20151116

नेताहरु धारे हात लगाएर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई सत्तोसराप गरिरहेकै छन्। राजनेता र काविल कूटनीतिज्ञले यसरी राँडी रुवाई गर्दैनन्।

प्रधानसेनापतिजी, ब्यारेकबाट ननिस्कने ?
- राजन कार्की
नेपाली सेना रिपुमर्दिनी पम्पमा पेट्रोल बेचेर बसिरहन सुहाउँदैन अव। त्यो मुनाफा के काम, जुन मुनाफा नेपाली जनताका पर अभरमा काम आउन्न भने। जनता सेनाले केही गर्छ भनेर पर्खिरहेका छन्, रिपुमर्दिनी सेना रिपुकै हितमा चुपचाप बसिरहेको छ। यो त जनताप्रति इमान्दारी भएन। देश बलियो हुन जनता सचेत हुनुपर्छ, सेना बलियो। जब जनता र सेना कमजोर हुन्छन्, मुलुक असफलताको कृष्णभीरमा पुग्छ। जुनसुकै बेला पहिरोमा पर्नसक्छ, खुरमुरिन सक्छ। नेपाल यतिखेर कृष्णभीरको जोखिममा पुगिसकेको छ। नेताहरु धारे हात लगाएर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई सत्तोसराप गरिरहेकै छन्। राजनेता र काविल कूटनीतिज्ञले यसरी राँडी रुवाई गर्दैनन्। नेपाली राजनीतिकै उदाहरण हेर्ने हो भने महेन्द्र र वीपी कोइराला जानी दुस्मन थिए। वीपीलाई फाँसीकै सजाय मुकर्रर गरेका थिए राजाले। एउटा राष्ट्रवादी, अर्को प्रजातन्त्रवादी। राजा वीपीको स्वास्थ्यको
ख्याल राख्थे, बेलाबेलामा खान निम्त्याउँथे। वीपी पनि महारानी रत्नको भान्छामै पसेर के पाकेको छ आज भनेर आत्मीयता दर्साएका घटनाहरु पनि छन्। मलाई फाँसी दिने राजा भनेर वीपीले कहिल्यै पूर्वाग्रह राखेनन्। कूटनीतिकै कुरा गर्ने हो भने महेन्द्र इन्दिरा गान्धीलाई भेटन् गइरहन्थे। एकपटक भारतको सुरक्षाको कुरा उठ्दा महेन्द्रले १८ सय ८ किलोमिटरको सुरक्षा नेपालले गरिदिएको छ भन्दा इन्दिरा गान्धीले पुलुक्क हेरेकी थिइन्। त्यसपछि महेन्द्रले गोर्खाको भर गर्न सक्नुहुन्छ भनेका थिए। आजसम्म भारतीय गोर्खा भारत र बृटिश गोर्खा सैनिकले बेलायतको लागि ज्यानको बाजी थापिरहेकै छन्। राष्ट्रसंघले समेत नेपाली शान्ति सेनालाई सबैभन्दा बढी भरपर्दो मानिआएको छ।
त्यस्ता नेता र यस्ता सेना, अनि राष्ट्रवादी नेपाली रगतले नेपालको रच्छा गर्दै आएको छ। तर, यतिबेला न नेता छन्, न सेना सतर्क छ, न नेपाली जनता जागरुक भएका छन्। नेता लोकसत्तालाई रछ्यान बनाएर लडिबुडी गरिरहेका छन्। जनता इन्धन अभावले हाहाकारको स्थिति बेहोरिरहेका छन्। एकातिर भूकम्पको मार, अर्कोतिर भारतीय नाकावन्दीले पक्षाघातजस्तो जीवन बाँचिरहेका छन्। उद्योग व्यापार सबै ठप्प भइसक्यो, बिरामी बचाउने ओखतीसम्म छैन। मानौं नेपाल हिटलरको ग्यास चेम्बरजस्तो नरेन्द्र मोदीको ग्यास चेम्बरमा बाँच्न बाध्य पारिएका छन्। यस्तो आपातकालमा पनि जननेता देखिदैनन्, जनता विद्रोह गर्दैनन् र सेना अन्यमनस्क मनस्थितिमा बसिरहेको छ।
जनतालाई हक र अधिकारका लागि लड्न सिकाउनु पर्ने रहेछ, सेनाले यस्तो समयमा देशका लागि लड्न तैयार हुनुपर्ने रहेछ। नेताले राजनेताको भूमिका निर्वाह गर्नुपर्ने रहेछ। छैन, केही पनि छैन। ३ महिनादेखिको मधेश बन्द, भारतीय नाकावन्दी र राजनीतिक खिचलोको बन्दी बनेको छ मुलुक। मुलुकलाई तत्काल राहत दिन नेपालको राज्यसत्ता र राजनीति बिफल भइसक्यो। असोज ३ गते जारी गरेको ९१ प्रतिशत जनप्रतिनिधिको समर्थन रहेको संविधान कागजको खोस्टो साबित भयो। संविधान आयो, जातीय बिभेद लिएर आयो। संविधान आयो, क्षेत्रीय बिबाद बोकेर आयो। संविधान आयो, उही ठूला दलको सिण्डिकेट बनेर आयो। आम जनताले के पाए? नरसंहारको जोखिम, अभाव, महगी, हाहाकार। लोकतान्त्रिक पद्धति र संविधान भनेको यस्तै हुन्छ? जनताको पीडामा मलम बन्न नसक्ने पनि संविधान हुन्छ?
देशको असहज स्थितिलाई नेपाली सेनाले तमासा हेरेर बसिरहने सीमा नाघ्यो अव। अझै पनि भारतले नाकावन्दी लगाइरहने र केही मधेशी दलहरुले नाकावन्द गर्न धर्ना जुलुस गरेर सिंगो मुलुकलाई हाहाकारमा पार्ने, मुलुकको उद्यम व्यवसाय चौपट पारिदिने र आइरहेको र भइरहेको लगानी रोक्ने जुन अराष्ट्रिय काम भइरहेको छ, त्यसलाई सरकार र राजनीतिक दलहरुले राजनीतिक वार्ताद्वारा सम्भाल्न सक्दैनन् भने नेपाली सेनाले हस्तक्षेप गर्नैपर्छ। आर्थिक बृद्धिदर ऋणात्मक हुनलाग्यो भनिसके अर्थविदहरुले। यो भनेको राज्य बिफल भयो भनेको हो। सेना किन बुझिरहेको छैन?
सेना पनि राज्यअंग हो। संविधानअनुसार नेपाली सेनाले आफ्नो कर्तव्य गरिरहेकोमा कुनै शंका छैन। तथापि देश आर्थिक, सामाजिक, राजनीतिक र धार्मिक संकटमा फसिसकेको छ। आमनागरिकको चुलोचौको, हातमुख जोर्नेसम्मको समस्या भनेको ठूलो समस्या हो। अन्तर्राष्ट्रिय समुदायले समेत नेपालमा मानवीय संकट भइसक्यो भनिसके। हुन पनि अस्पताल, स्कूल बन्द हुनथालेका छन्। एकप्रकारले भारतीय अघोषित नाकावन्दी र मधेशी दलहरुको आन्दोलनका कारण मुलुक ठप्प छ। मुलुक ठप्प भएको अथवा देशको रक्षा र नागरिकको सुरक्षाका लागि अन्तिम फोर्स हो नेपाली सेना। यस्तै आपद विपदका बेलामा आमनागरिकले सेनाको भरथेग खोज्ने हो। सेनाले पनि आफ्नो तरिकाले देशको हालचालको अध्ययन अनुसन्धान गरिरहेको छ भने देश सामान्य स्थितिमा छैन भन्ने रिपोर्ट संकलन भइसकेको हुनुपर्छ। अवेर भइसक्यो, प्रधानसेनापति राजेन्द्र क्षेत्रीजी, क्षेत्रीय धर्म निर्वाह गर्नोस्। यस्तो भ्रष्ट, अनैतिक राजनीतिक तहले मुलुकलाई सामान्यीकरण गर्न सक्दैन।
सेना भनेको राष्ट्रिय संगठन हो। सेनाको नजरबाट न कुनै घटना लुक्न छिप्न सक्छ, न कोही अछुत नै रहन सक्छन्। हो, सेनाले सुरक्षा परीक्षदको निर्णय र नेपाल सरकारको आदेशबिना परिचालन हुनुहुन्न। त्यसो भनेर रोम जलिरहदा निरोले बाजा बजाएरजसरी बसिरहन पनि सैनिक धर्म होइन। स्वयं प्रधानमन्त्री केपी ओलीले सबै सुरक्षा निकायलाई बोलाएर नाका नाकामा भइरहेका धर्ना, जुलुसलाई निस्तेज पार्ने योजना मागेको खबर छ। अति भइसक्यो। समय नाघेर गरेको ओखतीको अर्थ छैन भन्ने सबैले बुझ्नुपर्छ। देश ठप्प पार्ने, देशलाई टुक्य्राउन खोज्ने जुनसुकै ताकत होस्, त्यसका विरुद्ध नेपाली सेना उभिनै पर्छ। सेना उभिनासाथ जनतामा जागरुकता आउनेछ। यी भ्रष्ट राजनीतिक शक्ति भनिएकाहरुको सातो जानेछ। मुलुकमा राजनीतिक विवादको बखेडाले जनतामा मानसिक असन्तुलनसमेतको खतरा देखिइसकेको छ। यो सबैभन्दा खतरनाक संकेत हो। राजनीतिक बिबाद, राजनीतिक तहमा मिलाउन्। राष्ट्रियता र राष्ट्रिय जीवनमा आघात पुग्छ भने नेपाली सेनाले ब्यारेकमा रिपोर्ट लिने र रिपोर्ट पढेरमात्र बस्नु नमकको सोझो ठहरिन्न। स्थिति काबुभन्दा बाहिर गइसक्यो र देशमा विदेशी घात प्रतिघात बढेको हो भन्ने निष्कर्ष सार्वजनिक भइसकेको स्थितिमा नेपाली सेनाले तत्काल राजनीति र कूटनीतिको असक्षमताले बिगारेको वातावरणलाई संग्याउन सक्रिय हुनैपर्छ।
नेपाली सेना नेपाली जनताको सेना हो भने नेपालीको विभाजित मानसिकता र विदेशी हस्तक्षेप र नाकावन्दीका विरुद्ध ब्यारेकबाट बाहिर निस्क। जनताको सेना बनेर देखाउ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक