20150718

भारतमा भ्रमणमा रहेका नेपालका दुई जिब्रे नेता छबिलाल उर्फ प्रचण्डले यस्तो पनि भन्न भ्याएछन "नेपालमा इसाईको संख्या बढ्नु हाम्रो लागि खतरा हो"

एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल यतिबेला भारत भ्रमणमा छन् । शुक्रबार भारतका राष्ट्रपति, प्रधानमन्त्री र गृहमन्त्रीसँग उच्चस्तरीय भेटवार्ता गरेकाछन् । दिल्लीमा रहँदा उनले भारतीय मिडिया ‘आउट लुक’ सँग नेपालको पछिल्लो राजनीतिक अवस्था र भारतसँगको सम्बन्धबारे चर्चासमेत गरे ।यसक्रममा उनले नेपालमा क्रिश्चियनको संख्या बढ्नु आफ्ना लागि चिन्ताको विषय हुँदै गएकोसमेत बताए । दाहालले नेपाल–भारतबीच सन् १९५० मा भएको मैत्रीपूर्ण सम्झौता अन्त्य गर्नुपर्ने पक्षमा आफूहरु रहेको पनि उल्लेख गरे । त्यसैगरी उनले आफूहरु संसदीय अभ्यासको विरुद्ध रहेको पनि प्रष्ट पारेका छन् ।
प्रस्तुत छ, दाहालले आउट लुकलाई दिएको अन्तर्वार्ताको अंशः

नेपालमा माओवादी आन्दोलनको त्यत्रो सफलता, जसका आधारमा राजतन्त्र अन्त्य भयो । त्यसका बाबजुद तपाईको पार्टीलाई गहिरो धक्का लाग्यो । तपाईहरुले जनाधार गुमाउनु भयो र विपक्षमा हुनुहुन्छ । अब अगाडीको बाटो कस्तो सोच्नु भएको छ ?

तपाईको कुरा ठिक हो । हामीले गल्ती गर्‍यौ र त्यसको परिणाम सामुन्ने छ । फेरि उठ्ने र नेपाली जनताका सामू बलियो विकल्प दिने चुनौती हाम्रा सामू छ । यसका लागि हामी तयारी गर्दैछौं । हाम्रो रणनीतिमा परिवर्तन आएको
छ । यो अति आवश्यक पनि थियो ।
नेपालमा बुर्जुवा लोकतान्त्रिक क्रान्तिको चरण राजतन्त्रको अन्त्यसँगै सकिएको छ । अब हामीले समाजवादी क्रान्तिको तयारी गर्नुछ । यसका लागि वामपन्थी तमाम दलहरुको साथ लिने कोशिस गर्नुछ । हामी यसको तयारी गर्दैछौं । अलग–अलग समूहमा बामपन्थी शक्ति बाँडिने हो भने प्रहार क्षमता कमजोर हुन्छ ।

समाजवादी क्रान्तिलाई कसरी व्याख्या गर्नुहुन्छ ? प्रमुख शत्रु को हो ?

अब नेपालमा न त्यस प्रकारको राज्यसत्ता छ, न त त्यस्तो सामन्तवाद नै छ । हाम्रो पार्टीको नेतृत्वमा भएको १० वर्षे जनयुद्धमा भूमि सम्बन्धमा धेरै परिवर्तन आएको छ । धेरै ठूला जमिनदार पहिले पनि नेपालमा थिएन, जो थिए– ती पनि समाप्त भइसके ।
नेपालको पहाडी क्षेत्रमा ३/४ हेक्टर जमिन र तराईमा १० बिघाभन्दा बढी जमिन कसैले राख्न पाउँदैन । हामी यस्तो प्रावधान संविधानमा पनि राख्न गइरहेका छौं ।

भारत–नेपाल मैत्री सम्झौता अन्त्य गर्नुपर्ने माग धेरै पुरानो भइसकेको छ । यस पटक पनि तपाई भारतीय पक्षसँग यस मुद्दामा कुरा गर्नुहुन्छ ?

यो सम्झौता एकतर्फी छ । सन् १९५० मा भएको यो सम्झौता राणा कालमा भएको थियो । हामी यसलाई अन्त्य गर्न चाहन्छौं । तर भारतले यो सम्झौता आफू एक्लैले अन्त्य गर्न नमिल्ने बताउँदै आएको छ । यसलाई दुबै पक्ष मिलेर अन्त्य गर्नु पर्दछ । यस विषयमा हाम्रो छलफल जारी छ ।

नेपाललाई फेरि हिन्दु राष्ट्र बनाउने सम्भावना कति छ ?

यो नेपालको समवेदनशील मुद्दा हो । यसका बारेमा नेपालमा ठूलो बहस भइरहेको छ । प्रलोभन दिएर वा डराई–धम्काई धर्म परिवर्तन गराउने कुराको हामी विरोधमा छौं । यसबारे हामीले संविधानमा पनि प्रावधान राखेका छौं । जोर–जबर्जस्ती धर्म परिवर्तन गराउनुलाई नयाँ संविधानले अपराध ठहर गर्नेछ ।

त्यसो भए तपाई हिन्दु राष्ट्रको समर्थकको प्रमुख माग स्वीकार गर्नुहुन्छ ? उनीहरु संविधानको यो प्रावधानबाट खुशी छन् ?

हेर्नुस्, नेपालमा हिन्दुहरुको जनसंख्या बढी छ । नेपालमा इसाईको संख्या बढ्नु हाम्रो लागि खतरा हो । हाम्रो एक छिमेकी चीन हो भने अर्को भारत । दुबै छिमेकी मुलुक नेपालको जनसंख्याको संरचना परिवर्तन भएकोमा चिन्तित छन् । चीनको दृष्टिमा यो पश्चिमी शक्तिको प्रभाव हो । हाम्रो राष्ट्रिय हितमा पनि यो छैन । तर साथसाथ यो पनि पक्का छ कि हामी नेपाललाई हिन्दु राष्ट्र बनाउन चाहँदैनौं । नेपाल धर्मनिरपेक्ष देश रहोस् भन्ने मै हाम्रो सम्पूर्ण कोशिस रहनेछ । तर कांग्रेससहित केही दल नेपाललाई हिन्दु राष्ट्र बनाउने कोसिसमा छन् ।

नेपालमा संविधान निर्माणको प्रक्रिया निकै लामो र जटिल हुँदै गएको छ । तपाईहरु पनि सत्ता बाहिर हुनुहुन्छ । कसरी नेपालको संविधानले गरिब र पिछडिएका समुदायको प्रतिनिधित्व गर्छ ?

हामीले तय गरिसकेका छौं, हामी सरकारमा रहेर, सदनमा रहेर, सडकमा रहेर पनि संघर्ष गर्छौं । नेपाल हाम्रो हो, हामीले यसलाई बनाएका हौं र आगामी दिनमा पनि हामीले नै यसलाई अझ राम्रो बनाउँदै लैजाने हो । संविधानमा धेरै राम्रो र सकारात्मक प्रयोग हामीले गरेका छौं । कुनै प्रकारको राजतन्त्रलाई संविधानमा निषेध गरिएको छ । समानुपातिक प्रतितिधित्वको प्रावधान छ । महिला, दलित, पिछडिएका समुदायको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । हामी संसदीय प्रणालीको विरुद्ध छौं । संसदीय प्रणालीबाट कहिल्यै पनि अराजकता अन्त्य हुँदैन ।

के फेरि पनि सशस्त्र क्रान्तिको आवश्यकता महसुस हुन्छ ?

अहिले त त्यस्तो छैन । अहिले शान्तिपूर्ण संघर्षको समय हो । क्रान्तिकारी आन्दोलनमा रणनीतिको अलग–अलग चरण हुन्छन् । समाजवादी क्रान्तिका लागि जब स्थिती परिपक्व हुन्छ, त्यतिबेला बल प्रयोग विना सत्ता परिवर्तन सम्भव हुँदैन ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक