(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20150329

‘न्युयोर्कको सब्जी दोकानमा काम गरेर बस्छु होला बरू, अब... मलाई पुग्यो।’

- ज्योति देवकोटा 


आफु सँगै पत्रकारिता गरेको एउटा पत्रकार साथी डा. प्रदीप भट्टराई आफु पनि रोएछन ! ज्योतिभाइलाई पनि रुवाएछन ।  त्यती मात्र होइन मलाई पनि रुवाए आज यिनले । साथी जिन्दगी भन्नुनै संघर्श हो । तिमी सधैं डेटर जिएको मैले देखेको छु, तिम्रो भावना मैले पनि बुझेको छु । उता त्यस्तै छ ! मैले पनि सबै देखे भोगेको छु, झन्डै मारिएकोछु, तिमी प्रत्यक्ष दर्शी छौ ।  मेरो घाऊ निको भैनसके पनि अली अली निको गराउने कोशीस गर्दैछु । आशा छ तिम्रो घाऊ पनि एक दिन अबश्य निको हुनेछ, प्रतिक्षा गर । म सधैं तिम्रो साथमा हुनेछु । भगवान सँग प्राथना गर्दछु तिम्रो कामना पुरा होस् । भाउजुको स्वास्थ्य पूर्ण निको होस् । डोजर लागेको तिम्रो घर फेरी पूर्ण होस । मेरो साथी डा. प्रदीप भट्टराई हाँसी खुशी जिन्दगी जिएको, अगाडि बढेको देख्न पाउँ । अन्त्यमा प्रदीप रुवाउने, आफु पनि रुने र सँगसँगै मलाई पनि रुवाउने ज्योति भाईको कलमलाई खोइ कसरी बयान गरुँ !   - रामप्रसाद खनाल          
       ‘न्युयोर्कको सब्जी दोकानमा काम गरेर बस्छु होला बरू, अब... मलाई पुग्यो।’ १६ वर्षसम्म लगातार ‘ब्रेन ट्युमर’को उपचारपछि अलिकति तंग्रिन लागेकी श्रीमती र सातवर्षको छोरोलाई दिदीसासूको घरमा छाडेर अमेरिका आइपुगेका डा. प्रदीप भट्टराईले यस्तो भनिरहँदा उनका दुवै आँखाबाट आँसु झरिरहेका थिए। मैले पनि रोक्न सकिनँ। मेरिल्यान्डको
वेथेस्डामा रहेको डबल ट्री होटलको कुनामा हामी दुवैजना सँगै रोयौँ।
मैले अर्का समाजशास्त्री डा. सौभाग्यजंग शाहलाई सम्झेँ। अमेरिकामा पाएको अवसर त्यागेर देशमै काम गर्नुपर्छ भनेर फर्किएका थिए उनी। २०६१ सालतिर डा. शाहलाई नक्सालको भगवतीबहालबाट मोटरसाइकलको पछाडि बोकेर पुल्चोकस्थित उनको डेरा पुगेको थिएँ। शाहको डेरासम्म पुगुन्जेल र उनको डेरामा बिताएको करिब डेढ घन्टासम्म उनले गरेका कुराकानीको एउटै आशय थियो- फरक संस्कारको श्रीमती बिहे गरिसकेपछि सायद म नेपाल फर्किन नहुने थियो।
तीन महिना ढिलो फर्केको निहुँमा त्रिभुवन विश्वविद्यालयले अमेरिका पढ्न गएदेखिको शाहको तलब रोकेको थियो। कर्णालीमा जन्मेको मान्छे, पुर्ख्यौली केही पनि थिएन। एनजिओमा उधारो कन्सल्ट्यान्सी गरिरहेका थिए उनी। आर्थिक अवस्था राम्रो थिएन। ४२ वर्षको उमेरमा उनले भोगेको मृत्यु कहीँ कतै उनको निराशासँग पनि जोडिएको थियो कि जस्तो लाग्छ अहिले पनि मलाई।
डा. प्रदीप भट्टराई पनि शाहजस्तै अर्को पात्र लाग्यो मलाई। भट्टराई यसअघि दुई दुईपटक अमेरिका पढ्न आएका थिए, देश फर्केर गए। उनलाई लाग्थ्यो- दक्षता र क्षमता देशभित्र खर्च गरिएन भने आउने पुस्ताले नयाँ नेपाल देख्न पाउने छैन। 
तर, यसपटक देश छोडेर हिँड्ने बेलामा उनलाई लाग्यो- आफ्नै मुलुकमा दोस्रो दर्जाको नागरिक भएर बाँच्नुभन्दा तेस्रो मुलुकमा गएर दोस्रो दर्जाको नागरिक भएरै बाँच्नु ठिक हो। लामो मौनता तोड्दै उनले थपे, ‘घुँडा टेकेर उभिनुभन्दा आफ्नै खुट्टा टेकेर घिस्रिनु उचित लाग्यो मलाई।’
भट्टराईलाई डा. बनाउन देशले सुको लगानी गरेको होइन। प्रथम श्रेणीमा एसएलसी पास गरेपछि ठूलो ‘रिस्क’ लिएर ताप्लेजुङबाट भागे उनी। २०४१ सालको असार अन्तिम साता गाउँ छाडेका उनी काठमाडौं पुग्दा साउन पहिलो साता बितिसकेको थियो। हार्नलाई केही नहुनेसँग जित्नलाई संसार हुन्छ भनेर उनी देशको राजधानी पसेका थिए। पढाइमा जिल्लाभरि नै कहलिएको ठिटो कलेजमा पनि राम्रै गर्‍यो।
घरबाट पैसा आउने बाटो थिएन। त्रिचन्द्र कलेजमा पढन थालेपछि नयाँबानेश्वरका राजेन्द्र कुवँरकी छोरी, जो अहिले मेडिकल डाक्टर छिन्, उनलाई ट्युसन पढाएबापत महिनाको दुईसय रुपैँया र एकछाक भातको जोडजाम गर्न सके उनले।
प्रत्येक शनिबार २५ रुपैयाँमा भाडामा पाइने ठेलागाडामा काठमाडौँको पक्नाजोल, नयाँबजार क्षेत्रपाटीतिरका गल्ली र सडकमा बगाउनसम्म पसिना बगाए। त्यही नीलो पसिनाको पाइन लगाएरै उनी प्रदीप भट्टराईबाट डा. प्रदीप भट्टराई बन्न सके।
सबै सामान्य विद्यार्थी डा. बन्न सक्दैनन्। क्षमता पहिलो कुरा हो। लगानी र मिहिनेतले मात्र डा. बन्न सकिँदैन। तर, देशभित्र रहेका क्षमतावानहरूलाई यसरी नै गुमाउँदै जाने हो भने अन्तरालमा हाम्रासामु देश छाडेर बाहिरिएका सक्षमहरूलाई ‘नेपाली मूलका’ भनेर नेपालबाट ताली पिट्नुको अर्को विकल्प रहने छैन।
अमेरिका अथवा युरोपमा क्षमता भएको विद्यार्थीले पिएचडी गर्छु भन्यो भने खानेबस्ने सबै सरकारले बेहोर्छ। हाम्रो राज्यसँग यो क्षमता छैन। तर, ठेलागाडा धकेलेर डा. बनेपछि व्यक्तिको क्षमता, लगानी र खोज देशसँग जोडिन पुग्छ। अनि, देशले त्यो क्षमताको सदुपयोग गर्नुपर्ने हो कि होइन?
देशमा चलचित्र विकास बोर्ड छ। सञ्चार मन्त्रालय छ। सूचना आयोग छ।  यी कुनै पनि ठाउँमा अनुपयुक्त हुने व्यक्ति होइनन् डा. भट्टराई। २०६६ सालताका शंकर पोखरेल सञ्चारमन्त्री भएका बेला भट्टराईले मुख खोलेर चलचित्र बिकास बोर्डको अध्यक्ष मागेका थिए। तर, उनी सदस्यका लागि पनि उपयुक्त ठहरिएनन्।
जीवनको धेरै कालखण्ड पोखरेल नै रहेको दलमा बिताए भट्टराईले। आफूले खर्चेको समयको हिसाबकिताब होइन, क्षमताको सम्मान खोजेका थिए। चलचित्रको जोडघटाउसम्म नजान्नेहरू जम्मा हुन थालेपछि उनलाई लाग्यो- मुलुक राम्राको होइन, हाम्राको मात्र रहेछ।
चारवटा फरक विषयमा एमए र चलचित्रमा पिएचडी गरेका गोल्ड मेडलिस्ट डा. भट्टराईलाई अमेरिका आउनुभन्दा अगाडिसम्म पनि जागिरको चिन्ता थियो। चलचित्रमा शोध गरेर पिएचडी गरेको देशको एउटा मात्र डा. लाई जागिरको चिन्ताले यसरी सताइरहन्छ भने नेपालको धरातलीय यथार्थ के छ बुझ्न धेरै दिमाग लगाइरहनै पर्दैन।
पाइयो भने किन देशै छोड्नु र! भन्ने इच्छा दुवैपटक जागृत भएर आयो त्यसैले दुईपटक अमेरिकाबाट पुनः नेपाल फर्केका थिए।
डा. प्रदीप भट्टराई किन एउटै जागिरमा टिकेनन्, त्यसका यावत कारण छन्। ४६ वर्षको उमेरमा गनेर ५५ वटा जागिर खाए उनले। तर, सबै जागिर ठेकेदारको ठेक्काजस्तो लाग्यो। उनी सुनाउँछन्, ‘म बाँच्न नजानेको मान्छे, स्वाभिमान र गरिबी एकै ठाउँमा बस्न नसकेर हो किजस्तो लाग्छ। भन्नेहरूचाँहि भन्छन्- तेरो योग्यता बढी भयो।’
जहाँ पढाउन पुगे पनि पत्रकारिताको नशाले कहिल्यै छोडेन उनलाई। ३० वर्षसम्म कुनै न कुनै रूपमा मिसन पत्रकारिता हुँदै व्यावसायिक पत्रकारितासम्म दौडिए उनी।
‘पाँच महिनाको तलब थाप्न बाँकी छ अहिले पनि। मैलेजस्तै मेरो देशमा धेरैले गर्ने व्यावसायिक पत्रकारिताको चरित्र हो यो,’ यसो भन्दै गर्दा अमिलो अनुहारमा उनको पीडा हाँस्दै थियो।
एभरेस्ट बैंकबाट लिएको ऋण तिरिसकेकै वर्ष घरमा बुल्डोर चल्यो। काठमाडौंको सडक बिस्तारमा उनको घरको आधा बाटोमा गयो, बाँकी श्रीमतीको उपचारमा। उतिबेला डा. प्रदीप भट्टराईले औचित्यबिना घरमा बुल्डोर चल्दा आत्महत्या नै गर्ने सार्वजनिक घोषणा गरेका थिए।
‘आत्मसम्मानमा चोट परेपछि मान्छेका अगाडि बाँकी सबै अन्धकार देखिँदो रहेछ। तर, आश्रित श्रीमती र सानो छोरोको मायाले त्यो बाटो पनि पनि हिड्न सकिनँ’, ओभाउँदै गरेका उनका आखाँमा पुन: आँसु बग्न थालेका थिए। मलाई वास्तवमै देशप्रति वितृष्णा जागेर आयो।
पछिल्लो समय उनका लागि काम सीमित हुँदै थिए। घन्टीको गन्तीमा विश्वविद्यालयमा पढाउन त पाइने तर त्यसबाट आउने रकम भने भन्न पनि लाज लाग्ने। तैपनि उनलाई काम नपाइएला भन्ने चिन्ता थिएन।
२० वर्षसम्म लगानी गरेर सिकेका कुरा देशलाई दिन नसकेकोमा चित्त दुखेको छ उनको। ‘मैले सिकेको र जानेको कुरा देशलाई बाँड्न नपाउने हो भने देशको भुँइ नाप्नुको के अर्थ रहन्छ र?’ उनले तेर्स्याएको यो प्रश्न डा. भट्टराईजस्तै थुप्रैको साझा प्रश्नजस्तो लाग्यो मलाई।
पिएचडी गर्नु भनेको नामको अगाडि डा. लेख्नु मात्र होइन। क्षमताप्रतिको सम्मान पनि हो। पश्चिमेली मुलुकहरूमा डा. शब्द बेरोजगार भयो भने सरकार विचलित हुन्छ। हाम्रो देशमा सीप, सेवा र सम्मानको उपयोग गर्न नपाएका सयौं डाक्टर अहिले पनि युरोप वा अमेरिकाका लागि खुट्टा उठाएर बसिरहेका छन्।
डाक्टर प्रदीप भट्टराईका पाइला नै त्यसरी उचालिने अन्तिम पाइला बनून्। प्रिय कामना।
राति घरमा फर्केर पूर्वस्मृतिमा गएँ। डा. शाह अनि डा. भट्टराई आलोपालो लामो समयसम्म मस्तिष्कमा नाचिरहे। मस्तिष्कमा एकनासले डा. भट्टराईको त्यही भनाइ दोहोरिरहेको थियो, ‘न्युयोर्कको सब्जी दोकानमा काम गरेर बस्छु होला बरू, अब ... मलाई पुग्यो।’
‘मैले उनलाई त्यसो नगर्नुस्, देश फर्कनुहोस्’ भन्नसम्म सकिरहेको छैन। - साभार : सेतोपाटी ग्लोबल 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक