20151221

साबधान तपाईं पनि ठगिनुहोला नि इन्सुरेन्सका नाममा ! : अनिल खनाल

अमेरिकी जीवन शैली र इन्सुरेन्स (बिमा)को अन्तरसम्बन्ध
 म संयुक्त राज्य अमेरिकाको बिमा सम्बन्धि उद्द्योग मा आबद्ध भएको ५ बर्ष भयो | यस अवधिमा कामको सिलसिलामा विभिन्न व्यक्ति, संघ संस्थाहरु संग भेट एवं बिचारहरु आदान प्रदान गर्ने मौका पाइयो र सोहि क्रममा विभिन्न संघ संस्थामा आबद्ध साथीहरु, ब्यापारी वर्ग, पत्रकार बन्धुहरुबाट बारम्बार सोधिएको अमेरिकी जीवन शैली र बिमा बीच के कस्तो सम्बन्ध देख्नु भएको छ ? अमेरिकामा हामी नेपालीकोलागि कस्तो खाले जीवन बिमा उपयुक्त हुन्छ ? जीवन बिमा खरिद गर्दा सामान्यतया के के विचार गर्नु पर्छ ? भन्ने प्रश्नको उत्तरमा मेरो अबधारणा निम्न बमोजिम रहेको अनुरोध छ |
संसार कै ठुलो अर्थतन्त्र संयुक्त राज्य अमेरिकाको अर्थतन्त्रमा बिमा (इन्सुरेन्स) उद्द्योगको उल्लेखनीय योगदान छ | लाईफ/हेल्थ र प्रोपर्टी/क्याजुअलिटी (घर, गाडी, व्यापार इत्यादी ) गरि बार्षिक १.१ ट्रिलियन डलर भन्दा बढी प्रिमियम कारोबार छ जुन संयुक्त राज्य अमेरिकाको पूर्ण ग्राहस्त उत्पादन (Total GDP) को करिब ७% हुन आउँछ | यस उद्द्योगमा २.३ मिलियन व्यक्तिले रोजगार पाएका छन् भने थप करिब २ मिलियन व्यक्तिहरु फिल्ड एजेन्ट को रुपमा पूर्ण वा आंशिक (फुल टाइम वा पार्ट टाइम) गरि संलग्न छन् | हुन त अमेरिका मा प्राय सबै जसो उद्द्योग सरकारबाट बिनीयमित (regulated) छन् । त्यै पनि लगानी/इन्सुरेन्स उद्द्योगको हकमा यसको कानुनी प्राबधान, यसमा प्रयोग हुने भाषा सजिलै बुझन नसकिने र यसको आकार प्रकार नदेखिने, यसलाई तुरुन्तै महशुश गर्न नसकिने एवं यस बाट हुने दुरगामी घाटा/ नाफा बुझन आम उपभोक्तालाई कठिन हुने भएकोले यो सेक्टरलाई सरकारले अत्यन्त कडाईका साथ बिनीयमित गरेको छ | अत: झुक्याउने, ठग्ने बिरुद्ध सम्बन्धित निकायमा उजुरी हालेमा सम्बन्धित एजेन्टले हदै सम्मको जरिवाना र/वा कैद (उजुरीकर्ताको हानी नोक्सानी को आधारमा) सजाय बेहोर्नु पर्ने हुन्छ र पिडितले सोहि
बमोजिम क्षतिपूर्ति प्राप्त गर्ने हुन्छ |
जीवन बिमा किन गर्ने ?
अमेरिकाको सी डि सी (सेन्टर फोर डिजिज कन्ट्रोल एंड प्रेवेंशन) को एक तथ्यांक अनुसार संयुक्त राज्य अमेरिकामा बर्सेनि करिब २,५९६,००० को विभिन्न कारण ले मृत्यु हुन्छ, जस मध्ये: हृदय रोग बाट - ६१२,०००, क्यान्सर बाट ५९०,०००, स्वास प्रस्वासको रोग बाट -१५०,०००, सडक लगायत अन्य दुर्घटना बाट - १३२,०००, स्ट्रोक बाट -१३०,०००, अल्जाइमर बाट - ८५,०००, चिनी (Diabetes ) बाट -७७,०००, इन्फ्लुएन्जा / निमोनिया बाट -५८,००० र बाँकि अन्यको बिबिध कारणले मृत्यु हुन्छ |
उपरोक्त तथ्यांक विचार गर्दा नेपालमा होस् कि अमेरिकामा जो सुकैलाई पनि रोग लाग्न सक्छ र जहाँ सुकै पनि दुर्घटनामा परि ज्यान जाने वा अशक्त हुने अवस्था आउन सक्छ |
माथि उल्लेख भएको कुरामा कुनै एक कुरा कुनै नेपाली/अमेरिकन परिवारमा घटित भयो भने सो परिवारमा ठूलो बिपत्ति आइलाग्ने हुन्छ | अमेरिकी कानुन बमोजिम व्यापारको ऋण , घरको ऋण , अन्य ऋण हरु मृतक को जायजेथा लिलाम गरेर असुल उपर गरिन्छ | व्यापार, घर जग्गा, अन्य सम्पति पनि नजिकको हक वालाले सम्पति कर नतिरी नाम सारी गरि उपभोग गर्न पाउदैन | यसकोलागि मोटो रकमको आवश्यकता हुन्छ | सामान्यतया अमेरिकी जीवन शैलीमा श्रीमान श्रीमती मिलेर आर्थिक रुपले परिवार चलाई रहेका हुन्छन | कोहि एक जना को मृत्यु भएको अवस्थामा लाइफ इन्सुरेन्सको रकमले बाँकि परिवारको आर्थिक बिचल्ली हुन् बाट रोक्छ | अमेरिकाको ६० प्रतिशत भन्दा बढी जनसंख्या संग कुनै माध्यमबाट (काम बाट वा व्यक्तिगत) केहि न केहि मात्रमा बिमा छ | तसर्थ अमेरिकाको सामाजिक र आर्थिक प्रणालीको आधारमा बिमा (इन्सुरेन्स) अपरिहार्य देखिन्छ |
बिमा खरिद गर्दा के के विचार गर्ने ?
जीवन (लाईफ / स्वास्थ्य), निर्जीवन (गाडी, घर, व्यापार, बहुमुल्य बस्तु आदि ) गरि बिमा दुइ प्रकारको हुन्छ | जीवन तथा निर्जीवन बिमा अन्तर्गत विभिन्न प्रकार (type) हुन्छन | ( ती सब का बारेमा पाठक हरु बाट जिज्ञासा आयो भने पुन: अर्को आलेख मार्फत जानकारी गराउने छुँ |)
यी मध्ये कुनै बिमा खरिद गर्दा तपशिलका कुराहरू विचार गरेन भने यो सेतो हात्ती पाले सरह हुन्छ |
१. खरिद गर्न खोजेको बिमा सम्बन्धित कम्ति मा ३ वटा कम्पनि को कोटेशन तुलना गर्ने |
२. आफु लाई चाहिएको बिमाको आकार प्रकार (अर्थात् कभरेज रकम, लाग्ने प्रिमियम रकम) स्पस्ट रुपमा राख्ने |
३. तुरुन्त आवेश/खुशी मा निर्णय, सहि गरि नहाल्ने |
४. एजेन्टले प्रस्ताव गरेको ठिक हो होइन बुझन सुटुक्क केहि अनुसन्धान गर्ने। जस्तै गूगल रिभ्यु , विकिपीडिया आदि हेर्ने , जानकार व्यक्तिहरूलाई सोध्ने ।
५. अरुले धेरै प्रिमियम पर्ने बिमा लिएको छ भन्दैमा आफुले त्यहि लिनु जरुरि छैन |
६. सबै कुरा बुझे पछि आफुले चाहेको वर्ग (term/cash/coverage) को सबै भन्दा सस्तो कोटेशन मार्फत बिमा खरिद गर्ने | अमेरिकन समाज मा चलेको "Shop around and enjoy the difference” अनुसार २ पैसा जोगिएको खण्डमा त्यसबाट अर्को सेवा/सुबिधा/मनोरंजन किन्न पाईन्छ |
७. परिवारको सदस्यलाई बिमा र सो को डकुमेन्ट कहाँ सुरक्षित राखिएको छ जानकारी गराउने |
सबभन्दा महत्वपुर्ण कुरा, बिमा एजेन्टको अन्तर्वार्ता लिएर निजको बिषय वस्तु सम्बन्धि कति ज्ञान छ नाडी छाम्नु अत्यन्त जरुरि हुन्छ । किन भने संयुक्त राज्य अमेरिकामा करिब दुई हजार पाँच सय जति जीवन बिमा (लाइफ इन्सुरेन्स) कम्पनिहरूले आ आफ्नो एजेन्ट, कर्मचारी मार्फत बिमा बेचिरहेका छन्। प्रत्येक कम्पनीले ेबेच्ने लाईफ इन्सुरेन्स को प्रकृति /Features हरु पनि केहि फरक हुन्छन्। लाइफ इन्सुरेन्स बेच्ने एजेन्ट को शीप ज्ञान पनि फरक फरक हुन्छन। अमेरिकामा जीवन बिमा को कारोबार गर्न सम्बन्धित विनियामक निकाय (Regulatory Authority) बाट जारी लाइसेन्स चाहिन्छ। यसरि लाइसेन्स प्राप्त लाइफ इन्सुरेन्स एजेन्ट वा जो सुकै होस् निजको अमेरिकी आर्थिक कारोबार सम्बन्धि कानुन को ज्ञान, अंग्रेजी भाषामा दक्षता, उच्च नैतिकता प्रयोग गरि बेच्न लागेको बिमाको यथार्थ जानकारी उपभोक्ता लाई दिनु पर्ने हुन्छ।
सबै जनालाई एकै किसिमको बिमा आवश्यक हुदैन। बजारमा महिनाको १० डलर देखि नै जीवन बिमा पाइन्छ | आफ्नो खल्ती हेरी अधिकतम बिमा खरिद गर्नु उपयुक्त हुन्छ | ध्यान रहोस् जीवन बिमा र लगानी ( Investment ) दुई फरक कुरा हरु हुन्। जीवन बिमाले केहि बचत पक्कै गराउछ तर यसले लगानी लाई बिस्थापित गर्दैन | आजकाल बजारमा उपलब्ध धेरै जसो लाइफ इन्सुरेन्स मा इन्सुरेन्स संग संगै लिविंग बेनेफिट्स (अर्थात् इन्सुरेन्स को रकम पाउन मर्नु पर्दैन) पनि उपलब्ध छन् | अमेरिकाको बजारमा धेरै त्यस्ता राम्रा कम्पनि हरु छन, जसले न्युनतम २०-२५ डलर प्रति महिना मै एक लाख डलर सम्मको, २०-३० बर्ष सम्म प्रिमियम नबढने र आफु जीवित छदै औषधि उपचार (हृदय रोग, चिनीरोग, क्यान्सर, स्ट्रोक आदि) को लागि र अशक्त हुँदा घर खर्चको लागि कुल बिमा रकमबाट अग्रिम भुक्तानी पाउने योजना (प्लान) हरु ल्याएका छन् जुन अत्यन्त राम्रो कुरा हो |
जीवन बिमा खरिद गर्दा सुकै कम्पनि, एजेन्टले जे भने तापनि कागजमा आफुले त्यो राम्रो संग हेर्नु पर्छ अनि मात्र सहि गर्नु पर्छ | हामीले एउटा उद्देश्य ले तिरेको प्रिमियम ५ -७ बर्ष पछि कम्पनीले "तपाइको पोलिसीमा भएको सबै रकम पोलिसी maintenance मा सकियो | फलानो तारिख सम्ममा यति रकमको चेक पठाउनु नत्र भए पोलिसी स्वतः रद्द हुन्छ" भन्ने चिठी ५-७ बर्ष पछि पठायो भने कहाँ जाने ? सबै शर्त नपढी सहि गरियो, अदालतले पनि केहि गर्न सक्दैन | एजेन्ट लाई सरापेर, पिटेर सुको फिर्ता आउदैन |
समग्रमा अमेरिकन जीवन शैली लाईफ, हेल्थ , गाडी, घर, व्यापार, हवाई जहाज, हात हतियार, उपकरण , बहुमुल्य सामग्री, चिठी पत्र, कम्प्युटर, मोबाईल फोन, बेरोजगारी लगायत विभिन्न समान तथा सेवाहरु इन्सुरेन्स ले बेरिएको छ | यस बाट अलग्गिएर बस्दा भबिस्यमा ठूलो आर्थिक बिपत्ति व्यहोर्नु पर्ने सम्भावनालाई मनन गरि भूगोल , परिवेश र आवश्यकता अनुसार समयमै निर्णय गर्नु उपयुक्त हुन्छ |
अन्तमा, अमेरिकामा बसोबास गर्नु हुने सबै नेपाली ले आफ्नो परिवार को आर्थिक सुरक्षा एवं आफ्नै बुढेसकालको लागि समेत विचार गरि सबै भन्दा सस्तो (सके सम्म महिनाको १० डलर देखि २० डलर पर्ने), भैपरी आएमा औषधि उपचार खर्च, अशक्त भएमा घर खर्च समेत पाउने जीवन बिमा ३-४ वटा राम्रो कम्पनिहरु संग कोटेसन लिएर, मैले माथि उल्लेख गरेको तरिका प्रयोग गरेर खरिद गर्नु उपयुक्त भएको ब्यहोरा अनुरोध गर्दछु ।
Source:
1. www.wikipedia.org
2. www.iii.org (Insurance Industry Information)
3. www.limra.com (Life Insurance Marketing & Research Association)
4. www.irs.gov

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक