20161206

‘क्षेत्री–बाहुनले पाउनु पाइसके, शासन गर्नु गरिसके, उनीहरूका बारेमा अब चिन्ता गर्नुपर्ने कुनै कारण छैन ।’ राष्ट्रिय टेलिभिजनमा मुलुकका प्रधानमन्त्री प्रचण्डले यसो भनिरहँदा ....

– बबिता बस्नेत 

‘क्षेत्री–बाहुनले पाउनु पाइसके, शासन गर्नु गरिसके, उनीहरूका बारेमा अब चिन्ता गर्नुपर्ने कुनै कारण छैन ।’ राष्ट्रिय टेलिभिजनमा मुलुकका प्रधानमन्त्री प्रचण्डले यसो भनिरहँदा यस्तो लाग्थ्यो कि मानौँ टेलिभिजनको पर्दामा मुलुकका कार्यकारी नभएर जातीय सद्भाव भड्कावमा अग्रसर कुनै गैरजिम्मेवार व्यक्ति बोलिरहेको छ । त्यसो त, यो मुलुकमा जातजातिबीच सकेसम्म दूरी बढोस् भनेर उहाँसम्बद्ध दलले सुरुदेखि नै कोसिस गरेको हो । जातजातिका नाममा भड्काव सिर्जना गरेर यो मुलुकलाई पराई हातमा सुम्पन मिल्ने बनाउन गरिएको कोसिस सुरुमा नेपालीलाई थाहा भएन । राष्ट्रियताका नाममा यस्ता नाराहरू दिइयो कि मुलुकका लागि सबैभन्दा राम्रा मान्छेहरू उहाँहरू नै हो कि भन्ने भ्रम धेरैलाई भयो । विभिन्न जात र समुदायमा छरिए पनि एकताबद्ध भएर बसेका नेपाली जनताबीच मनमुटाव सिर्जना गर्न राज्य नै बाँड्नेसम्मका सपना देखाइए ।
तर, समयक्रममा ती सबै आफू सत्तामा पुग्नका लागि मात्र थिए भन्ने कुरा प्रमाणित भएको छ । क्षेत्री–बाहुनलाई गाली गर्दै आफैँ सत्तामा पुग्नका लागि अनेक तिकडम रच्नुलाई ढोंगभन्दा अरू केही थियो या छ भन्न सक्ने आधारहरू अहिलेसम्म फेलापार्न सकिएको छैन । प्रचण्ड–बाबुरामहरूले जसरी क्षेत्री–बाहुनलाई गाली गर्दै अघि बढ्नुभो, सोहीअनुरूप अन्य
समुदायलाई सत्तामा पु¥याएर आफूले बाहिरबाट सहयोग गरेको भए हो रहेछ भन्न मिल्थ्यो । क्षेत्री–बाहुनबाहेकका समुदायको हकअधिकार र हितको कुरा गर्दै आफै गएर सत्तामा बस्नुलाई अन्य जातिलाई सत्तासम्मको भ¥याङ मात्र बनाइएको थियो र बनाइँदै छ भन्न सकिन्छ ।
सकारात्मकभन्दा नकारात्मक कुरालाई बढी महत्व दिने नेपाली समाजमा प्रचण्ड आफँै बाहुन भएर पनि बाहुनलाई गाली गरे भनी आफ्नो सम्मान बढ्ने अपेक्षा गर्दै उहाँले यो सब गरिरहेको हुनुपर्छ । तर, कहीँ–कतै कसैले यस्ता कुराहरूमा देखावटी प्रशंसा गरिदिए पनि यस्ता कुराबाट उहाँको आत्मसम्मान भने बढ्दैन । आत्मसम्मान मानिसको जीवनमा ठूलो कुरा हो । नेपालका मात्र होइन यो संसारकै कुनै पनि मानिस निवेदन हालेर या आफ्नो इच्छाले यस्तो ठाउँ, वर्ग, जात, समुदायमा जन्म लिऊँ भनेर नजन्मिने हुँदा सबैलाई आफू जे छु त्यसैमा गर्व लाग्छ । यद्यपि कुनै जातविशेषको भएर जन्मिनुमा व्यक्ति स्वयम्को कुनै योगदान हुँदैन । कुनै जातविशेषमा जन्मिनु गर्व या हीनताबोधको विषय होइन । व्यक्तिको सोच, प्रवृत्ति र उसले गर्ने कामचाहिँ महत्वपूर्ण कुरा हो । आफ्नो जातलाई गाली गर्दा अरूको प्रशंसा पाइन्छ भनेर प्रधानमन्त्री प्रचण्डले जसरी क्षेत्री–बाहुनलाई गाली गरिरहनुभएको छ, अलिकति बुझ्ने कुनै पनि मानिसले त्यसलाई राम्रो मान्न सक्दैन । आफ्नै समुदायलाई गाली–गलौज गर्ने र आफ्नैलाई अपमान गर्नेले अरूलाई के सम्मान गर्ला ? भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । उच्च सोचको कुनै पनि नेतृत्वले जातजातिको कुरा गर्दैन । सबै जातजाति, वर्ग, समुदायलाई समान अवसरको सिर्जना गर्छ ।
आफ्नो जातलाई गाली गर्दा अरूको प्रशंसा पाइन्छ भनेर प्रधानमन्त्री प्रचण्डले जसरी क्षेत्री–बाहुनलाई गाली गरिरहनुभएको छ, अलिकति बुझ्ने कुनै पनि मानिसले त्यसलाई राम्रो मान्न सक्दैन । आफ्नै समुदायलाई गाली–गलौज गर्ने र आफ्नैलाई अपमान गर्नेले अरूलाई के सम्मान गर्ला ?
यो मुलुकको प्रधानमन्त्री हुनुअघि उहाँले कहाँ के बोल्नुभएको थियो त्यसले त्यति ठूलो महत्व राख्दैन । यद्यपि नेपाली जनताको र मुलुकको नाममा उहाँको नेतृत्वमा युद्ध नै भएकाले उहाँले बोलेका कुराको अर्थ नहुने भन्ने होइन । सार्वजनिक स्तरमा भएका कुनै समिति, समूह, संस्थाका प्रतिनिधिहरूले बोल्ने कुरा त सोचेर बोल्नुपर्छ भने उहाँको बोलीमा जिम्मेवारीपन नहुनुपर्ने भन्ने कुरै हुँदैन । तथापि कुनै दलको प्रमुखका रूपमा बोल्नु र सम्पूर्ण नेपालीका अभिभावक प्रधानमन्त्रीका रूपमा कुनै कुरा व्यक्त गर्नुबीच ठूलो अन्तर हुन्छ । क्षेत्री–बाहुनलाई उहाँले होच्याउनुभो या उनीहरूलाई कुनै पद, प्रतिष्ठा चाहिँदैन भन्नुभो भनेर होइन, कुनै पनि जातजातिलाई उहाँले होच्याउन मिल्दैन । प्रधानमन्त्री हुनुको हैसियतमा यो मुलुकमा भएका हरेक जातजातिलाई सम्मान गर्नु उहाँको कर्तव्य हो । प्रधानमन्त्री मात्र होइन, यो मुलुकको सर्वसाधारण नागरिकले पनि कुनै जातजातिविशेष कुरा गरेर कसैलाई होच्याउन पाउँदैन । नेपालको संविधानले नै त्यसको व्यवस्था गरेको छ । जुन संविधान उहाँसमेतको संलग्नतामा बनेको हो र अहिले संशोधन र कार्यान्वयनका लागि उहाँ लागिरहनुभएको छ । आफँैले नमान्ने संविधानको अरूले कार्यान्वयन गरिदिउन् भन्ने चाहनामा के नैतिक आधार रहला ?
नेपालको संविधान २०७२ को मौलिक हक र कर्तव्यअन्तर्गत विभिन्न जातजातिको सुसम्बन्धमा खलल पर्ने काम गर्न नमिल्ने उल्लेख गर्दै यस्तो कार्यलाई प्रतिबन्ध लगाउने गरी कानुन बनाउन रोक लाग्नेछैन भनिएको छ । सूचनाको हकसम्बन्धी कानुनले पनि जातजातिबीच सद्भाव भड्कने सूचनामा माग्न नमिल्ने भनेको छ । सूचनासमेत माग्न नमिल्ने कुरा सरकारी टेलिभिजन च्यानलबाटै बोल्न कत्तिको मिल्छ ? नेपालीहरू सहनशील छौँ, अलग कुरा हो, नत्र सोही दिनदेखि क्षेत्री–बाहुनहरूले प्रधानमन्त्रीविरुद्ध आन्दोलन सुरु गरिसकेका हुने थिए । किनभने उहाँ सत्तामा हुनुहुन्छ, उहाँका नातेदारहरू सुखी होलान्, केही आसपासमा भएका क्षेत्री–बाहुनले अवसर पाइरहेका होलान् । तर, यो मुलुकमा त्यस्ता धेरै क्षेत्री–बाहुन छन् जो एक छाक खाएर जीवन बाँच्नका लागि कठोर सङ्घर्ष गरिरहेका छन् । कर्णालीका ठकुरीको कुरा गरौँ या ताप्लेजुङका बाहुनको या राजधानी सहर र वरिपरिकै, सबै क्षेत्री–बाहुनले अवसर पाएका छैनन् जसरी अन्य धेरै जातजातिले पाएका छैनन् । केही मानिस प्रधानमन्त्री भए भन्दैमा अरू सबैको जीवनस्तरमा वृद्धि भएको छ भन्ने ठान्नु महान् भूल हो ।
यो मुलुक सबै जातजातिको समान हो । त्यसैले सबै जातजातिले अवसर पाउनुपर्छ । प्रधानमन्त्रीले अब सत्ताको स्वादलाई छाडेर अन्य जात समुदायलाई मुलुकको जिम्मेवारी दिँदा मुलुक बचाउने काम उहाँले भन्दा राम्ररी हुनेछ भन्ने विश्वास गर्न सकिन्छ । अन्य समुदायका मानिस यो मुलुकमा धेरै छन् जो साँच्चै यो मुलुकको हित चाहन्छन्, देशलाई असाध्यै माया गर्छन् । साथै नेतृत्व पनि लिन सक्षम छन् । प्रधानमन्त्री प्रचण्डले भनेको एउटा कुरा के सही हो भने सधै बाहुनहरू किन सत्तामा रहनुप¥यो ? प्रश्न जायज छ । त्यसैले सत्ताको साँचो अब अर्को समुदायलाई दिऊँ । यस्ता कुराहरू बोलेर मात्र हुँदैन, व्यवहारमै उतार्न सक्नुपर्छ । यदि यस्तो भयो भने उहाँको बोलीको महत्व हुनेछ र यो देशले पनि जात, क्षेत्रभन्दा माथि उठेर राष्ट्रको कुरा गर्ने नयाँ नेतृत्व पाउनेछ । होइन भने आफूलाई भ¥याङ बनाउन जातजातिको कुरा गर्ने प्रधानमन्त्री प्रचण्डलाई अन्य समुदायले किन मान्ने अनि आफ्नै समुदायलाई गिराउन खोज्ने उहाँलाई क्षेत्री–बाहुनले किन मान्ने ? - घटना र बिचार 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक