20170313

‘यो सरकारको अस्तित्व जोगाउनको लागि सरकारमा गएँ तर एक साता पर्खिएको भए म नैं प्रधानमन्त्री हुन सक्थें’ - उपप्रधानमन्त्री थापा

नेपाली राजनीतिका मुसा, अबसरबादी चरित्रका नायक कमल थापाले फेरी फोहोरीखेलको सँकेत गरे, लाजै पचाएर उनले के के भने हेर्नुस्
उपप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको अस्तित्व जोगाउनकै लागि आफू बाध्यतावश सरकारमा सहभागी भएको बताएका छन्। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सामेल भएको तीन दिनपछि सोमबार रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ‘वर्तमान सरकारमा राप्रपाको नेतृत्व सहभागी नभएको भए यो सरकारको अस्तित्व संकटमा पर्दथ्यो।’ थापाले सरकारको अस्तित्व संकटमा परे निर्वाचन नहुने र निर्वाचन नभए मुलुक नै संकटमा पर्ने देखेर आफू सरकारमा सहभागी भएको तर्क प्रस्तुत गरे। ‘सरकारले स्थानीय चुनाव घोषणा गरेपछि राप्रपाले त्यसको स्वागत गरेको हो, थापाले भने ‘तर जब सप्तरी घटना भयो, त्यसले निर्वाचन नहुने हो कि भन्ने आशंका जनायो। त्यसैले चुनावको सुनिश्चितताको लागि हामी सरकारमा गएका हौं।’ उपप्रधानमन्त्री थापाले वर्तमान सरकारले निर्वाचन नगराउने व्यवहार प्रस्तुत गरेमा राप्रपाले सबैभन्दा पहिले सरकारबाट अलग हुने
निर्णय गर्ने बताए। उनले भने ‘यो सरकारमा हामी बाध्यताले आएका हौं, प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाको बारम्बारको आग्रहपछि हामी सरकारमा सहभागी भएका हौं।’

 एक हप्ता पर्खिए प्रधानमन्त्री हुने थिएँ 

राप्रपा अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री थापाले सरकारको अस्तित्व संकटमा परेको बेला एक हप्ता पर्खिएको भए आफू प्रधानमन्त्रीसमेत हुन सक्ने दवी गरे। ‘यो सरकारको अस्तित्व जोगाउनको लागि सरकारमा गएँ तर एक साता पर्खिएको भए म नैं प्रधानमन्त्री हुन सक्थें’ थापाले साक्षात्कारमा भने ‘मैले सत्ताको स्वार्थ नरोजेर सरकारलाई नैतिक बल प्रदान गर्न सरकारमा गएँ।’

 राप्रपाले संविधान संशोधन बिधेयकको बिरुद्धमा भोट हाल्छ

 उपप्रधानमन्त्री थापाले सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयकको विपक्षमा भोट हाल्ने पार्टीको भनाई दोहोर्‍याए। ‘यथास्थितिमा राप्रपा संविधान संशोधनको पक्षमा भोट हाल्दैन’, थापाले भने ‘हामी सत्ता पक्ष भएर पनि यो विधेयक पेश गर्दा सल्लाह नभएकोले पक्षमा भोट हाल्ने छैनौं।’

 एमालेले दोहोरो चरित्र देखायो

सरकारमा गएको एक साता नबित्दै राप्रपा अध्यक्ष थापाले प्रमुख प्रतिपक्षी दल एमाले र त्यसका नेता केपी शर्मा ओलीले दोहोरो चरित्र प्रस्तुत गरेको आरोप लगाएका छन्। उनले सरकारमा हुँदा मधेशी मोर्चाको माग पूरा गर्न सीमांङ्कन लगायतका बिषयमा संविधान संशोधन गर्न तयार हुने एमालेले सरकारबाट हट्नासाथ बोली फेरेको दाबी गरे। ‘सीमाङ्कन लगायतका बिषयमा संविधान संशोधन गर्न सरकार तयार छ भनेर मैले नैं पूर्ववर्ती सरकारको समयमा समयमा मधेसी मोर्चालाई चिठी दिएको हुँ’, थापाले भने ‘तर सत्ताबाट हट्नासाथ संविधान संशोधनको स पनि सुन्न नचाहने एमाले नेतृत्वको दोहोरो चरित्र हो।’ थापाले यतास्थितिमा संविधान संशोधन विधेयकको पक्षमा राप्रपाले भोट नदिने भनेपनि स्थानीय चुनावमा भने मधेसी मोर्चाले भाग लिनु पर्नेमा जोड दिए। उनले भने। मोर्चालाई सहभागी नगराई भएको निर्वाचन राजनीति दृष्टिकोणबाट उपयुक्त नहुने स्पस्ट पारे।

डा. लोहनीको कदम आत्मघाती

 पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टीबाट दिएको राजिनामालाई अध्यक्ष थापाले ‘आत्मघाती ’ कदमको संज्ञा दिए। ‘राजनीतिबाट सन्यास लिने हो भने ठीकै छ’ थापाले भने ‘राजनीतिक नैं गर्ने हो भने उहाँको यो आत्मघाती कदम हो।’ उनले डा. लोहनीको राजिनामाले पार्टीलाई तात्विक असर नपर्ने दाबी गरे। डा. लोहनीले पार्टी परित्याग गर्दा लगाएको आरोप कपोकल्पित, भ्रामक र झुट भएको दाबी गर्दै अध्यक्ष थापाले लोहनीको बहिर्गमनले राप्रपा फुट्यो भन्न नमिल्ने बताए। थापाले राप्रपा अहिले पनि संघीयता मुलुकको लागि आवश्यक छैन भन्ने दृष्टिकोणमा प्रस्ट भए पनि संघीयता मुलुकको वास्तविकता र यथार्थता भएको जनाए।

 स्थानीय सरकारले भोलीबाट काम गर्छ

 उपप्रधानमन्त्री एवम संघीय मामिला तथा स्थानीय विकास मन्त्री थापाले स्थानीय तहले स्थानीय सरकारको रुपमा भोलिबाट काम गर्ने बताए। ‘भोलि (मंगलबार) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितपुर उपमहानगरपालिकाको कार्यालय उद्घाटन गरेपछि सात सय ४४ वटै गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाले स्थानीय सरकारको रुपमा काम गर्नेछन्’ थापाले भने। उनले स्थानीय तहको सरकारलाई क्रियाशील बनाउन सबै तहमा कर्मचारी खटाउने अन्तिम तयारी मन्त्रालयले गरिसकेको बताए।

वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी किन छोडे राप्रपा ?

PC Lohani
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले आफू राप्रपाको कुनै पनि तहको सदस्य नरहेको जानकारी दिएका छन् । ०४७ सालमा अन्य दलबाट भौतिक र सांघातिक आक्रमण सहन नसकेर राप्रपा स्थापनामा सहभागी भएको दाबी गर्दै आएका डा. लोहनीले २५ वर्ष पसिना बगाएको पार्टी एकाएक छोड्ने फैसला किन गरे होलान् भन्ने जिज्ञासा आमतहमा यतिबेला उत्पन्न भएको हुन सक्छ, तर लोहनीले अचानक पार्टी छोडेका भने होइनन् । करिव दुई साताअघि ऐतिहासिक एकता भएको भनिएको पार्टीका वरिष्ठ नेताले पार्टी नै छोड्नुपर्ने परिस्थिति आइपर्नुको कारण के थियो त ? हेरौँ, डा. लोहनीले पार्टी परित्याग गर्दा पार्टी अध्यक्ष कमल थापामाथि लगाएका आरोप या उनले पार्टी छोड्नुको मूल कारण
१. यो पार्टीका थुप्रै दस्ताबेज मैले तयार गरेको हुँ । पार्टी एकता अधिवेशनमा पेश भएको एउटा महत्वपूर्ण कार्यपत्र मैले तयार पारेको हुँ । तर, एकता महाधिवेशन पश्चात पार्टी विधानलाई उपेक्षा गर्ने, एकता महाधिवेशनका क्रममा भएका समझदारीलाई लत्याउने र पार्टीलाई आफ्नो राजनीतिक र अन्य स्वार्थपूर्तिको औजार मात्र बनाउने प्रवृत्ति हावी भएको छ ।
२. पार्टीको नीति निर्माण गर्ने र महत्वपूर्ण पदमा नियुक्ति गर्न निर्देशन समिति गठन हुनुपर्ने पार्टी विधानमा उल्लेख थियो । सो समितिको सल्लाह र समझदारीमा उल्लेखित कार्य गर्नु अनिवार्य थियो । तर, निर्देशक समितिको गठन गरिएन, पदाधिकारी चयन लगायत मन्त्रिमण्डलमा जाने औचित्यबारे कुनै छलफल भएन । यथार्थमा विधानको यो प्रावधानलाई जानी(जानी उपेक्षा गरियो । पार्टीलाई एक व्यक्ति वा एक समूहको झुण्डको स्वार्थपूर्ति गर्ने हतियारको रुपमा प्रयोग गर्न खोजियो ।
३. पार्टी एकीकरणअघि पार्टीको चुनाव चिन्ह हलो हुने समझदारी भएकोमा यो प्रतिवद्धतालाई ठाडै लत्याइएको छ ।
४. प्रचण्ड सरकारले पेश गरेको संविधान संशोधन विधेयकमा राप्रपाले भारी असन्तुष्टि व्यक्ति गर्दै आएको र आवश्यक परे सरकारबाट बाहिरिने प्रष्ट गरेको थियो । सबै बुँदाहरुमा पार्टीभित्र कुनै छलफल नै नगरी अचानक सरकारमा गएको समाचार सुनियो । यसबाट के प्रष्ट हुन्छ भने पार्टी अध्यक्षले मधेस समस्यालाई आफू पदमा पुग्ने हतियारका रुपमा प्रयोग गरेका छन् ।
५. मधेसी दलहरुले आफ्ना मागको सन्दर्भमा सरकारलाई दिएको समर्थन फिर्ता लिने भनेपछि राप्रपा सरकार टिकाउन राजनीतिक सौदा गरी सत्तामा थपिन गयो ।
६. आज देश अशान्त छ । राजनीतिक भिडन्तमा सर्वसाधारण मरेका छन् । देशको सिमानामा समेत नेपाली मारिएका छन् । यसबारे केन्द्रीय समिति तुरुन्त बोलाई पार्टीमा व्यापक छलफल गर्नुको सट्टा संकटको फाइदा उठाई सरकारमा स्थान जमाउन र सरकार टिकाउन तयार हुनु अवसरवादी चरित्र हो ।
७. आज तामाकोसीको विजुलीको सालाखाला एक मेगावाटका लागि १६ करोड पर्छ, जबकि एनसेलको कारोबारसँग गाँसिएको ३५ अर्ब राजश्व उठेको छैन । यसको ३५ अर्बले २०० मेगावाटको विजुली उत्पादन हुन्छ र, प्रचण्ड सरकार यो गुमाउन तयार छ । यसबारे अर्थमन्त्रीले मौखिक प्रस्ताव राख्दा हाम्रो पार्टीको भनाइ के रहृयो भन्ने पनि हामीलाई थाहा छैन । राप्रपाको हालको नेतृत्व सत्तामा नया पद पाउने वित्तिकै हाम फाल्न तयार भयो ।
८. राजदूत नियुक्तिबारे नेतृत्वको कार्यशैली निरासाजनक छ । भ्रष्टाचारको आरोप लागेकालाई फिर्ता लियो र त्यसपछि फेरि राजदूतकै रुपमा सिफारिस कायम गरियो । हाम्रो पार्टी सत्तामा छ, तर यस्तो कुरामा मौन बस्यो ।
९. राप्रपाले तीन राजदूतको नाम पठायो तर यसरबारे पार्टीमा अध्यक्षले छलफल गरेनन्। यसको मतलब राप्रपा अध्यक्षको घरायसी अड्डा बन्यो भन्ने नै हो । अचम्म के छ भने हामीले राजदूत राख्ने भनेको देशले राजदूतावास राख्न स्वीकृति पनि दिएको छैन । विवाहको कुरा छिनिएको छैन तर त्योभन्दा अगाडि जन्ती लिएर जाने भनेजस्तो भयो ।
१०. एकता अधिवेशनपछि राप्रपा अब एउटा सानो समूहको स्वार्थपूर्ति गर्ने एउटा झुण्डको रुपमा मात्र प्रयोग हुन थालेको छ । राजसंस्था र हिन्दु धर्मप्रतिको भावनात्मक समर्थनलाई सत्ता स्वार्थका लागि प्रयोग गरिँदैछ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक