20160724

प्रधानमन्त्री ओलीले दिए राजिनामा, राष्ट्रपती द्वारा राजिनामा स्वीकार गर्दै अर्को सरकार गठन नभए सम्मका लागि ओली सरकारलाई नै काम चलाऊ सरकार घोषणा


प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री पदबाट राजिनामा दिनुभएको छ । आफूविरुद्ध व्यवस्थापिका–संसदमा परेको अविश्वासको प्रस्तावको जवाफ दिँदै उहाँले नयाँ प्रधानमन्त्री निर्वाचनका निम्ति सहज मार्ग प्रशस्त होस् भन्ने हेतुले राजिनामा पेस गरेको र साथै बाधा अड्काउ फुकाउन राष्ट्रपति समक्ष सिफारिस गरेको सदनलाई जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा ३०५ अनुसार बाधा अड्काउ फुकाउका निम्ति मन्त्रिपरिषद्को आजैको बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गरेको जानकारी पनि सदनलाई दिनुभयो । आज जारी व्यवस्थापिका–संसद्को बैठक अहिले १५ मिनेटका लागि स्थगन भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले आजैका मितिदेखि लागू हुने गरी लिखित राजीनामा दिनुभएकाले अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गरिरहने जनाउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा २९८ को उपधारा ८ को खण्ड ९क बमोजिम प्रधानमन्त्री पदबाट लिखित राजीनामा दिनुभएपछि सोही धाराको उपधारा १० बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गरिरहने राष्ट्रपति कार्यालयबाट आज जारी विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा राष्ट्रपतिले बर्तमान मन्त्रिपरिषदद्वारा आफ्नो कार्यकालमा सम्पादन गरिएका कार्यप्रति प्रधानमन्त्री एवम् मन्त्रिपरिषदका सदस्यहरुलाई धन्यवादसमेत व्यक्त गर्नुभएको उल्लेख छ ।

संसदमा अविश्वासको प्रस्ताव पेस गर्ने बेला प्रस्ताव नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ओलीमाथि दश आरोप लगाएका थिए। अविश्वासको प्रस्ताव माथिको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले अधिकांश आरोप
माथि सम्झी सम्झी जवाफ दिए। आफ्ना लागि अविस्वासको प्रस्ताव सामान्य र स्वभाविक कुरा भएको जिकिर गर्दै उनले आफूलाई चक्रव्युहमा पारिएको तर्क गरे। पहिलोपोस्टका अनुसार भावी प्रधानमन्त्रीका रुपमा कांग्रेस-माओवादी गठबन्धनबाट नाम अगाडि सारिएका प्रचण्डलाई झण्डै दुई घण्टा लामो जवाफमा उनले पटक पटक अविश्वास प्रस्तावको के कारण भन्दै सोधिरहे।


सरकार परिवर्तनको खेल रहस्यमय
यो सरकारको बाटो ९ महिनामै छेकियो। लोकतान्त्रिक अभ्यास हो तर त्यो अभ्यासको प्रयोग के का लागि के सन्देश दिन खोजिएको छ? संविधान निर्माणमा जस्तै यसको कार्यान्वयनमा पनि दलहरुबीचको सहमति आवश्यक थियो। संकट विरासतमा लिएर आगो बलेको देशमा धुलो उडेको देशमा पीडा भरिएको देशमा अभावले भरिएको देशमा ती समस्या समाधान गर्ने जिम्मेवारी लिएको थिएँ। जब मुलुकले नयाँ गति लिन थाल्यो, त्यति नै बेला गठबन्धन भित्रबाटै समस्या बल्झाउने काम हुन थाल्यो । बैशाख उत्तरार्धमा नीति तथा कार्यक्रमपछि अचानक सरकार परिवर्तनका रहस्यमय खेल सुरु भए। अचानक आक्रमणलाई कुनै विशेषण दिइएको  थियो। अचानक आक्रमण जे होस्, सरकारमाथि पनि त्यस्तै सडन एट्याक भयो।  (प्रचण्डले सरप्राइज अट्याक गरेर एमालेका झलनाथ खनाललाई प्रधानमन्त्री बनाएको कुरा बताएका थिए)

निउँका लागि निउँ खोजियो
अलिकति समय एउटाले चलाउन पाइसकेको छैन, कारण छ भने ठिक छ सरकार परिवर्तन। मैले अविश्वासको प्रस्तावकको मन्तव्य सुनेँ । बहसमा भाग लिने साथीहरुको पनि कुरा सुनेँ। अचम्म लाग्यो। विरोध नै गर्नुपर्यो् भने कसरी विरोध गर्नुपर्दो रहेछ केही नपाए पनि निउँ कसरी खोज्नुपर्दो रहेछ र कसरी सक्नुहुदोँ रहेछ त्यसको नमुना प्रस्तुत भयो । कुनै विषय छैन।
सत्ता परिवर्तनको खेलमा त्यही पनि यसपटक त छापामार शैलीमै ...... झ्याप्पै ..... मैले उहाँलाइ भनेँ – हरेक पार्टी आफ्नो निर्णय गर्न बाटो तय गर्न स्वतन्त्र छन् । तपाँइले किन समर्थन गर्नु भएन त्यो यहाँहरुको कुरा हो। तर आज हामीले गरिरहेको काम जनताले हेरिरहेकोछ । दुनियाँलाई बेवकुफ बनाउने जमाना छैन अहिले।


अविश्वासको प्रस्ताव होइन कमलो मन दुखेको रहेछ
मैले राम्ररी सुनेँ अविश्वासको प्रस्ताव आइरहँदा आरोप सुनेँ। आरोप सुन्दा थाहा भयो म माथिको अविश्वास कुनै कामको कारणले होइन रहेछ। मन फाटेको, चित्त काटिएको, कमलो मन दुखेको, चित्त नबुझेको आदि कारणले रहेछ।
मैले मेरा मित्रको च्यातिएको मन अरुणा लामाको गीतमा भनेझैँ धेरैपटक सिउने कोशिस गरेँ। मैले एकल र सामूहिक रुपमा पनि कहिले साँझ कहिले अबेलासम्म रात र कहिले बिहान कहिले दिन धेरैपटक मन तुन्ने काममा बिताएको छु। तर भयो के भने आज तुनेर पठाउँछु भोलिपल्ट बिहान आउँदा अर्कोपटि फाटेको छ। फेरि तुनेर पठायो अर्को दिन आउँदा अर्को पट्टि फाटेको छ । अब यसपछि सहकार्य गर्ने साथीहरुलाई यसको अनुभव पनि काम लागुन्। होसियार हुनुहोला। याद गर्नुहोला। तर म आज पनि भन्न चाहन्छु एक माघले जाडो जाँदैन।

दुनो यसो सोझियो भने बुर्लुक्क उफ्रने
काम परेसम्म प्रयोग गरियो त्यसपछि फ्याँकियो जस्तो लाग्यो भनियो। आफैँ सरकार सञ्चालनको संयन्त्रको संयोजक हुने, आफैँ संयोजक बनाएर अरुलाई सदस्य बनाएर हिडाउने। सदस्यलाई थाहा पनि नदिएर आफ्नो दुनो यसो सोझियो भने बुर्लुक्क उफ्रने अनि आरोप चाँही अर्काको टाउकोमा।

जे जनताको नजरमा उपलब्धि ती असफलता कसरी?
आम जनताको नजरमा जे उपलब्धि ठहरिएका छन् र सरकारले धन्यवाद पाएको छ हाम्रा प्रतिपक्ष र हिजोसम्मका सहयात्री मित्रको आँखामा तिनै कुरा सरकारको असफलता बनेका छन्।


मजदुर किसानको राष्ट्रवाद कस्तो हुन्छ?
अब सामन्ती सम्भ्रान्त राष्ट्रवादको कुरा आयो। नेपालको हितको कुरा गर्नु सम्प्रभुताको कुरा गर्नु स्वाभिमानको कुरा गर्नु अब सम्भ्रान्त सामन्त राष्ट्रवाद भयो। अनि अन्यथा राष्ट्रवाद वा मजदुर किसानको राष्ट्रवाद भन्नुभएको होला कस्तो हुन्छ। आजै अहिले जवाफ दिनु पर्दैन समय छ फेरि फेरि पनि जवाफ दिनु भए हुन्छ। सार्वभौम राष्ट्रका हिसाबले नेपालले जुन भूमिका खेलेको छ, जुन परराष्ट्र नीतिमा अडेर छिमेक सम्बन्धमा अडेर सफलता हासिल गरेको छ, ती ऐतिहासिक छ भन्ने दावी म गर्न चाहन्छु।

म राजतन्त्रसँग लडाँइ गरेर जेलमा पर्दा कापी कलम बोकेर कुन स्कुलमा कुद्दै हुनुहुन्थ्यो?
हुनत सजिलो छ ब्याख्या गर्न। प्रस्ताव राख्दा राख्दा मित्रले हौसिएर भन्दिनुभयो – यो संघीयताको पक्षमा पनि थिएन, गणतन्त्रको पक्षमा पनि थिएन। यो त आन्दोलनको पक्षमा थिएन। यहाँ कहाँ झुक्किएर यहाँ टुप्लुक आइपुग्यो जस्तो व्यवहार आयो। हुनत मैले सोध्ने ठाउँ त छ – मैले राजतन्त्रविरुद्ध संघर्ष गर्दा साथीहरु कता हुनुहुन्थ्यो? कहाँ हुनुहुन्थ्यो – म राजतन्त्रसँग लडाइ गरेर जेलमा पर्दा कापी कलम बोकेर कुन स्कुलमा कुद्दै हुनुहुन्थ्यो? सोध्ने ठाउँ छ तर म सोधिरहनु आवश्यक ठान्दिन।

इमानतिर अलिकति आँखा चिम्लियो, पाप धर्मको ख्याल भएन
शान्ति प्रक्रियाको विषयमा प्रश्न उठाउने काम भएको छ। इमान तिर अलिकति आँखा चिम्लियो, पाप धर्मको ख्याल भएन सिद्धिएन? सरकारका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउनेहरु बन्दुकबाट राज्यसत्ता कब्जा गर्छु भन्ने मान्यतामा थिए। अर्को थरि टाउकाको मूल्य तोकेर बन्दुकबाटै ठेगान लगाउँछु पनि भन्नु नै भएको हो । एउटा बिन्दुमा सबैको प्रयासबाट द्वन्द्व व्यवस्थापन गरौँ शान्ति प्रक्रियामा यता पनि नभएपनि उता पनि नभएपनि तानेर ल्याउने काम जुन पार्टीले गर्योव आज त आरोपको शिकार त्यही पार्टी माथि छ।

शान्ति प्रक्रियामा मेरो पार्टी र नेताको जोखिमबारे बोल्नुभयो पनि । रोल्पादेखि दिल्लीसम्म पटनादेखि गोरखपुरसम्म। जुन पार्टीले दुवैतिर नहुदाँ नहुदैँ सयौँ कार्यकर्ता गुमायो उसैप्रति लाञ्छना म वास्तवमा आश्चर्यचकित भएको छु।


संक्रमणकालीन व्यवस्थामा आफै प्रधानमन्त्री हुनुहुन्थ्यो, के गर्नुभयो?
संक्रमणकालीन न्यायमा केही समस्या समाधान भएको छ नै । यो जटिलता केपी ओली प्रधानमन्त्री भएपछि मात्रै भएको हो? वा उसको मात्रै जिम्मेवारी थियो? खुदै वक्ता पनि प्रधानमन्त्री हुनुहुन्थ्यो । समय समय सरकारमा हुनुहुन्छ तर आरोप चाँही अन्तै मोडनु भएको छ। शान्ति प्रक्रियामा जटिलता त छन्। हामीसँग यी सबै समस्या समाधान गर्न कानुनी र संरचनागत व्यवस्था छन् भन्ने विश्वास अन्तराष्ट्रिय समुदायलाइ दिलाउनुपर्छ । होइन भने संयुक्त राष्ट्रसंघको घोषणा पत्र र नेपाल पक्षराष्ट्र भएका विभिन्न अभिसन्ध र अन्तराष्ट्रिय न्यायीक क्षेत्राधिकार भएका मुलुक तानिनेछन् यसमा र मुलुक थप समस्यामा पर्न सक्छ। त्यो विश्वास दिलाएर जानुपर्छ। मैले अविश्वासको प्रस्तावकका माननीयज्यूलाइ बताएको पनि छ।

समृद्धिको खाका कोर्दा किन आपत्ति?
मैले नेपाललाइ सिङ्गापुर बनाउँछु पनि भनेको छैन नेपाललाई स्वीटजरल्याण्ड बनाउँछु पनि भनेको छैन। नेपाललाइ समृद्ध बनाउँछु भनेको हो। यो सम्भव छ र यो गर्नपर्छ। समृद्ध बनाउँछु भन्दा समृद्धिका निम्ती खाका कोर्दा किन आपत्ती भयो? सपनाहरु मुर्छिच्च अवस्थाबाट बिउँझाउने कोशिस गरेको हुँ। देशभक्ति मुर्छित अवस्थामा सपनाहरु मुर्च्छित अवस्थामा । किन गरिब छ नेपाल? तिनीहरुलाइ पुन जगाउन खोजेको हुँ र जीवन दिन खोजेको हुँ।

कहिलेदेखि रिस उठेको रहेछ कुन्नि?
सेल्फ सेन्ट्रिक भन्नुभयो इगो सेन्ट्रिक भन्नुभयो। त्यसमा म केही जवाफ दिइरहन आवश्यक ठान्दिन। अविश्वासको प्रस्तावमा पनि थिएन। कहिलेदेखि रिस उठेको रहेछ कुन्नि? भन्दै जाँदा थप्दै जानुभयो थप्दै जानुभयो त्यसमा के काम। म सँग कुनै निजी आग्रह छैन पूर्वाग्रह छैन। मैले फुस्रो धाक लगाउने पनि गरेको छैन। पुर्खाको कमाइ खाएको होइन आफ्नै खाएको।


मेरो आस्थामाथि पूर्वाग्रही ढंगले प्रश्न उठाइएको छ
नेपालको संविधान निर्माणमा म र मैले खेलेको भूमिका दल र जनतालाइ थाहा छ। आफैले निर्माण गरेको संविधानले निर्धारण गरेको संघीय गणतन्त्र, सामाजिक न्यायसहितको लोकतन्त्र, धर्म निरपेक्षता जस्तो विषयमा मेरो विचार माथि, मेरो स्वीकारोक्तिमाथि, आस्थामाथि जे जेमा पूर्वाग्रही ढंगले प्रश्न उठाइएको छ। यस्तो लाग्छ कि संविधान मलाई कसैले ल्याएर दिएको जस्तो, मेरो दलले पाना पल्टाइ पल्टाइ हेरेको कस्तो रहेछ भने जस्तो । मेरो दल संविधान लेख्नेमा अग्र भागमै थियो भन्ने हेक्का रहोस्।

को कुन स्थानमा उभिन्छ जनताले हेक्का राख्ने नै छ
इतिहासको यस कालखण्डमा को कुन स्थामा उभिन्छ जनताले हेक्का राख्ने नै छ । आवधिक चुनावमा यी सबैको छिनोफानो सार्वभौम जनाले नै गर्नेछ। प्रधानमन्त्री माथि निरंकुश बन्न खोजेको भन्ने हास्यास्पद आरोपमा कसले पत्याउँछ मैले केहि भनिरहनु पर्छ र? 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक