(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20161007

अमेरिकाको चुनाव र नेपाली गँवार राजनीतिज्ञ !

"आजसम्म मुलुकको विकास हुन नसक्नुको महत्वपूर्ण कारण भनेकै कामचाहिं केही पनि नगर्ने अनि विभिन्न वादका बकम्फुसे बहसमा अल्झने नेपाली राजनीतिज्ञहरुको प्रवृत्ति हो ।"

 ".....तर, प्रचण्ड सगौरव प्रधानमन्त्रीको कुर्सीमा विराजमान छन्, उनलाई प्रधानमन्त्रीका रुपमा हामीले स्वीकार गरिरहेका छौं ।"

- डी.आर उपाध्याय

 हालै अमेरिकी राष्ट्रपति पदका दुई उम्मेदवार हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्पले नेपाली नेताहरुले जस्तै घोचघाच तथा आरोप–प्रत्यारोप गरे । तर, त्यसभन्दा महत्वपूर्ण कुरा बहसको अधिकांश समय उनीहरुले मुलुकको विकास, जनतालाई लाग्ने कर, रोजगारी सृजना, औद्योगिक विकासलगायत विषयमा बहस गरे । त्यो बहस पनि जनताले बुझ्ने भाषामा गरे ।
क्लिन्टनले निम्न र मध्यम वर्गलाई राहत पुग्ने गरी कर कानूनमा परिमार्जन गर्ने बताइन् । बढी पैसा कमाउनेले बढी कर तिर्नुपर्ने र मध्यमवर्गलाई राहत दिनुपर्ने उनको तर्क थियो । तर, ट्रम्पले कर्पोरेट ट्याक्सलाई ३५ प्रतिशतबाट घटाएर १५ प्रतिशतमा ल्याउने बाचा गरे । हिलारीले साना व्यवसायका माध्यमबाट रोजगारी सृजना गर्ने बताइन्, ट्रम्पले ठूला उद्योगीलाई राहत दियो, कर छुट दियो भने उनीहरुले ठूलै मात्रामा रोजगारी सृजना गर्ने बताए । हिलारीले ट्रम्पलाई काम गर्ने मानिसको शत्रु भएको
आरोप लगाइन् । ट्रम्पजस्तै मानिसहरुले संकटमा पनि आर्थिक लाभ खोजेकाले सन् २००७ को हाउजिङ क्राइसिस आएको हिलारीले बताइन् । तर, ट्रम्पले व्यवसाय भनेकै यही हो भने । आफूलाई धेरै पैसा भएको व्यवसायी भएकोमा ट्रम्पले गर्वबोध गरे । तर, कामदार तथा उनका लागि काम गर्ने साना व्यवसायीको शोषण गरेर ट्रम्पले पैसा कमाएको हिलारीले बताइन् । अमेरिकी कम्पनीका उद्योगहरु चीन तथा मेक्सिेकोलगायतमा सारेर अमेरिकामा रोजगारी गुमेको तथा ठूलो मात्रामा आयात गर्नुपरेको ट्रम्पको विश्लेषण थियो । यसअघिका डेमोक्रेटिक पार्टीका राष्ट्रपतिहरुले मेक्सिको, चीनलगायत देशसँग गरेका व्यापार सम्झौताको उनले विरोध गरे । यस्ता जनसरोकारका विषयमा उनीहरुले डेढ घण्टा लामो बहसको आधा समय बिताए । यी दुई नेताका चिन्तनमध्ये तपाईंलाई कुनै एकको मन पर्ला वा कसैको पनि मन नपर्ला । तर, जनसरोकारका विषय जनताले बुझ्ने भाषामा जसरी उनीहरुले प्रस्तुत गरे, त्यो उनीहरुको योग्यताका कारण सम्भव भएको हो । यसका लागि दुवै उम्मेदवारको सम्मान गर्नुपर्छ ।
अमेरिकी राष्ट्रपतिका उम्मेदवारसँग नेपालका नेताहरुलाई तुुलना गरौं न । हाम्रा राजनेताहरु यस्ता बहसमा बसे भने जनताको जीवनसँग कुनै सरोकार नै नभएका विषयमा घण्टौं भाषण गर्छन् । सामन्तवाद, साम्राज्यवाद, विस्तारवाद, एकाधिकार पूँजीवाद, साम्यवाद, समावेशिता, पहिचान, स्वायत्तता, संघीयताजस्ता विषयका व्याख्या विश्लेषणमा उनीहरु पोख्त छन् । तर, जनताको सरोकार भएका विषयहरुमा उनीहरु न अध्ययन गर्छन्, न योजना बनाउँछन्, न जनताका सामु यी विषयमा बोल्छन् नै । नेपाल अझै पनि सामन्तवाद नै छ कि पूँजीवादी भयो कि वा समाजवादमा प्रवेश गरिसक्यो भन्ने मनोगत व्याख्या विश्लेषणमा उनीहरुले ठूलो ऊर्जा खर्च गर्छन् ।
तर, रोजगारी सृजना कसरी गर्ने, मुलुकको निर्यात कसरी बढाउने, विदेशी तथा स्वदेशी लगानीकर्तालाई कसरी मुलुकमा लगानी गर्न लगाउने, जनतालाई कसरी करका विषयमा बुझाउने, किसानलाई मल बिउ कसरी समयमा दिने, किसानले गरेका उत्पादनलाई कसरी बजारको ग्यारेन्टी प्रदान गर्ने, उद्यम गर्न चाहनेलाई कसरी सहज वातावरण बनाउने, व्यवसायको राम्रो ज्ञान तथा योजना भएको तर पैसा नभएका युवालाई व्यवसाय शुरु गर्न कसरी सघाउने लगायतका विषयमा नेपालका राजनीतिक नेताहरुले कुनै चिन्तन नै गर्दैनन् । जब मुलुकको विकासका लागि एकदमै ठूलो महत्व राख्ने यस्ता साना साना कुराहरुमा राजनीतिक दलका नेताहरुको ध्यान नै जाँदैन भने मुलुकको विकास पनि हुँदैन । आजसम्म मुलुकको विकास हुन नसक्नुको महत्वपूर्ण कारण भनेकै कामचाहिं केही पनि नगर्ने अनि विभिन्न वादका बकम्फुसे बहसमा अल्झने नेपाली राजनीतिज्ञहरुको प्रवृत्ति हो ।
यस्ता वादका विवादमा जनतालाई कुनै पनि चासो हुँदैन । उनीहरुले यस्ता कुरा बुझ्दा पनि बुझ्दैनन् । उनीहरुले बुझ्ने भनेको के हो भने किसान छ भने मल, बिउ, सिँचाइको व्यवस्था, आफूले गरेअनुसारको मूल्य पाउने बजारको व्यवस्था । रोजगारी गर्ने मानिस छ भने मूल्यवृद्धि कति हुन्छ र कर कति तिर्नुपर्छ । व्यवसायी छ भने आफूले गरेको उत्पादन तथा सेवाको बजार कहाँ छ, व्यवसाय शुरु गर्न कत्तिको झमेला छ, चन्दा तिर्नुपर्छ कि पर्दैन, सरकारी कर्मचारीले समयमा काम गर्छन् कि गर्दैनन् । राजनीतिक दलहरुले गर्ने वादका विवाद विश्वविद्यालयका प्राध्यापकहरु र केही सीमित बुद्धिजीवीहरुका मात्रै चासोका विषय हुन् ।
आर्थिक पाटो बुझ्दैनन् नेता
हाम्रा नेताहरुले आर्थिक विकासका विषयमा कुरा गर्दै नगर्नुको एउटा कारण अज्ञानता पनि हो । एकपटक एउटा ठूलो मिडियालाई अन्तरवार्ता दिँदा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफूले आयकर तिर्दै नतिरेको बताए । तर, मन्त्री, प्रधानमन्त्री तथा सांसद हुँदा उनले पाएको पारिश्रमिकमा उनले आयकर तिरेका थिए । करको थ्रेसहोल्डभन्दा माथि जानेबित्तिकै सबै सरकारी तथा निजी क्षेत्रबाट तलब बुझ्नेले आयकर तिर्नुपर्छ भन्ने विषय उनलाई थाहा रहेनछ । त्यति मात्रै होइन, आफूले पाएको तलब करकट्टी गरेर आएको हो भन्ने पनि उनलाई थाहा रहेनछ । त्यस्तै, प्रधानमन्त्री बन्नुभन्दा अघि संसद्मा भाषण गर्दै हालका प्रधानमन्त्री पुष्पकमल दाहालले ऋण लिएर विकास गर्नु भनेको ऋण लिएर घिउ खानुजस्तै हो भने । विकासका लागि आर्थिक स्रोत कहाँकहाँबाट जुट्छ, विश्वका अन्य देशले कसरी विकासका लागि स्रोत जुटाइरहेका छन् भन्ने विषयमा कुनै जानकारी उनमा नभएको त्यो अभिव्यक्तिले स्पष्ट पार्छ ।
आर्थिक विकाससम्बन्धी यस्ता विषयमा आफूलाई जानकारी नभएको कुरा स्वीकार गर्न हाम्रा नेताहरु तयार हुँदैनन् । उनीहरुले राजनीति गर्दा भोगेको दुःख, पीडा र बसेको जेललाई नै आफ्नो योग्यता मानेर खुसी हुने गरेका छन् । तर, संसारका विकसित मुुलुकहरुले कसरी काम गरेका थिए र विकसित भए । त्यसका लागि आफ्नो मुलुकले के गर्नुपर्छ भन्ने विषयमा अध्ययन गर्ने जाँगर हाम्रा नेताहरुमा छैन । आर्थिक विकासका मोडल, उद्यमशीलता, कर, बजेटलगायतका विषयमा अध्ययन गर्नु आवश्यक छ भन्ने कुरा हाम्रा नेतालाई लागेकै छैन ।
अमेरिकामा सबैभन्दा उत्कृष्टमध्येका पाँच–सात वटा विश्वविद्यालयबाट उच्च शिक्षा हासिल नगरेको, केही उत्कृष्ट पुस्तकहरु नलेखेको मानिस राष्ट्रपति बन्ने कल्पना पनि गर्न सकिन्न । हिलारी क्लिन्टनले यल युनिभर्सिटीको यल ल स्कुलमा कानून पढेकी हुन् । ट्रम्पले युनिभर्सिटी अफ पेन्सिलभानियामा अर्थशास्त्र पढेका हुन् । दुवै उम्मेदवारले दर्जनभन्दा बढी पुस्तक लेखेका छन् । तर, हाम्रोमा सांसद–मन्त्री बन्नका लागि न्यूनतम शैक्षिक योग्यतासम्बन्धी व्यवस्था संविधानबाटै हटाउन हाम्रा अनपढ नेताहरु लागिपरे । जबसम्म मुलुकमा विज्ञता र योग्यताको सम्मान हँुदैन, गँवारहरुले शासन गरिरहन्छन् तबसम्म देश विकसित भएन भनेर कराउनुको कुनै तुक हुँदैन । जब कुनै पनि मुलुकमा योग्य मानिसहरुको योग्यताले शासन गर्दैन, त्यहाँ अनैनिक, गैरकानूनी ‘सेटिङ’हरुले शासन गर्न थाल्छ । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी सेटिङ मिलाएर शासन चलाउँदै छन् भन्ने पछिल्लो उदाहरण हेरौं–
प्रधानमन्त्री दाहालले केही हप्ताअघि गुण्डा वा आपराधिक समूहको नाइकेले आफ्ना सहयोगीसँग केही महत्वपूर्ण जानकारी बताएजस्तै गरी बताए– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीसँग लडाकु शिविरको अनियमितता छानबिन प्रक्रिया अघि नबढाउनेबारे कुरा मिलिसकेको छ । अदालतले कार्कीको नियुक्तिबारे फैसला पुनरवलोकन गर्ने भनेपछि उनले हाम्रो (उनको माओवादी पार्टी) तर्फबाट केही सहयोग होला भन्ने अपेक्षा राखेका रहेछन्, म केही नभनी भारत भ्रमणमा हिँडेपछि ‘अदालतको कुरा मिलाइदिएन’ भन्ने उनको असन्तुष्टि देखियो, मैले सबै कुरा प्रस्ट बताइदिएको छु । उनले (कार्कीले) ‘रियलाइज’ पनि गरेका छन् । अब अख्तियार र पार्टीको कुरा मिलिसक्यो भनेर बुझ्नुस् । त्यति मात्रै होइन उनले सर्वोच्च अदालतसँग यो मामिलालाई जोडेर यसो भने– अदालतसँग पनि उन(लोकमान)ले कुरा मिलाइसकेको बुझिन्छ ।
दाहालको यो अभिव्यक्ति कुनै पनि मुलुकको प्रधानमन्त्रीले बोल्न सुहाउने किसिमकै होइन । एउटा राजनीतिक संस्कार भएको मुलुकको प्रधानमन्त्री भएको भए उनले एउटा संवैधानिक निकायले आफ्नोसमेत संलग्नता आरोप लागेको लडाकू शिविरको अनियमितता छानबिन थाल्नेबित्तिकै राजीनामा दिनुपथ्र्यो । तर, उनी गुण्डा, तस्कर वा चोरडाँकाको शैलीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सर्वोच्च अदालतका प्रमुखहरुसँग सेटिङ मिलाउन लागेका छन् । र, त्यो कुरा सगर्व घोषणा गर्दै हिँडेका छन् ।
यति मात्रै होइन, उनले यसअघि लडाकू शिविरमा करिब ७ हजारको हाराहारीमा रहेका माओवादी लडाकुको संख्या छलछाम गरी ३२ हजार पु¥याएको सगर्व घोषणा गरेको भिडियो सार्वजनिक भएको थियो । त्यस्तै, दाहालका उपप्रधानमन्त्री कृष्णबहादुर महराले सरकार गिराउनका लागि अदृश्य व्यक्तिसँग ५० करोड रुपैयाँ मागेको अडियोसमेत सार्वजनिक भएको थियो ।
एउटा सभ्य, सुसंस्कृत र लोकतान्त्रिक मुलुकमा यस्ता घटना सार्वजनिक भएपछि त्यसमा संलग्न नेताको राजनीतिक करिअर त्यहीं सकिन्छ । सन् १९७२ मा तत्कालीन अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनले दोस्रोपटकको निर्वाचनमा जित हासिल गर्नका लागि डेमोक्रेटिक नेसनल कमिटीमा चोरी गर्न लगाएको, सो पार्टीका फोनहरु रेकर्ड गराएको तथा त्यो कुरा दबाउनका लागि राष्ट्रपतिको शक्ति दुरुपयोग गरेका थिए । त्यो कुरा प्रमाणित भएपछि ठूलो बहुमतका साथ निर्वाचित निक्सनले २ वर्षपछि राजीनामा दिए । त्यसलाई इतिहासमा ‘वाटरगेट काण्ड’ का नामले चिनिन्छ । प्रधानमन्त्री प्रचण्डले बोलेका कुराहरु हेर्दा उनले निक्सनले भन्दा ठूलो अपराध गरेको देखिन्छ । उनले भन्दा ठूलो सेटिङ मिलाएको देखिन्छ । तर, प्रचण्ड सगौरव प्रधानमन्त्रीको कुर्सीमा विराजमान छन्, उनलाई प्रधानमन्त्रीका रुपमा हामीले स्वीकार गरिरहेका छौं ।
त्यति पुरानो इतिहासमा पनि जानुपर्दैन । राजनीतिक संस्कार भनेको कस्तो हुन्छ भन्ने कुरा बुझ्न हालै बेलायती जनताले यूरोपियन युनियनबाट बेलायतलाई अलग गर्ने पक्षमा मतदान गरेपछि प्रधानमन्त्री डेभिड क्यामरुनले गरेको राजीनामा पर्याप्त छ । बेलायत इयूबाट अलग हुनुहुन्न भन्ने पक्षमा रहेका क्यामरुनलाई आफ्नै पार्टीबाट पनि साथ थिएन, उनको पक्ष पराजित भयो र उनले राजीनामा दिए । सत्तामा पुग्नका लागि कानूनी–गैरकानूनी, नैतिक–अनैतिक सबै काम गर्ने हाम्रा नेताहरुका लागि क्यामरुन त महामूर्ख हुन्, जसले छँदाखाँदाको प्रधानमन्त्री पद बेफ्वाँकमा त्यागे ।
संस्कार त्यसै आफसेआफ उत्पत्ति हुने कुरा होइन । मानिस संस्कारी हुनका लागि सुशिक्षित हुनुपर्छ, सुसंस्कृत हुनुपर्छ । तर, हाम्रोमा पढ्नु भनेको पातक हो भनेर पुस्तक जलाउँदै हिँडेकाहरुले अहिले शासन गरिरहेका छन् । उनीहरुबाट राजनीतिक संस्कार प्रदर्शन होला, मुलुकको विकासका लागि ठूलो कदम चालिएला भनेर आशा गर्नु नै बेकार छ ।
निष्कर्ष
सन् १९७० र ८० को दशकमा चिलीबाट छात्रवृत्तिमा अमेरिकामा पढी फर्केका अर्थशास्त्रीहरुले चिलीको अर्थतन्त्रमा यति ठूलो र छिटो परिवर्तन ल्याइदिए कि चिली दक्षिण अमेरिकाकै सबैभन्दा धनी मुलुक बन्न पुग्यो । त्यसरी अमेरिका पढ्न जाने अधिकांशले युनिभर्सिटी अफ सिकागो पढेका थिए, त्यसैले तिनीहरुलाई सिकागो ब्वाइज भनिन्छ । सिकागो ब्याइजहरु सरकारका महत्वपूर्ण पदमा बसे, अर्थमन्त्री, योजनामन्त्री, केन्द्रीय बैंकको गभर्नर, आर्थिक सल्लाहकारहरुलगायत धेरै ठाउँमा बसेर उनीहरुले काम गरेका थिए । एसियाकै मलेसिया, थाइल्याण्डलगायतका मुलुकले यो मोडललाई पछ्याएर तीव्र विकासको दिशामा अघि बढिरहेका छन् । तर, हाम्रोमा यो स्तरको चेत राजनीतिक दल र तिनका शीर्ष नेताहरुमा हुने कुरै होइन, किनभने उनीहरुमध्ये अधिकांशको सबैभन्दा ठूलो योग्यता भूमिगत हुनु, हतियार चलाउनु र जेल बस्नु नै हो । लोकतन्त्रको प्राप्तिका लागि उनीहरुले गरेका यस किसिमका कठिन कामको अवमूल्यन गर्न खोजेको होइन । तर, राज्यसञ्चालनको जिम्मेवारीमा पुग्ने भइसकेपछि र पुगिसकेपछि आफूलाई आर्थिक विकासका विषयमा योग्य बनाउनुपर्छ तथा योग्यहरुमार्फत काम गराउनुपर्छ भन्ने सोच उनीहरुमा कहिल्यै नआउनुचाहिँ साँच्चै उदेकलाग्दो विषय हो । र, यस्तै अयोग्यहरुलाई देशको तालाचाबी सधैं सुम्पिरहने हामी नेपालीहरु उनीहरुभन्दा पनि अयोग्य हौं । - vishwanews

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक