(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20161123

नेता र नगरवधुमा भिन्नता - राजन कार्की

परिवर्तनले के के न गर्ला भन्ने आश, नौ दिनपछि जगल्टाको नास। लोकतन्त्रको हबिगत यस्तै भयो। नेता यस्तै देखिए। लोकतन्त्रको कुरा गर्दा रछ्यान चलायो मुखभरि छिटाको उखान चरितार्थ हुन्छ। 
यस्तो नमीठो, नराम्रो स्थितिको सिर्जनाकार हाम्रा नेता हुन्। अरुले चलखेल गरे, घूसपैठ गरेको गुनासोभन्दा हाम्रा जनप्रतिनिधिहरु, हाम्रा लोकतन्त्र हाँक्ने सारथिहरु नै हिम्मतहारा, यिनीहरुभित्रको स्वार्थी पारा जिम्मेवार छ। हीरा हुनुपर्ने नेतृत्वमा किरा पर्‍यो, सुन हुनुपर्ने गुण अवगुण हुनपुग्यो, यही काई र लाइ लाग्यो लोकतन्त्रमा। लोकतन्त्र त उज्यालो व्यवस्था हो, व्यवस्थापक बौद्धिकविहीन र स्वार्थमा लीन भइदिदा अँध्यारो बन्नपुग्यो। परिवर्तनको यो कालखण्ड जनताप्रतिको जिम्मेवारी, लोकतन्त्रप्रतिको प्रतिवद्धताको तुलोमा कलंकपूर्ण भयो। 
इमान्दारिताको कसीमा घोट्दा नगरबधुको जत्तिको पनि नैतिकता नेेताहरुमा देखिएन। बेश्याको पनि विश्वास गर्न सकिन्छ। उ बोलेको कुरा पुरा गर्छे, सहमतिलाई तोड्दिन। शरीर बेच्छे, आत्मा बेच्दिन, अस्तित्व बेच्दिन। बेश्याको बोलीमा ओजन हुन्छ, उ बोलीमा समर्पित हुनसक्छे, बोलेको कुरा  होइन भन्दिन। पेशाप्रतिको इमान्दारिता नगरबधुको विशेषता हो। यस्तै विशेषता गुण्डा र डाँकामा पनि हुन्छ। समाजबिरोधी, शासनबिरोधी, कानुनविरोधी मानिने मुनाफाखोर, माफिया 'डन' हरु पनि बोलीमा पक्का मानिन्छन्। उनीहरु मर्न तैयार हुन्छन्, मार्न तैयार हुन्छन् तर बोलेको कुरामा अडान राख्छन्, अडिग हुन्छन्। त्यसैले हिन्दीमा उखान पनि छ: 'जान जाय पर बचन नजाए'। 
बहादुरी, इमान र धरम त नेपालीको विशेषता नै हो। नेपालीको बहादुरी, इमान्दारिता र सहनशीलताका लागि विश्व कायल छ। विश्वले नेपालीलाई चिन्ने विशेषता र नेपालीको शक्ति पनि यही हो। तर, राजनीतिक फाँटका काँट काँटका नेताहरुले त्यो इमान, नीति, नैतिकता र निष्ठा गुमाउँदै गएका छन्। नेपालीत्व र पहिचान हिड्दैछ, पाइला मेट्दैछ गरिरहेका छन्। 
आजका राजनीतिक नेताहरु, प्रशासनका प्रशासकहरु, नीति र विधि निर्माताहरु भ्रष्टाचार, कूनीतिका अग्ला अग्ला खम्बा भएर खडा हुनपुगेका छन्। ट्रान्सपरेन्सी इन्टरनेशनलदेखि कुनै पनि विश्व निगरानी गर्ने संस्थाहरुको रिपोर्ट गौरवमय हुनुपर्नेमा लाजलाग्ने खालका शव्दहरुले भरिएका हुन्छन्। नेपाल अत्यधिक भ्रष्टाचार हुने, दण्डहीन र अन्यायी मुलुकको सूचीमा दर्ज हुनेगरेका छन्। यसमा सुधार गर्न हाम्रो नेतृत्व, राज्यव्यवस्था, जनप्रतिनिधि तैयार देखिदैनन्। 
नेपाल विकासको नाममा, सुधारको नाममा कागजी घोडा दौडने राष्ट्र हो। नेपाल काम कम हुने र कुरा बढी गर्ने राष्ट्र भएको छ। यद्यपि परिवर्तनका तुफान रोकिएको छैन। फरक यत्ति छ, हिजो जनताले परिवर्तनको आकांक्षा राखेका थिए, आज नेताहरु भाषणमा परिवर्तन खोजिरहेका छन्। नङ्गा नाचे हजार दाउ बनेको राजनीतिमा नगरबधुमा जत्ति पनि लज्जाबोध देखिन छाडेको छ। सत्ता र राज्य ढुकुटीलाई यिनले पञ्चदेवलको हण्डी बनाइदिएका छन्। आफू हण्डीवाला बने। हण्डी खानेमा सम्भवतः निष्ठा हुँदैन। राजनीतिले निष्ठा गुमाएको छ। लोकतन्त्रवादी नेताहरु यस्तो अप्ठेरो गाँठोमा बाँधिएका छन्, त्यो गाँठो अर्काले बाँधिदिएकाले यसलाई फुकाउने सुर्केनो पनि अरुलाईमात्र थाहा छ। अरुले गाँठो नफुकाएसम्म निकास निस्कन सक्दैन। त्यसैले राजनीति सत्रपतरी समस्यामा जेलिदै गएको छ। यिनका मनमा सात पतरी कालो छ तर यिनका मुखमा लोकतन्त्रको मीठास देखिन्छ। यिनको व्यवहारमा लोकमय केही पनि भेटिन्न। यिनको शासन नगरबधुभन्दा पनि अनैतिक छ। तथ्यहरु यसै भन्छन्। यी जे बोल्छन्, त्यो गर्दै गर्दैनन्। लोक छटपटिनु, लोकतन्त्रको रुनु पीडा यही हो। नेता खुशी हुनु दुःखद छ। 
आफ्ना स्वार्थका लागि प्रयोग गर्न अमेरिकाले नोरियगादेखि सद्दामसम्मलाई बुख्याँचा बनाएर उभ्यायो। उपयोग सकिनासाथ तिनलाई समाप्त पारिदियो। अमेरिकाले समाप्त पार्ने सूचीमा अव तालिवानी परेको छ। अर्काको उपयोगका लागि तैयार भएकाहरु यसैगरी उठ्छन् र ढल्छन्। हाम्रो लोकतन्त्रको जग १२ बुँदे दिल्ली सम्झौता हो। हाम्रा नेताहरु नोरियगाजसरी ढल्ने क्रम चलिरहेको छ। ०६३ सालपछि गिरिजा, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, सुशील कोइराला, केपी ओली खडा भए र अनायास ढले। यी किन नेपालको शासनमा उभ्याइए, के काम फत्ते गरेपछि ढालिए, यिनलाई नै थाहा छैन। ३ महिना अघि मेरो सरकार किन ढालियो भन्ने प्रश्नको जवाफ केपी ओलीले अझै खोजिरहेका छन्। र फेरि सिंहदरवारमा उभ्याइएका प्रचण्ड कुनबेला ढल्ने हो भन्ने मानसिक तनावमा परिसकेका छन्। मधेसी मोर्चा र भारतीय मालिकलाई नागरिकता, हिन्दीभाषा, अंगीकृतलाई राज्यको कार्यकारी, प्रदेश र प्रतिनिधित्वको बढी अवसर दिएर मालिक खुशी पार्दा केही लामो समय सत्तामा लुटुपुटु गर्न पाइन्छ कि भन्ने ध्याउन्नामा लागेका छन्। खुलासत्य हो, ९ महिनो आलोपालोमा आएका प्रचण्ड, त्योभन्दा अगावै पनि ढालिन सक्छन्। संविधन संशोधनमा ठूलै संकटको आहट सुनिन्छ। 
हाम्रा नेताहरुले १२ वर्षको बिगतका पानामात्र पल्टाएर पढ्ने हो भने, छ्याङ्ग हुनसक्छ। ती उदाहरण जानिराख्नु र सचेत हुनु उचित हुनेछ। प्रश्न यतिमात्र हो– के लोकतान्त्रिक नेताहरुमा देशप्रतिको गौरव छ? यिनमा नेपालीत्व छ भने दिल्ली दौडान र बिल्ली बनेर दिल्ली खुशी पार्ने किन? नेताको तीर्थ काशी हो कि क्वाँ क्वाँ रोइरहेका नेपाली जनता हुन्? लोकतन्त्र लोकमय किन हुनसकेन? लोक किन असुरक्षित अनुभव गरिरहेकाछन्? नेपाली राजनीतिको धर्माधिकारी दिल्ली नै हो भने नेपाली जनताको हैसियत के? संविधानको गरिमा र महिमा कति छ? नयाँ नेपाल बनाउने डम्फु नेपाली हो कि होइन? हो भने संविधान संशोधनको मर्म किन अंगीकृत हुनपुग्यो? यसरी बन्छ नयाँ नेपाल, यही हो खाका? नपालविरुद्धका अनगिन्ती विदेशी आक्रमणलाई देखेर पनि आँखा चिम्लर नयाँ नेपाल बन्छ? नगरबधुमा जत्ति पनि अडान नभएकाहरुलाई कसरी स्वाभिमानी, स्वाधीनतावादी, सार्वभौम भनेर मान्न सकिन्छ र? 
लोकतन्त्र लोकतन्त्र बन्नुपर्छ, नेतातन्त्र, भारततन्त्र वा विदेशतन्त्र हुनुहुन्न। अरुले चलाउने तन्त्र रखेलतन्त्रमात्र हुन्छ, विधितन्त्र बन्न सक्देन। सदा स्वतन्त्र रहेको नेपाललाई विदेशीको रखेल बनाउने यिनै नेता हुन्। नेताहरुले आफूभित्र, आफ्नो अवधारणाभित्र नेपालीत्व देखाउन सक्नुपर्छ। जनबलमा उठ्नु पर्ने दलहरु दिल्लीको धापमा भाँसिन गौरव गर्छन् भने यिनीहरु नगरबधुभन्दा कमसल तत्व हुन्। सुन होइनन्, पित्तल हुन्। नगरबधुको समाजलाई एकहदसम्म बिगार्छन्, भारततन्त्रमा विश्वास गर्नेहरुले राष्ट्र समाप्त पार्दैछ। 
लोकतन्त्रका विपक्षमा कुनै नेपाली उभिएको देखिन्न। विपक्ष छ भने नेताहरुको मनभित्र पसेको भारतको भय विपक्ष हो। स्वाधीन हुँ, नेपाली हुँ, नेपाल हेर्छु, नेपाली बन्छु भन्ने आत्मगौरव गर्न नसक्ने काँतरपन विपक्षी हो। लोक सधैं यिनीहरुकै साथमा छन्, लोकतन्त्रवादीहरुको कुनै दुश्मन छ भने यिनीहरु आफैभित्र विद्यमान छ। पशुले त आफ्नो इलाकामा अतिक्रमण सहन सक्दैन, हाम्रा नेताहरु सुनामी भित्र्याएझैं अतिक्रमण निम्त्याइरहेका छन्। जङ्गलमा जनावर बस्छन्, जनावरमा विवेक हुन्न, बिधि पनि हुन्न, अन्य विदेशी र भारत नेपाललाई जङ्गल बनाएर नेपालको सतित्व लुट्दैछ। नेताहरु ट्वाल्ल परेर हेरिरहेका छन्। नगरबधुहरु शरीर बेच्छन्, तर हाम्रा नेताहरु आत्मा बेच्छन्, देश बेच्छन्, अस्तित्व बेच्छन् र लिलाम भइरहेका छन्। 
इतिहासमा शेख हयास भन्ने व्यक्ति माटोलाई धोका दिएर बृटिश सरकारको चाकर बन्नपुग्यो। अन्तमा, बृटिशले आफ्नो माटोलाई धोका दिनेले हामीलाई पनि धोका दिन्छ भनेर कालोमोसो दलेर डाँडो कटाई दिएझैंं कुनै दिन २१औं शताव्दिका नेपाली नेतामा लेण्डुपहरुको अनुहार देख्नु  नपरोस्। यति भन्दैगर्दा लेण्डुपे कामहरु सक्रियताका साथ हुनथालेका छन्। लोकतन्त्रको सौभाग्य खोजिरहदा यो दुर्भाग्य हो। इतिहास वीरहरुको लेखिन्छ, कायरहरु इतिहासका कलङ्कमात्र बन्ने हुन्। देशमाथि कुनै पनि विदेशी हस्तक्षेप हुँदा विदेशीको पक्षमा बादबिबाद गर्नेलाई मुर्ख भनिन्छ। वर्तमान नेपाल नेताहरुको यही मुर्खता देखाइरहेका छन्। राष्ट्रभन्दा सत्ता प्यारो, नीतिभन्दा स्वार्थ प्यारो भनेको यही हो।
धर्मयुद्ध लड्ने बेलामा नेताहरु स्वार्थको सर्त अघि सारेर राष्ट्रलाई खतरामा पारिरहेका छन्। यस्ता देशघातीहरुले कृष्णलालको 'मकैको खेती' अथवा रुस्दीको सटानिक भर्सेज पढेर केही ज्ञान हासिल गरे हुन्थ्यो। 
डम्बरशमशेर थापाले पद्म शमशेरलाई पत्र लेखेर 'प्रजातन्त्रको बाढीले राणा शासन बगाउन सक्छ” भनेको इतिहास पढे त झनै राम्रो हुनेथियो। नेताहरुलाई ज्ञात होस्– भागबण्डातन्त्र चिरस्थायी हुन्न। सिण्डिकेटतन्त्रले जनताको मन जित्दैन, घृणामात्र बढाउँछ। कतै हाम्रा नेताहरुको यही बानीबेहोराले यिनलाई नबगाओस्। 
राज्य गर्ने लोकनायकहरुले हो। जनप्रतिनिधि हुनु भनेको जनताले पञ्चापत्र दिएका होइनन्, जनताको स्वाभिमानलाई दधिचिझैं विदेशीलाई दान दिने अधिकार छैन। यिनीहरुले शान्ति र सुशासनका लागि भीष्म प्रतिज्ञा गरेकै हुन्, जनताले त्यो प्रतिज्ञा खोज्नु जनताको अधिकार हो। जनतालाई त्यो अधिकारबाट बञ्चित गर्नु लोकतन्त्र होइन। 
लोकतन्त्रको भारी बोकेका नेताहरुसँग नगरबधुभन्दा माथि उठ्ने हिम्मत छ? छ भने देखाउ। देखाउन नसक्ने हो भने कुहिएको फर्सीजस्तो बाहिर बाहिर राम्रो भित्रभित्र काम नलाग्ने गरी नेताहरु बदनाम भइरहेका छन्। भोलि किन पछुताउने? 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक