडेका ती लडाक युवायुवतीले के पाए? कति खाडी मुलुकमा मरिरहेका छन्, मरेर बाँचिरहेका छन् र जहानपरिवारका लागि हातमुख जोर्ने जोहो गर्दैछन्। कति महिला देशदेखि विदेशसम्म यौन बेचेर प्राण धानिरहेका छन्। कुनै तथ्य तथ्यांक छैन माओवादीसँग। माओवादीलाई आज पनि सत्ता र शक्तिकै पिरलो छ। उसले अझै सम्पूर्ण रुपमा लडाका दस्ता बिलय गराएर देशको स्वाधीनता, शान्ति र सम्पन्नताका लागि आफूलाई लोकार्पण, लोकतान्त्रिकरण गरिसकेको छैन। अझै अतिवादी आक्रोस फुकिरहेको छ, वाईसीएल, उत्पादन ब्रिगेडलाई लठ्ठी र बन्दुक उचाल्न अघि सारिरहेको छ। माओवादीहरु ०५२ सालमा फर्किने, अर्को जनयुद्ध गर्न पछि पर्दैनौं भनिरहेका छन्। नैतिकताको ऋग्वेद मार्गमा उभिन त उभिएका छन् तर झुक्याएर हान्ने र बन्दुकको नालबाट शक्ति निकाल्ने माओको रातो कितावमै भुलिरहेका छन् आफूलाई अग्रगमनकारी भन्नेहरु। बम पड्काएर बिनासमात्र हुन्छ, दूधको नहर बग्दैन भन्ने बुझेर पनि कम्युनिष्टहरु 'चटके कमाल' देखाउन किन लालायित भइरहेका होलान्? र, हामी सोझा जनता किन चटक हेरेर रमाइरहेका होलाउँ? सत्तापक्ष र प्रतिपक्षी गर्नुपर्ने कर्तव्य पूरा गरिरहेका छैनन्, हामी सामान्य जनता तमासा हेरिरहेका छौं। हामी जनयुद्धले जागरण ल्यायो, चेतना ल्यायो भन्ने मान्यता राख्छौं, जनतामा आएको चेतना यही हो त?
देशभक्तहरु देशको हित हेर्छन्, व्यक्ति वा समूहगत स्वार्थभन्दा माथि उठ्छन्। 'राजनेता' बन्न का लागि जनवल आर्जन गर्दै काँधमा देश बोक्छन्। हाम्रा नेताहरु देशभक्तिका नाममा भ्रष्टाचार बोकिरहेका छन्। जुनसुकै राजनीतिक शक्ति होस्, सार्वभौम जनतालाई मतपत्रमा सिमित राखेर निर्णायकत्व बन्दुक र बिदेशीलाई बनाउनेहरु कायर हुन्, करिया हुन्। पखेँटा काटेर पिन्जरामा बन्दी बनेको सुगा न उड्न सक्छ, न स्वाधीन भएर बाँच्न? नेपाली राजनीतिमा परिवर्तनहरु त भए तर आयामहरु उन्मुक्त हुन सकेनन्। गुलामवाद जारी छ, नेतृत्वतहमा चरित्रहीनता बढ्दैछ। बनारसको तवाईफभन्दा पनि नांगोपनले बेशर्मको हद नाघ्दै गएको छ। नागरिक सर्वोच्चताको डिङ हाँक्नेहरु स्वयम् अर्काको कमैयाभन्दा भिन्न भूमिकामा नदेखिएपछि भन्नैपर्छ, स्वतन्त्र नेपालको झण्डा त फरफराइरहेको छ, स्वतन्त्रता बन्दकी राखेर पेटपाल्ने विवेकहीन जीव पो बनेछन् हाम्रा विधाता र शासकहरु।
कमैया मुक्तिको घोषणा ०५७ साल साउन २ गते भएको हो। यो घोषणाले कानुनी आधार २०६६ सालमा पायो। दिल्लीभक्त सबै ठूला दलभित्र बिराजमान छन्। पछिल्लोपटक २०७१ साल माघ १६ गते खुलामञ्चको जनसभाबाट सिधै दिल्ली हान्निएका माओवादी नेता बाबुराम भट्टराईले भारतका राष्ट्रपति, परराष्ट्रमन्त्री र नेपाल नीतिकारहरुसँग गुहार लगाए– 'भारतले १२ बुँदे सम्झौता गराउँदाजस्तै भूमिका अहिले लिनुपर्छ, भारत १२ बुँदे सम्झौताको एक पक्ष हो। नेपालमा अर्को द्वन्द्व हुन नदिन नेपालको राजनीतिक समस्या समाधान गर्न भारतले सक्रिय भूमिका निर्वाह गर्नुपर्छ।' (काठमाडौंपोष्ट, कान्तिपुर, हिमालय टाइम्स, भारतीय  पत्रपत्रिकाहरु) जनादेश र मतादेश मिलाएर सहमतिका आधारमा संविधान लेख्नु उत्तम हुन्छ भनेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क शिखरमा सहभागी हुन आउँदा निर्देश दिइसकेका थिए। त्यो निर्देशलाई निहुरीमुन्टी न जस्तो शिर निहुराएर 'हस् साव' भन्ने एउटा लाहुरेले फेरि दिल्ली मै पुगेर खुलेआम 'हस्तक्षेप गरिदेउ' भनेर 'बहादुर' बनेको देख्दा नेपालको कम्युनिष्ट शक्ति अन्य भारतभक्तहरुभन्दा बढी नै 'बँधुवा, कमैया'को स्तरमा रहेछ भन्ने प्रमाणित भएको छ। विभाजित माओवादीहरु एक हुने प्रक्रियामा देखिन्छन्, हिजोको एकीकृत र अव हुने एकीकृतमा तात्वीक अन्तर के देखिन्छ र? उही कमैया न हो।
र, माओवादीले अझै बुझेन– भारतका सर्वशक्तिमान प्रधानमन्त्री मोदीले डा.बाबुराम भट्टराईलाई किन भेटेनन्? छिमेकीको समर्थन लिएर विश्वशक्ति बन्ने तैयारीमा जुटेको भारतले नेपालमा खुला हस्तक्षेप गर्छ र माओवादीको चुनौति बेहोरिरहेको भाजपाले नेपालका माओवादीलाई सर्वशक्तिमान बनाउन मद्दत गर्न तैयार होला? बरु, जातिवादी र मधेसवादीलाई काखी च्यापेर ३० दलीय मोर्चा र ५ माओवादीको एकीकृत शक्ति बनाउँदै आमहड्तालसम्मका आन्दोलनलाई सफल पार्न लागिपरेका प्रचण्ड, बाबुरामहरुले बन्दी बनाइदिएको निर्वाचित संविधानसभालाई सक्रिय पारेर संविधान निर्माणमा जुटेको भए वाह वाही पाउन सक्थे। संविधानसभा हाम्रो एजेन्डा भन्ने अनि पहिले संविधानसभाको हत्या गरिदिने, अहिले संविधानसभालाई अनिश्चितकालका लागि बन्दी बनाइरहने र संविधानसभाको बैठक बोलाएर प्रक्रिया सुरु भयो कि सामुहिक राजीनामा दिएर निस्कन्छौं, सडकबाट संविधान जारी गर्छौं भनेर धम्क्याउने, नयाँ नेपाल र लोकतन्त्र यही हो? बिधि निर्माण गर्ने सार्वभौम निकाय हो संविधानसभा। जनमत र जनादेश छ त्यहाँ। फेरि भारतादेश खोज्दै दिल्ली जानु भनेको नेपालको सार्वभौमिकतालाई खुम्च्याउनेहरु कुन देशभक्तिको कुरा गरिरहेका छन्? यी हरफ लेख्दै गर्दा टीभीमा गीत बजिरहेको सुन्छु– भन बाबुराम, लोकतन्त्र कुन चराको नाम?
यथार्थमा कमैयाकरण भनेको यही हो। बँधुवामजदुरकरण भनेको यही हो। प्रसियाका बिस्मार्कको बन्लान् भनेर अपेक्षा गरिएका हाम्रा अग्ला नेताहरु स्वार्थको फोहरी कन्टेनरमा कसरी लम्पसार पर्न सकेका? सम्मानित तहमा स्थापित हुनुपर्ने राजनीतिक फाँट किन यसरी राजनीतिक रेडलाइट एरियाको लम्पट बनिरहेको छ? लाइबेरियाका चार्ल्स टेलरले पनि निर्वाचनमा अत्यधिक मत ल्याएर बिजयी भएका थिए। अन्तमा उनी तानाशाह बनेर पतन भए। कतै प्रचण्ड, बाबुराम कम्युनिष्ट तानाशाहीका लागि कालिदास बनेर १२५ जातिको विशेषतायुक्त शान्तिको हाँगो हतपतको बन्चरो हानेर रगतले लतपत पार्न उद्दत त भइरहेका छैनन्?
इतिहासमा पृथ्वीराज चौहानको देशभक्तिपूर्ण उज्यालो कथा छ। र जयचन्दजस्ता धोखेबाजको कालो बर्णन पनि पढ्न पाइन्छ। यी जयचन्दले आफ्नै शक्ति पृथ्वीराज चौहानलाई हराउन शत्रु बनेर आएका महमद गोरीलाई भारत पस्ने ढोका खोलिदिएका थिए। जसरी लेण्डुप दोर्जीले १९७५ मा सिक्किमलाई भारतमा मिलाउन राष्ट्रघात गरे, जयचन्द त्यही कोटीका राष्ट्रघाती मानिन्छन्। त्यस्तै राष्ट्रघात गरेका छन्– माओवादीले। बिप्पादेखि एयरपोर्ट व्यवस्थापनसम्म, नेपाल उत्तरदक्षिणतिर मर्ज, सर्वमर्ज हुनसक्ने अभिव्यक्ति पनि छाडिदिउँ, संविधानसभाबाट संविधान बनाउन उद्दत हुन छाडेर दिल्लीलाई गुहार्नु, हस्तक्षेप गरिदेउ भनेर चुलेनिम्तो दिन पुग्नु राष्ट्रघात नभए के हो? जनयुद्ध सुरु गर्दाका ४० बुँदे राष्ट्रवादी माग, चुनाव लड्दा जनतामा बाँडिएको राष्ट्रवादी घोषणापत्र, जनसभाहरुमा–अन्तर्वाताहरु र लेखहरुमा अभिव्यक्त हुने राष्ट्रवादी विचारहरु र माओवादी नेताहरुको व्यवहार हेर्दा लाग्छ– कथनी र करनीमा आकास पातालको भिन्नता छ। महलेपन भएको विषजस्तो। दुईतिर खुट्टा राख्ने र दुईजिब्रे नेताको भर हुन्न भनिन्छ। अझै जनता चाहन्छन्– माओवादी देशभक्तिमा खरो उत्रियोस्। संविधान निर्माणमा मुख्य भूमिका खेलोस्। जाति, भाषा, भेष होइन, माओवादीले सिङ्गो मुलुकलाई जुरुक्कै उठाओस्। स्मरणरहोस्, माओले सांस्कृतिक क्रान्ति सम्पन्न भएपछि ७० को दशकमा घुँडा टेकेर जनतासँग माफी मागेका थिए। माओले पनि जनता नै अन्तिम सत्य मानेको प्रमाणिक इतिहास हो त्यो। द्वन्द्ववादका उदाहरण – माओ, १९५९ मा लेखिएको छ– विश्लेषण गर्न जान्नु नै द्वन्द्ववाद बुझ्नु हो, द्वन्द्ववादले सम्पूर्ण चीजमा तुलनाका लागि दुई विधि प्रस्तुत गर्दछ। माओवादलाई नेपालवादमा रुपान्तरण गर्न कस्सिएका माओवादीहरुले खोई माओले भनेजस्तो– द्वन्द्ववाद व्यवहारका उतारेको? अहिले त जाति र भेगवादलाई द्वन्द्ववाद भनिदैछ।     त्यसो त कम्युनिष्टहरु अन्तर्राष्ट्रवादमा विश्वास गर्छन्। तथापि कम्युनिष्ट राष्ट्रवादी हुन् भने १९५० को सन्धि खारेज गर, २०६२ मंसिर ७ को १२ बुँदे दिल्ली सम्झौता बदर गर, सीमा अतिक्रमण रोक, संविधानसभा र संसदको निर्णायकत्व स्थापित गर। माटोमा उभिएका दिन, नेपाली कम्युनिष्टले फेरि नेपाली जनसमर्थन पाउने छ र माओवादीले अहिलेजस्तो रुन्चे श्वर र राँडी रुवाई गर्दै दिल्लीको समर्थन र संरक्षणका लागि शिवशंकरको तोक्मा टेकेर आलंकारिक मुखर्जीको शरण पर्नुपर्ने छैन।
र, प्रचण्ड, बाबुराम र तिनका अनुयायीमात्र होइनन्, अन्य विदेशमुखी नेताहरुलाई हेक्का रहोस्– नेपालभन्दा साना १९ मुलुकहरु सुरक्षित, स्वतन्त्र र सार्वभौम सम्पन्न छन्। नेता देशभक्त भइदियो भने मुलुक सार्वभौम हुनसक्छ भन्ने यो उदाहरण हाम्रा होनहार नेताहरुले अहिले नै बुझिदिए वर्तमान र भावी पुस्ताले यी बाँचुन्जेल जिन्दावाद र मरेपछि यिनको सालिक बनाएर पूजा गर्ने थिए। इतिहासकारहरुको कोर्टमार्शलबाट बच्ने हो भने समयमै राजनीतिका फिल्डमार्शलहरुलाई चेतना रहोस्– समयले कसैलाई पर्खदैन

गिद्धको टाउकोमा लोकतन्त्रको मुखुण्डो !

घरको छानामा गिद्ध बस्यो भने अपसकुन हुन्छ भनिन्छ। २०६४ सालदेखि संविधानसभाको छानामा बसेको लोकतान्त्रिक मुखण्डो लगाएका गिद्धहरु अहिले पनि जमेर बसेका छन्। यही अपसकुनले देशमा शुभ केही भइरहेको छैन। भोजभत्तेरमात्र खाइरहने विवेकहीनहरु भिजिलान्तेभन्दा कम छैनन्। गिद्धरुपी भिजिलान्ते संविधानसभाको छानोमा बसेका कारण दोस्रो संविधानसभा समेत आमहड्तालजस्तो आपातकालीन पहिरोको विपत्तिमा पर्न पर्न लागेको छ। रक्तापात हुने त्रासदीको आतंक फैलिन थालिसक्यो। 
प्रचण्ड र बाबुरामले प्रधानमन्त्री निवास छिर्दा बोको र थुमो भोग दिएका थिए तैपनि उनीहरु देशका प्रधानमन्त्री बन्न सकेनन्। सुशील कोइराला दाह्री सुमसुम्याउादै प्रधानमन्त्री निवास पसेकाले हो कि ३ थान मोवाइलमात्र सम्पत्ति भएका कोइरालाको भान्छाबाटै १२ लाख हरायो। बुढ्यौलीले छोइसकेका सुशील कोइराला जिब्रोको क्यान्सरले तोते तोते बोल्थे, उनलाई उनकै दलका देउवा पक्षधरहरुले असफल भयौ भन्न थालिसके। न सरकारमा, न संविधानसभामा दुबैतिर असफल भएका सुशील कोइरालाको पदीय अवसान नजिकिए जस्तो छ। सत्ता परिवर्तन भएर कालो बोको बली दिएपछि भत्केको संविधान निर्माणको वार्ता सुलह होला कि? खोपामा थन्क्याइएर ताल्चा मारेको संविधानसभाको बैठक खुल्ला कि? सुरु सुरु आइरहेको मीठो खान्की 'तलवभत्ता' खाएर उग्राइरहेका सभासदहरुले टेबुल ठटाउने र ताली पिट्ने वा टेबुल भााच्ने र माइक तोड्ने काम पाउलान् कि?  
ठूला दलका चारथरि नेताले रिसोर्टको सयर धेरै गरे। आध्यारो कोठामा गुप्तगु पनि गर्नुगरे। सत्ता र शक्ति बााडिएको भए वार्ता भााडिने थिएन। सिण्डिकेटका यी चार सदस्यमध्ये कसैले खोजेको पाए, कसैले मागेको पाएनन् र वार्ता भााडियो। भााडिएको वार्ता र हुनैपर्ने सहमति खोज्न दिल्लीदेखि वाशिङ्टनसम्म, लण्डनदेखि बेइजिङसम्म सरखराउन थालेका छन्। नेपालको संविधानमा के लेख्ने, कस्तो बनाउने, कसरी बनाउने भन्ने विषयमा जनप्रतिनिधि सेलाउनु र विदेशीहरु तात्नु भनेको लायकहरु नालायक बन्नु हो। नेपाली जीवनहरु परजीवी हुनु हो। मुख्य जिम्मेवारी भनेको संविधान निर्माण पूरा गर्नुपर्ने दलहरु हड्ताल, नाराबाजी, कालो झण्डा, लाठी जुलुस, टायर बालेर आमहड्ताल गर्न तम्सिन्छन् भने संविधानसभालाई पञ्चदेवल र तलवभत्तालाई हण्डी सम्झेर खानेहरुलाई कसरी गिद्ध नभने के भन्ने? गिद्धहरु क्षमताअनुसार घिचिरहेका छन्, लुछाचुाडी गरिरहेका छन्। लोकलज्जाको कसैलाई पर्वाह छैन, लुट मच्चाइरहेका छन्। लुट मच्चाउने छुटका लागि ल्हासा जाने कुतीको बाटो भनेझंै संविधान लेख्न संविधानसभा पुगेका पार्टीहरु एकथरि सत्ता मुठ्याइरहेको छ, अर्काथरि सडकमा उफ्रिन थालेको छ। जनता हस्तक्षेप गर्ने साहस गर्न सकिरहेका छैनन्, यस्ता जनतालाई राजनीतिक दलहरु गाईजात्रे मनोरञ्जन दिइरहेका छन्। गणतन्त्रमा अर्को गुण्डातन्त्रको नजाराको रिहलसल सुरु भएको छ। 
गणतन्त्रमा गणको महत्व सर्वश्रेष्ठ हुनुपर्ने हो। यही कारण सभ्य मुलुकमा जनतालाई जनार्दनको मान्यता दिइन्छ। नेपालमा जनयुद्ध र जनआन्दोलनको एजेन्डा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता थिएन। एकाएक पलाएका यी एजेन्डा भालुको कन्पट बन्नपुगेका छन्। छोडे मारिहाल्छ, नछाडे कति समाइरहने? नेपाली समाजमा उखान छ– सर्पको विष झार्न नजान्नेले सर्पलाई नचलाउनु। संघीयताको मुद्दा त उठ्यो, एकल जातीय पहिचान कि बहुजातीय पहिचान? मधेस एक प्रदेश कि बहुप्रदेश? हिमाल, पहाड, तराईको एकता कि कित्ताकाट? यता सम्याए, उता भत्किन्छ, उता सम्या यता भत्किन्छ। राजनीतिक वार्ता बिथोलिनु र सहमति हुन नसक्नुको मूल कारण अवधारणाले समाजालाई बााध्न सक्ने नेता र पार्टी एउटा पनि भएनन्। सबै पार्टी जोगीका घरमा सन्यासी पाहुनाजस्ता। 
पहिलो संविधानसभाको चार वर्ष खाएर सिध्याए। दोस्रो संविधानसभाको १५ महिना पनि खाएरै सिध्याए। यी खन्चुवा गिद्धहरु हुन्। जो देश र जनताको हाडछाला लुटिरहेका छन्। एक थान संविधान लेखेर बिधिको शासन स्थापित गर्ने इच्छाशक्ति र दूरदृष्टि देखिन्न यिनीहरुमा। देख्नाका डाल, खानाका काल भनेका यिनै हुन्। सत्ताको तिर्खा अचम्मको हुन्छ। जति खाए पनि आात भरिन्न। यी नेताहरुमा खाली खाउा खाउा लाग्ने खन्चुवा तिर्खा मेटाउन देश र जनताले ६ सय १ जनाको भेडा बथानलाई घरज्वाई पालेसरह पालिरहनु परेको छ। युवाहरुले नांगो जुलुस निकाले, थाल ठटाए, पर्याप्त ज्याला लियौ, अब संविधान देउ भनेर प्रदर्शन गरे, तातो पानी लागेन। खाईदेउहरु खाईरहेका छन्, लोकआवाज काग कराउादैछ, पिना सुक्दैछ भइरहेको छ। देश बनाउन एकजना आदर्श, आाटिलो, निस्वार्थ नेता भए पुग्छ भन्ने उदाहरण हुन् लीक्वान यु। उनले सिंगानपुरजस्तो अस्तव्यस्त मुलुकलाई आजको सभ्य र सम्पन्न सिंगापुर बनाइदिए। लुटराज्यको रुपमा बदनाम सिंगापुर आज विधियुक्त सिंगापुर बनेको छ। यही कारण लीक्वान युलाई आज थर्ड कन्ट्रीका सबैले सलाम गर्छन्, युरोप अमेरिका उनको कदर उच्च सम्मान गरिरहेको छ। देशभक्ति भनेको त्यो हो। 
राजतन्त्र गनायो भनेर गणतन्त्र ल्याउने नेताहरु ९ वर्षदेखि एकथान संविधान लेख्ने भगिरथ प्रयत्न गरिरहेका छन्। फोस्रो प्रयत्नले संविधान लेखिने कुरै थिएन, लेखिएन। १९४० को दशकमा माओले खुवाएको अफिमको नशा नेपाली कम्युनिष्टहरुलाई अहिले लाग्न थालेछ कि के हो? संविधानसभा त्यागेर सडक संविधान जारी गर्छौं पो भन्न थाले। हामीले भनेको मान्ने भए मान, होइन भने आमहड्ताल हुन्छ, अर्को जनयुद्ध गरिन्छ भनेर त्रासदी फैलाउन खोजे। यतिले नपुगेर विदेशीलाई हस्तक्षेपका लागि निम्त्याउन खोजे। यस्ता निर्लज्ज लोकतन्त्रवादीले लोकको हित गर्लान्? यिनले संविधानसभामा उभिएर बहस पैरवी गर्नुपर्थ्यो, जनताको मत जित्न सक्नुपर्थ्यो। दिमागमा गोबर भरिएपछि संविधानसभाको छतमा गिद्ध बसेको अनुभूति हुनथालेको छ। 
पञ्चायतलाई कालरात्रि, बहुदललाई कुशासन भनेर डामियो, त्योभन्दा गएगुज्रेको स्थितिलाई कसरी लोकराज भन्नु? मुखले लोकतन्त्र मान्छु भनेर हुन्न, व्यवहारमा लोकतन्त्रको इज्जत गर्नसक्नुपर्छ। संविधानसभामा ३१ दल छन्, ती कहाा छन्, के गरिरहेका छन्, आफ्ना प्रतिनिधिबारे जनता नै अनभिज्ञ रहेको अन्यौलको अवस्था विद्यमान छ। लोकतन्त्र संस्थागत गर्ने इच्छाशक्ति चाहिन्छ, मरेको इच्छाशक्तिले केही निर्माण गर्न सक्दैन। जनप्रतिनिधि नामधारीहरु तिनै देवत्वविहीन ढुंगाहरु हुन्। विदेशीका मतियारले स्वदेशीलाई हतियारमात्र बनाउन जानेका हुन्छन्, ०६३ सालदेखि आजसम्म त्योभन्दा बढी केही भएको पनि त छैन। नेपालबाट मात्र २८ किलोमिटर उताको देश बंगलादेशका राष्ट्रपति जियाउर रहमानको हत्या भएपछि अस्पतालमा डाक्टरले पोष्टमार्टम गर्न उनको लुगा फुकाल्दा उनले लगाएको पेटीगन्जी प्वाल परेको थोत्रो देखियो। पछि उनको बैंक खाताको स्टेटमेन्ट निकाल्दा न्यूनतम रकमभन्दा एकपैसा बढी देखिएन। भर्खर स्वीस लिकले लिक गरेको खबर अनुसार स्वीस बैंकमा ८ नेपालीको ५ अर्व लुकाइएको रहेछ। को हुन् ती नेपाली? कतै हाम्रा लोकतन्त्रका महारथी नेताहरुले त ती पैसा लुकाएका होइनन्? ०४६ सालपछिका कांग्रेस र ०६३ सालपछिका कम्युनिष्टहरु नवसम्भ्रान्त सामन्त अर्थात अरवी शेखभन्दा कम्तिका देखिदैनन्। महलमा बस्छन्, महगा रक्सी पिउाछन्, आरामदायी गाडी चढ्छन्, ५ तारे होटलमा खान्छन्, जनता जहााको तहीा छन्, नेताको हुनसम्मको प्रगति भएको छ। यस्ता नेता न सिंगापुरका लीक्वान यू बन्नसक्छन्, न बंगलादेशका जियाउर रहमान? गान्धी बन्न कुनै नेता तैयार छैनन्, सबै व्यक्तिगत र पार्टीगत सुखभोगका लालची देखिन्छन्। सूर्यमुखी फूल सूर्यको किरण देखेर फुल्छ, नेताहरु सत्ता देखेर झुल्छन्। सत्ता र शक्तिका लागि दिल्ली दौड लगाइरहने हाम्रा नेताहरु भारतकै लालबहादुर शास्त्रीको सादगीको अनुकरण गर्न चाहदैनन्। प्रत्येक भारतीय हमारा भारत महान भन्छन् र गौरव गर्छन्। हाम्रा एउटा नेता पनि मेरो नेपाल भनेर गौरव गर्न जान्दैनन्। भाषण गर्दा यिनै नेता आफूलाई नागरिक सर्वोच्चता र स्वाधीनताको पक्षधर भनेर फूर्ति लाउाछन्। 
मर्नु त नेल्शन मण्डेलाजस्तो नेता भएर पो मर्नु। हाम्रा नेताहरुले मरेपछि एकजना पनि मलामी पाउाछन् कि पाउादैनन्, शंकै लाग्छ। जनताको मन रोएको छ, यथार्थ यही हो। नेपाल मण्डेलाको जस्तो धैर्यता, जियाउर रहमानको जस्तो राष्ट्रियता, गान्धीको जस्तो देशप्रेम, नेहरुको जस्तो त्याग, लीक्वान यूको जस्तो प्रतिवद्धता खोजिरहेको छ। राजतन्त्र लखेटियो, राजनीतिक दलहरु टकटकिए। शान्ति, समानता र संविधानका माध्यमबाट स्थिरता खोजिरहेका नेपालीका सामु बेइमानहरुको भीडमात्र देखिन्छ। आधेर नगरी चौपट राजाको नियति भोगिरहेको छ देश।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक