20150730

अमेरिका पसेर कतै मैले मेरो पुस्तानै सखाप त पार्दै छैन ??

- रामप्रसाद खनाल, अमेरिका 
अमेरिकाको भर्जिनिया उडस्टकमा व्यापार गरेर बस्ने मेरो एकजना नेपाली साथी बिनोद निरौलाजीको सानो छोराले निरौलाजीसँग हरेक शनिवार र आइतवार सोध्दा रहेछन्: बाबा सबै चर्च जान्छन्, हामी किन चर्च नगाको ? त्यो सानो छोराले निरौलाजीसँग झगडा पनि गर्दारहेछन्– मलाई चर्च लगिदेउ भनेर। २० वर्ष अमेरिकी  राजदुतावास काठमाडौंमा कार्यरत निरौलाजी अमेरिकी सेवा गरे वापत अमेरिकी सरकारद्वारा सहुलियत स्वरुप दिइएको ग्रीनकार्ड लिएर अमेरिका आउनु भएको रहेछ। ससाना छोराछोरी र श्रीमतीलाई साथ लिएर ।  वहाँ बस्ने उडस्टकमा नेपाली समुदाय नभएको र वहाँको सानो छोराले त्यहाँ देखेका,भेटेका  छरछिमेकी अमेरिकीहरु, स्कूलका उनका साथीभाई सबै चर्च गएको देखेकाले उनलाई पनि चर्च जान मन लाग्यो। नजिकमा मन्दिरहरु नभएको, नेपाली समुदाय नभएकाले निरौलाजीको सानो छोरा, छोरीलाई नेपाली संस्कृति, परम्परा, हिन्दूधर्मबारे केही थाहा छैन। निरौलाजी भन्नुहुन्छ– खनालजी, म व्यवसाय बिक्री गरेर नेपाली समुदाय भएको, मन्दिर नजिक भएको ठाउँमा सर्नुपर्नेभयो, छोराछोरीले आफ्नो धर्म, संस्कृति सबै बिर्सिने भए, बर्बाद भयो । 
मैले यो प्रसङ्ग यहाँ किन उठाएको हुँ भने हामी नेपाली हौं, हामी नेपालबाट अमेरिका आए पनि वा संसारको जनुसुकै भूगोलमा पुगे पनि आफ्नो धर्म, संस्कार, रिति रिवाज, परम्परा छोड्न सक्देनौं र छोड्न
पनि हुँदैन। निरौलाजी मात्र एकजनाको उदाहरण होइन, म २००७ देखि अमेरिका बस्न थालेपछि म एउटा नेपाली गायक, कलाकार, समाजसेवी कार्यकर्ता भएर अमेरिकाको ३४ राज्य घुमेको छु, कार्यक्रमहरु, शो हरु गरेको छु ।  संसारका ३३ देश घुम्दा धेरै विनोद निरौलाजीहरु भेटेको छु। 

म व्यक्तिगत रुपमा भन्छु– मेरा पनि छोरा छोरी छन् यहाँ। अमेरिका बस्न थालेको ८ वर्ष भयो, मेरा छोरा छोरीलाई नेपाली सँस्कार, धर्म, रिति रिवाज, संस्कृति सिकाउँदै त छु तर नेपालमा हुँदा जत्तिकै उनीहरु यहाँ प्रतिवद्ध छैनन्, बिस्तारै उनीहरुलाई पनि अमेरिकी हावापानी, वातावरण, यहाँको संस्कृतिले कताकता छोएको मैले पनि अुनभव गर्छु। वर्षौं यहाँ बसेपछि यहाँको संस्कृतिले छुनु अनौठो कुरा पनि भएन तर मलाई के लाग्छ भने सम्भवतः मेरो शेषपछि मेरा धेरै आफन्तजनहरुबाट मेरा छोरा छोरी पनि टाढा हुनेछन ।   हाम्रो  नाता सम्बन्धको डोरी बिस्तारै टाढिदै जानेछ, मेरा सन्तानले मेरा सबै आफन्तजनसँग सानिध्यतामा बाँधिन पाउने छैनन् र मेरा आफन्तजनहरुले मेरा सन्तान सानिध्यतामा चाहेर पनि बाँध्न  सक्ने छैनन् । 

नेपाल, सम्झिनुस त  पृथ्वीको एउटा गोलार्द्ध हो भने अमेरिका अर्को । नेपालमा दिन हुँदा अमेरिकामा रात र अमेरिकामा दिनहुँदा नेपालमा रात हुने कुराले पनि यो कुरा पुष्टि गर्छ। मलाई साह्रै चिन्ता के छ भने मसँगै कतै मेरो पुस्ता नै नेपालबाट सदाका लागि सखाप हुने त होइन ? भनेर । 

म आफू एक नेपाली गायक, कलाकार भएको नाताले, त्यसबाहेक एउटा सचेत नेपाली नागरिक र पत्रकार भएको नाताले मैले के अनुभव गरेको छु भने हामीले हामी अमेरिका वा संसारको जुनसुकै ठाउँमा भए पनि निम्न कुरा कहिल्यै भुल्न हुँदैन:
१) हामी घरमा हाम्रा बच्चाहरुसँग सधैं नेपाली भाषामा नै बोल्नुपर्छ।
२) हाम्रा नेपाली चाडबाड, रितिरिवाज मान्नुपर्छ र बच्चाहरुलाई त्यसबारेमा जानकारी गराउँदै जानुपर्छ।
३) नेपाली जमघट, पिकनिक, सांस्कृतिक कार्यक्रममा बच्चाहरु सहित सहभागी हुनुपर्छ।
४) नेपाली समुदायमा मर्दापर्दा, सुखदुःखका घडीमा हाम्रा बालबच्चासहित सहभागी हुने, नेपालीपन स्मरण गराउने गर्नुपर्छ।
५) नेपालबाट आउने हजुरबा, हजुरआमा, आमाबाबु, नातेदारहरु हरेकसँग नजिक बनाउने प्रयास गर्नुपर्छ। 
६ ) हामी अमेरिकामा भए पनि अहिले संसार निकै सानो भइसकेको छ। फोन, स्काइप, भिडियोकल, यी र यस्ता माध्यमबाट भए पनि नेपालमा भएका आफन्तजनसँग आफ्ना बालबच्चालाई सम्पर्कमा राखिरहने, सम्झाउँदै गर्ने गर्नुपर्छ।
७) स्कुल, कलेजको पढाई अनि कामका क्रममा स्वभाविक रुपमा तपाई हाम्रा बालबच्चा सहपाठी, सहकर्मी अमेरिकन उनीहरुका साथीहरुको संगतमा पर्छन, टाढिन खोज्छन् नेपालीपनबाट, त्यसबखत बच्चाहरुलाई आमाबाबुले आफ्नो धरातल, आफ्नो बिगत, यथार्थ, आफ्नो संस्कृति, परम्परा, रिति रिवाजबाट हस्तक्षेप गर्ने, सम्झाउने र अभिभावकत्व कुशल ढंगले निर्वाह गर्ने गर्नुपर्छ।
८) समय समयमा नेपाली भाषा कक्षा, प्रवचन, मन्दिरहरुमा हुने धार्मिक कार्यक्रमहरु, नेपाली समुदायमा गरिने सास्कृतिक कार्यक्रममा बच्चाहरुलाई सामेल गराउने, सामेल हुने गर्नैपर्छ।
९)  नेपाली गीत संगीत सुनाउने, भिडियो, फिल्म देखाउने, चाडबाडहरुमा त्यसको महत्वका बारेमा बताउने गर्नुपर्छ। त्यस्तै नेपाली कार्यक्रमहरु जुन इन्टरनेटमा उपलव्ध हुन्छन्, सँगै बसेर हेर्ने गर्नु उपयुक्त हुन्छ।
१०) घरमा कोही आएको छ वा तपाईं  अरुको घरमा जानु भएको छ भने सकेसम्म के प्रयास गर्नुस् भने तपाईहरु भलाकुसारी गर्दा, तपाईहरु सँगै राखेर उनीहरुलाई पनि सहभागी गराउने, उनीहरुलाई पनि कुराकानीमा समावेश गराउनु अति उत्तम हुन्छ।
११) सकिन्छ भने वर्षमा एकपटक, सकिन्न २ वर्षमा एकपटक, त्यो पनि सकिदैन भने ३ वर्षमा सही एकपटक नेपाल सपरिवार जाने, आफन्तजनसँग भेटघाट गर्नु, चाडबाडका बेला जानु उत्तम हुन्छ। 
१२) आफ्नो चालचलन, लवाई खवाई, संस्कृति नेपाली अपनत्वका बारेमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा यदि तपाई हामीले हाम्रा बालबच्चालाई निकट बनाउन सकेनौं भने पछि वा पुस्ता नासिने कुरा परै छाड्नोस् हाम्रै बालबच्चा हामीसँग टाढा हुनेछन्। १८ वर्ष पुगियो, अव कहाँ आमाबाबुसँग बस्ने? अलग बस्नुपर्छ भन्न थाल्नेछन्। हामीसँग होइन, अलग बस्ने, ब्यायफ्रेन्ड–गर्लफ्रेन्डको संस्कारतिर मोडिने छन् र हामी पनि क्रिसमसमा छोराछोरी भेट्ने दिन सम्झेर कुर्नु पर्नेछ। हामी बृद्धावस्थामा एक्लै हुनेछौं, सचेत हुनैपर्छ।

सबै अमेरिकी संस्कार खत्तम हुन्, यो कुनै हालतमा होइन। यहाँ अत्यन्त राम्रा संस्कार, अनुशासित पारिवारिक वातावरण पनि छन्। नेपालमा भन्दा झन कडा अनुशासनमा रहेका बालबच्चा मैले धेरै देखेको छु। तर दुःखद पक्ष के भने हामी पहिलो पुस्ताका नेपालीहरु धेरैजसो अमेरिका मात्र होइन कुनै पनि देशमा निम्न स्तरको काम, जागीर गर्न बाध्य छों। हाम्रो संगत निम्नस्तर सँगकै अमेरिकन वा विदेशीहरुसँग हुन्छ, हामीले माथिल्लो तहसँग निकट हुन, संगत गर्न, सिक्न मौका नै पाउँदैनौं। त्यसकारण हामी थुप्रै राम्रा कुरा, राम्रा संस्कारबाट बन्चित पनि छौं। यद्यपि हामी पछाडि होइन अगाडि बढ्नैपर्छ। 

भाषा, संस्कृति, परम्परा बिर्सिदै गइयो, बालबच्चालाई बिर्साउँदै लगियो भने नतिजा हामीले हाम्रै जीवनकालमा भोग्नु पर्नेछ, पछुताउनु पर्नेछ, बृद्धाश्रममा बुढालाई बुढी र बुढीलाई बुढोमात्र भएर बाँच्नु पर्नेछ।  अझ त्यसमध्ये जो छिटो मृत्युवरणमा परिन्छ, बाँच्नेले एक्लै पीडादायी जीवन निर्वाह गर्नुपर्नेछ। त्यस्तो जीवन कसैले कहिल्यै बिताउन नपरोस्, म कामना गर्छु। 

मेरो एकजना छिमेकी नेपाली महिला मसँग धेरैचोटी बाझिन्। मैले कुनै पनि नेपाली जमघटमा मेरो छोराछोरी र अरु नेपालीका छोराछोरीलाई भन्छु– तिमीहरु अंग्रेजी होइन, नेपालीमा कुरा गर्नुपर्छ। उनले कैयौंपटक मेरो प्रतिउत्तर फर्काउँदै  भन्छिन्– होइन खनालजी, म तपाईसँग सहमत छैन। अमेरिकामा तपाई हाम्रा बालबच्चाले किन नेपाली बोल्नुपर्‍यो र ? के काम नेपाली बोलेर ? उनका २ वटा बच्चाहरु छन्, उनका बच्चाहरु नेपाली बोल्दैनन्, भुलिसकेका छन्। किनकि ती महिला र तिनका पतिदेव उनका बच्चाहरु अंग्रेजीमा कुरा गर्दा संसारै जित्याजस्तो मुद्रामा दङ्ग पर्दै एकापसमा हेराहेर गर्छन्। मैले कैयौंपटक छुच्चो बनेरै भनिरहकेको छु– जहाँ गए पनि नेपालीमा कुरा गर ल। बुझ्नेहरु भन्छन्– तपाईले भनेको जायज कुरा हो। उपबुज्रुकहरु आपत्ति प्रकट गर्छन्– यस्तै छ, यहाँको चलन पनि। 

एकछिन नेपाल फर्किउँ। अव "पुरानो नेपाल" हामीसँग छैन। नेपाल "नयाँ नेपाल" भएको छ। १ सय ३१ पार्टी, चोरडाँका, फटाह, ज्यानमारा, वापती, दिमाग शून्यहरुसम्म नेता बनेका छन्। राजादेखि नेतासम्म, औँठाछाप  देखि ज्यानमारासम्मले शासन गरेको देश, सबै असफल भएको देश । ८५ प्रतिशत हिन्दू भएको तर हिन्दूधर्म मासिएको देश, मन्दिरहरु भत्किदै जाँदा चर्चहरु बढ्दै गएको देश, ८५ प्रतिशत हिन्दू अल्पमत, अन्यायमा परेको देश, दौरासुरुवाल, गुन्युचोली खोसिएको देश। समग्रमा नाम मात्रको भएको छ देश । मासिदै गरेको संस्कृति, भासिदै गरेको नैतिकता, चुलिँदै गएको व्यभिचार, भ्रष्टाचार, अन्याय, अत्याचारयुक्त "नयाँ नेपाल"का तपाई हामी अझै नेपाली नै हौं। स्वदेशमा बसौं वा विदेशमा पसौं। हाम्रो पहिचान नेपाली नै हो। तसर्थ नेपाली संस्कृति, मान्यताहरु यसका मर्महरुलाई कहिल्यै नभुलौं। उता त बिग्रे बिग्रे, हामी यता नबिग्रौं। नेपालीत्व जोगाई राखौं। यही आग्रह तपाईहरुसँग। आगे तपाईकै जो मर्जी। - Photo by Bimal Nepal

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक