(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20170102

३ सय ८० शव्दको एउटा चिर्कटोले थर्थरी काँप्ने सरकार !!

- राजन कार्की 

    जग बलियो नभए घर बलियो हुन्न सक्दैन । लोकतान्त्रिक सरकार र जारी भएर पनि कार्यान्वयन हुन नसकेको संविधानको जग कति कमजोर रहेछ भन्ने कुरा अव भनिरहनु पर्दैन । त्यसै पनि धरापमा परिरहेको सरकार र संविधानले काम गर्नै नसकिरहेको अवस्थामा तत्कालीन राजा ज्ञानेन्द्रले राष्ट्रिय एकता र अखण्डताका लागि जनता जागरुक हुनुपर्छ भन्ने एउटा वक्तव्य दिँदा सरकार र संविधान थरहरि भएको दृश्य देखियो ।     बालुवको थुप्रो पो रहेछ लोकतान्त्रिक पहाड व्यवस्था भनेको छ । यो बलौटे पहाड जुनसुकै बेला धरासायी हुनसक्छ । यसको भर छैन है ।
    संवैधानिक सीमामा बसेका तत्कालीन राजा ज्ञानेन्द्रले गतहप्ताको बुधवार ३ सय ८० शव्दको एउटा चिर्कटो वक्तव्य फुत्त के फालेका थिए, सिंहदरवार लुगलुग कामेको देखियो । राष्ट्र र राष्ट्रियता कति थिलथिलो भइसकेछ ? सत्य यही हो र तत्कालीन राजाको वक्तव्यमा यही कुरा इंगित गरिएको थियो । सत्य तीतो हुन्छ, सत्य टर्रो हुन्छ, वक्तव्यलाई नेताहरुले पचाउनै सकेनन् । हाजमोला खाने बानी परेकालाई नेपाली पाचकले के छुन्थ्यो र ? यिनको हंसले ठाउँ छाडेको देख्दा लोकतान्त्रिक शीशमहल धरहरा ढलेझैं लोकतन्त्र गल्र्यामगुर्लम ढल्छ कि भनेझैं अनुभव गरियो । राजनीतिक विश्लेषकहरुको विश्लेषण थियो– सरकार र संविधान तत्कालीन राजाको एउटा वक्तव्यले नै पन्चर भयो । लोकतन्त्र त इस्पातजस्तो धारिलो, बज्रजस्तो अभेद्य हुनुपर्ने हो, कति कमजोर भइसकेछ लोकतन्त्रका महारथीहरुको नैतिक बल ?
    लोकतान्त्रिक गणतन्त्रको राजनीतिमा यति ठूलो दरिद्रता ? तत्कालीन राजासँग डराउनु पर्ने कारणै छैन, लोकतन्त्र बलियो पारुन्, राजनीतिक स्थिरता दिउन्, शान्तिव्यवस्था कायम गरुन्, सुशासनको प्रत्याभूति दिनसक्ने हो भने यसरी एउटै वक्तव्यमा कहालिनै पर्दैन । कुराले ठिक्क र कार्य निष्पट्ट भएपछि र खाइपाई आएको खुराक खान्की खोसिने भयले अत्तालिनु भनेको लोकतान्त्रिक राजनीति कतिसम्म गएगुज्रेको अवस्थामा पुगिसकेछ भन्ने सहजै अनुमान गर्न सकिन्छ । यिनले आफू उभिएको धर्ती बालुवाको भीर खस्केझैं खस्किएको चालै पाएनन् ।
    राजा फालियो, धर्मनिरपेक्षता र गणतन्त्र ल्याइयो भनेर फुलेका नेताहरु त सुन्निएर मोटाएका पो रहेछन् । एउटा वक्तव्यले हावा खुस्कनेहरु त अर्काले फुकिदिएका बेलुन जस्तो देखिए । संविधानले नागरिक हक सुरक्षित गरेको छ, त्यही हक पनि खोस्छु भनेर प्रधानमन्त्री नै जर्किए– धेरै बोले अझ दु:ख पाउँछन् ज्ञानेन्द्रले । कांग्रेसका गृहमन्त्री देखि नयाँशक्ति पार्टी नामधारी कर्कलो पनि नहल्ली धर पाएन, भनिहाले– दरवार हत्याकाण्डको फाइल खोल्नुपर्छ, छानबिन गरेर कारवाही गर्नुपर्छ । यिनको बुता भएको भए आज दरवार हत्याकाण्ड हाउगुजी भएर रहन्थ्यो र ? छ र यस्ता पिपलपाते, भिजेका पराजखुट्टेहरुको ढाडमा हाड ? २०६५ सालमा यिनै पुष्पकमल दाहाल प्रधानमन्त्री भएकै हुन्, उनले भनेकै थिए– दरवार हत्याकाण्डको छानबिन गराउँछु । रुकमांगद कटवाल नामको सिपाहीलाई तह लगाउन नसकेर लुत्रुक्क परेर पुच्छर ठाडो पारेर कुलेलम ठोके । ८ वर्षको छलछाम, जालझेलसहित भारतवादी बनेपछि बल्ल फेरि ९ महिने प्रधानमन्त्री पद भेट्टाएका छन्, त्यो पनि जनताको घृणाले नैतिक धरातल दिनदिनै खुस्कदै जाँदोछ । यिनले फुइँकी हाँकिहाले– धेरै बोले दु:ख पाउनेछौ । आफँ गर्नु केही छैन, अर्काको टाउकोमा फोहर फालेर कतिदिन पानीमाथिको ओभानो हुने ?
    किन बिर्सेको– ज्ञानेन्द्र त्यो व्यक्तित्व हो, जसले जनादेशको पालना गरेर २०६५ साल जेठ १५ गते राजदरवार त्याग्यो र लुरुलुरु नागार्जुनको जंगलतिर लाग्यो । नेपाल मेरो जन्म घर, नेपाल मेरो पितृ घर, नेपाली मेरो परिचय, म यो देश छाडेर कहीँ जान्न भनेर माटोमा टेकिरहेछ, नेपाली हावाको श्वास फेरिरहेछ । यो लेख ज्ञानेन्द्रको प्रशस्ती होइन, ज्ञानेन्द्र शाह प्रशंसायोग्य देशभक्त हुन् । उनले गद्दी छाडे देश छाडेनन् । सत्ता हातमा लिएर गल्ती गरे होलान्, जनतालाई बुझाउन सकेनन् होला, विदेशीका पाउमा लम्पसार त परेनन् । सत्ताका लागि देशका स्वाभिमान, स्वतन्त्रता, एकता, सार्वभौमिकतालाई दाउमा लगाउने नेताहरुभन्दा ज्ञानेन्द्र शाहसच्चा नेपाली हुन् भन्न लजाउनु पर्दैन । विदेशपरस्त हुनेका सामु एउटा नेपालभक्तको नाम लिन किन धक मान्ने ? विदेशपरस्तहरुले प्रतिगमनकारी भनेर केही लछारपाटो लगाउँदैनन् । जनताले बुझिसके, घटनाक्रमले प्रमाणित गरिसक्यो, अग्र गमनकारीहरुको खुट्टा र हुटिट्याउँको खुट्टीमा कुनै अन्तर बाँकी छैन अव ।
    ज्ञानेन्द्र शाहलाई तर्साउनै पर्दैन, धम्क्याउनै पर्दैन । ज्ञानेन्द्र यहीँ छन्, हिम्मत भए संसार प्रशिद्ध अनुसन्धानकर्ता स्कटलेण्ड यार्डलाई बोलाएर दरवार हत्याकाण्डको छानबिन गराए हुन्छ । जनताको मनमा चिसो पस्नेगरी छानबिन गर्दिउँ, छानबिन गर्दिउँ भनेर सातो लिनैपर्दैन । जनताले तिरेको कर, राष्ट्रिय ढुकुटी कार्यकर्तालाई पोस्ता पनि जनताले बोलेका छैनन्, दरवार हत्याकाण्डको अनुसन्धान गराएर गुह्य यथार्थ भए सार्वजनिक गर्दा आमनागरिक खुशी नै हुन्छन् । कसैले विष खाएको भए कालो देखिएला पनि । नागरिकको मनमा जे द्विविधा छ, त्यसको निदान हुन्छ र आशंकाहरु सबै मेटिन्छन् पनि । तर तर्साएर तर मार्न पल्केकाहरुले राजनीतिक धर्म निभाउँदैनन्, सत्ताको कर्म गर्दैनन्, गर्नै चाहदैनन् । बुझिहालियो, देखिहालियो, एउटा चिर्कटो वक्तव्यले निद हराम हुनेहरु कति जनबलका, जनओजनका लोकतन्त्रवादी हुन् । जो संविधान कार्यान्वयन भनेर तीनहात उफ्रिरहेका छन्, तिनले संवैधानिक हक खोस्न कत्ति बेर मानेनन् । खोस्टो बनाए कि संविधान, जनताले चालै पाएका छैनन् ।
    यसकारण जनआन्दोलनको जगमा उभिएका जति पनि नेता छन्, ती सबै निरंकूशताका प्रतीक हुन् । यी सब काले काले मिलेर खाउेँ भाले गर्न पल्केका छन् । यी नेताहरु नागरिकलाई मानसिक यातना दिएर आफूमाथिको जनाक्रोस अर्कोतिर पन्छाएर हाइसन्चो मान्न खप्पीस छन् । तत्कालीन राजालाई प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मले जे जसरी आततायी अभिव्यक्तिको काँडे कोर्रा ठोकिरहेका छन्, तिनले मानवीय धर्म बिर्सेका छन् । सत्तामा छन्, सकिन्छ कानुनी कारवाही गर्नु, सकिन्न लोकतन्त्रको सीमा नाघेर आतंकवादी चरित्र नदेखाउनु । लोकतन्त्रको गरिमा र महिमामा कुल्चनेहरुले लोकतन्त्र संस्थागत गर्छन् भनेर अव विश्वास नगर्दा हुन्छ । किनभने हाम्रा नेताहरुले भ्रष्टाचारको भाङ खाएर लठ्ठिएकाहरु भागबण्डातन्त्रलाई लोकतन्त्र सम्झिरहेका छन्, राष्ट्रलाई दलीय खोरिया बनाइरहेका छन् ।
    तत्कालीन राजाले पहिलोपटक जारी गरेको राष्ट्रिय चिन्तनयुक्त राजनीतिक वक्तव्यले राजनीतिलाई तरङिगत नै पारिदियो । मानौं लोकतान्त्रिक नामको राजनीतिक दहमा ज्ञानेन्द्र शाहले ठूलो ढुंगा नै फेकिदिएका हुन् । १० वर्ष जनयुद्ध हाँकेका, जनआन्दोलन जितेर लोकतन्त्रका सारथी बनेका प्रधानमन्त्री पुष्पकमल दाहालको दिनको चैन र रातको निन्द्रा नै उड्यो । नेपालका हरेक राष्ट्रिय महत्वका कुरा भारतलाई सुम्पन हतारिने, हिमाल–पहाड र तराईको नङमासु सम्बन्ध छुट्याउन तम्सिने उतैका खेतालाजस्ता दाहाल सरकारका गृहमन्त्री विमलेन्द्र निधिसँग मिलेर पुष्पकमल दाहालले तत्कालीन राजालाई तह लगाउनै पर्ने निधोमा पुगे । बहस छेडे, त्यो बहस पनि नगििरकको हक खोस्ने भनेर पन्चर हुनपुग्यो । अहिले निकै तात्तिएका प्रधानमन्त्री र गृहमन्त्री पुसे ठण्डीमा चिस्सिन पुगेका छन् । आमनागरिक र राजनीतिक फाँटमै आवाज उठ्यो, नागरिक हैसियतका तत्कालीन राजालाई नागरिक हैसियतमा राष्ट्रका, जनताका पक्षमा बोल्न पनि बन्देज लगाउने ?
    तत्कालीन राजा, तत्कालीन राष्ट्राध्यक्ष पनि हुन् । तत्कालीन राष्ट्रपति डा.रामवरणको मर्यादा हुने, उनको नहुने हुन्छ र ? उनको पनि मर्यादा छ । राष्ट्रिय एकता, अखण्डताको चिन्ता गर्दा सरकारमा बसेको माओवादी–कांग्रेस र सडकका भारतवादी बाबुराम बर्बराउनुपर्ने कारणै छैन । यो नेपाल सरकार र यी नेपाली नेता नै हुन् कि अर्काको इसारामा नाच्ने कठपुतली ? चित्रबहादुर केसी, नारायणमान बिजुक्छे र केपी ओलीहरुले त्यसै यो सरकारलाई बुख्याँचा सरकार भनेको होइन रहेछ ? घटनाक्रमले त्यस्तै संकेत गर्छ । बरु कांग्रेसकै मन्त्री अर्जुननर्सिंङ केसीले बौद्धिक सुझाव दिए– तीललाई पहाड बनाउनुको अर्थ छैन ।
    तत्कालीन राजा ज्ञानेन्द्र विद्रोही होइनन्, उनले बम वा बारुद बोकेर हिडेका पनि छैनन् । सशस्त्र आन्दोलन गर्ने अभिव्यक्ति पनि दिएका छैनन् । नेपालीत्वको रक्षा सुरक्षा हुनुपर्‍योभन्दा उनले के अपराध गरे र उनीमाथि राज्य बर्षिनु पर्ने ? ज्ञानेन्द्र शाह अव मुख सिएर बस । घरमै चाउरिएर बस । हलचल नगर भनेर लोकतान्त्रिक प्रधानमन्त्रीले भन्न मिल्छ ? नागरिकको हैसियत खोसेर नजरबन्द गर्नुपर्ने अपराधीजस्तो व्यवहार गर्नु भनेको प्रधानमन्त्रीको अमानवीय व्यवहार हो । यो यातनाको अर्को स्वरुप हो । लोकतन्त्रले नागरिकको हक सुरक्षित गर्छ कि मुख थुन्नु भन्छ ?
तत्कालीन राजाको एउटा विज्ञप्तीले लोकतान्त्रिक भनिएकाहरुको मुटुमा ढ्याङ्ग्रो नै ठोकेछ । त्यो विज्ञप्तिमा कुनकुन शव्द, वाक्य वा अनुच्छेद आपत्तिजनक छ ? प्रष्ट पार्न सक्छन् यी नेताहरु ? सबै प्रसङ्ग समसामयिक छन्, मनशा, वाचा र कर्मणा मान्दै आएको कुरा हो– नेपालको स्थायी सत्ता भनेकै राष्ट्र र राष्ट्रवासी नै हुन्, यही विषयमा चिन्ता गर्नु नागरिक अधिकार पनि हो । त्यो अधिकार खोस्नु अलोकतान्त्रिक हो र त्यो अलोकतान्त्रिक चरित्र प्रचण्ड सरकारले देखायो ।
    निष्कर्षमा भन्नुपर्दा राष्ट्रियता र राष्ट्रिय चिन्तनसहितको विज्ञप्तीलाई अपराध मान्ने प्रधानमन्त्रीसहितका मन्त्रीहरु, नेताहरु कति तल्लो श्रेणीका लोकतान्त्रिक रहेछन् ? निरंकूशता फालेको फुइँकी हाँक्नेहरु आफै कतिसम्म महानिरंकूश बन्न सक्दा रहेछन् ?
    रुकुम पुगेर गुरिल्ला ट्रायलको उद्घाटन गरेर काठमाडौं फर्कनासाथ पुष ११ गते माओको फोटोसामु उभिएर लालसलाम भन्न गौरव गरेका पुष्पकमल दाहालले पुस २७ गते नेपाल निर्माता, सार्वभौम नेपाली जनताको सामु टाउको झुकाएर जय भनेको सुनिएला कि नसुनिएला ? जो माटोलाई भन्दा माओलाई महत्व दिन्छ, जो स्वदेशीलाई भन्दा विदेशीको चाकरीबाट शक्ति आर्जन गर्ने विश्वास गर्छ, तिनका लागि राष्ट्रियता के, राष्ट्रिय एकता दिवस 
के ? तथापि लोकलाज बचाउनैकै लागि भए पनि जनमानसबाट उठेको आवाजको दबाब झेल्नुभन्दा यसपटक पुस २७ लाई एकता दिवस भनेर महत्व दिइहाल्लान् कि ?

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक