20150714

आर्थिक वर्ष २०७२/७३ का लागि रु आठ खर्ब १९ अर्ब ४६ करोड ८८ लाख ६४ हजारको बजेट

काठमाडौँ, २९ असार । सरकारले आर्थिक वर्ष २०७२÷७३ का लागि रु आठ खर्ब १९ अर्ब ४६ करोड ८८ लाख ६४ हजारको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री डा रामशरण महतले व्यवस्थापिका–संसद्मा आगामी आवका लागि वार्षिक आयव्ययको विवरण प्रस्तुत गर्दै कुल विनियोजनमध्ये चालु खर्चतर्फ रु चार खर्ब ८४ अर्ब २६ करोड ६३ लाख ७५ हजार र पुँजीगत खर्चतर्फ रु दुई खर्ब आठ अर्ब ८७ करोड ४२ लाख ४२ हजार विनियोजन
गरिएको बताउनुभयो ।यस्तै वित्तीय व्यवस्थातर्फ रु एक खर्ब २६ अर्ब ३२ करोड ५२ लाख ६७ हजार विनियोजन गरिएको छ ।
प्रस्तुत खर्चको अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा ३२ प्रतिशत र संशोधित अनुमानको तुलनामा ५६.८ प्रतिशतले बढी हो ।आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट रु चार खर्ब ७५ अर्ब एक करोड २१ लाख, साँवा फिर्ता प्राप्तिबाट रु दुई अर्ब, वैदेशिक अनुदानबाट रु एक खर्ब १० अर्ब ९२ करोड ९४ लाख सात हजार, व्ययभार रु दुई खर्ब ३१ अर्ब ५२ करोड ७३ लाख ७७ हजार न्यून हुनेछ ।
न्यून बजेट पूर्ति गर्न विदेशी ऋणबाट रु ५४ अर्ब ९६ करोड ४७ लाख चार हजार, राजस्व र वैदेशिक सहायता परिचालनबाट रु एक खर्ब ३६ अर्ब ५६ करोड २६ लाख ७३ हजार न्यून हुन जानेछ ।न्यून बजेट पूर्ति गर्न रु ८८ अर्ब आन्तरिक ऋणबाट र रु ४८ अर्ब ५६ करोड २६ लाख ७३ हजार चालु खर्चको नगद मौज्दातबाट व्यहोरिनेछ अर्थमन्त्री डा महतले जानकारी गराउनुभयो ।
सत्तारुढ एक प्रमुख घटक नेकपा (एमाले) ले मङ्गलबार व्यवस्थापिका–संसद्मा प्रस्तुत आर्थिक वर्ष २०७२÷०७३ को वार्षिक बजेटप्रति कडा आपत्ति जनाएको छ । बजेट एकपक्षीय, असन्तुलित र अव्यवहारिक रहेको सो पार्टीले आरोप लगाएको छ ।
संसद् भवन नयाँ वानेश्वरमा साँझ बजेट प्रस्तुत भएपछि बाहिरिने क्रममा एमालेका नेताहरूले बजेटलाई समर्थन गर्ने नगर्नेबारे पार्टीले आधिकारिक धारणा बनाउने प्रतिक्रिया दिनुभयो ।
त्यसका लागि बुधबार बिहान ९ बजे पार्टीको संसदीय दलको बैठक सिंहदरवारमा आह्वान गरिएको र सो बैठकले बजेटबारे आधिकारिक धारणा बनाउने संसदीय दलका प्रमुख सचेतक अग्नि खरेलले बताउनुभयो ।
“यो बजेट एकदम अव्यावहारिक, असन्तुलित, एकपक्षीय र समर्थन गर्न लायकको छैन, यसबारे पार्टीको संसदीय दलको बैठकले आधिकारिक धारणा तय गर्नेछ”, उहाँले भन्नुभयो ।
सत्तारुढ प्रमुख घटकलाई पाखा लगाएर काँग्रेसले एकलौटी सरकारको जस्तो बजेट ल्याएको उहाँले आरोप लगाउनुभयो ।
एमाले उपाध्यक्ष भीमबहादुर रावलले पुनस्र्थापना, ऊर्जा, कृषि लगायतका क्षेत्रका लागि बजेट सकारात्मक रहेको भएपनि सत्तारुढ प्रमुख घटकलाई पन्छाएर एकलौटी हिसावले काँग्रेसले बजेट प्रस्तुत गरेको आरोप लगाउनुभयो ।
“यो सरकार काँग्रेसको एकलौटी सरकार होइन, बजेट ल्याउँदा सत्तारुढ दलका नेता र मन्त्रीहरूसँग छलफल र सहकार्यका आधारमा ल्याइनुपथ्र्यो तर काँग्रेसले त्यसो गरेन”, उहाँले भन्नुभयो ।
ठूलो विकास आयोजनालाई निरन्तरता दिइएको भए पनि समग्रमा बजेट असन्तुलित रहेको उहाँले टिप्पणी गर्नुभयो ।
पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले भूकम्पले नोक्सान गरेको पुनर्निर्माणको पक्षमा, पूर्वाधार विकास, बजेट कार्यान्वयनको पक्षमा राम्रो रहेको टिप्पणी गर्नुभयो । तर प्राधिकरण गठन गरेर कार्यान्वयनको चुनौती रहेको बताउँदै उहाँले प्राधिकरण अधिकारसम्पन्न भएमात्र कार्यान्वयन हुने तर्क गर्नुभयो ।
कृषि उत्पादन बढाउनका लागि ठोस प्याकेज नआएको नेता अधिकारीले बताउनुभयो ।
बढ्दो व्यापार घाटा पूर्ति गर्न आयातमा कम र निर्यात बढाउनका लागि साना घरेलु उद्योग सञ्चालनको विषय बजेटमा नआएको टिप्पणी गर्दै पूर्व अर्थमन्त्री अधिकारीले साना र सहकारी लगानीको विषय, साना घरेलु उद्योगको पक्षमा बजेट कमजोर रहेको उहाँले बताउनुभयो ।
बजेट प्रस्तुत भएलगत्तै प्रमुख सचेतकसँगै बाहिरिनुभएका एमाले अध्यक्ष केपी शर्मा ओली निकै असन्तुष्ट देखिनुभएको थियो ।
पत्रकारले बजेटबारे प्रतिक्रिया दिन आग्रह गर्दा पनि उहाँले मान्नुभएन ।
“बजेटबारे धेरै असन्तुष्टि छ, भोलिको बैठकले यसबारे निर्णय गर्नेछ”, भन्दै उहाँले प्रमुख सचेतक खरेललाई पत्रकारको जिम्मा लगाएर पन्छिनुभयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक