(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20150322

कुन आधार र कुन नैतिकतामा नेपालका पार्टीहरु विदेशमा आफ्ना भातृसंगठन खोलेर उद्धाटन गर्दै हिडेका छन् ? कसले दियो यिनलाई यो अधिकार ? पार्टीले आफूलाई किन देशको मूल कानुन भन्दा माथि राख्दैछन् ? किन अर्काको देशको कानुनसँग जोरी खोज्दैछन् ???

नेपाली मूलका अनागरिक नेपालीको अकर्म !


बाराक ओवामा नेपाली काँग्रेसको सभापति, भ्लादिमिर पुटिन नेकपा एमालेको, किम जोङ् उन नेकपा एमाओवादी/माओवादीको अध्यक्ष भए भने अचम्म मान्ने कि नमान्ने ?
यो प्रश्न अहिले प्रश्न नबन्न सक्छ। तर यो प्रश्नले कुनै दिन नेपालको राष्ट्रिय राजनीतिलाई हल्लाउन सक्छ।
आज देशमा मात्र हैन विदेशमा जहाँ नेपाली त्यहाँ राजनीति छ। राजनीतिभन्दा जातीय भाँडनीति झन् उग्र छ। पार्टी पिच्छे संगठन छन् । जातीय संगठन नेपालकै हाराहारीमा होलान्। कति नेपाली, नेपाली भएर बाँच्न पाएका छैनन्, कति बाँच्न चाहेका छैनन्। देशमा भन्दा विदेशमा झन् चर्को छ।
विदेशमा समेत हामी नेपाली, कम्युनिष्ट, काँग्रेस, राजावादी, मधेशवादी,  हिमालवादी, पहाडवादी, आदिवासी, जनजाती, दलित समुह भएर बसेका छौं। बाँडिएका छौं । भाँडिएका छौं । फाँडिएका छौं ।
सबैभन्दा पहिला हामी नेपली हौं भन्ने भावना र हाम्रो परिचयले शहादत प्राप्त गरे जस्तो लाग्छ। नेपालीको पहिलो परिचय नेपालका राजनीतिक दल र जातीयताले दिन थालेको छ। यो फलानो त्यो पार्टीको हो, त्यो चिलानो त्यो जातीको हो भन्ने क्रुर र कटाक्ष दृष्टिले एउटा नेपालीले अर्को नेपालीलाई हेर्न थालेको छ। त्यसरी नै चिन्न थालेको छ । हाम्रो परियच यस्तै बन्न थालेको छ।
मूलतः युरोप, अमेरिका, क्यानडा, अष्ट्रेलिया लगायतका क्षेत्रमा नेपालका राजनीतिक पार्टीका भातृसंगठन सक्रिय छन्। जातीय, वर्गीय र धार्मिक पार्टीका संगठन झन् सक्रिय छन्। कानूनतः कुनै पनि देशको राजनीतिक पार्टीको शाखा र संगठन खोल्न सम्बन्धित देशको कानुनले वर्जित गरेको हुन्छ। तर कानुनको आँखा छलेर विदेशी भूमिमा हामी नेपालीले गैह्र कानुनी क्रियाकलाप गरिहेका छौं। सम्बन्धित देशको कानुन अनुरुप नाफा रहित सामाजिक सँस्थाका रुपमा संगठन दर्ता गरेर हामी पार्टीगत, जातीगत र धर्मगत राजनीति गरिरहेका छौं। भोलि कानुनको फान्दामा परेर कसैको घरबार उठ्ने भयो भने त्यसको जिम्मेवारी कसले लिन्छ? यहाँको नेतृत्वले कि नेपालका पार्टीले?
नेपालका मन्त्री, प्रधानमन्त्री र भूतपूर्व प्रधानमन्त्री, दलका नेता आएर यी संगठनका अधिवेशन गर्छन्। हामी आफू चैं मातृभूमि भक्ति भन्दा पनि दलका झण्डा बोकेर दलभक्ति देखाउँछौं। दलभक्ति भन्दा पनि के गर्दा नेता खुसी हुन्छन् सबै गरेर नेता भक्ति देखाउँछौं। के हामीले कहिल्यै सोचेका छौ?  कति उचित र कति धेरै अनुचित गरिरहेका छौं?
देशका मन्त्री, प्रधानमन्त्री भएका व्यक्तिले किन ख्याल गर्न सेकेका छैनन् कुटनीतिक मर्यादा र मानलाई? किन सोधीखोजी गर्न सकेका छैनन् भातृसंगठनका कानुनी र वैधानिक आधार र अवस्थालाई? भोलि सम्बन्धित देशको कुटनीतिक नियोग र कानुनले जवाफ माग्यो भने नीलो मुख लाउनु बाहेक के हुन सक्छ ? त्यसमाथि त्यसको असर कसरी, कहाँसम्म र कतिसम्म हुन सक्छ?
हामी विदेशमा बसेर नेपालमा यस्तो र उस्तो हुनु पर्छ कुर्लिरहेका छौं। धर्म, संविधान र संघीयता जस्ता संवेदशील विषयमा जथाभावी लेख्ने–बोल्ने गरिरहेका छौ। कतै वकिल बनेका छौ, कतै न्यायाधीश । सामाजिक परम्परा र सद्भावलाई रत्तिभर ख्याल नगरी जातजाती र भाषाभाषीका कुरालाई लिएर उछ्श्रृङ्खल शब्द र शैलीमा विभिन्न ‘सोसियल मिडिया’मा निर्लज्ज रुपले अभिव्यक्त भै रहेका छौं । नेपालका नेता–जनतालाई गाली गरिरहेका छौं । पानीफोके ‘नोस्टाल्जिया’ बोकेर स्वार्थको सौदावाजी गर्दै देशको राजनीतिमा प्रतक्ष्य भाग लिइरहेका छौं। तर के हामीमध्ये धेरैले ख्याल गरेका छौं, कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने, द्वेष–विद्वेष फैलाउने काम दण्डनीय हुन सक्छ भनेर? हामीले कसैले सोचेका छौं, म नेपालको नागरिक हुँ कि हैन भनरे?
नेपालको नागरिकता त्यागिसकेपछि नेपालमा हाम्रो कानुनी हैसियत एक भारतीय नागरिक बराबर पनि छैन । हामी नेपाली मूलको भएकोले भावनात्मक रुपले माथि हौंला तर कानुनी रुपले पनि हेरौं । भारतीय नागरिकलाई नेपाल प्रवेशका लागि भीसा आवश्यक पर्दैन तर हामीलाई भीसाविना प्रवेश मिल्दैन । हाम्रो नैतीक र वैधिक आधार के छ?
कुनै देशको आन्तरिक मामिलामा बोल्ने, लेख्ने, चल्ने, खेल्ने अधिकार सम्बन्धित देशको नागरिक भन्दा बाहिरकोलाई छ कि छैन ? छैन भने किस्सा खत्तम ! नेपालको संविधान र कानुनले वर्जित गरेका भागलाई भुत्ते हतियारले रेटीदिए हुन्छ। छ भने नेपालको राजनीतिमा सहभागी हुन नेपाली नागरिक हुनु जरुरी छ जस्तो लाग्छ।
एउटा कटु सत्य के नविर्सौ मूलतः अमेरिका, क्यानडा, युरोप, अष्ट्रेलिया बसेका हामी नेपालीको जीवनको एक जुगमा एक दिन आउँछ। त्यो एक दिन हामी आमोदप्रमोदमा हुन्छौं। पार्टी गार्छौ। प्राय खुसीमा पिइने रक्सीमा चुर्लम्म डुब्छौं। त्यो खुसीको दिन आफ्नो जीवन सार्थक भएको ठान्छौं। अपवादलाई छोडेर हामी नेपालीको त्यो एक जुगको दिन होमातृभूमि नेपालको नागरिकता त्यागेर परायभूमिको नागरिकता लिएको दिन!
त्यही खुसीको कोटेरीमा बसेको दिन हामी सबैभन्दा बढी नोष्टाल्जिक हुन्छौं र त्यही दिन मदिरोन्मातमा नेपाललाई सबैभन्दा बढी गाली गर्छौ। तर कसैले कुरीकुरी गरेमा के जवाफ दिन्छौं ?
यहाँ एउटा संगठनको नेता हुनु भनेको नेपालको राजनीतिमा प्रतक्ष्य सहभागी हुनु भएको छ। हामी मध्ये कतिले मातृभूमि नेपालको नागरिकता त्यागरे परायाभूमिको नागरिकता सहस्र सहर्ष स्विकारेर बसेका छौं ? मैले नेपालको नागरिकता त्यागेर अमेरिकाको नागरिकता ग्रहण गरेपछि म नेपाली कि अमेरिकी नागरिक ?  विधि–विधान र कानुनले के भन्छ ?
‘डुवल सिटिजन’ नभएको अवस्थामा म अमेरिकी नागरिकले नेपालको राजनीतिमा कसरी सहभागी हुन सक्छु ? नेपालको कुन कानुनले दिएको छ एउटा विदेशी नागरिकलाई मूलधारको राजनीतिक नेतृत्वमा सहभागी हुने र मतदान गर्ने अधिकार ?
यस अर्थमा नेपालका राजनीतिक दलले कुन आधारमा अनागरिकलाई सदस्यता, सक्रिय सदस्यता र नेतृत्वको जिम्मा दिएका छन् ? अब यो प्रश्न, प्रश्न बन्नु पर्छ । कानुनतः र वैधानिक रुपले यसलाई सम्बोधन गरिनु पर्छ ।
म अमेरिकाको उदाहरण प्रस्तुत गर्दै छु । यहाँ जति पनि नेपाल र नेपालीसँग साइनो गाँसिएका संगठन छन् प्रायशः तिनका अधिपति नेपाली नागरिकता त्यागेका व्यक्ति नै बढी छन् । यस्तै ‘सिनारियो’ अरु देशमा पनि होला । थाँतथलो नेपाल भएको हुँदा नेपालसँग हाम्रो भावनात्मक संम्वन्ध हुनु स्वाभाविक हो र यो सुन्दर पक्ष पनि हो । यी सँस्थामा रहेर जो राजनीतिक, जातीय र धार्मिक अतिरञ्जनामा सहभागी छैनन् तिनको मातृभूमिप्रतिको भावनात्मक सम्बन्धमा अविश्वस गर्न सकिदैन ।
तर विश्वास तीप्रति हुदैन, हामी मध्ये जसले आपूmलाई नेपालको अनागरिक बनाएर यी राजनीतिक र जतीय संगठनका अधिपतित्व लिएका छौं । नेपालको नागरिकता त्यागेका चरम्–परम् बोक्रे मातृभूमिवादी भएर गुटबन्दी गरेर विचारको हैन बद्नियतको विनिमय गरिरहेका छौं ।
गर्व र खुशीसाथ अर्को देशको नगरिकता ग्रहण गरेका हामीले कुन मुखले यी काम–कुरा गरिरहेका छौं ?
एमालेको गत अधिवेशनमा अमेरिकाबाट आठ प्रतिनिधि सहभागी भएको कुरा प्रकाशमा आएको थियो ।  यसअघि काँग्रेसमा चोरबाटोे भएर गएका पाँच प्रतिनिधि सहभागी भएका थिए । काँग्रेसकै आगामी अधिवेशनका लागि १४ जना अमेरिकाबाट छिर्दै छन् ? यिनको नागरिक, कानुनी र वैधानिक आधार के हो ?  
अधिवेशनमा सहभागी हुनु भनेको नेपालको राजनीतिको मूलधारमा टेक्नु हो । नेतृत्व चयन र नेतृत्व ग्रहणमा आधिकारिकता प्राप्त गर्नु पनि हो । यी विदेशी मत हेर्दा झिनो देखिए पनि निर्णायक हुन सक्छन् । यिनै निर्णायक मतले सम्बन्धित दलको नीतिमा परिवर्तन ल्याउन सक्छ । दलको नीतिले देशको भविष्यलाई निर्धारण गर्ने हुन सक्छ । भोलि बराक ओबामा नाम गरेका एउटा व्यक्ति नेतृत्वको आकांक्षी भएर अमेरिकाबाट नेपालका राजनीतिक दलको प्रतिनिधि भएर भयो भने रोक्ने आधार के ?
राज्यले खोजी गर्नु पर्ने हो कि सम्बन्धित दलले सच्याउनु पर्ने हो ? अथवा हामी आफैंले हाम्रो नागरिक, नैतिक र वैधानिक आधार र अधिकारलाई आत्मसात गर्नु पर्ने हो ?
निर्लज्जता यतिसम्म छ कि ग्रीनकार्ड र पीआर लिएका कर्मचारीलाई एउटा मन्त्री पदीय मर्यादा नाधेर कर्णालीमा बगाउँछु भन्छन् । अर्का मन्त्री नैतिक मर्यादा नाधेर भ्रष्टाचारमा समेत विवादित बनेका तीनै पीआरवालाई आदर्श ठान्छन् । पुरस्कृत गर्छन् । यस्तैलाई सरकारका संवेदनशील स्थानमा नियुक्ति गर्छन्। सरकार सबै ढोकामा पहुँच बनाइदिन्छन् । के हामी धेरै जसो यस्तै लाभका लागि यस्तो गरिरहेका छौं ?
नेपालमा लोकतन्त्र छ । लोकतान्त्रिक मुलुकको मूलबासी भएको नाताले हामीमा भिन्न राजनीतिक चिन्तन हुनु स्वाभाविक हो । तर आफ्नो दायरा र मर्यादालाई हामीले कहिल्यै विर्सनु हुदैन । हामी नेपालका नेता–जनतालाई सुध्रिन सुझाव दिन्छौं तर हामी आफू कति सुध्रेका छौं ? आफूलाई सुधार हैन कति बिगारेका छौ ? कहिल्यै ख्याल गरेका छौ ?
भोलि नेपालको एउटा नागरिकले सोध्ला– तँलाई के अधिकार,  मेरो देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने ? त्यसमा अर्कोले अर्कोले थप्ला– के अधिकार, मेरो देशको संविधान र सङ्घीयताको बारेमा बोल्ने ? धर्मका बारेमा बोल्ने ? पर्सी अर्कोले अर्को प्रश्न राख्ला– के अधिकार, मेरो देशको जातीय मुद्दालाई उठाउने ? हाम्रो सामाजिक सद्भावलाई विथोल्ने ? दूर्भावना फैलाउने ? त्यसपछि कसैले कानुनी उपचार खोज्यो भने हरियो मुख लागउनु बाहेक केही नहुन सक्छ !
राजनीति गर्ने भए नेपाल आऊ, नत्र विदेश बसेर बक्बक् नगर भनेर कसैले चुनौति दियो भने कुकुरले पुच्छर लुकाए जस्तो गर्नु बाहेक के गर्न सक्छौ हामी ?
सायद हामी संयमित र सन्तुलित भएर सुझाव दिन सक्छौ तर अधिकार ठानेर आदेश दिन सक्दैनौं । आफूलाई अनागरिक बनाएपछि नागरिकको अधिकार पाउँन सक्दैनौं । 
राज्य किन संवेदनशील छैन यस्तो जटिल विषयमा ? राज्य संचालनका भागिदार पार्टीहरुमा यस्ता कुरा बुझ्ने सक्ने सामान्यज्ञान किन छैन ? कुन आधार र कुन नैतिकतामा नेपालका पार्टीहरु विदेशमा आफ्ना भातृसंगठन खोलेर  उद्धाटन गर्दै हिडेका छन् ? कसले दियो यिनलाई यो अधिकार ? पार्टीले आफूलाई किन देशको मूल कानुन भन्दा माथि राख्दैछन् ? किन अर्काको देशको कानुनसँग जोरी खोज्दैछन् ???
कानुनको त भएन, निष्ठा र नैतिकता भन्ने शब्दसँग पनि राजनीतिको सम्बन्ध छदै छैन भने भन्नु केही छैन ।
हालः अमेरिका । source : setopati

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक