20150731

म पुरानो नेपालको मान्छे !

गर जती सक्छौ मलाई गाली गर सत्तोसराप गर
आनन्दित होउ 
म पुरै दोशी छु !
किनकी म परदेशमा बसेर पनि
न त तिमीले जस्तो
नेपाल भुल्न  सकेको छु
नत अपराधका नायकहरुको दैलो दैलोमा
चाहर्दै डुल्न सकेको छु
नत सँस्क्रिती परम्परा नेपालीत्व भुल्न सकेको छु
हो म पुरै दोशी छु
बिदेशमा बसेर पनि लोकगीत र दोहोरी गाऊने पाखे म
नेपाली मनहरुलाई नचाउने लाखे म
अनुशासन, मर्यादा, रिती, रिवाजको  पुरानो कुरा गर्ने

परदेशमा बसेर पनि स्वदेश सम्झिने
हो म पुरै दोशी छु
गर जत्ती सक्छौ मलाई गाली गर
म त पुरानो नेपालको मान्छे
मलाई न त  सँघियता थाहा छ
नत संबिधान बनाउन बर्सौँ लगाउने बिधी
न त ६०१ सभासदको संसद
 न त शान्ती र संबिधानका नाममा खर्बौँ लुट्ने खेल
न त सत्ताको लुछाचुँडी र जाल झेल   
न त जात जाती भाषाभासी लडाउने खेल
म त पुरै अनाडी छु
न त मैले जँगलीतन्त्र जानेको छु
न त तिम्रो देखाउने लोकतन्त्र र गणतन्त्र मानेको छु
पूर्व मेची देखी पश्चिम महाकाली लाई नेपाल मान्ने
सबै नेपालीलाई आफ्नै दाजुभाइ ठान्ने
म जस्तो पट मुर्खलाइ तिमी कसरी पचाउँछौ र !
गर धारे हात लगाएर गाली गर
उल्टा सीधा बात लगाएर गाली गर
किन कि म पुरै दोशी छु
नयाँ नेपाल नबुझ्ने म जस्तो पट मुर्खलाई
देश चिरा चिरा पारेर भागबन्डा गर्ने र स्वराज गर्ने
यती कुरा पनि नबुझ्ने म जस्तो बज्र स्वाँठलाई
तिमी कसरी प्रशंशा गर्न सक्छौ र ?
गर मज्जाले गाली गर
धार्नी हात लगाएर गाली गर
हैजाले लैजाने भन
दैबले लैजाने भन
किनकी म पुरानो नेपालको मान्छे हुँँ
मलाई तिम्रो नयाँ नेपाल होइन
एकता र सदभाब  सहितको पुरानै नेपाल प्यारो लाग्छ
हिमाल पहाड तराइ एक भएको नेपाल प्यारो लाग्छ
ति पुराना एक मन एक तन भएका नेपाली प्यारो लाग्छ
बिदेशमा बसेर पनि नेपालको राजनीति गर्न नजान्ने
जुन सुकै बिचारधारा मान्नेलाइ पनि "अाफ्नै नेपाली" ठान्ने
मधेशी पहाडी हिमाली कसैलाई भेदभाब गर्न नमान्ने
कुरा काट्नमै रमाउने हरुका बिचमा
कानेखुशी इर्श्या डाह साट्नमै रमाउनेहरुका बिचमा
होस्टेमा हैँसे गर्न पनि नजानेको, नमानेको
म जस्तो उल्लु, जमाना नबुझेको झल्लुको के काम ?!
त्यसैले, गर मलाई गाली गर सत्तोसराप गर                                      
कली युगमा सत्य युगका कुरा गर्ने
म जस्तो अबुझ, म जस्तो अनाडी !
कती खेर काहिं तिमीलाई मात्र होइन
मलाई म सँग पनि घ्रिणा लाग्छ
आफैले आफैलाई गाली गर्न मन लाग्छ
मुर्ख मनुवा तँ कुन युगको मान्छे होस ??
यि र यस्ता प्रश्न तेर्स्याउन मन लाग्छ !
म पाजी अनुत्तरित छु, अनाडी छु
किनकी म पुरानो नेपालको मान्छे !   
- Ram Prasad Khanal, Virginia USA
(मेरो प्रकाशोन्मुख कबिता सँग्रह "देश हराएको मान्छे" बाट एउटा कबिता तपाईंका लागि । )     

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक