20161010

दशैँ के हो ? किन मनाइन्छ ? यसका ऐतिहासिक, आध्यात्मिक र सामाजिक महत्व के छन ?



– विष्णु बस्नेतको जानकारी मुलक आलेख  । 
बडादशैँ अर्थात् विजयादशमी अधिकांश हिन्दूहरूले मनाउने चाड हो । चलनचल्तीको भाषामा भारतमा दसहरा र नेपालमा दशैँको नामले जानिन्छ । हिन्दूहरूले मनाउने अधिकांश पर्वहरू ऐतिहासिक घटनाहरूसँग जोडिएका छन् । त्रेतायुगमा भगवान् राम र शिवभक्त रावणबीच भएको युद्ध र त्यसको परिणाम सम्झाउन यो पर्व मनाउन थालिएको हो भनेर भनिन्छ । हामीले मनाउने बडादशैँको निम्नानुसारको ऐतिहासिक, आध्यात्मिक र सामाजिक महत्व रहेको छ ।
बडादशैँको ऐतिहासिक महत्व :
रावणले गरेको घोर तपको फलस्वरूप मृत्युन्जयको वरदान पाएपश्चात् आफू अजर, अमर र अजेय भएको घमण्डले अहङ्कारी हुन पुग्यो । एकपटकमा दशवटासम्म टाउको सिर्जना गर्न सक्ने सिद्धि प्राप्त गरेको रावणलाई मार्न असम्भवप्रायः नै थियो । अनन्तकालसम्म राज्य भोग गर्ने इच्छाले प्रसस्त धन आर्जन गरेको रावणले आफ्नो दरबार सुनको इँटाले बनाएको थियो भनेर भनिन्छ । पृथ्वीमा जन्मेको जो–कोहीले पनि आफ्नो आयु पूरा गरेपश्चात् मर्नैपर्छ । तसर्थ, सृष्टिनियमको पालना हेतु अहंकारी रावणको अन्त्य आवश्यक थियो र उसको बध गर्न सदाशिवले भगवान्
विष्णुको सहायता लिनुप¥यो । नाटक मञ्चन भयो, युद्ध भयो । सात दिनको युद्धमा दश शिरवाला रावणको हार भयो । यसको सङ्क्षिप्त रूप दसहरा बन्न पुग्यो । यही ऐतिहासिक घटनालाई सम्झिनका निम्ति हरेक वर्ष दसहरा वा दशैँ मनाइँदै आएको छ । नेपालमा मनाइने दशैँ र भारतमा मनाइने दसहराको प्रकृति केही फरक रहेको छ ।
बडादशैँको आध्यात्मिक महत्व :
पञ्चमहाभूत (पृथ्वी, जल, तेज, वायु, आकाश) को संयोजनबाट बनेको शरीरमा पाँचवटा कर्मेन्द्रीय, पाँचवटा ज्ञानेन्द्रीय र एक सूक्ष्म इन्द्रीय गरी जम्मा एघार इन्द्रीय रहेका हुन्छन् । मानवले मन लागेको कर्म गर्छ, तर मन इन्द्रीयको वशमा हुन्छ । मीठो खाने, राम्रो लाउने, ऐशआराम गर्न खोज्नु यसको स्वभाव हो । मानवको जीवनचक्र कर्म र फलमा नियमित हुन्छ । कर्म र फल केही हदसम्म उसले लिने आहारसँग जोडिएको हुन्छ । भनिन्छ, जस्तो आहार त्यस्तै विचार, जस्तो विचार त्यस्तै व्यवहार, जस्तो व्यवहार त्यस्तै कर्म, जस्तो कर्म त्यस्तै फल । तसर्थ आहार परोक्ष रूपमा फलसँग जोडिएको हुन्छ । आत्मानुभूति गराउने प्रथम दश दिनको समय निकै महत्वपूर्ण रहने गर्दछ । यो नै मुख्य आधार वा जग हो । यस अवधिमा साकाहारीवर्गभित्र पर्ने सात्विक आहार मात्र ग्रहण गर्नुपर्दछ । वर्जय दश इन्द्रीयबाट अपभ्रंश र सङ्क्षिप्त रूप बडादशईं हुँदै बडादशैँ भएको हुन सक्दछ । दश दिनको प्रयासमा दश इन्द्रीयहरूलाई शान्त बनाउँदै ११औँ इन्द्रीयलाई प्रबल बनाएर एकादशीको दिनमा अल्पहार गरी ध्यान बस्ने र चन्द्रमाको वृद्धिसँगै आत्मासाक्षात्कारको बाटोमा अघि बढ्नु नै बडादशैँको आध्यात्मिक महत्व हो ।
बडादशैँको सामाजिक महत्व :
नेपालमा मनाइने दशैँको आफ्नै मौलिकता छ । जसको सम्बन्ध हाम्रो सामाजिक परिवेशसँग जोडिएको छ । नेपालमा मनाइने दशैँ विशेष परिस्थितिको सिर्जना हो । नेपाल स–साना राज्यमा छरिएर रहेको समयमा छिमेकी राज्यहरूमा स–साना कुरामा समेत जुँगाको लडाइँ भइरहन्थ्यो । समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम राख्न विशेष तालिमप्राप्त दस्ता थिएनन् । समाजमा कुनै आपत्विपत् आइपरेमा गाउँमा रहेको कटवालले हाँक लगाई उर्दी जारी गर्दथ्यो । सोहीअनुसारको काम गर्नयोग्य युवायुवती भेला भई परिआएको काम फत्ते गर्ने चलन थियो । कसैसँग युद्ध गर्नुपरेमा उनीहरूले आ–आफ्नो घरमा भएका हातहतियार लिएर जम्मा हुन्थे । त्यसप्रकारको लडाकु दस्तालाई एक–आपसमा कसरी समन्वय गरी लडाइँ गर्ने भन्ने निश्चित तालिम थिएन । समयको मागसँगै यी युवालाई प्रत्येक वर्षको एकपटक अनुकूल समयमा पन्ध्रदिने युद्धकलासम्बन्धी तालिम दिइने व्यवस्था मिलाइयो । प्रतिरक्षाका लागि बनाइने दुर्ग वा कोतको स्थान अग्लो ठाउँमा छानिन्थ्यो । हातहतियार वा खरखजना सुरक्षित तरिकाले राखिने स्थानलाई कोत भनिन्छ । पन्ध्रदिने युद्धकलामा सुरुका दश दिन प्रतिरक्षा र पछिल्लो पाँच दिनमा हमलासम्बन्धी तालिम गराइन्थ्यो । पन्ध्रदिने तालिमका प्रमुख दिनहरूलाई निम्नानुसार लिन सकिन्छ ।
(क) तयारीको अवस्था : कटवालले उर्दी जारी गरेपश्चात् गाउँमा रहेका युवायुवती भेला भई दुर्ग (गढी, किल्ला) सम्म जाने बाटोको निर्माण वा मर्मत गर्ने, नवदुर्गको निर्माण, मर्मतसम्भार गर्ने, लडाइँका लागि चाहिने आवश्यक युद्ध–सामग्रीहरूको जोहो र भण्डारण गर्ने ।
(ख) दुर्गको निर्माण र स्थापना : दुर्ग भनेको डिफेन्सका लागि निर्मित विशेष संरचना हो । पण्डितजीले पूजाकर्म गर्दा हाल्ने विशेष प्रकारको रेखी दुर्गको नक्सा हो । यसमा वरिपरिको गोलाइमा आठवटा र बीचमा एउटा गरी नौवटा दुर्गहरू रहेका हुन्छन् । यो विशेष संरचनाको सहयोगले चारैतिरबाट आउने शत्रुहरूलाई समानुपातिक रूपमा प्रतिकार गर्न सकिन्छ । भूकम्पीय दृष्टिले समेत मजबुत र बढी सुरक्षित रहने यस संरचनालाई नौदुर्ग भनिन्छ ।
(ग) फूलपाती : प्रतिरक्षा तालिमको सातौँ दिनमा आफू युद्धका लागि तयार भएको, तर जाई कटक नगर्ने र झिकी कटक गर्ने नीति रहेकाले युद्ध गरिने विपक्षीलाई युद्ध वा सम्झौताका लागि छनोटका लागि सौगात (फूलपाती) पठाउने वा साटासाट गर्ने चलन थियो । यसप्रकारको फूलपातीलाई शान्ति र समृद्धिको सगुनस्वरूप हर्षोल्लासमय वातावरणमा बाजागाजासहित नाचगान गर्दै भिœयाइन्थ्यो ।
(घ) अष्टमी : शान्ति–सम्झौता नभएको खण्डमा युद्ध निश्चित हुन्थ्यो । कमजोर मुटु हुने योद्धाहरूलाई त्यस इलाकावरिपरि उपलब्ध हुनसक्ने भेडा, बाख्रा, हाँस, कुखुरा, सुँगुर, पाडा आदि काट्न लगाई रगतसँग खेलाएर सुरो बनाउने काम गरिन्थ्यो ।
(ङ) नवमी : हमलाको तयारी र युद्धमा जानुअघि आ–आफ्नो घरपरिवार र नातागोतालाई भेटघाट गर्न नवमीको दिनदेखि दुई दिनको कार्यक्रम रहन्थ्यो । नवमीको दिन योद्धाहरू आ–आफ्नो घर फर्किन्थे ।
(च) दशमी : एकादशीबाट हमलाको अभ्यास सुरु हुने हुँदा योद्धाहरूले आ–आफ्नो मान्यवर तथा नातागोतालाई भेटघाट गर्न उनीहरूको घरमा जाने गर्दथे र मान्यवरले आफूभन्दा सानोलाई रातो टीका लगाई विजयश्रीको आशीर्वाद दिने गर्दथे । यसैलाई अचेल विजयादशमी भनेर भनिन्छ ।
(छ) हमलाको पाँचदिने अभ्यास : एकादशीदेखि पूर्णिमासम्म हमलाको अभ्यास गरिन्थ्यो । यस अवधिमा दुर्ग व कोतलाई कसरी घेराबन्दी गर्ने, शत्रुलाई कसरी मार हान्ने, शत्रुको हमलाबाट आफूलाई कसरी बचाउनेजस्ता कलामा अभ्यास गराइन्थ्यो । आजसम्म पनि नेपालको कहीँकतै यसप्रकारको चलन र अभ्यास रहेको पाइन्छ । गुल्मी जिल्लामा यसलाई सरायखेल भनेर चिनिन्छ । विजयादशमीको टीकापश्चात्का दिनहरूमा त्यहाँका स्थानीय बासिन्दा आफूसँग उपलब्ध रहेका घरेलु हातहतियार वा लठ्ठी लिएर रातको समयमा नजिकको कोतमा भेला हुन्छन् र लडाइँको अभ्यास गर्दछन् । यसक्रममा कोतलाई चारैतिरबाट घेराबन्दी गर्दै मार हान्ने, छेक्ने–छल्ने अभ्यास गरेको पाइन्छ ।
****************************
दशैं गीत सुरसुधाको सँगीतमा : बिदेशमा रहेका र आमा बाबु परिवारबाट टाढा भएका नेपालीमा समर्पित



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक