20160530

नेपाली राजनीतिमा त विषैविष मात्र मिसिएको छ !

- राजन कार्की 

अमृतको घडामा एकथोपामात्र विष मिसियो भने सिंगै अमृत विषालु बन्नपुग्छ। नेपाली राजनीतिमा त विषैविषमात्र मिसिएको छ। त्यसैले नीतिहरुमा सर्वश्रेष्ठ राजनीति जनताका लागि विषालु बन्नपुग्यो। वर्तमान नेपालको छर्लङ्ग देखिने यथार्थ तस्वीर यही हो। अचम्म र अनौठो वास्तविकताले सुन्दर नेपाल, शान्ति प्रक्रियमा गइसकेको नेपाललाई फेरि अस्थिर, अराजक र अपाराधिक राष्ट्रका रुपमा हेर्न थालिएको छ। यसको सम्पूर्ण जिम्मेवारी राजनीतिक बर्गको हो। कति सहज तरिकाले राजतन्त्र किनारा लाग्यो। कति सहज तरिकाले लडाकु व्यवस्थापन भयो। कति सहज तरिकाले जनयुद्धकारी शक्ति लोकतान्त्रिकरण हुन राजी भयो? कति सहज तरिकाले संविधानसभाको निर्वाचन दुई दुई पटक सम्पन्न भयो? त्यत्तिकै सहज रुपमा संविधान पनि जारी भयो। पूर्वराजा र लोकले नेताहरुलाई हार्दिक सहयोग गरिरहे। यति महान नेपालीलाई त्यत्तिकै उदार बनेर राजनीतिक बर्गले आफूलाई प्रस्तुत र प्रमाणित गर्न सकेनन्। असफल
भए। अकर्मण्यताकै कारण संविधान कार्यान्वयन हुनसकेन, देश फेरि आन्दोदनको जँघारमा फस्न पुगेको छ। यो जँघार राजनीतिक दह्रो खुट्टा नटेकी तर्न सम्भव छैन।
राजनीतिक बर्गमा अझै विवेकको बिर्को खुलेको छैन। सत्ता, शोषण, शक्ति नै राजनीति हो भन्ठानेर राजनीतिक बर्ग सिद्धान्त, निष्ठा, नैतिकतामात्र होइन, सामान्य लोकलज्जासमेतको हेक्का राख्न छाडेका छन्। नङ्गा नाचे हजार दाउ भनझैं खारिएको मानिएको राजनीतिक बर्गले काँचो राजनीति गरेर गनाउने काँचोवायु फालिरहेका छन्। जसले राष्ट्रलाई नै रोगव्याधिग्रस्त बनाउँदै लगेको छ।
नागरिक शक्ति र देशको समृद्धि लोकतन्त्रको ऐना हो। यो ऐनामा जे देखिन्छ, त्यसैको प्रतिरुप हो लोकतन्त्र। यतिखेर लोकतन्त्र लोकमारा विषालु बन्दै गएको छ। अमृत लोकतन्त्रलाई विषालु बनाएको नेतातन्त्रले हो। लोकतन्त्र न्यायसंगत हुनुपर्थ्यो, नेतासंगत भइरहेको छ। लोकतन्त्र लोकका लागि कौवालाई बेल पाकेसरह भइरहेको छ। नेताहरुका लागि लोकतन्त्र लुट्ने अवसर बनेको छ। लोक पीडामाथि पीडा भोगिरहने र नेताहरु कर्तव्यवोध नगर्ने? यसरी पनि लोकतन्त्र संस्थागत होला र?
परिवर्तनको असली हकदार लोक हुन्। लोकले साथ दिएकाले परिवर्तन सम्भव भएको हो। लोकले स्वीकार गरेन भने यो परिवर्तनले कोल्टो पनि फेर्नसक्छ। राजनीतिक मार्ग नदीको जस्तो हुन्छ, जुन कहिल्यै सिधा बग्दैन। लोकनेताहरुले लोकलाई यसैगरी सकसमा पार्दै जाने हो भने अर्को परिवर्तनका लागि धेरै लामो समय कुर्नुपर्ने छैन। लोकनेताहरुलाई लोकले पञ्जापत्र दिएका होइनन्, हेक्काराख्न जरुरी छ। अन्तिम निर्णायक शक्ति लोकको मन कुडिइसक्यो, परिवर्तन पनि हुनसक्छ। नेताहरुले लोकतन्त्रलाई राणाहरुले स्थापित गरेको पञ्चदेवलको हण्डी परम्परा बनाएका छन्। देशमा विधितन्त्रको खाँचो छ, हण्डीतन्त्र सर्वकालिक बन्नसक्दैन।
नेपालमा पाइने काँडेभ्याकुर चरा संसारमा कतै पाइन्न। यो दुर्लभ चरा हो। एकसिंगे गैंडा अर्को दुर्लभ जनावर हो। यस्ता दुर्लभ कुराहरु नेपालमा धेरै छन् तर सर्वसुलभ भनेको स्वार्थी राजनीति र राजनीतिक अपराधिक क्रियाकलाप हुनपुगेको छ। लोकतन्त्रको साइनबोर्ड झुण्ड्याएर अमृत लोकतन्त्रमा नेतातन्त्रले निरन्तर विष घोलिरहेका छन्। अमृतमा विष घोल्नु भनेको अमृतलाई विषालु बनाउनु हो। विषालु नेतातन्त्रको रसायन निर्माण रोक्ने प्रभावकारी उपाय भनेको प्रमुख प्रतिपक्षी हो, प्रमुख प्रतिपक्ष महाधिवेशनको धङ्धङीबाट अझै छ्याङ्ग उघि्रन सकेको छैन। निदाएको प्रतिपक्षीका कारण पनि सिंहदरवारदेखि गाउँसम्म अलोकतान्त्रिकताको बिगबगी बढेको हो।
अगत्स्य ऋषिले समुद्र नै पिए, भृगुले विष्णुको छातीमा लातै हाने। समुद्र मन्थनपछि निस्केको विष महादेवले पिएर नीलकण्ठ हुनुपर्‍यो। अति भएपछि खति हुने अनेक उदाहरण छन् अध्यात्म र इतिहासमा। अतिलाई कसै न कसैले रोक्नैपर्छ, कसै न कसैले असहज स्थितिलाई सहज पार्ने पहल गर्नैपर्छ। अगत्स्य, भृगु अथवा महादेव बन्न सम्भव नहोला, तर, सिंगापुर निर्माण गर्ने एकजना नेता त लिक्वान यु बन्न तैयार हुनुपर्छ। नेताहरुको पापाचार र पाखण्ड धेरै भयो, अव लोकतन्त्रमा राजनेता जन्मनैपर्छ। यसका लागि जनताले हस्तक्षेप गर्नुपर्छ भने जनता पनि तैयार हुनुपर्छ। जनता जति सचेत हुन्छन्, त्यस्तै नेता पाउँछन्। जनसगजता देशको पहिलो खाँचो भइसक्यो।
नर्वे हुने कि नाइजर? नर्वे संसारकै धनाध्ये मुलुक हो, नाइजर संसारकै गरिब। हाम्रासामु यक्ष प्रश्न खडा भएको छ। अमृतजस्तो लोकतन्त्र विषालु नेतातन्त्रमा अभ्यस्त हुनथालेकाले लोकतन्त्रलाई अमृतमय जीवनपद्धतिमा रुपान्तरण गर्न सकिएन भने हामी नाइजर हुने निश्चित छ।
चाणक्यनीति भन्छ– सर्पको दाँतमा विष हुन्छ, विच्छीको पुच्छरमा, झिंगाको टाउकामा र दुष्टको सर्वाङ्ग विषालु हुन्छ। नेपाली नेताहरु लोक र लोकमैत्री बन्न सकेनन्, अमृतमय लोकतन्त्रलाई नेतातन्त्र बनाइरहेका छन्। देशहितको उचाइमा कुनै नेता उठ्नै सकेनन्, सबै स्वार्थको लम्पटमा लम्पसार परेका छन्। जनयुद्ध, जनआन्दोलन, गणतन्त्रको कार्यान्वयन, संविधान निर्माण गरिसकेपछि पनि विधिलाई पद्धतिको लिकमा बसाल्न चाहेनन्। सही, सामाजिक र जनपक्षतिर नेताहरुको इच्छाशक्ति नै देखिएन। नेतृत्वको विकास हुन नसक्नुको मुख्य कारण नेताभित्र जरा गाडेर बसेको स्वार्थन्धता हो। जसले निहित स्वार्थ जुनसुकै बेला देख्छ, लोकहित पटक्कै देख्दैन। सत्ता, शक्तिको मादमा लठि्ठएका नेताहरुले आमनागरिक गलिरहेको, मरिरहेको, छटपटिइरहेको कहिल्यै देखेनन्। जनपक्षीय हुन नसक्ने नेतृत्व भनेकै लोकतान्त्रिक आवरणको दुष्टता हो, सर्वाङ्ग विषालु हुनु हो। जसले लोकहितलाई लगातार डसिरहेको छ।
    २००७ सालमा राणाशासनको अन्त्य र प्रजातन्त्रको उदय भयो। तर जुम्लामा २०१२ सालमा मात्र राणा शासन समाप्त भएको थाहा भएछ। लोकतन्त्र त्यस्तै अवस्थामा छ। पार्टी नेता, पार्टी कार्यालय, सिंहदरवार, शितल निवास र संसद भवनमा झिलिमिली बनेको लोकतन्त्र कर्णाली पुगेकै छैन। गोरखाको बारपाकमा लोकतन्त्र पुगेको छैन, कर्णाली, महाकाली त धेरै टाढाका क्षेत्र हुन्। लोकतन्त्रको सिद्धान्त भनेकै न्याय र समानता हो। तर राजधानी र बाूकी जिल्ला, सम्भ्रान्त र सिमान्तकृत लोक, पहुँचवाला, प्रशासन र आमनागरिकवीच यति धेरै विभेद छ कि त्यो विभेदलाई नेतातन्त्रले झन झन विषालु तीर बनाएर जनताको भावनामा रोपिरहेका छन्। अव त यो विषादी पहाडीया र मधेसीया भन्नेमा पनि छरिएको छ। विषादी राजनीतिले देशलाई अस्तव्यस्त पारिरहेको छ। सम्हाल्ने हैसियत नेताहरुमा देखिन छाडेको छ। अन्याय सस्तो भो, न्याय धेरै महगो भइसक्यो, आमनागरिकका लागि।
वीपी कोइरालाले भनेका थिए– प्रजातन्त्रको विकास बिना मुलुकलाई एउटा सूत्रमा बाँध्न सकिन्न। देशका विविधिता जोड्ने सुत्र चुँडियो। सूत्र बन्ने ल्याकत कुनै नेतामा देख्न पाइएन। वीपीले निर्माण गरेको नेपाली कांग्रेसले समेत वीपीको त्यो भावनालाई आत्मसात गर्न सकिरहेको छैन। अरु त कम्युनिष्ट भए, कम्युनिष्ट भनेको निरंकूशतन्त्र हो। निरंकूशहरु जनतालाई सपना देखाएर, जनताको भावनामा खेलेर राज गर्छन्। पश्चिम बंगालमा ज्योतिबसुले दुई दशक राज गरे, बल्लतल्ल ममता बनर्जीले त्यो राज तोडेकी छिन्। नेपालमा मार्क्स, माओ, लेनिनलाई गुरु मान्ने शिष्यहरुको कम्युनिष्ट दलहरु मिलेका छन्। यो मिलाप चुँडिएन, चुडाल्न सकिएन, लोकतन्त्रले तोड्न सकेन भने लोकतन्त्र कम्युनतन्त्रमा बदलिने छ र नेपाल पश्चिम बंगालको अर्को अध्याय बन्न जानेछ। लोकतन्त्रवादीहरुले यो सम्भाव्य खतरालाई समयमै बुझ्नु बुद्धिमानी हुनेछ। किनकि संविधानविरोधीलाई काखी च्यापेर आफूआफूवीच एकताका साथ अघि बढ्नसक्ने र देशमा क्षेत्र, भेग, भाषा, धर्मका नाममा बिखण्डन र बिभाजन, एकप्रदेश र आत्मनिर्णयको अधिकारसमेत दिन्छु भनेर भए पनि लोलोपोतो घस्दै शक्तिआर्जन गर्न सक्ने कम्युनिष्टको भावी अभिष्ठयुक्त रणनीतिलाई दूरदर्शी विश्लेषकहरुले अँध्यारो भविष्यको आहट हो भन्न थालिसकेका छन्।
    लोकतन्त्र किन गाउँमुखी बन्न सकेन? सिमान्तकृत, सुकुम्वासी, असहायमुखी बनेन? युवा, प्रौढ, बृद्धमुखीसमेत छैन लोकतन्त्र। लोकतन्त्र सत्ता, दलीय स्वार्थमा मात्र उपयोग भइरहेको छ। लोकतन्त्र कसलाई प्रधानमन्त्री, मन्त्री, सचिव, राजदूत, न्यायाधीश, संवैधानिक अंग प्रमुख, सुरक्षा निकाय प्रमुख बनाउने भन्नेमा प्रयोग भइरहेको छ। त्यो पनि योग्यताका आधारमा होइन, आफ्ना मान्छेलाई नियुक्त गर्ने गरी नेताहरुवीच भागबण्डा मिलाएर। नेताहरुको यो कुरुप पार्टीतन्त्रले सिंगो राज्य घायल बनेको छ। लोकतन्त्रमा लोकले जित्नुपर्थ्यो, विधि स्थापित हुनुपर्थ्यो, जनताले हारिरहेका छन्, नेताका निजी स्वार्थले जितिरहेको छ। यसैकारण देश पनि पीडामा छ। नेतातन्त्रले नागरिक शक्ति र देशको समृद्धिलाई निरीह बनाउने काम गरिरहेको छ, नेतातन्त्रका निर्णयलाई नागरिकले सकार्नैपर्ने श्री ३ को जस्तो निरंकूश फर्मान बनिरहेको छ।
नागरिकको स्वास्थ्य, शिक्षा, रोजगारी, सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक पक्ष ओझेलमा परेका छन्। नागरिक लोकतन्त्र बिलिन अवस्थामा पुग्यो। नेता लोकतन्त्र लोक लोकतन्त्रभन्दा जाज्वल्यमान भइरहेको छ। नेताहरुको अभिव्यक्ति छिनमा तोला, छिनमा मासाको तौलजस्तो देखिन्छ। नेताहरु दुइजिब्रे बनेका छन्। यिनीहरुको बोलीमा विश्वास छैन, यिनको क्रियाकलापमा लोकतन्त्र देखिदैन। लोकतन्त्र र लोकवीच माध्यम हुनुपर्ने नेताहरुले विश्वासको आधार गुमाउँदै गएका छन्। यसको प्रतिफल हो अमृतमय लोकतन्त्र: विषालु नेतातन्त्र बन्न पुगेको छ। यसमा सुधार नआउने, कमजोरी नसच्चिने हो भने कुनै पनि बेला दुर्घटना अवश्यम्भावी देखिन्छ। rajan2012karki@yahoo.com

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक