20151109

बाबुराम र उनको नयाँ शक्ती का पछाडी कुदनु अघि एक पटक यो लेख पनि पढ्नुस !

  • सुभाषचन्द्र देबकोटा
उही बाबुराम भट्टराई, हजारौ जनताको वलिदानको जगमा उभिएको व्यक्तित्व। सयौं निर्दोषहरुको रगतले  लतपतिएको  अनुहार। स्वार्थको लागि आफ्नै घर पोलेर आगो ताप्न उद्त हातहरुसँगको साँठगाठ। सत्ताको चरम महत्वकांक्षा। केही संभ्रान्तहरुको विर्य दानबाट जन्मदै गरेको नयाँ शक्ति र यसको पृष्ठभूमिको कथा। आम नेपालीले यो जटिल राजनीतिको पहेली कसरी बुझ्ने ?

बाबुराम भट्टराईलाई पार्टीभित्र स्थापित गर्न प्रचण्ड र मोहन बैद्यहरुले वर्षौ देखि योगदान पुर्‍याएका धेरै नेता तथा कार्यकतर्ताको मान मर्दन र चित्त दुखाएका थिए।  बाबुराम भट्टराईले त्यस अवसरको उपयोग पनि राम्रैसँग गरे र
राजनीतिमा एउटा गुमनाम पात्रले आफ्नो जिन्दगीलाई राम्रै गरी उजिल्याए।

नेपालमा भारत परस्त छवि बनाएका ऋषिकेश शाह (स्वर्गीय)बाट दीक्षित बाबुराम भट्टराई, कुनै बेला उनैको समाजवादी आन्दोलका सकृय कार्यकर्ता थिए।  भारतमा पढ्दै गर्दा हिसिला एमीसँग हिचमिच बढेपछि  बामपन्थी बनेका बाबुराम भट्टराई, सुरूमा मोहन विक्रमको संगतले माओवादी बने। कुनै बेला मोहन विक्रमको अध्ययनशीलताबाट प्रभावित छु भन्ने बाबुराम मोहन विक्रमले नेतृत्व गरेको पार्टी मसालमा आफ्नो भविष्य नदेखेपछि उनैलाई सराप्दै तत्कालिन एकता केन्द्र मशालमा राजनीतिक भविष्य र अवसर खोज्न पसेका  थिए।

सबैलाई थाहा छ, बाबुराम भट्टराई, जनताको तहबाट उठेर राजनीति गरेका कम्युनिष्ट नेता  होइनन्। मोहन विक्रमको मसालमा बसुन्जेल केन्द्रीय कमिटी पनि फेला नपारेका बाबुराम भट्टराईले प्रचण्ड , मोहन वैद्यहरुको उदारताका कारण अरुहरुलाई उछिन्दै तत्किलन एकता केन्द्र मशालमा पार्टीको शीर्ष स्थान हात पारेका थिए। पछि त्यै पार्टी नेकपा माओवादीको रणनीतिकार बने।  पार्टी भित्र सधैं विद्रोही छवी बनाएका यीनले प्रचण्ड, मोहन वैद्यहरुको बीचमा छिर्के हाल्दै बिसौं वर्ष सम्म आफ्नो स्वार्थको रोटी सेकिरहे। साँचो अर्थमा भारतीय शक्ति केन्द्रको आड र भरोसामा एमाओवादीका नेता प्रचण्ड देखि मोहन वैद्यहरुलाई राम्रैसँग कज्याए।

सबैलाई थाहा छ, बुर्जुवा शिक्षा बहिस्कार गरेर जनयुद्धको नाममा बन्दुक र लाठी बोक्ने जनताका छोरा छोरीहरु आज कोही खाडी मुलुकको गर्मीमा भेडा चराइरहेका छन् भने कोही गाँउघरमा भारी बोकेर जीवन धानरहेका छन्। तर जनयुद्धको आर्टिटेक्चरी गर्ने बाबुरामहरुका छोरी भने देश विदेशमा गुणस्तरीय शिक्षको छनौट गर्दै पढिरहेकी छिन्। यसबारे बाबुरामले पश्चातापका कुरा कहिल्यै गरेनन्। यसले पनि यिनको राजनीतिक मानसिकता र इमान्दारितालाई राम्रै प्रष्ट्याँउछ।

बाबुराम भट्टराईले जहिले पनि कुण्ठाको राजनीति गर्दै आएका छन्। लामो समयसम्म उनको नजिक रहेर काम गरेकाहरु नै भन्छन् - उनको मनको भेउ पाउन नै सकिन्न। देखिने बाबुराम र नदेखिने बाबुराम बीचको अन्तर खुट्याउनै गाह्रो छ। भनेको कुरा नगर्ने र नभनेको कुरा गर्ने उनको बानीले गर्दा हाल उनले भन्ने गरेको नयाँ शक्ति नजन्मदै धर्मराएको छ।

बाबुराम भट्टराईको आफ्नै भनाईलाई मान्ने हो भने- ‘एउटा निश्चित मिसन पूरा गर्न मात्र उनी कम्युनिष्ट भएका थिए।‘ त्यसैले भन्न सकिन्छ उनी सच्चा मनले कहिल्यै कम्युनिष्ट भएकै रहेनछन्। एउटा कम्युनिष्ट नै नभएको व्यक्तिबाट कम्युनिष्ट अन्दोलनको सफल नेतृत्वको अपेक्षा जायज निश्चय नै थिएन। तर यो सब बुझेर पनि बाबुराम भट्टराईलाई स्वयम् प्रचण्डले यतिका वर्ष किन काँधमा बोकेर हिँडे यो चै बुझि नसक्नुको पहेली भएको छ। यसलाई माओवादी जनयुद्ध र भारत कनेक्सन जोडेर बुझ्नेहरु पनि छन्।

आफ्नै पार्टीको अध्यक्षलाई प्रधानमन्त्री पदमा पटकपटक हराएर राजेन्द्र महतोहरुको सहयोगमा प्रधानमन्त्री पदमा बाबुराम भट्टराई, चुनिनु कुनै संयोग थिएन। भारतको सोचीसम्झी खेल थियो भन्ने कुरा नेपालमा संविधान जारी हुँदा सम्मको राजनीतिक अवस्थाको विश्लेषणबाट पनि छर्लङ्ग भएको छ।  अझ प्रधानमन्त्री भएपछि भारतसँग गरिएको विप्पा सम्झौता, एयरपोर्टको सुरक्षाको जिम्वेवारी भारतलाई दिने , कर्णाली लगयतका ठूला परियोजनाका लागि भारतसँग देखाएको उदारताले  बाबुरामको भारत कनेक्सनलाई नै बल पु्र्‍याएको छ।

भारत आफ्ना स्वार्थका विषयवस्तुहरु संविधानमा समावेश गरेर मात्र नेपालले संविधान जारीहोस् गरोस् भन्ने चाहन्थ्यो। त्यसको लागि सबै भन्दा उपयुक्त पात्र लैनचौर दरबारका लागि  बाबुराम भट्टराई नै थिए। तर दुर्भाग्य पार्टी फोड्ने सम्मको हर्कत देखाउँदा पनि पार्टी अध्यक्ष  प्रचण्ड टसमस भएनन् बरु उल्टै उनले हरेक पार्टीमा भएका राष्ट्रबादीहरुलाई गोलवन्द गरेर  संविधान जारी हुने अवस्था सृजना गरिदिए। जव पार्टी भित्र नै उनको कुराको सुनुवाई हुन छाडयो , अनि मात्र उनले पाटी छोड्ने निर्णय गरेका थिए। यसले एमाओवादी पार्टी भित्र लामो समय देखि  विभिन्न बाहनामा र नाममा बाबुरामले चलाउँदै आएको अराजकताको अन्त्य भएको मान्नेहरू पनि छन्।

राजनीति सधै गतिशील हुन्छ। त्यसैले परिस्थितिमा आएको परिवर्तनसँगै राजनीतिमा कार्यनीतिक र रणनीतिक अभ्यासहरुमा पनि परिवर्तन हुन्छन्। एउटा मान्छेले विचार रोज्न, संगठन बनाउने, संगठन रोज्ने उसको अधिकारको कुरा हो। तर यस बेला बाबुराम भट्टराईको नयाँ शक्तिको बहस केही कथित बुद्धिवि भनाउँदा र घरानीयाहरुको लागि बुद्धिविलासको राम्रो ठाँउ भएको छ।

राजनीति सिद्धान्त र विचारका आधारमा गठन, पुनर्गठन हुन्छ। तर बाबुराम भट्टराईले सिद्धान्त र विचारबाट पलयानको बाटो रोजेका छन्। यसले बाबुराम भट्टराईको कुण्ठा त राम्रैसँग प्रकट भएको छ तर महत्वकांक्षा पूरा हुने लक्षण भने देखिएको छैन।

म्याद नाघेका र विभिन्न काल खण्डमा सत्ता, शक्ति र पहुँचको स्वाद लिएका सम्भ्रान्तहरु जम्मा गरेर बनाइने नयाँ शक्तिले जनताको आवाजको प्रतिनिधित्व गर्छ भन्नु कति यथार्थपरक छ, यो त भविष्यले नै बताउला। तर अरूलार्इ जे भए  सर्वसाधरणका लागि हजार मुसा खाएर हज गर्ने यात्रामा निस्केको बिरालो जस्तै भएको  बाबुरामको  नयाँ शक्तिको यात्रा पनि। - pahilopost

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक