(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20160507

प्रचण्ड, बाबुरामहरू आज पनि काठमाडौंका रिसोर्टहरुमा गएर माओका डेट एक्सपायर्ड रेडबुकहरू घोक्छन् र खुला मञ्चमा कोरा सैद्धान्तिक भाषण गर्छन् !

- अञ्जन चालिसे

'साथीहरू, लालसलाम!’
क. आवाजले आफ्नो नाडी बेस्सरी अँठ्याए र गह्रौं गरेर उठाउँदै शिरछेउ पुर्‍याए अनि मुठी कस्दै ठूलो स्वरले चिच्याए।
सबैले एकैस्वरमा 'लालसलाम' भने।
हामी सबैलाई स्कुलको एउटा ठूलो हलमा राखिएको थियो। त्यति बेला म ६ कक्षामा पढ्थेँ। एक छिनपछि देशका लागि बलिदान दिने वीर नेपाली आमाका सपुतहरूको नाममा श्रद्धाञ्जली दिन भनेर क. आवाजले हामीलाई एक मिनेट मौनधारण गर्न भने। सबैले आ-आफ्नो ठाँउबाट जर्‍याकजुरुक उठेर शिर निहुर्‍यायौं। मलाई त्यति बेलासम्म मौनधारण कसरी गर्ने भन्ने थाहा थिएन। यताउति हेरेँ र अरुको सिको गर्दै मैले पनि त्यस्तै गरिदिएँ।
क. आवाजले दुई घन्टाजति माओत्से तुङ, लेनिन र प्रचण्डका बारेमा धारावाहिक बोले। मैले अधिकांश केही बुझिनँ। उनले त्यो भाषणमा पटकपटक दोहोर्‍याएको एउटै शब्द 'बुर्जुवा शिक्षा' आज पनि मेरो दिमागमा
टड्कारो छ।

'देशको आमुल परिवर्तनको लागि छलाङ मार्नुपर्छ। पुरातनवादी सामन्ती राज्यसत्तालाई नढालेसम्म देशको विकास सम्भव छैन। त्यही उद्देश्य प्राप्तिका लागि हामी एउटा महान् क्रान्तिमा होमिएका छौं। साथीहरूले हाम्रो कदममा साथ दिनुहुनेछ र संगठन विस्तारको हाम्रो अभियानलाई सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु।'

क. आवाजको भाषणसँगै सबैले फेरि प्यार्र ताली पड्काए। स्कुलमा विधिवत रुपमा माओवादी स्थापित भयो। माओवादी स्थापित हुनासाथ डोको, डालो बुन्न सिकाउने, तरकारीमा नुन/मसलाको अनुपात मिलाउन सिकाउने पूर्वव्यावसायिक शिक्षा बुर्जुवा ठहरियो। अनि सँगै केही दर्जन विद्यार्थी बुर्जुवा शिक्षालाई पाखा लगाएर भरुवा बन्दुक बोक्न थाले।

मध्य मंसिरताका डहुबेँसी सुक्खा हुन्थ्यो। सबैलाई धान झार्ने चटारोले छोप्थ्यो। मानो रोपेर मुरी उब्जाएको अन्न भित्र्याउन मानिसहरू बेथान लेकदेखि लावालस्कर लागेर झर्थे। मलाई त्यो लस्करमा हिँड्न औधी रहर लाग्थ्यो। एक दिन त मैले पनि बेँसी झर्न घरमा लडाइँ गरेँ। बच्चाको ढिपीले आखिर जितिछोड्यो। म पनि धान झार्न बेँसी झरेँ। दिउँसो खलाको वरिपरि परालको मुठो बिछ्याएर सबै जना गोलो घेरामा बसी भुटेको आलुलाई सुक्खा रोटीमा बेरेर खाँदै थियौं।

'यसपालि जनमुक्ति सेनाको संख्या पनि ह्वात्तै बढेको छ, फेरि जनसरकारले लडाइँलाई थप मजबुत बनाउन उत्तिकै संख्यामा जनपरिचालन गर्ने रणनीति ल्याएको छ। सेक्रेटरी कम्रेडबाट १० मा दुई उठाउनु भन्ने आदेश छ,’ अकस्मात आइपुगेका क. तेजले यसो भनिसक्दा बुबा झसंग हुनुभयो। क. तेजले १० पाथी बराबर दुई पाथीका दरले खलाको धान उठाए। हामी सबै हेरिरह्यौ।

आज बुबाको चौमासिक आउने दिन। दिउँसो घरमा हामी सबै मोहीसँग भुटेको मकै-भटमास खाँदै थियौं। बुबाको चौमासिकसँगै घरमा २/४ किलो चिनी, ३/४ पाथी चिउरा, १/२ पोको नुन, केही प्याकेट बेसार र मसला पनि सँगै भित्रिन्थ्यो। आज बुबा निन्याउरो मुख लगाएर रित्तो हात फर्किनुभयो स्कुलबाट।

'हैन आज तलब ल्याउने दिन हैन र? हेडमास्टर हिजो पनि आएनछ मन्थलीबाट?' हजुरआमा चिच्याउनुभयो।

थकित बुबाले दलानको जाँतोमाथि टुक्रुक्क बस्दै भन्नुभयो 'तलबजति माओवादीले लगिहाले। अब के…'

***
१२ बर्षे जनयुद्ध त्यागेर माओवादीहरू अहिले मुलधारको राजनीतिमा सक्रिय छन्। क. आवाजले गर्वका साथ नाम लिने महान् क्रान्तिका नायक प्रचण्ड लोकतन्त्रपछिका केही बर्षमा देशको प्रधानमन्त्री नै बने। परिवर्तनपछिका सरकारहरूमा प्राय: शिक्षा मन्त्रीको भाग खोज्ने माओवादीले त्यही बुर्जुवा शिक्षालाई आफ्नो कमाइखाने भाँडो बनायो। बुर्जुवा शिक्षाले अन्धकारमा धकेल्यो भनेर पत्याउने त्यति बेलाका होनहार विद्यार्थीहरु खाडीमा धकेलिए। खाडीको ४० डिग्री तापक्रममा कमाएको पैसा आफ्ना नानीहरूलाई बोर्डिङमा आफूले पढ्न नपाएको त्यही बुर्जुवा शिक्षामा खन्याउन विवश छन् माओका तत्कालीन चेलाहरू।

क. आवाजको भाषणले जुरुक्क भएर बन्दुकको नाल उठाएका थिए कुशेश्वरका मेरै अग्रज सहपाठीले। खत्री थर भएका उनले त्यसको केही बर्षमै लुभुको झोलुंगे पुलबाट हाम फाले। प्रचण्ड, बाबुरामहरू आज पनि काठमाडौंका रिसोर्टहरुमा गएर माओका डेट एक्सपायर्ड रेडबुकहरू घोक्छन् र खुला मञ्चमा कोरा सैद्धान्तिक भाषण गर्छन्। गाँउमा उनीहरूका अनुयायीहरुले त्यही कोरा भाषण कन्ठस्थ पार्छन् र भन्छन्- ‘वर्ग संघर्ष आज पनि हाम्रो प्रधान मुद्दा हो।’ परिणाम: डहुबेँसी आज पनि सुक्खा छ। गाँउका मास्टरहरूले अहिले पनि त्यही बुर्जुवा भनिएको शिक्षा पढाउँछन्। संसार १० वर्षको अवधिमा हामीभन्दा दुई सय वर्ष अघि बढ्यो अनि हामी उही कोरा कम्युनिस्ट भाषणमा लिप्त छौं।

***
केही दिनअघि गाँउबाट एक स्थानीय कांग्रेस कार्यकर्ताले फोन गरेर भने, 'भाइ बर्बाद भो।'

बेलाबेला गाँउका स्थानीय समाचारलाई आधिकारिक रूपमा सहर ल्याइपुर्‍याउने उनको भयभीत आवाजले म झसंग भएँ, गाँउमा ठूलै अनिष्ट त भएन?

कुरोको चुरो एक छिनमै थाहा भयो। भएको के रहेछ भने बेथानका भित्रिया कांग्रेसहरू त्यो दिन एमाले प्रवेश गर्दै रहेछन्। म खिस्स हासेँ। किनकि मलाई त्यो कुराले खासै केही अर्थ राख्दैन थियो। मैले पहिल्यै देखेको थिएँ, मान्छेहरू साहुको ऋण नतिर्नकै लागि माओवादी भएका थिए।

दाजुभाइको अंशबण्डाको लागि गाँउलेलाई राजनीतिले कांग्रेस र कम्युनिस्टको कित्तामा छुट्याएको थियो। छोरी- बुहारीको जागिरका लागि मान्छे कम्युनिस्ट भएका थिए। त्यो कतिका लागि विवशता थियो भने कतिका लागि अवसर। एउटै मान्छे सीमित स्वार्थका लागि राजनीतिको नाममा बिनाआस्था कम्युनिस्टका कैयौं रंगीन डुंगा सयर भएको पनि देखेको थिएँ। कारण कांग्रेसभन्दा कम्युनिस्ट हुन सजिलो थियो।

म कुनै राजनीतिक दलप्रति आस्था राख्दिनँ र कतै प्रत्यक्ष आबद्ध पनि छुइन। मलाई त्यो जरुरी भइसकेको पनि छैन किनकि मलाई कुनै दलको फेरो समाएर तत्काल जागिर खानुछैन, छोराछोरीलाई राम्रो स्कुल भर्ना गर्नु पनि छैन। कसैको प्रचार र दुस्प्रचार गरेकै भरमा साँझपख हुने ककटेल पार्टीहरूमा रम्न पनि मलाई कुनै रहर छैन। बेथानमा को माओवादी थियो, कसले कांग्रेस भएकै नाममा संरक्षण पायो, अथवा कसलाई कांग्रेस छोडेर एमालेमा जाँदा फाइदा भयो? त्यो सबैको फेहरिस्तले भन्दा दशकौंदेखि कम्युनिस्टले गाँजेको देशको अस्वस्थ राजनीतिले मेरो टाउको चट्किन्छ। कम्युनिस्टको राजनीतिलाई मैले किन अस्वस्थ भनेको भनेँ त्यहाँ कुनै पनि विचार स्वस्छ र व्यावहारिक छैन। गर्न सकिने सामान्य कुराहरूभन्दा विश्व ब्रह्माण्ड नै उथलपुथल पार्ने उत्तेजित भाषण कम्युनिस्टको खेती हो। मैले आजसम्म कम्युनिस्टबाट त्यहीमात्र भएको देखेँ।
एमाले पार्टी आफू माओ हो कि लेनिन भन्नेमा सधैं झुक्किइरह्यो। सत्ता उनीहरूको मुख्य आसक्ति हो। वृद्धभत्ता एमालेको कुनै पनि सरकारको आजसम्मको राजनीतिक एजेण्डा हो। वृद्धभत्तालाई पाँच सयबाट एक हजार अनि अब १५ सय पुर्‍याउने एमालेसँग भएको एउटामात्र राजनीतिक भिजन हो। सूर्य चुनावी चिह्न उसका लागि सधैं भाग्यवान् साबित भइदियो जसबाट आम मानिसलाई सूर्यको न्यानो तातो भनेर आजीवन झुक्याइरहन सकियोस्।

राष्ट्रवाद उसले कोरल्ने नारा हो। राष्ट्रवादको नारा गाउँदा गाउँदा कार्यकर्तालाई चार आनाको जग्गामा घरसमेत अटाएर आफ्नै करेसाबारीमा दुई मुठा साग उमारी आत्मनिर्भर भएँ भन्न सिकाउनु उसको प्रखर स्कुलिङको उपलब्धि हो। संसारका प्रयोगशालाहरूमा आणविक ऊर्जाको विकास कसरी गर्ने भनेर प्रयोगहरू भइरँहदा दाउरामा भात पकाएर खानु सबैभन्दा स्वावलम्बी हो भनेर सिकाउने कम्युनिस्ट राष्ट्रवादले हामीलाई कहाँ पुर्‍याउला? सामाजिक पुँजीवादी अर्थव्यवस्था संसारको उत्कृष्ट विकास मोडल हो भनेर प्रमाणित भइसक्दा पनि त्यसको अपव्याख्या गरेर जोगाएको भोट कम्युनिस्टले नेपालमा कतिन्जेल टिकाउला?

माटो सुहाउँदो राजनीतिक कार्यदिशाको अलमल्याई माओवादीको दीर्घकालीन समस्या हो। त्यति लामो राजनीतिक संघर्ष केका लागि थियो? बाबुराम भट्टराईले हजारौं मानिसको ज्यान र करौडौंको भौतिक क्षति हुने गरी गरिएको संघर्ष केवल एउटा नयाँ राजनीतिक प्रयोग थियो? खलाबाट उठाएको धान र खल्तीबाट थुतिएको तलब वर्ग संघर्षको उत्थानका लागि थियो कि पानीघाट, दोरम्बामा अमूर्त सालिक ठड्याउन? कि रोल्पामा प्रचण्ड, बादल, विप्लवको ज्यान बचाउने सुरूङ खन्न? उत्तर दिन एकै ठाँउमा उभ्भिनुपर्ने बेला आज उनीहरू आ-आफ्नै स्वार्थका लागि छिन्नभिन्न छन्। चीन, कोरिया, रुस, क्युबा आदि देशहरु कम्युनिस्ट भएरै पनि विकसित छन् भने हाम्रा कम्युनिस्ट किन सधैं ओठमा चर्को भाषण र मनमा कुण्ठा बोकेर धुलाम्मे हुनुपर्‍यो? कारण अव्यावहारिक राजनीतिक कार्यदिशा र चर्को आलापमात्र हो भन्ने निष्कर्षमा पुग्न हामी अझै कति कुर्नुपर्ने हो?

चर्को राजनीतिक भाषणले जनमानसमा जगाएको अनावश्यक राजनीतिक चासो र यसले सामाजिक सन्तुलनमा पार्ने असर मेरो सदाको चिन्ता भइरह्यो। अनि यसमा सबैभन्दा बढी योगदान कम्युनिस्ट स्कुलिङबाट विकसित भएको राजनीतिले पुर्‍याएको छ भन्ने मेरो एकोहोरो ठम्याई।
सायद, यसैले होला मलाई कम्युनिस्ट मन पर्न छोडेको छ।
स्रोत : पहिलोपोस्ट 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक