(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीति
र छाडापनबाट
पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20160215

नाकावन्दी गरेर भारतले नेपालको जनजीवन अस्तव्यस्त पार्‍यो, मानवीय संकट खडा गरिदियो, नेपालको आर्थिक ढाड भाँचिदियो, ती सबै बिर्सिए प्रधानमन्त्रीले !

- राजन कार्की

केपी ओली र भारतवीच भित्री सम्बन्ध राम्रो छ। त्यो राम्रो सम्बन्ध व्यक्तिगत हो। दुई देशवीचको सम्बन्ध हिउँको ढिक्का बन्दै र पग्लदै गरेको स्थितिमा ओलीको भ्रमण बल्लबल्ल हुन लागेको छ। यो भ्रमण 'पहिले भारत' मा सिमित भयो भने चिस्सिएको सम्बन्धको चिप्लो स्थितिमा चिप्लिएर केपी ओलीले तीन बल्ड्याङ खाए भन्ने अर्थ लाग्नेछ। त्यसैले ओलीजी, भारत जानोस्, राजनीतिक इतिहास उज्यालो बनाउने हो भने जनताको ढाल बनेर जानोस्।साँढे चार महिनापछि रक्सौल नाका खुल्यो। आवतजावत, लनतन, लेनदेन सहज भयो। माघ २२ गते देखि रक्सौल नाका भएर उल्लेख्य संख्यामा मालबाहक गाडी भित्रिन थाले। मधेसी मोर्चाले आन्दोलनको स्वरुपमात्र फेरेका हुन्, तिनका आन्दोलन रोकिएको छैन। राजनीतिको खिचलो नमिलेसम्म भविष्यमा फेरि नाकावन्दी हुन्न भन्न सकिन्न।प्रधानमन्त्री ओलीले पार्टीका नेता प्रदीप ज्ञवालीको टोलीलाई अदृश्य रुपमा सन्देश पठाए, दिल्लीले एउटा कानले सुनेर अर्को कानले उडाइदियो। त्यसपछि दुईपटक परराष्ट्रमन्त्री र तेस्रोपल्ट अर्थमन्त्रीलाई दिल्ली पठाएर फागुन ७ मा आफूले गर्ने भारत भ्रमणको साइत जुराएका छन्। परराष्ट्रमन्त्रीको दुईपटकको दिल्ली भ्रमणबाट आध्यात्मिक गुरु रविशंकरको प्रभाव उपयोग गर्दा पनि किन नाका खुलेन, यो आश्चर्यपूर्ण छ। यसकारण भारतले नाकावन्दी खोल्नुपूर्वका ३ घटनाक्रम रोचक, घोचक र अर्थपूर्ण देखिन्छन्। यसको विश्लेषण हुनुपर्छ।
पहिलो– मधेसी मोर्चाका नेताहरु दिल्ली पुगेर मोदी सरकारसँगै हारगुहार गरेका हुन्। नाकावन्दी पनि भएकै हो। प्रत्यक्ष हस्तक्षेप खोजेका थिए, पाएनन्, हार खाएर फर्किए। मधेस आन्दोलन चर्किरह्यो र नाकावन्दी पनि जारी रह्यो। जब मधेसी मोर्चा पटना पुग्यो र लालु यादवको ढोका ढकढक्याएर (नितिशकुमार) गुहार माग्यो र लालु यादवले २४ लाख छोरीबुहारीको सवाल छ, जस्तोसुकै सहयोग गर्छौं, सीमाक्षेत्रमा जनसभा गरेर अघि बढ्छों भनेपछि दिल्लीले यो घटनालाई पचाउन सकेन। किनकि भर्खर बिहारमा मोदीको लज्जाजनक चुनावी हार भएको थियो। फलतः एकाएक बिना घोषणा यता, नाका सहज भयो। कसरी?
दोस्रो– नाकावन्दीकै अवस्थामा प्रधानसेनापति राजेन्द्र क्षेत्री भारतीय राष्ट्रपतिसँग मानार्थ स्थलसेनाध्यक्षको पदवी ग्रहण गर्न दिल्ली गए। नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्री र भारतीय सेनाध्यक्ष दलवीर सिंहवीचको वार्ता र नेपालमा भइरहेको नाकावन्दीको सैनिक बहसले दिल्लीलाई यसरी प्रभावित पार्‍यो कि एसएसवीका जवानले रक्सौल–वीरगञ्जवीचको धर्नाकारीका पाल प्रवन्ध हटाइदियो, माथिको आदेशमा रक्सौलमा तेर्स्याइएको तगारो हट्यो र नाका सुचारु भयो। यो  चमत्कार बुझ्न जरुरी छ।
तेस्रो– प्रधानमन्त्री ओलीले नाका नखुले भारत भ्रमण गर्दै गर्दिन, बरु चीन जान्छु भनेर दुईपल्ट घुर्क्याए। चीनको औद्योगिक नगरी छेङ्दुमा महावाणिज्य दूतावास खोल्ने निर्णय गरेर दिल्लीलाई दम्क्याउन तुरुपको एक्का नै फाले। अन्ततः ओलीको दाउपेचले काम गर्‍यो, नाका सुचारु भयो। यसैवीच कांग्रेसका सभापति सुशील कोइरालाको देहावसान भयो, भारतका प्रधानमन्त्री र राष्ट्रपतिले शमवेदना प्रकट गरिसकेको स्थितिमा तत्कालै (माघ २६) मोदी सरकारले विदेशमन्त्री सुषमा स्वराजको टोली नै नेपाल पठायो, समवेदना प्रकट गरायो र प्रधानमन्त्री ओलीलाई सोही दिन साँझ भेटेर सुषमा स्वराजले कानेखुशी गरिन्। ओलीको मुखबाट प्वाक्क दुईटुक शव्द निस्किए– दुःखको बेलामा छिमेकीले साथदिनेरहेछ। यथार्थ तस्वीर हो यो
आश्चर्य छ, ५ महिना नाकावन्दी गरेर भारतले नेपालको जनजीवन अस्तव्यस्त पार्‍यो, मानवीय संकट खडा गरिदियो, नेपालको आर्थिक ढाड भाँचिदियो। ती सबै बिर्सिए प्रधानमन्त्रीले। दिल्लीले कानेखुसी गर्दा छिमेकीले साथ दिएको, सहयोग गरेको सम्भि्कए उनले। कति दयनीय छ, नेपालका नेताहरुको मानसिकता। उता भारतका अर्थमन्त्री अरुण जेट्लीले नेपालको पुननिर्माणमा सघाउँछौं के भनेका थिए, ओली सरकार खुशीले गद्गद् भएर भुइँमा खुट्टै नभएको देखियो।
वीरगञ्ज नाका खोलेर भारतले माया गरेको अर्थ लगाएका छन् हाम्रा प्रधानमन्त्रीले। पहिले गुण्डागर्दी गरेर हातखुट्टा भाँचिदिने अनि मलम लगाएर पट्टी बाँध्ने कार्य कसरी माया हुनसक्छ? नेपाल भूपरिवेष्ठित मुुलुक हो, यसलाई भारतबेष्ठित नै राख्ने गलत मनसाय कदापि मायाँ हुँदैहोइन। भारत नेपालसँग राजनीतिक, रणनीतिक चालबाजी गरिरहेको छ, यसको अन्तर्य पछि खुल्दै जानेछ। इतिहास साक्षी छ, भारतको स्वतन्त्रतामा नेपालीले ज्यानको बाजी लगाए। त्यो गुण भारतले कहिले सम्झेन। नरेन्द्र मोदी नेपालकै संसदमा उभिएर भारतको कुनै पनि युद्धमा नेपालीले रगत बगाएका थिए भने तर त्यसो भनेर उनी के फर्किए नेपालमाथि नाकावन्दीको जघन्य अपराध गर्न पुगे। इन्धनको अभावमा बालबालिका मरे, अक्शिजन नपाएर बुढाबुढीले अकालमा मर्नुपर्‍यो। बाँच्नेहरुको कष्ट अझै जारी छ। धेरैले रोजगारी गुमाए, उद्यमव्यापार चौपट भयो। राष्ट्रिय अर्थतन्त्र नै धरासायी बन्नपुग्यो। नेपालले पाउनैपर्ने पारवहनको सुविधा, भारतले दिनैपर्ने निकास रोकिदिएर नकाम गर्‍यो। अहिले त्यही भारत भन्छ– हामी सघाउँछौं। विष पिलाउने अनि अमृतवाणी व्यक्त गर्ने। कुटिलता हो यो। कालोपन हो यो। भारतको गुणको थुप्रोले थिचिएका ओलीले एक हातले दिएर दुई हातले लुट्ने नीति बुझ्न सकेनन्। यो निरीहता हो।
नाका खुल्यो, किन खुल्यो? यसको सिधा जवाफ कसैसँग पनि छैन। तथापि इन्धन आपूर्ति सहजताले नेपालमा नुनिलो खुशीचाहिं ल्याएको छ। नयाँ अध्याय खुलेको छ। यो नयाँ अध्यायको जग फागुन ७ गतेदेखि हुने नेपालका प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण हुनेछ। त्यही जगमा नेपाल–भारत सम्बन्धको नयाँ श्रृंखला सुरु हुनेछ। \
भारतले कहिल्यै बिर्सन नहुने र भविष्यमा भुलेर पनि गर्न नहुने गल्ती भनेको नाकावन्दी हो। यो नाकावन्दीले मोदीको बढेको ख्याति स्वाट्टै घटायो, भारतीय सरकारप्रति नेपाली जनजनमा घृणा बढायो। 'पहिले छिमेकी' भन्ने भारतनीतिलाई खोक्रो पारिदियो र दक्षिण एसियामा भारत फेरि पनि पुरानै 'भालुभुत्ते बुख्याँचा' 'ठूल्दाई' कै रुपमा स्थापित हुनपुग्यो। नेपालमा नाकावन्दी गरेकै कारणले भारत विश्वमा आलोचितमात्र बनेन, भारतको क्षेत्रीय प्रभुत्वलाई समेत निकै कमजोर पारिदियो। भारतको एसियाली दबदबा नेपालमा बिनाकारण गरेको नाकावन्दीमा दहन हुनपुग्यो।
नाकावन्दी खोलेर, विदेश मन्त्रीलाई नेपाल पठाएर र दिल्लीबाट सहृदयताका शव्दहरु प्रकट गरेर भारतको संस्थापन नेपालमा खुस्केको कडी जोड्ने प्रयत्नमा लागेको देखिन्छ। एकजना राजदूतलाई भायसरायजसरी स्थापित गरेर नेपाललाई कज्याउँदै आएको भारतले नेपाललाई ५ महिने नाकावन्दीबाट निकै ठूलो पाठ सिकाएको छ। फागुन ७ को प्रधानमन्त्रीको दिल्ली भ्रमण सम्बन्धको राजमार्गमा होइन, नयाँ सम्बन्धको सुरुआती ट्याकरोडबाट हुँदैछ। पुरानो संरचना भत्कियो, नयाँको खोजी सुरु हुनेछ। भूकम्पले तहसनहस भएको नेपाल पुननिर्माणको तहमा छ र त्यही सतहबाट नेपाल–भारत सम्बन्धको सुरुआत हुनुपर्छ। अव १९५० को सन्धिजस्ता असमानतामा होइन, ती सबै असमानताको अन्त र नयाँ समानताको सुरुआत खोजेर, समानताको मार्गमा हिड्न सक्नु नेपालको हैसियत मापनको मानक हुनेछ। विज्ञ समूहले रौंचिरा विश्लेषण गरेर सार्वभौम हैसियत राख्न गर्नुपर्ने सबै कर्महरुबारे नेपाल सरकारलाई सहजकर्ताको सही भूमिका निभाएको हुनुपर्छ भन्ने विश्वास नेपालीहरुमा छ।
मधेस नेपाल हो, मधेसको समस्या पनि नेपालकै समस्या हो। मधेस समस्यालाई भारतले संवोधन गर्ने होइन, नेपालकै संसद, सरकार र राजनीतिक बर्गले संवोधन गर्नुपर्छ। मधेसको काँधमा बन्दुक राखेर नेपाललाई टुक्य्राइदिउँ, भत्काइदिउँ, सिध्याइदिउँ भन्नेजस्ता धम्कीका भाषा बोल्ने अथवा व्यवहार देखाउने काम भारतले गर्नुहुन्न, नेपालले पनि सहन गर्न सक्दैन। नेपालका कुनै क्षेत्र, बर्ग उचाल पछार नेपाललाई सह्य छैन। नेपाल–भारतवीचको सम्बन्ध नङ–मासुको जस्तो भनिदै आएको हो। नङ काटे मासु दुख्ने, मासु काटे
नङ दुख्ने सम्बन्ध हो रोटी र बेटीको सम्बन्ध भनेको। भूकम्पको प्राकृतिक विपत्तमा परेको नेपालविरुद्ध मानवीयता मार्ने नाकावन्दी कसरी रोटी र बेटीको सम्बन्ध भयो भारत महाराज? पहिले आत्ममिमांसा गर। यत्ति बुझे दुबै क्षिमेकीवीच सुमधुरता आउन थालिहाल्छ। किनकि नेपाल न आवेगमा छ, न रिसाउन जान्दछ, न मनमा ईख नै राख्छ। नेपालको सहनशीलता र मैत्रीभाव नेपालीको विशेषता हो। हेक्कारहोस्, बुद्ध र पञ्चशीलतामा विश्वास गर्छन् नेपालीहरु। यो विश्वास अटल छ, अमर छ।
नेपालका प्रधानमन्त्री भारत आउँदैछन्। यही मौका हो– नाकावन्दीका कारणहरुको गन्थन र आगामी सम्बन्ध मन्थनको। नेपालले भारतका उचित चासोको मान राख्नुपर्छ, भारतले नेपालको स्वाधीनताको सम्मान गर्नुपर्छ। समयको कठघरामा उभिएका दुबै मुलुकले यही अवसरको लाभ उठाउनु उपयुक्त हुन्छ। ओली दिल्ली लम्पसार पर्नै आएका हुन् भन्ने सोचेर यही मौकामा फास्ट ट्रय्राक, निजगड बिमानस्थल, जलस्रोतमा नेपाललाई घोप्ट्याउन खोजे दिल्लीले बुझे हुन्छ– यो उसको अर्को जघन्य अपराध हुनेछ र ओलीले कुनै अनुचित सन्धिमा सही गरे भने त्यो मृत्युपत्रमा गरेको सही ठहरिनेछ। नेपाली जनता अव असमानता स्वीकार्ने पक्षमा छँदैछैनन्।
प्रधानमन्त्री ओलीले पार्टीपंक्तिलाई यो भ्रमणमा कुनै सन्धि हुन्न, राष्ट्रघात हुनेछैन भनेका छन्। सत्य त्यही होस्। दिल्ली भ्रमणका एजेन्डा तय गर्न दिल्ली पुगेका ओलीका दूत अर्थमन्त्रीले भारत के चाहन्छ भन्ने विषयमा रिपोर्टिङ गरेकै होलान्। नाका खुल्यो, भारतको दिल, दिमाग खुलेको हो कि होइन, रिपोर्टिङमा उल्लेख गरेकै होलान्। अव कसरी अघि बढ्ने, कुरा गर्ने भन्ने प्रधानमन्त्री ओलीले मानसिकता तैयार गरेकै होलान्। नेपालमा जस्तो हावाबाट, तातोपानीबाट बिजुली निकाल्ने हावादारी कुरा गरेर नेपालीलाई हँसाए हँसाए, दिल्लीलाई हँसाएर नेपालको बेइजति गर्ने छैनन् भन्ने विश्वास गरौं।
ओलीले दिमागमा राख्नैपर्ने विषय भनेको संविधान, संशोधन र मधेसी मोर्चाको माग प्रमुख हो। निश्चय नै यी विषय वार्तामा उठ्नेछन्। यसबारेमा राजनीतिक सहमतिको शक्तिका साथ जानु उपयुक्त हुनेछ। किनभने मधेस दिल्लीबाट पट्नासम्म झरेको हो, ऊभित्रको 'भारतबाद' नेपालवादमा रुपान्तरण भइसकेको छैन। र, मधेसी मोर्चा फर्कदैगर्दा दिल्लीले सिके राउतलाई निम्त्याएको विषय गोप्य छ तर यो गम्भीर विषय हो। भारतले मधेसका थरिथरिका शक्तिहरुलाई सलाईको काँटी बनाएर प्रयोग गरिरहेको छ। नेपालका लागि यो बारुद जुनसुकै बेला बिस्फोटको खतरा बनेर रहेको देखिन्छ। अर्थात बली चढाउने बोकाको टाउकोमाथि झुण्ड्याएको खुकुरी भन्दा हुन्छ। अहिले पनि हामी आफैले मधेस समस्या हल गर्नुपर्छ भन्ने विषय महत्वको छ। अझैसम्म सरकार, संसद र राजनीतिक दलहरुले मधेस समस्यामा दिनुपर्नेजति ध्यान दिएका छैनन्। यो खिल क्रोनिक भएर क्यान्सर नबन्दै हामीले मधेसलाई मूलधारमा ल्याउन जरुरी छ।
यही विषयमा भारतले कुरा उठाउँदा उचित जवाफ दिनसक्ने पर्याप्त तैयारीका साथ ओलीको भारत भ्रमण हुनुपर्छ। समय छ, होमवर्कमा ध्यान दिइहालौं। सन्धि सम्झौता पोखिएपछि उठाउन गाह्रो हुनेरहेछ। मनमा राखौं है ओलीजी।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक