20170322

१२ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

संसदीय सुनुवाइ विशेष समितिले विभिन्न १२ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ । लगातार तिन दिनको सुनुवाइपछि समितिले राजदूतको नाम अनुमोदन गरेको हो । प्रस्तावितमध्ये तिन राजदूतको नाम फिर्ता गर्नु पर्ने भन्दै समितिमा उजुरी परेको थियो ।  समितिले अनुमोदन सम्बन्धी पत्र बुधबार नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको छ । समितिका सचिव ध्रुवप्रसाद घिमिरेले सुनुवाइपछि प्रस्तावित सबै राजदूतको नाम सर्वसम्मत अनुमोदन भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘सबै प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन भएको छ । हामी आजै निर्णयको जानकारी सम्बनिधत निकायलाई पठाउँछौं ।’ समितिको
अनुमोदनपछि अब सरकारले प्रस्तावित राजदूतको नियुक्ति प्रक्रिया अघि बढाउन सक्नेछ ।
समितिले सोमवार अस्टे«लियाका लागि प्रस्तावित राजदूत लक्की शेर्पाको सुनुवाइ गरेको थियो । यस्तै मंगलबार निरञ्जनकुमार थापा, शर्मिला पराजुली ढकाल, रमेश कोइराला, अर्जुन जंगबहादुर सिंह, प्रतिभा राणा र युवनाथ लम्सालको सुनुवाइ गरेको थियो ।
यस्तै, बुधवार प्रस्तावित राजदूतहरु भीम उदास, डा. चोपलाल भुसाल, प्रा. डा. विश्वम्भर प्याकुरेल, प्रा. डा. महेन्द्र सिंह, र पदम सुन्दासको सुनुवाइ गरेको हो ।
सिफारिसमा परेकामध्ये कतार, ओमन र इजरायलका लागि प्रस्तावित तिन राजदूतविरुद्ध चारवटा उजुरी दर्ता भएका थिए । सरकारले कतारमा रमेश कोइराला, ओमनमा शर्मिला पराजुली ढकाल र इजरायलका लागि निरञ्जन थापालाई राजदूतमा सिफारिस गरेको  थियो । कतारका लागि प्रस्तावित राजदूत कोइरालाविरुद्ध एक उजुरी परेको थियो । सुरक्षित आप्रवासनसम्बन्धी काम गर्ने एक संस्थाले उजुरी दर्ता गरेको थियो । कोइरालाको सम्बन्धित देशमा व्यावसायिक स्वार्थ जोडिएको भन्दै सिफारिस अस्वीकृत गर्न उजुरीमा माग गरिएको थियो ।
ओमनका लागि सिफारिस पराजुलीविरुद्ध दुई वटा उजुरी दर्ता भएका थिए । पराजुलीको व्यावसायिक स्वार्थ जोडिएको आरोप उजुरीमा छ । यस्तै, उहाँका श्रीमान्को नाममा दर्ता रहेको फ्लोरिड ह्युमन रिसोर्सेजसँग मिलेर काम गर्ने गरेकोलगायतका आरोप थिए ।
यस्तै, इजरायलका लागि सिफारिसमा परेका थापाविरुद्ध एक उजुरी दर्ता भएको थियो ।  मल्लिक आयोगले कारबाही सिफारिस गरेका व्यक्ति भएकाले मर्यादित कूटनीतिक क्षेत्रमा थापाको नियुक्ति उपयुक्त नभएको उजुरीकर्ताको ध्यानाकर्षण थियो । तर, समितिले प्राप्त उजुरीमा उजुरीकर्तासँगको छलफलपछि पदाधिकारीको सुनुवाइमा चित्त बुझाउदै नाम अनुमोदन गरेको हो ।
मन्त्रिपरिषद्को फागुन ९ गतेको बैठकले १४ देशका लागि राजदूत सिफारिस गरे पनि विवादपछि युएईका लागि प्रस्तावित आशा लामा र स्पेनका लागि प्रस्तावित भरत रायमाझीबाहेक १२ राजदूतको सुनुवाइ प्रक्रिया अगाडि बढाउन समितिमा पत्राचार गरेको थियो ।
मन्त्रिपरिषद्ले म्यानमारका लागि भीम उदास, बंगलादेशमा चोपलाल भुसाल, श्रीलङ्कामा प्रा. डा. विश्वम्भर प्याकुरेल, दक्षिण कोरियामा अर्जुनजङ्गबहादुर सिंह र कतारमा रमेशप्रसाद कोइरालालाई सिफारिस गरेको थियो । यस्तै, अस्ट्रेलियामा लक्की शेर्पा, डेनमार्कमा युवनाथ लम्साल, साउदी अरेबियामा प्रा. डा. महेन्द्र सिंह, बहराइनमा पदम सुन्दास सिफारिसमा पर्नु भएको थियो । जापानमा प्रतिभा राणा, इजरायलमा निरञ्जन थापा र ओमनका लागि शर्मिला पराजुली ढकालको नाम सरकारले सिफारिस गरेको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक