(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20161207

आमा, दिदी, बहिनी, छोरी, बुहारी, भाउजु तथा सासु सबैले सामाजिक मर्यादा कायम राख्दै एकअर्काको इज्जत गर्ने कि !

- बिन्दु भण्डारी 
( हाम्रो आफन्त खलकमा पत्रकारिता, कलाकारिता, साहित्यिक क्षेत्र, रेडियो टेलिभिजन सबै तिर अग्रसर भएको  म पहिलो सदस्य थिएँ । म चाहन्थेँ म सँगसँगै अरु धेरै मेरा आफन्तहरु पनि मलाई फलो गरुन । दाई भाई दिदीहरु तर्फ कोही आकर्सित नभए पनि छोरी सुस्मा नाच्न, गाउन अग्रसर छ, रहर गर्छे उ । छोरो ज्ञानन जहाजवाला इन्जिनियरिङ्ग बाहेक मेरा क्षेत्र तिर खासै आकर्सित भएन । भाई ॠषि बिजनेश तिर हात हाल्यो ।  आज मेरी बहिनी बिन्दु जो जन्मे देखी ठुली हुँदा सम्मका सबै पल मेरो आँखा अंगाडी छन, म उसलाई अहिले पनि बच्चै देख्छु उ बच्चाको आमा भैसके पनि । उसले एउटा लेख लेखिछ कान्तिपुरमा । मैले यस अगाडि उसको कहिलै लेख पढेको थिइन आज दोहोर्याएर पढें । एकातिर उसले लेख लेख्न थालेको खुशीयाली त छँदै थियो नै त्यस माथि उसको लेखको बिषयबस्तुमा आँखा लगाएँ बहिनी बुझ्ने भैछ । बुझाउन सक्ने भैछ खुशी लाग्यो, मन आनन्दित भयो । जिबनका करिब अढाइ दशक सक्रिय पत्रकारिता (छापा पत्रकारिता, रेडियो पत्रकारिता, टेलिभिजन पत्रकारिता र पछिल्लो ९ बर्ष अनलाइन पत्रकारिता) मा बिताएको मैले आज अलग्गै अनुभुती गरेँ । मेरो मनलाई आनन्दित तुल्याएकी मेरी बहिनी बिन्दुले अब लगातार लेखिरहोस, कलम चलाइरहोस शुभकामना र उसलाई प्रोत्साहन स्वरुप उसको लेख तल प्रस्तुत गरेको छु । धन्यवाद - रामप्रसाद खनाल)
*****************
                   परापूर्व कालदेखि नै महिलामाथि महिला भएकै कारणले धेरै हिंसा हुँदै आएका कारण व्यवहारमा महिला हिंसालाई नै लैंगिक हिंसा मानिँदै आएको भए तापनि लैंगिक हिंसा भनेको महिलामाथिको हिंसामात्र नभई, पुरुष र फरक लिङ्गी समुदाय अर्थात् यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई उनीहरूको लिङ्गको
आधारमा गरिने हिंसा पनि हो ।
आजभन्दा ७००० वर्ष अघिदेखि नै समाजमा लैंगिक अवधारणा र विकासमा विरोधाभास रहेका प्रमाणहरू भेटिन्छन् । ऋग्वेदमा बिभिन्न देवीहरूको उल्लेख गरिएको र देवासुर संग्राम हुँदा दानवहरूको शक्ति क्षीण पार्न देवीहरूको प्रयोग गरिन्थ्यो भन्ने पौराणिक कुराबाट के प्रस्ट हुन्छ भने प्राचीन समाजमा पनि युद्ध र राजनीतिमा महिलाको महत्त्वपूर्ण स्थान रहेको थियो । तर पौराणिक कुरालाई नै आधार मान्ने हो भने वैदिककालमा भगवान रामचन्द्रले लंकाबाट फर्केपछि शंका हटाउन आफ्नै धर्मपत्नी सीतामाथि अग्निपरीक्षा मार्फत उनको पतिव्रताको परीक्षण गरेको विषयलाई महिला हिंसाकै रूपमा लिन सकिन्छ । सँगसँगै सीताको अपहरणपछि समेत रावणले उनको रक्षा गरेको घटनाले नारीहरू भोगविलासको साधन नभई घर तथा समाजको इज्जत हुन् भन्ने कुराको संकेत गर्छ । महाभारत काल (ईपू ३२००) मा पनि बहुपति र बहुपत्नी प्रथा तथा द्रौपदीको वस्त्रहरण गरेको कार्यबाट लैंगिक हिंसा रहेको प्रस्ट हुन्छ । यस्तो सोचलाई त्यसपछि विकास भएका धर्म सम्प्रदाय, जस्तै— इस्लाम (ईपू ७००), बौद्ध (ईपू ५००), क्रिस्चियन (ईसं सुरु) आदिले कायमै राखेको सम्बन्धित धर्मशास्त्रहरूले बताउँछन् । मनुस्मृति कालसम्म आइपुग्दा नारीलाई हेर्ने विरोधाभासपूर्ण दृष्टिकोण कायमै रहेको कुरा स्वयम् मनुस्मृतिको दस्तावेज प्रमाणको रूपमा रहेको छ । लैंगिकताको सन्दर्भमा यस्तो विरोधाभासपूर्ण मान्यता हिन्दु समाजमा एक विरासतको रूपमा हालसम्म पनि कायम रहिआएको पाइन्छ । यस मान्यताले महिलाको व्यक्तिगत स्वतन्त्रता र विकासमाथि प्रहार गरेको छ भन्ने वर्तमान उत्तरआधुनिक नारीवादीहरूको ठम्याइ छ । जुन मान्यताको टकराव आज पुरातन पुरुषवादी पितृसत्तात्मक मान्यतासँग भइरहेको छ ।
प्राचीन कालदेखि आधुनिक कालसम्म आइपुग्दा महिलाको भूमिका घरदेखि कार्यालय तथा खेतबारीसम्म विस्तार भयो, तर घरको भूमिकामा कमी आएन । फलस्वरूप आधुनिक स्वतन्त्रता र समानताको नाममा महिलाहरू झन् ठगिन पुगे । त्यसैले कतिपय महिला आफ्नो हातमा भएको डिग्री औचित्यहीन भएकोमा आक्रोशित पनि छन् । महिलाको सहयोगमा पुरुषले उल्लेख्य प्रगति हासिल गरे तापनि पुरुषको सहयोग नपाउँदा अपवाद बाहेक अधिकांश पढेलेखेका महिला पनि घरको चुलोचौकोमै सीमित हुनुपरेको छ भने कतिपय मानसिक रोगी तथा डिप्रेसनको सिकार बनेको अवस्था छ । अत: महिलाको भूमिका र सम्बन्धलाई पुनर्परिभाषित नगर्ने हो भने न महिलाको उत्पादकत्व बढ्छ, नत विकास नै हुन्छ ।
संसारमा कुनै पनि जीवित प्राणीलाई अर्कोसँग बराबर बनाउन सकिँदैन, महिला–पुरुषलाई पनि, किनकि विकास व्यक्तिगत कुरा हो, जुन विज्ञानले पनि पुष्टि गरिसकेको छ । त्यसैले लैंगिक समानताको बहस लैंगिक भूमिका समान बनाउनुमा नभई सम्मानजनक बनाउनुमा केन्द्रित रहे अर्थपूर्ण हुनेछ । दुबैले कलम र मसीजस्तै परिपुरक ढंगले काम गरेमात्र दुबैको विकास सम्भव छ । अर्थात कामको प्रकृति, क्षमता र परिणाम फरक—फरक भए पनि सबै कामलाई बराबर सम्मान दिनुपर्छ भनिएको हो । उदाहरणका लागि एक कार्यालयमा कार्यालय प्रमुख र कार्यालय सहयोगीले गर्ने कामको प्रकृति, क्षमता र परिणामका आधारमा तलब सुविधामा असमानता भए पनि दुबैलाई बराबर सम्मान र इज्जत दिनुपर्छ ।
नेपालको संविधान २०७२ अनुसार जात, रंग, धर्म, वर्ण, लिङ्ग, अपांगता, क्षेत्रीयता तथा यौनिक अभिमुखीकरणका आधारमा कसैलाई पनि भेदभाव गर्न हुँदैन, पाइँदैन, तर व्यवहारमा भेदभाव कायमै छ । कुनै कार्यक्रम तथा बैठकमा महिलाले अघि सरेर केही कुरो गरे भने त्यसलाई ठूलो कुरा गरी भनी मजाक सम्झी उडाइन्छ । दिएको सुझाव सल्लाहलाई पनि महत्त्व दिइँदैन । यस्तो पुरुषवादी सोच नै वास्तवमा महिला विभेद र हिंसाको मुख्य कारक हो । एउटा घरमा सासुले गर्ने काम र बुहारीले गर्ने कामलाई बराबर सम्मान दिन सक्नुपर्छ । लैंगिक सम्बन्ध र भूमिकालाई शक्ति, सामथ्र्य, मूल्य र उत्पादकत्वसँग दाँजेर हेर्नु हुँदैन । यस्तो दृष्टिदोषलाई पुरुषवादी चस्माले निम्त्याएको दोष मानिन्छ । स्थान जुनसुकै होस्, महिला र पुरुषलाई हेर्ने चस्मा एउटै छ । अर्थात महिला हिंसालाई पनि पुरुषवादी चस्माले हेर्ने गरिएको छ, जुन गलत छ ।
लैंगिक विभेद र हिंसाको अन्त्य गर्दै नारीमुक्ति तथा समुन्नत समाज बनाउने भनी विश्वमा बिभिन्न नारीवादी प्रयास तथा आन्दोलनहरू भए । तीमध्ये १९ औं शताब्दीको मध्यतिर पहिलो नारीवादी धारको अवधारण विकास भयो, जसले महिलाको पहुँच, अवसर, सहभागिता र कामको वातावरणमा जोड दियो । दोस्रो धार १९६०–९० ले महिलामाथि लिङ्ग, जाति, यौनिकता, आर्थिक, वतावरणीय आधारमा विभेद रहेको भन्दै समानता र प्रतिनिधित्वका साथै परम्परागत द्विलिंगीय लैंगिक अवधारणाको परिवर्तनमा जोड दियो । साथै उत्तरआधुनिक तेस्रो धारले महिलाका विश्वव्यापी अवधारणालाई भत्काउने काम गर्‍यो । यसले फरक लिङ्गीहरूको मुद्दालाई पनि उठायो । असमानता, शोषण र दमनमा व्यक्तिगत भिन्नता रहेको विश्लेषण गर्दै श्रम र धनसम्पत्तिको अर्थपूर्ण मूल्यको खोजी हुनुपर्ने, भौतिक वातावरणमा परिवर्तन हुनुपर्ने भनी लैंगिक न्याय (जेन्डर जस्टिस) मा जोड दियो । सन् २००८ पछि विकास भएको चौथो धारले नारीवाद भन्ने शब्दमै प्रश्न खडा गरेको अवस्था छ । यसले पुरुष नारीवादको पनि कुरो गरेको छ । लैंगिक विकासलाई धर्म, आध्यात्म, सूचना प्रविधि, मनोविज्ञान र राजनीतिसँग जोडेर हेरेको छ । साथै सबै प्रकारका लैंगिक अवधारणालाई समेट्ने कुरो गरेको छ । यसले प्रचलित द्विलैंगिक अवधारणामा सुधार गर्नुपर्ने कुरो उठाएको छ ।
तर यी चारवटै धारले लैंगिक कर्तव्यको कुरा भने गर्दैनन् । महिलालाई पुरुषसँग र पुरुषलाई महिलासँग तुलना गर्नु नै गलत छ, किनकि फूलबारीमा भएका सबै फूलको आआफ्नो महत्त्व भएझैं बिभिन्न लैंगिक समुदायको आआफ्नै महत्त्व छ । तसर्थ लैंगिक भूमिका र सम्बन्धलाई अधिकार र भौतिक समानताको कसीमा राखेर नहेरौं । लैंगिक हिंसालाई जैविक र सामाजिक आँखाबाट मात्र नहेरी मनोवैज्ञानिक चस्माले पनि हेर्ने गरौं । घटनाको सतही विश्लेषण नगरौं । लैंगिक विभेद, हिंसा तथा अर्थलाई यौनिकताका आधारमा पनि हेर्ने गरौं । महिला, पुरुष र अन्य लिङ्गीहरू बीचका सम्बन्ध र भूमिकालाई बराबर होइन, सम्मानजनक बनाऔं । लैंगिक हिंसा, अशिक्षित, रुढीवादी समाज र संस्कृतिको उपजमात्र नभई शिक्षित र आधुनिक समाजको गहना बन्दैछ भन्नेतर्फ पनि सचेत होऔं । छोराछोरी घरभित्र सुरक्षित नहुन पनि सक्छन् भन्नेतर्फ पनि ध्यान पुर्‍याऔं । लैंगिक हिंसा अब भर्चुअल प्रविधिमा आधारित भएकाले इन्टरनेट र सामाजिक सञ्जालहरूलाई पनि लैंगिकमैत्री बनाऔं । नारीवादी चौथो धारले भनेझैं अब हिंसाको स्वरूप पनि फेरिएको छ र धारणा पनि फेरिनुपर्छ ।
केही समयअघि पोखरामा एक व्यक्तिले आफ्नै ३ वर्षे छोरीलाई बलात्कार गरे । गोरखामा एक युवकले आफ्नै ४५ वर्षीया आमालाई बलात्कार गरे । यस्ता समाचार बिभिन्न अखबारमा पढ्न पाइयो । यो तथ्यले पुन: एकपटक आहार, निद्रा, भय र यौनमा मानिस पनि पशुसमान हुन्छ भन्ने चाणक्यको धारणालाई पुष्टि गरेको छ । मानिसले सहज ढंगले यी आवश्यकता पुरा गर्न पाएन भने आफ्नो उमेर, नाता, सम्बन्ध आदि सबै कुरा बिर्संदो रहेछ । महिलामाथि हुने धेरैजसो यौनहिंसा आफ्नै नातागोताबाट र घरभित्रै हुने गरेको तथ्य अनुसन्धानहरूले पुष्टि गरेको कुरा हो । त्यसैले आजभन्दा करिब २ हजार वर्षअघि नै मनुस्मृतिले वयस्क छोराछोरीसँग आमाबाबु सँगै सुत्नु हुँदैन, विद्यार्थीसँग शिक्षक टाँसिएर बस्न हुँदैन भनी उल्लेख गरेको थियो । इस्लाम धर्मले पनि महिला–पुरुष दुबैले अश्लील (पारदर्शी तथा टाइट) कपडा लगाउन नहुने, प्राकृतिक अनुकूल लैंगिक व्यवहार गर्नुपर्ने आदि कुरा उल्लेख गरेको छ । जुन कुरा आज अझ सान्दर्भिक हुँदै गएको छ । तसर्थ कतिपय धार्मिक मूल्य र मान्यतालाई सकारात्मक रूपमा लिँदै लैंगिक अवधारणा र हिंसालाई हेर्ने चस्मा वा चस्माको पावर बदल्नुपर्ने समय आएको छ ।
स्थान र क्षमता व्यक्तिगत भए पनि सबै प्रकारका सामाजिक लैंगिक भूमिकाको समान इज्जत गरौं । महिलाहरू घरभित्रका प्रत्युत्पादक कामले पिल्सिएका छन् भन्ने महसुस गरी घरको काममा समेत एकले अर्कालाई सहयोग गरौं । सुरुवात आफू र आफ्नै घरबाट गरौं । आमा, दिदी, बहिनी, छोरी, बुहारी, भाउजु तथा सासु सबैले सामाजिक मर्यादा कायम राख्दै एकअर्काको इज्जत गरौं ।
भण्डारी महिला तथा बालबालिका कार्यालय, कास्कीमा बाल संरक्षण अधिकृत हुन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक