20160220

के के भयो प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा !

नयाँदिल्ली/ नेपाल र भारतबीच भूकम्पपछिको पुनःनिर्माण, नेपालको तराई क्षेत्रमा सडक पूर्वाधार विकास, सङ्गीत तथा नाट्य प्रतिष्ठान स्थापना, पारवहन मार्ग, रेल यातायात, ढल्केबर–मुजफ्फपुर प्रसारण लाइन र प्रबुद्ध समूह स्थापनासहित सातवटा समझदारी एवम् र विनिमयपत्रमा हस्ताक्षर गरी आदानप्रदान भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको जारी भारतको राजकीय भ्रमणका क्रममा आज ती सहमति एवम् विनिमयपत्र दुवै
मुलुक सम्बद्ध अधिकारीहरुले हस्ताक्षर गरी आदानप्रदान गर्नुभएको हो ।
भारत सरकारले भूकम्पपछिको पुनःनिर्माणका लागि अनुदानस्वरुप उपलब्ध गराउने रु २५ अर्बको सहायतासम्बन्धी समझदारीपत्रमा उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कमल थापा र भारत सरकारका तर्फबाट त्यहाँका विदेश मन्त्री सुष्मा स्वराजले हस्ताक्षर गर्नुभएको छ ।
उक्त अनुदान सहायताअन्तर्गत आवास, स्वास्थ्य शिक्षा र सांस्कृतिक सम्पदाको निर्माण गरिनेछ । त्यसैगरी भुइँचालोबाट अतिप्रभावित १४ जिल्लामा ५० हजार घर निर्माण गरिनेछ ।
त्यसैगरी भूकम्पबाट प्रभावित ३१ जिल्लाका स्वास्थ्य, शिक्षा, सांस्कृतिक सम्पदाको निर्माणमा उपयोग गरिनेछ ।
तराई क्षेत्रमा सडक पूर्वाधार निर्माणलाई तीव्र गतिमा कार्यान्वयन गर्नेसम्बन्धी समझदारीपत्रमा नेपालका लागि भारतीय राजदूत रणजीत राय र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव अर्जुन कार्कीले दस्तखत गर्नुभएको छ । समझदारीअनुसार ५१८ किलोमिटर सडक निर्माण गरिनेछ ।
प्रदर्शनकलाका माध्यमबाट नेपाल र भारतबीचको सम्बन्ध सुदृढ तुल्याउन सङ्गीत तथा नाट्य प्रतिष्ठान स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा सङ्गीत नाटक प्रतिष्ठानका सचिव हेलेन आचार्य र भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले हस्ताक्षर गर्नुभएको छ । उक्त समझदारीअनुसार नाट्य सङ्गीतका विज्ञ, प्रतिनिधि, नर्तक, विद्धत् वर्गलगायत आदानप्रदान गरिनेछ ।
काँकडभिट्टा–बङ्गलाबन्ध मार्ग भएर नेपाल र बङ्गलादेशबीचको पारवहन मार्ग सञ्चालन गर्ने तथा विशाखापटनम् बन्दरगाह सञ्चालन गर्नेसम्बन्धी विनिमयपत्रमा भारतका वाणिज्य सचिव रीता ट्याओ टिया र वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्यायले दस्तखत गर्नुभएको छ ।
उक्त विनिमयपत्रअनुसार भारतीय भूमि भएर नेपाल र बङ्गलादेशबीचमा मालबाहक सवारी साधन ओहोरदोहोर गर्नेछन् भने विशाखापटनम् बन्दरगाहबाट मालबाहक सवारी साधनलाई ओहोरदोहोर गर्न सहज हुनेछ ।
त्यसैगरी, विखाशापटन्मबाट रेलमार्गको उपयोग र बङ्गलादेशको सिङ्हवाद भएर उक्तमार्गको सुविधा प्राप्त हुनेछ ।

भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो ।
भ्रमण दलमा सहभागी मन्त्रीगणसहितको सो भेटमा राष्ट्रपति मुखर्जीले आफ्नो मुलुकमा भ्रमण गरेको र आफ्नो निवासमा आतिथ्यता ग्रहण गरेकामा स्वागत गर्दै आभार प्रकट गर्नुभयो ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले उहाँको न्यानो आतिथ्यताका लागि धन्यवाद दिँदै उहाँलाई नेपाल भ्रमणको निम्तो दिनुभयो । भेटमा प्रधानमन्त्रीका धर्मपत्नी राधिका शाक्य, उपप्रधानममन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी तथा नेपालका लागि भारतीय राजदूत रणजित रायलगायत हुुनुहुन्थ्यो ।
यसैगरी, प्रधानमन्त्री ओलीले आजै उपराष्ट्रपति हमिद अन्सारीसँग ६ मौलाना आजाद सडकस्थित उहाँको निवासमा शिष्टाचार भेट गर्नुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गृहमन्त्री राजनाथ सिंह तथा अर्थमन्त्री अरुण जेट्लीबीच छुट्टाछुट्टै भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओली बस्नुभएको भारतीय राष्ट्रपति कार्यालयमा आज भएको भेटवार्तामा द्विपक्षीय हित र आपसी चासोका विषयमा कुराकानी भएको छ ।
भेटवार्तामा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय हित, सहयोगका विभिन्न क्षेत्र र आपसी चासोका विषयमा छलफल भएको थियो ।
भेटवार्तामा उपप्रधान एवम् परराष्ट्र मन्त्री कमल थापा, गृहमन्त्री शक्तिबहादुर बस्नेत, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलगायतको उपस्थिति रहेको थियो ।
यसअघि प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरिसक्नुभएको छ । photo: Salokya




No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक