20160223

लोकतान्त्रिक नामधारी नेतृत्व: इबोला कि जिका भाइरस ?

- राजन कार्की
नेपालमा किर्ना भन्छौं, जुम्रा, उपियाँ वा जुका भन्छौं जुन शरीरमा टास्सिएर शरीरको रगत खान्छ र मान्छेको जीवनलाई रोगी बनाइदिन्छ। देशको पनि जीवन हुन्छ, देशको जीवन जिवन्त बनाउन राज्य हुन्छ, शान्तिव्यववस्थाका लागि प्रशासन, सुरक्षा निकाय हुन्छ, राजनीति हुन्छ, समाजसेवा र आर्थिक क्रियाकलापहरु हुन्छन्। देशको जीवनका जुम्रा, उपियाँ, किर्ना वा जुका राज्यसञ्जाल सञ्चालन गर्नेहरु बनिदिए भने राज्य रोगाउँछ, केही व्यक्तिको उन्नतिले देशको, समाजको उन्नतिमा बाधा बन्छ र देश बर्बादीको खाडलमा जाकिन्छ। देशमा अनेक परिवर्तनहरु भएका छन् प्रगतिका लागि। शान्ति व्यवस्था र समाजको सभ्यता र विकासका लागि। ती परिवर्तनहरुको हकदार भनेका देश र जनता नै हुन्। मात्र परिवर्तनको नेतृत्व केही नेतृत्व बर्गले गरेका हुन्छन्। त्यो नेतृत्व बर्गले देश र जनताको जीवन चुस्न थाल्यो भने ती उपियाँ अथवा जुकाभन्दा कसरी भिन्न हुनसक्छन् र? अहिले त इबोला र जिका भाइरस भाइरल बनेको छ। विश्वको सातो खाइदिएको छ यी भाइरसको भाइरलले। नेपाल पनि प्रभावित बनेको छ। यी भाइरसको काम मानवजीवनको बर्बादी हो, समाप्ति हो। तिनै इबोला, जिका भाइरस नेपाल भित्रिने हो कि भन्ने खतरा त छँदैछ, ती भाइरसभन्दा खतरनाक भ्रष्टाचार भाइरस बनेर नेतृत्व बर्गले राष्ट्र र जनताको जीवन बर्बाद पारिरहेका छन्। केही नेता, तिनका कार्यकर्ताहरु दुबै हातले लुटिरहेका छन्, मानौं लोकतन्त्र उनीहरुको मौजा हो। लोक मरिरहुन्, लोक रोइरहुन् लुट्नुपर्छ, लुट्न पाउनु पर्छ भन्ने मानसिकतामा छन् विभिन्न राजनीतिक दलका नेताहरु। त्यो महासामन्ती मानसिकता भनेको नेपालका सन्दर्भमा इबोला, जिका भाइरसभन्दा कम छैन।
२०६३ सालको परिवर्तनपछि पालैपालो लुट्दै थिए राजनीतिक दलका नेताहरु, २०७२ सालको भूकम्पको धक्कापछि लुटेराका लागि भाग्योदय चिठ्ठा परेजस्तो भएको छ। भूकम्पपीडितहरु खाना, नाना र छानाका लागि हारगुहार गरिरहे, मानवीयताका रुपमा विदेशबाट आएका साधनस्रोतमा यिनै नेतृत्व बर्ग, तिनका आसेपासे र पहुँचवालाको दायीँ चलिरह्यो। पुषे ठण्डी आयो, कतिलाई ठण्डीले लग्यो तैपनि सिण्डिकेटतन्त्र चलाईरहेका नेतृत्व बर्गको विवेकमा लागेको बिर्को खुलेन। अनि ५ महिना लामो मधेस आन्दोलन र आन्दोलनको समर्थनमा भारतले गरेको अघोषित नाकावन्दीको अध्याय सुरु भयो। यो अध्याय पनि शासन, सत्ता र पहुँचवालाका लागि दशैंभन्दा कम भएन। एक लिटर मटितेलको ४ सय तिर्न जनतालाई बाध्य पारियो। पेट्रोल, डिजेल, ग्यासलाई कालोबजारको सुन बनाइयो। प्रशासनदेखि सुरक्षाकर्मीसम्म कालोबजारमा रमाइरहे। अझै सहज भएका छैनन् इन्धन आपूर्ति। भारतले नाकावन्दी खोलेपछि पनि हाहाकार कायमै छ। लोकतन्त्र आवरणको लुटतन्त्र संस्थागत भइसक्यो, लोकतन्त्रका सारथी, महारथीहरु लोकतन्त्र लोकतन्त्र भन्न छाडेका छैनन्। निकै दयनीय बनेको छ नेपालको लोकतन्त्र र लोकतान्त्रिक संविधान। संविधान जारी त भयो, संविधानले क्षेत्रीय, जातीय, धार्मिक बिबाद उठाइदिएको छ। कुन दिन १ सय २६ जातिका जनतावीच महाभारतको युद्ध सुरु हुन्छ भन्न सकिन्न। यस्तो भयावह स्थिति जन्माउनेहरु इबोला, जिका भाइरस नभए के हुन्?
पश्चिमी अफ्रिकाबाट फैलिएको इबोला भाइरस र लामखुट्टेबाट सर्ने र सहजै सल्कने जिका भाइरसका कारण बार्बाडोस, बोलिभिया, ब्राजिल, केपटाउन, कोलम्बिया, इक्वेडर, इलसाल्भाडो, फ्रेन्च गुएना, ग्वाटेमाला, गायना, हैटी, होन्डुरस, मेक्सिको, पनामा, पाराग्वे, सुरिनाम, समोआ, भनेज्वेलादेखि अमेरिकासम्म आतंक फैलाइरहेको छ। इबोला र जिका भाइरसले लाखों प्रभावित भइसकेका छन् र हजारौंको संख्यामा मृत्युको मुखमा परिसकेका छन्। यी दुबै भाइरसका प्रभावकारी ओखती खोज्ने प्रयत्न गरिरहेका छन् बैज्ञानिकहरुले। यी मानवविरोधी भाइरस अहिलेसम्मकै सबैभन्दा खतरनाका मानिएका छन्।
उता इबोला र जिका भाइरसको आतंक फैलिएको छ। यता नेपालमा भ्रष्टाचारको आतंकले देशलाई मारिरहेको छ। इबोलाभन्दा खतरनाक छ भ्रष्टाचार भाइरस। जिकाभन्दा जोखिमपूर्ण बन्न पुगेको छ, भ्रष्टाचार भाइरस। त्यसै पनि अेमरिकालगायतका मुलुकमा पुगेका नेपाली र पर्यटकबाट इबोला र जिका भाइरस नेपाल पस्ने खतरा अत्यन्तै बढी छ। ती भाइरसले नेपाललाई बिस्तारै जकड्न सक्छ तर भ्रष्टाचारको भाइरसले नेपाली जनजीवन र अर्थतन्त्रको घाँटी यसरी निमाठ्न थालेको छ कि नेपालको विकास पक्षाघात भइसकेको छ। शासन प्रशासनमा बिधि देखिदैन। पहुँच र प्रभावकारी व्यक्तिहरु सहजै देश र जनतालाई लुटिरहेका छन्। देश र जनताप्रति जिम्मेवार राजनीतिका कुरा सबै गर्छन्, सुशासनका गुड्डी पनि हाँक्छन् र स्वाधीनताका कुरा पनि गर्छन्। यथार्थमा राजनीति भ्रष्टाचारमय छ र यही भ्रष्टाचारको मूलप्रवाह बनेको छ शासनसत्ता।
इबोला, जिका भाइरसले पश्चिमा सम्पन्न र द्वन्द्वग्रस्त मुलुकहरुलाई पिरोलीरहेको छ। नेपाललाई बेइमान र नीतिहीनताले ङ्याकीरहेको छ। इमान, जिम्मेवारी र नैतिकताको खडेरीका कारण अत्यन्त प्राकृतिक साधनस्रोतले सम्पन्न मुलुक मगन्ते बन्न पुगेको छ। राष्ट्र कंगाल बन्दै गएको छ। केही मुठ्ठीभर व्यक्तिहरुसँग पर्याप्त धनराशी थुप्रिदै गएका छन्। हुनेखाने र गरिखाने बर्गवीच दूरी बढ्दै बढ्दै गएको छ। अनेक द्वन्द्वग्रस्त छ मुलुक। शान्ति र स्थिरता, समानता र समानुपातिक भनेर ल्याएको संविधान पनि बिबादमा परिसक्यो। जिम्मेवारबर्गको ध्यान मूल कानुन व्यवहारमा उतार्नेतिर पटक्कै छैन। उनीहरु गैरजिम्मेवार बनेर सत्ता, शक्ति र सम्पत्तिका लागि षडयन्त्र गरिरहेका छन्। लोकतान्त्रिक व्यवस्थामा कालोतन्त्र भ्रष्टाचारको कालतन्त्र ढसमस्स बनेर राष्ट्रियतासँग खेलबाड गरिरहेको छ। जतिसुकै लोकतन्त्र भने पनि यथार्थमा नेताहरुको सिण्डिकेटले देशलाई एकतामा, बिधिमा, सुशासनमा बाँध्न सकेन। इबोला र जिका भाइरसभन्दा खतरनाक बन्दै गएको छ भ्रष्टाचार भाइरस नेपाल र नेपालीका लागि।
प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा गएर आजै फर्कदैछन्। उनले दिल्लीबाटै डंका बजाए– अव नेपाल र भारतवीचको असहज सम्बन्ध सहज भयो, मेरो भारत भ्रमण सफल भयो। नेपालबाट कुनै पनि सन्धि सम्झौता गर्दिन भनेर राजनीतिक दलहरुलाई भनेर गएका प्रम ओलीले ९ थान सन्धिमा सही गरेर आएका छन्। ती सबै सन्धिको निचोड एउटै छ– अव नेपाल भारतबेष्ठित भयो, नेपाल स्वावलम्बन हुनसक्दैन। नेपालको जलविद्युत विकास गरेर निर्यातमुखी हुने र आम्दानी गर्ने सोचलाई दिल्लीमा बिसाएर फर्कने केपी ओलीले तत्काल ८० मेगावाट र यही वर्षभित्र थप ६ सय मेगावाट विद्युत आयात गर्ने सम्झौता गरेर फर्किएका छन्। भन्न सकिन्न, ४५ मिनेट गोप्य वार्ता गरेका केपी ओलीले भारतलाई अरु कुन कुन विषयमा भरोसा र विश्वास दिलाएर आउने हुन्। धेरैको आशंका छ– कतै अनपेक्षित गोप्य सन्धि त गरेनन्?
५ वर्षका लागि चुनाव जितेका प्रधानमन्त्रीले दूरगामी प्रभावी सन्धि गर्दा मुलुकले त्यसको मूल्य चुकाउनु पर्छ। ओली त १७ पार्टीको समर्थनमा बहुमत जुटाएका र संविधान उल्लंघन गरेर मन्त्रिमण्डल गठन गर्ने प्रधानमन्त्री हुन्। उनी दिल्ली जाँदा संविधान उल्लंघन गरेरै ४६ सदस्य लिएर गएका थिए। संविधानको पालना गर्नुपर्ने प्रधानमन्त्री पटक पटक संविधान उल्लंघन गर्छन र धक्कु लगाउँछन् भने जिम्मेवार अन्य पार्टीहरुले बुझ्नैपर्छ, यस्तो प्रधानमन्त्रीबाट संविधानको कार्यान्वयन हुनसक्दैन। यी अर्का जिका र इबोला भाइरस हुन्।
इमान, नैतिकता र सिद्धान्तको कसीमा ठूला दलहरु इबोला र जिका भाइरसभन्दा कम खतरनाक छैनन् राष्ट्र र जनताका लागि। जनताप्रति, राष्ट्रप्रति गैरजिम्मेवार हुनु भनेकै इबाला र जिका भाइरस हुनु हो। नेता थुप्रै छन्, एकजना पनि राजनेताका रुपमा विकसित हुनसकेनन्। यसको अर्थ राजनीति भ्रष्टाचारमय बनेको छ। जबसम्म नेतृत्व विकास हुन्न, त्यस्तो राष्ट्र सधैं जोखिममा हुन्छ। नेपाल र नेपाली थरि थरिका इबोला, जिका भाइरसको जोखिममा छन्।
अव जनता पनि चनाखो हुनुपर्छ, जनताले पनि हस्तक्षेप गर्ने हैसियत राख्नुपर्छ। अन्यथा राष्ट्र र जनता नेता नामका यिनै इबोला र जिका भाइरसबाट समाप्त हुनेछन्। चेतना भया।
प्रतिक्रियाका लागिः

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक